पिँडालु पण्डितडेँगुकाे प्रेस विज्ञप्ति
हामी शुद्ध मनका विशुद्ध क्रान्तिकारी हौँ । समाजलाई सचेत बनाउने महान् आतङ्ककारी हौँ । सत्ताको लोभबाट नितान्त टाढा र पृथक् बाटो अँगालेका समूह हौँ । जो भूमिगत छौँ, अदृश्य छौँ ।

पृथ्वीस्थित सप्तप्रदेशयुक्ते नेपालखण्ड निवासी
आफैँले आफैँलाई महान् देख्ने कथित सृष्टिकर्ता ब्रह्मापुत्र/पुत्रीहरू,
सर्वप्रथम त हाम्रो सम्पर्कमा आउनु भएका र आउन बाँकी दिनको उज्यालोमा विराजमान हुनुभएका कथित ब्रह्मापुत्र/पुत्रीहरूमा हामी ‘एडिस एजिप्टाई/एडिज आल्बोपिक्टस पोथी लामखुट्टे’ का तर्फबाट हार्दिक अभिवादन टक्रयाउँछौँ । हाम्रो यस अभिवादनलाई दुई हात जोडेर सहर्ष स्वीकार्नु होला न कि ताल न तुलको एउटा रित्तो मुठ्ठी बटारेर ।
जे कुरालाई पनि आफ्नै अनुकूल व्याख्या-विश्लेषण गर्ने स्वभावका कतिपय तपाईंहरू मुठ्ठी बटारेर गरिने अभिवादनलाई किन निषेध गर्यौ भनेर हामीसँग कुर्लन सक्नुहुन्छ । तपाईंहरूसँग त्यो अधिकार छ तर तपाईंहरू त्यसरी कुर्लनु जरुरी छैन । किनकि, हामी हाम्रा अगाडिका दुई खुट्टालाई हातको रूपमा प्रयोग गरेर सहज रूपमा नमस्कार गर्छौँ । त्यस्तै दुई हात भएका तपाईंहरूले पनि ती दुवै हात जोडी अभिवादन गर्नु तपाईंहरूको परम कर्तव्य हो । त्यसैले दुई हात जोडेर गरिने नमस्कार तपाईंहरूलाई मात्र गरिरहेका छैनौँ, हामी आफैँका लागि पनि अपेक्षा गरिरहेका छौँ ।
डेङ्गुका विषयमा सामाजिक सञ्जाल, छापा तथा श्रव्यसञ्चारका साधन, स्वास्थ्य संस्था लगायतका सरकारी कार्यालय, गैरसरकारी संघसंस्था, सार्वजनिक सडक, घरपरिवार, टोल, बस्ती आदि स्थान सबैमा चर्चा परिचर्चा भइरहँदा हाम्रा तर्फबाट पनि यस विषयमा एउटा प्रेस विज्ञप्ति जारी गर्नुपर्ने आवश्यकता हामीले महसुस गर्यौँ । तसर्थ, यस प्रेस विज्ञप्तिमार्फत तपाईंहरूलाई के जानकारी गराऊँ भने- हामी हाम्रै जातका भाले लामखुट्टेका स्वभाव विपरीत निकै क्रान्तिकारी स्वभावका भएर निस्किएको कुरा सार्वजनिक गर्छौँ । तपाईंहरू भन्नु होला- तिमीहरूभन्दा हामी बढ्ता क्रान्तिकारी छौँ । बढ्ता बुद्धिमानी छौँ । बढ्ता विकासप्रेमी छौँ । माफ गर्नुस्, तपाईंहरूले आफूलाई जतिसुकै महान् क्रान्तिकारी र बुद्धिमानी सम्झे पनि हामी त्योभन्दा कम छैनौँ । कम मात्र होइन हामी तपाईंहरूभन्दा चौबर क्रान्तिकारी छौँ । र, त्यत्तिकै बुद्धिमानी पनि छौँ ।
