फित्काैली डटकमरिसाल र लुइँटेलसहित ६ जनालाई बीडी सम्मान अर्पण गरिने
उपरोक्त सबै सम्मान आगामी २०८३ वैशाख १९ गते बीडी त्यागीको तेइसौं स्मृति दिवसको अवसरमा एक कार्यक्रम बीच अर्पण हुनेछन् ।

काठमाडाैं । साहित्यकार बीडी त्यागीको स्मृति दिवसको अवसरमा बीडी त्यागी स्मृति केन्द्रले हरेक वर्ष अर्पण गर्दै आएको बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन गरिएको छ ।
फागुन ३० गते शनिबार केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले उपन्यासकार शङ्कर भारती संयोजक, साहित्यकारहरू त्रिलोचन आचार्य र दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिश गरेको नामलाई अनुमोदन गरेको थियो ।
साहित्यकार नभए पनि साहित्यको विकासमा लागिपरेका व्यक्ति वा संस्थालाई अर्पण गरिने नेपथ्य सम्मान यस वर्ष साहित्यिक क्षेत्रमा अग्रणी भूमिका खेलेको गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललाई अर्पण गरिने भएको छ ।
त्यस्तै बीडी त्यागी योगदान सम्मान फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेललाई अर्पण गरिने भएको छ । बीडी त्यागी स्मृति सम्मान साहित्यकार तथा पत्रकार महेन्द्र चालिसेलाई, एक सय एक रुपैयाँको सिक्का रहेको बी डी त्यागी स्मृति पुरस्कार हास्यव्यङ्यकार देवीप्रसाद चापागाईं र बी डी त्यागी प्रतिभा सम्मान साहित्यकार तथा पत्रकार प्रदीप सापकोटालाई अर्पण गरिने भएको छ ।
स्रष्टालाई सफल बनाउन उहाँको जीवन साथीको महत्वपूर्ण भूमिका रहने तर सधैं ओझेलमा पर्ने हुँदा यस वर्षदेखि केन्द्रले गौरीत्यागी स्रष्टा जीवनसाथी सम्मान थप गरेको छ । पहिलो पटक सो सम्मान स्रष्टा श्रीओम श्रेष्ठ रोदनको जीवन साथी ललिता श्रेष्ठलाई अर्पण गरिने भएको छ ।
उपरोक्त सबै सम्मान आगामी २०८३ वैशाख १९ गते बीडी त्यागीको तेइसौं स्मृति दिवसको अवसरमा एक कार्यक्रम बीच अर्पण गरिने बी डी त्यागी स्मृति केन्द्रका महासचिव निबन्ध आचार्यले जानकारी दिनुभएको छ ।
जीवनभर लेखन कार्यमा लागे पनि प्रकाश र चर्चामा आउन नचाहने साहित्यकार बी डी त्यागीको २०६० साल बैशाख १९ गते निधन भएको थियो ।
०००
निबन्ध आचार्यकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































