साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकार लुइँटेललाई स्रष्टा सम्मान/पुरस्कार अर्पण

उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना गरिएको प्रतिष्ठानले त्रैमासिक रूपमा प्रदान गर्दै आएको उक्त सम्मान यसपटक लुइँटेललाई अर्पण गरिएको हो ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ पुस १९। लीलाध्वज थापा साहित्य प्रतिष्ठान, काठमाडौँको आयोजनामा त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान/पुरस्कार समारोह सम्पन्न भएको छ ।

सो अवसरमा नेपाली साहित्य तथा हास्यव्यङ्ग्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएका साहित्यकार नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ तथा नगद रु. १० (दश हजार रुपैयाँ) पुरस्कार प्रदान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले लुइँटेललाई सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको हो । नेपाली सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना गरिएको प्रतिष्ठानले त्रैमासिक रूपमा प्रदान गर्दै आएको उक्त सम्मान यसपटक लुइँटेललाई अर्पण गरिएको हो ।

भोजपुरमा जन्मिएका लुइँटेल हाल काठमाडौं महानगरपालिका–१४, कलंकीमा बसोबास गर्दै आउनुभएको छ । उहाँले २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर (एम.ए.) अध्ययन पूरा गर्नुभएको हो । विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आउनुभएका लुइँटेलले एक कार्यकाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यका रूपमा समेत योगदान दिइसक्नुभएको छ । साथै, उहाँले विभिन्न साहित्यिक पत्रपत्रिकामा कार्यकारी सम्पादकको जिम्मेवारी पनि निर्वाह गर्नुभएको छ ।

दर्जनौँ साहित्यिक संघ–संस्थामा आबद्ध रहँदै निरन्तर सिर्जनात्मक तथा संस्थागत योगदान पुर्‍याउँदै आउनुभएका लुइँटेलका हास्यव्यङ्ग्य तथा गैर–हास्य विधामा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । गीतिकाव्य, शोककाव्य, लेखन तथा सहलेखनमार्फत उहाँका थुप्रै पुस्तकहरू प्रकाशित भइसकेका छन् । उहाँले दुई दर्जनभन्दा बढी साहित्यिक संघ–संस्थाबाट सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । हाल उहाँ हास्यव्यङ्ग्य प्रधान ‘फित्कौली डट कम’ अनलाइन सेवा सञ्चालन गर्दै विभिन्न साहित्यिक संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

सम्मान अर्पणकाे विशेष कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्की तथा उपस्थित साहित्यकारहरूले उपन्यासकार लीलाध्वज थापाको साहित्यिक योगदान र उहाँका उपन्यासबारे चर्चा गर्नुभएको थियो ।

सम्मान ग्रहणपछि बोल्दै नरनाथ लुइँटेलले लीलाध्वज थापाको मन उपन्यास सानै उमेरमा झापाकाे स्माकूले विद्यार्थी हुँदै पढेको र पछि काठमाडौं आएपछि पुनः अध्ययन गरेको स्मरण गर्नुभयो । उहाँले उक्त उपन्यास मौलिक सामाजिक यथार्थको गहिरो चित्रण भएको कृति भएको र त्यसले आफूलाई अत्यन्त प्रभावित पारेको बताउनुभयो । मदन पुरस्कार मात्र नभई देश–विदेशमा समेत चर्चित र पाठ्यक्रममा समावेश भएको कृतिका स्रष्टाको नाममा स्थापित प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा गर्व र खुसी लागेको उल्लेख गर्दै अध्यक्ष विजयध्वज थापा एवम् प्रतिष्ठान प्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार कलानिधि दाहाल, हरिभक्त सिग्देल, डा. अर्जुनदेव भट्ट, नरेन्द्रराज पौडेल र डा. बमबहादुर थापा जितालीले सम्मानित स्रष्टालाई बधाई दिँदै उपन्यासकार लीलाध्वज थापाको साहित्यिक योगदानको चर्चा गर्नुभयो ।

रचना वाचन कार्यक्रममा कुमार नेपाल, विजयध्वज थापा, प्रा.डा. गोविन्दमान सिंह कार्की, डा. बमबहादुर थापा जिताली, टेकबहादुर लौडारी, प्रकाश बस्नेत ‘गफाडी’, कर्ण दयाल ‘सोराडी’, डा. मेघराज ढकाल, प्रमोद नेपाल, गुप्तबहादुर श्रेष्ठ, इन्दिरा ढकाल, बद्री उप्रेती, नम्रता उप्रेती, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, मदनप्रसाद नेपाल, मधुसूदनप्रसाद घिमिरे, मीरा काफ्ले पोखरेल, मीरा गजुरेल, सुभद्रा अधिकारी, एन.भी. जनकपुरी, भानुप्रकाश जोशी, महेशप्रसाद रिजाल, राज रजक, रामशरण न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन, आवेश मिश्र, सुशान्त के.सी., वीरबहादुर लोहनी, शालिकराम दाहाल, राजेशमान के.सी., शशीश्री आचार्य, उमा दाहाल, रुपा रिसाल चालिसे, प्रमोद भण्डारी, भोजराज रेग्मी ‘मुखाले’, जीत कार्की, नानु राना थापा, राजेन्द्र खनाल, मदनराज थापा, प्रार्थना खनाल जोशी, भागीरथी भट्टराई ग्यवाली, प्रदीप नेपाल, वृन्दा ढुंगाना र भुवन दिवाकोटी लगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य राख्दै सम्मानित स्रष्टामाथि प्रकाश पार्नुभएको थियो भने वृन्दा ढुंगानाले कार्यक्रम सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष विजयध्वज थापाले अग्रज स्रष्टाको सम्मान गर्न पाउँदा आफू र संस्थासमेत गौरवान्वित भएको धारणा व्यक्त गर्नुभयो । हालसम्म ८२ जना अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मान, ८ जनालाई साहित्य सम्मान तथा ५०० भन्दा बढी स्रष्टालाई कदर–पत्र प्रदान गर्न पाएको उल्लेख गर्दै उहाँले उपस्थित सम्पूर्ण स्रष्टाप्रति हार्दिक आभार व्यक्त गर्नुभएकाे थियो ।