तपाईंहरू रातमा क्रान्ति गर्नुहुन्छ, हामी दिनमै क्रान्ति गर्छौँ । तपाईंहरू कम जङ्गल र बढी घरमै लुकेर क्रान्तिको कर्म सम्पन्न गर्नुहुन्छ, हामी कम घर र बढी जङ्गलमा बसेर क्रान्ति गर्दिन्छौँ । गरिरहेका छौँ । तपाईंहरू सीमित व्यक्ति, समूह, क्षेत्र, लिङ्ग वा पेशाका पक्षपोसकका लागि क्रान्तिको बिगुल फुक्नुहुन्छ, हामी तपाईंहरू सप्पैलाई एकैचोटि प्रतिद्वन्दीको तुलोमा राखेर हाँक दिन्छौँ र क्रान्तिकर्म अगाडि बढाइदिन्छौँ । अर्को शब्दमा भन्नुपर्दा तपाईंहरू सप्पै विरुद्ध हामी र हामी सप्पै विरुद्ध तपाईंहरू भइरहेको कुरा सार्वजनिक गर्न चाहन्छौँ ।
तपाईंहरू हतियार उठाएर क्रान्तिको बिगुल फुक्नुहुन्छ । सोझासीधा निमुखालाई तर्साएर, धम्क्याएर, लोभलालचमा पारेर, केटाकेटी बटुलेर क्रान्तिको राप सिर्जना गर्दै आनन्द लिनुहुन्छ । तर, हाम्रा लागि ती कुनै हतियार वा उपाय आवश्यक छैनन् क्रान्तिका लागि । तपाईंहरू जस्ता महान् क्रान्तिकारीसँग मुकाबिला गर्न हामीमध्येको एउटै पोथी लामखुट्टे पर्याप्त छ । तपाईंहरूसँग जति नै बम, बारुद र हतियार भए पनि हामी तपाईंहरूलाई हाम्रो एउटै चुम्बनले ढलाइदिन्छौँ । एउटै डसाइले लडाइदिन्छौँ । त्यसका लागि न भटटट्ट गोली चलाउनुपर्छ न बड्याङ र बुडुङ, पट्याङ र पुटुङ बम पड्काउनु पर्छ । न तपाईंहरू जस्तो गाउँ, टोल, शहर, स्कुल, कलेज, कारखाना, ब्यारेक आदि ठाउँ पुगेर क्रान्तिकारीहरूको झुन्ड नै हामीलाई तयार गर्नुपर्छ । तपाईंहरूको जस्तो विभिन्न हैसियतका कमान्डरदेखि पालो पहरा गर्नेसम्मको छुट्टै गण, गुल्म, ब्रिगेड, बाहिनी आदिको आवश्यकता पनि हामीलाई पर्दैन । यस अर्थमा हामीहरूसँग तपाईंहरूको तुलना नै हुन सत्तैmन । त्यसैले हाम्रो मूल्याङ्कनमा हामी तपाईंहरूभन्दा कति माथि छौँ कति !
