फित्काैली डटकमसुरभि साहित्य प्रतिष्ठानकाे वार्षिकाेत्सवमा स्रष्टाहरू सम्मानित
प्रतिष्ठानद्वारा आफ्नो १८ औँ वार्षिकोत्सवका अवसरमा स्रष्टाहरूलाई विभिन्न साहित्यिक पुरस्कारहरू समर्पण गरी अभिनन्दन पनि गरियाे भने कथाकार युवराज मैनालीद्वारा लिखित 'पात्र विघटन' लघुकथासङ्ग्रह लोकार्पण गरियाे ।

काठमाडाैं, २०८२ माघ १७ । सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८ औँ वार्षिकोत्सवका अवसरमा स्रष्टाहरूलाई विभिन्न साहित्यिक पुरस्कारहरू समर्पण गरी अभिनन्दन पनि गरेको छ।
सो अवसरमा प्रतिष्ठानका संरक्षक तथा कथाकार युवराज मैनालीद्वारा लिखित ‘पात्र विघटन’ लघुकथासङ्ग्रह लोकार्पण गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल रहेका थिए।
अन्य आमन्त्रित व्यक्तित्वहरूमा प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल, इतिहासविद् प्रा.दिनेशराज पन्त, समालोचक गोपी मैनाली, कृति विश्लेषक कवि महेश प्रसाईं, प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे तथा डा.अर्जुनदेव भट्ट लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रा.डा.समालोचक अभि सुवेदीलाई अभिनन्दन गरिएको थियो भने गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार ८२ बाट आख्यानकार खगेन्द्र संग्रौलालाई नगद राशि रू २५०००/- सहित पुरस्कृत गरिएको थियो । अनि सुरभि बाजुराम आख्यान साधना पुरस्कार ८२ बाट कथाकार सुशीला प्रधानाङ्गलाई नगद राशि रू २५०००/- सहित पुरस्कृत गरिएको थियो।
त्यसैगरी, कार्यक्रममा सुरभि विजय वाङ्मय पुरस्कार ८२ बाट समालोचक ठाकुर शर्मा भण्डारीलाई नगद राशि रू ५१०००/-सहित पुरस्कृत गरिएको थियो र सुरभि रमा- बद्री निबन्ध पुरस्कार ८२ बाट निबन्धकार रामप्रसाद पन्तलाई नगद राशि रू २५०००/- सहित पुरस्कृत गरिएको थियो।
प्रमुख आमन्त्रित व्यक्तित्व मेयर दीपककुमार रिसालले गोकर्णेश्वर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा साहित्यिक कार्यक्रमहरू समावेश गर्ने गरिएको बताउँदै नगरपालिकाभित्र स्थानीय, राष्ट्रिय साहित्यिक कार्यक्रम हुँदै आएकोमा अब अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम गर्ने योजना रहेको बताए। हाल नगरपालिकाभित्र १० साहित्यिक संस्थाहरू रहेको उल्लेख गर्दै सबै संस्थालाई नगरपालिकाले सहयोग गर्दै आएको बताए। नगरपालिकाभित्रका स्कुलहरूमा वर्षको एउटा कार्यक्रम गरियो भने पनि सयौँ साहित्यिक कार्यक्रम हुने बताए।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले अभिनन्दित तथा पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिँदै कार्यक्रममा उपस्थित सबैमा हार्दिक आभार प्रकट गरेका थिए। अनि अभिनन्दित व्यक्तित्व प्रा.डा.अभि सुवेदी तथा पुरस्कृत व्यक्तित्वहरू खगेन्द्र संग्रौला तथा सुशीला प्रधानाङ्गले आ-आफ्नो मन्तव्य राखेका थिए।
पुस्तकका भूमिका लेखक समेत रहेका समालोचक महेश प्रसाईले लोकार्पित लघुकथाहरूको संक्षेपमा समीक्षात्मक टिप्पणी पेश गरेका थिए। टिप्पणीका क्रममा उनले कथाकार युवराज मैनाली नेपाली लघुकथामा पहिलो खलिल जिब्रान भएको बताउँदै मैनालीका कथाहरू पढ्दा कविता पढे जस्तो लाग्छ भनेर बताए।
कार्यक्रममा समालोचक गोपी मैनाली, प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल, इतिहासविद् प्रा.दिनेशराज पन्त, प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे तथा कवि श्रीहरि फुयाँलले शुभकामना मन्तव्य राख्दै अभिनन्दित र पुरस्कृत व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
प्रतिष्ठानका संरक्षक युवराज मैनालीले पुरस्कृत तथा अभिनन्दित व्यक्तित्वहरूको बारेमा संक्षेपमा मन्तव्य राख्दै उनीहरूका कृतित्व तथा व्यक्तित्वमाथि समेत प्रकाश पारेका थिए। पुरस्कार चयन समितिका संयोजक समेत रहेका मैनालीले पुरस्कार छनौटका बारेमा समेत बोलेका थिए।
मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा ‘पात्र विघटन’ लघुकथासङ्ग्रह लोकार्पण गरिएको हो। एक सय एक थान लघुकथाहरू रहेको यो कृति युवराज मैनालीको दोस्रो लघु कथासङ्ग्रह हो भने हालसम्मको उनका ८ थान कृतिहरू प्रकाशनमा आइसकेका छन्।
कार्यक्रममा मुक्ति गौतम (मणिपुर-आसाम,भारत), ललिता दोषी, महेन्द्र चालिसे, मधुसूदनप्राद घिमिरे र परशुराम पराशरले लघुकथा वाचन गरेर सुनाएका थिए।घिमिरे र पराशरले भने ‘पात्र विघटन’ पुस्तकबाट लघुकथा वाचन गरेर सुनाएका थिए।
प्रतिष्ठानको गतिविधि तथा पुरस्कारहरूका बारेमा सदस्य वसन्त रिजालले प्रकाश पारेका थिए।
कार्यक्रममा सुलेख साहित्यिक मासिक पत्रिकाको विजय चालिसे स्मृति अङ्क पनि लोकार्पण गरिएको थियो भने कथाकार तथा पत्रकार विजय चालिसेको तस्बिरमा फूलमाला चढाई हार्दिक श्रद्धा सुमन अर्पण गरिएको थियो।
बेँसीगाउँ, ढोल्खाधारोस्थित कृष्ण मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा प्रतिष्ठानका सहसचिव मेनुका पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सहजीकरण तथा सञ्चालन सचिव अच्युत घिमिरेले गरेका थिए।
०००
समाचार श्राेत : शब्दपथ
Subscribe
Login
0 Comments
Oldest







