०००
कलानिधि दाहालकाे साैजन्यमा

सम्मान ग्रहण गरेपछिकाे लुइँटेलकाे सङ्क्षिप्त मन्तव्य

सभापति महोदय, प्रमुख अतिथि, अन्य अतिथि एवम्‌
यहाँ समुपस्थित महानुभावहरू,

मलाई सम्झना छ, जनता मावि गौरादह झापामा कक्षा ८ मा पढिरहेको बेला विद्यालयको पुस्तकालयमा फेला परेकाे लीलाध्वज थापाकाे ‘मन’ उपन्यास अनुमति लिएर घरै लगि टुकीमा मटितेल थप्दै एकै रातमा  पढिसकेको थिएँ । साहित्यिक कृतिहरू पढ्ने बानी भर्खर बस्न थालेको थियो । युधिर थापाका ‘टिष्टा रङ्गीत’ जस्ता केही उपन्यास पढिसकेको मेरो किशोर मनस्थितिमा लीलाध्वज थापाको ‘मन’ उपन्यास अलि भिन्न लाग्यो । किन र कसरी लाग्यो म अहिले भन्न सक्दिनँ ।

बिलकुल त्यही समयमा श्यामप्रसादको ‘लेखक कसरी बन्ने’ भन्ने पुस्तकले पनि मलाई निकै प्रभाव पारेको हुनुपर्छ । त्यो बेलामै महेन्द्रमालामा मैले पहिलो पटक पढेका भवानी भिक्षु र रमेश विकलका कथाहरूले मलाई भावुक बनाएको स्मरण अझै मसँग छ । विद्यालयका शिक्षकहरू घनेन्द्र शर्मा, जगन्नाथ दाहाल र छिमेकी महाकवि सोमराज अभयहरूको उत्प्रेरणाले नै मलाई आज यहाँसम्म ल्याइपुर्‍याएको हो ।

पछि कलेज पढ्न काठमाडौं आएपछि ‘रुपमती’, ‘लङ्गडाको साथी’ सँगै फेरि एकपटक ‘मन‘’ उपन्यास दोहोर्‍याएर पढेँ । तत्कालीन नेपाली समाज, भूगोल र मानिसको मनोभूगोल यी औपन्यासिक कृतिहरूमा अभिव्यक्त भएको छ । आधुनिक नेपाली उपन्यासमा ‘रुपमती’ले प्रदान गरेको योगदानसँगै ‘मन’ उपन्यास पनि महत्वपूर्ण कृति हो भन्ने कुरा समीक्षकहरूले चर्चा गरेका छन् ।

किशोर अवस्थामा रुचिका साथ पढिएको उपन्यासका लेखक लीलाध्वज थापाको नामसँग जोडिएको यो पुरस्कार प्राप्त भइरहँदा म यो सुयोग र संयोग देखेर आश्चर्यचकित भएको छु । तथापि यसका लागि म लीलाध्वज थापा साहित्य प्रतिष्ठान र यसका अग्रगन्य व्यक्तित्व विजयध्वज थापाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

मेरो साहित्यिक यात्राको पछिल्लो चरण हास्यव्यङ्ग्यमा केन्द्रित हुँदै आएको छ । त्रिवि सेवाबाट निवृत भएपछि बिगत केही वर्षदेखि म नेपाली हास्यव्यङ्ग्यको समग्र सम्बर्धनको उदेश्यमा समर्पित भएको छु । फित्कौली अनलाइन मिडिया र फित्कौली डटकम यसैका उपज हुन् । फित्कौली मार्फत नेपाली साहित्य जगत्‌मा हास्यव्यङ्ग्यले नवजागरण आर्जन गरिरहेको महसुस हुन थालेको छ । लेखन प्रकाशन प्रशारण र नवलेखनमा सक्रिय रहेकाहरू बीच उत्प्रेरणा र प्रोत्साहन प्रदान गर्नु फित्कौलीको अभीष्ट रहेको छ । यसैमा केन्द्रित र समर्पित भएर अहिलेको मेरो दैनिकी चलिरहेको छ ।

सम्भवत मेरो यही सक्रिय कर्मप्रतिको सराहना नै आजको यो सम्मान एवम् पुरस्कार पनि हाे कि । म यो सदभाव सराहना र साथका लागि प्रतिष्ठान एवम् यसका मूली विजयध्वज थापाप्रति हार्दिक आभार व्यक्त गर्दछु । मेरा कुरा सुनिदिनु भएकामा यहाँहरु सबैपति हार्दिक धन्यवाद । नमस्कार ।

नरनाथ लुइँटेल
२०८२ पुस १९, चिल्ड्रेन स्कूल, बालुवाटार, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x