फित्काैली डटकम‘रमणीय धुनीबेँसी’ र ‘अमर ज्योति’ लोकार्पित
साहित्यकार रामप्रसाद पन्त प्रमुख अतिथि रहनुभएको कार्यक्रममा समाजका अध्यक्ष विष्णुप्रसाद आचार्यले सभाध्यक्षता गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

काठमाडौं । विद्युतकर्मी साहित्यिक समाजको आयोजनामा समाजका संस्थापक तथा प्रथम निर्वाचित अध्यक्ष केशवप्रसाद रुपाखेतीको सम्मानमा ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये’ कार्यक्रम सम्पन्न भएको छ ।
पुतलीसडकस्थित ग्रिनलिफ फुड क्याफेमा आयोजित कार्यक्रममा रुपाखेतीको कवितासङ्ग्रह ‘रमणीय धुनीबेसीँ’ तथा विद्युतकर्मी साहित्यिक समाजको नियमित प्रकाशन ‘अमर ज्योति’ लोकार्पण गरिएको थियो । सो अवसरमा रुपाखेतीलाई माला, दोसल्ला र सम्मानपत्रसहित सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा रुपाखेतीकै कवितासङ्ग्रहबाट चयन गरिएका कविता विभिन्न स्रष्टाले वाचन गरेर उहाँलाई नै सुनाउनुभएकाे थियाे । ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये’ शीर्षकको कार्यक्रमअन्तर्गत विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्षहरू विष्णुबहादुर सिंह, वीरेन्द्र पाठक, पुण्य घिमिरे, रामेश्वर राउत मातृदास र कृष्णदेव रिमालले ‘रमणीय धुनीबेसीँ’मा सङ्गृहीत कविता वाचन गर्नुभएको थियो ।
त्यसैगरी समाजका उपाध्यक्ष शारदा पराजुली, कोषाध्यक्ष मुकुन्दप्रसाद प्रसाईं तथा सदस्यहरू रमेश सागर, कविता सुवेदी, सङ्गीता पौडेल, रीता चालिसे, अनिल पौडेल र रामराजा ओझाले पनि कविता वाचन गर्नुभएको थियो । चक्रपाणि स्मारक प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेल, सचिव रामगोपाल आशुतोष तथा चाँगुनारायण साहित्य समाजकी बसन्ती भुजेलले पनि कविता प्रस्तुत गर्नुभएको थियो ।
कवि गोष्ठीमा समकालीन कविहरू नेत्र कुँवर ‘अशोक’, सुमन थापा ‘सङ्गम’ र राधिका कल्पितले आफ्ना कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा चिनियाँ साहित्यकार लिलीले चिनियाँ कवि स्यावमोको कविता वाचन गर्नुभएको थियो, जसको नेपाली रूपान्तरण विद्युतकर्मी साहित्यिक समाजका पूर्वसचिव प्रकाश आचार्यले गर्नुभएको थियो ।
लोकार्पित कृति ‘रमणीय धुनीबेसीँ’माथि साहित्यकार ध्रुव मधिकर्मी तथा समाजका पूर्वअध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेन’ले समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
यसै अवसरमा विद्युतकर्मी साहित्यिक समाजको वार्षिक सम्मानअन्तर्गत ‘अमर ज्योति सम्मान–२०८३’ समाजका पूर्व सहसचिव यादवराज घले र पूर्व सदस्य बिन्दु शर्मा आचार्यलाई प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्वलाई दोसल्ला, सम्मानपत्र तथा नगद ५ हजार ५ रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।
साहित्यकार रामप्रसाद पन्त प्रमुख अतिथि रहनुभएको कार्यक्रममा समाजका अध्यक्ष विष्णुप्रसाद आचार्यले सभाध्यक्षता गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । उपाध्यक्ष शारदा पराजुलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव युवराज शर्माले गर्नुभएको थियो ।
साहित्यिक सम्मान, कृति लोकार्पण र कवितावाचनलाई एकै मञ्चमा समेटिएको उक्त कार्यक्रम साहित्यिक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest






