तपाईंहरूले जतिसुकै समानताका कुरा गरे पनि त्यसमा तपाईंहरू कसैले पनि उत्तीर्ण अङ्क ल्याउन सक्नु हुन्न । ल्याउनु भएको छैन । मतलब, तपाईंहरू व्यावहारिक समानताका विरोधी हुनुहुन्छ । समानता तपाईंहरूको मुखमा छ, व्यवहारमा छैन । हामी मुखले त्यतिविधि बोल्दैनौँ तर व्यवहारमा सबैलाई समान गर्छौँ । त्यही भएर हामीले भत्ताका लागि सत्तामा बसेकादेखि गुजाराका लागि पुजारी बनेकासम्मलाई एउटै व्यवहार गरेर देखाइदिएका छौँ । मन्त्री हुन् कि मतदाता, राष्ट्रपति हुन् कि वडापति, नर हुन् कि नारी, दरबारिया हुन् कि घरबारिया, गुरु हुन् कि चेला, घरपेटी हुन् कि डेरावाला, नेता हुन् कि कार्यकर्ता सबैलाई समान व्यवहार गरेका छौँ । हाम्रो शब्दकोशमा यो आफ्नो यो अर्को भन्ने छैन । हामीले लडाएका व्यक्तिहरूको सूची पढ्नु भयो भने पनि यस कुराको पुष्टि हुन्छ । हामीले ढाँटेका छैनौँ । हाम्रा लागि सबै समान । पक्षपात गरेर कसैलाई हामीले फरक व्यवहार गरेका छैनौँ । र, गर्ने पनि छैनौँ । हाम्रा दृष्टिमा तपाईंहरू सप्पै हाम्रा शत्रु हुनुहुन्छ । तपाईंहरूले यतिखेर हामीलाई भेट्ने हो भने निर्वाचनको विजयपछि विजयी उम्मेदवारले मतदातालाई पेलेभन्दा चर्कोसँग हामीलाई पेल्नुहुन्छ । त्यो हामीलाई थाहा छ । तपाईंहरू यस मामलामा हामीसँग कुनै छलफल र वार्ता गर्न तयार हुनुहुन्न, न त हामी नै छौँ । हामीलाई पायो कि सिध्याउने दाउमा तपाईंहरू हुनुहुन्छ र तपाईंहरूलाई पाए सिध्याउने दाउमा हामी पनि छौँ ।
हाम्रा विरुद्ध तपाईंहरूले कति पर्चा पम्प्लेट छर्नुभएको छ । कति रेडियो र टिभीको प्रयोग गर्नुभएको छ । कति विषादी र कुन्नि केके प्रयोग गर्नुभएको छ । हाम्रा नाउँमा सरकारी रकमको गर्नुसम्म दोहन गर्नुभएको छ । त्यो हामीले नजिकबाट हेरिरहेका छौँ । अनुभव गरिरहेका छौँ । मूल्याङ्कन गरिरहेका छौँ । हामी जाबो लामखुट्टेका विरुद्ध तपाईंहरूले कति जात फाल्नुभएको छ, त्यो सब हामीलाई जानकारी छ ।
हामीले यी लामखुट्टेलई सिध्याउन गरेका हरेक प्रयास यिनलाई कत्ति पनि थाहा छैन भन्ने भ्रम तपाईंहरू कदापि नपाल्नु होला । त्यस विषयमा हामी पूणर् रूपमा जानकार छौँ । हाम्रो सुरक्षा सञ्जाल र उच्चस्तरीय समितिमा ती सबैका विषयमा एक एक छलफल भइरहेको छ । एकतामा विश्वास नगरी फुटमा रमाउने तपाईंहरूलाई कसरी सिध्याउने भन्ने योजना हामीसँग पनि छ । हामी तपाईंहरू जस्तो सूचना लुकाउँदैनौँ । सक्नुहुन्छ भने सूचना दिएका छौँ के गर्नुपर्छ गर्नुस् । तपाईंहरूको सङ्घीय दरबारदेखि स्थानीय घरबारसम्म हाम्रा सेना तैनाथ भइसकेका छन् । कहाँ लुकेका छन्, के गरी बसेका छन्, के खाएका छन्, कुन पोशाकमा छन् ती सबै पत्ता लगाउने जिम्मा हामी जत्तिकै क्रान्तिकारी दाबीकर्ता तपाईंहरूलाई नै छाडेका छौँ ।
तपाईंहरू कतिसम्म हरिलठ्ठक बुद्धिमानी हुनुहुन्छ भन्ने कुरा तपाईंहरूले बेलाबेलामा व्यक्त गरेका तपाईंहरूका महान् वाणीबाट पनि प्रस्ट हुन्छ । तपाईंहरूका महान् वाणी सुन्दा हाँसो उठ्छ । तपाईंहरू भन्नुहुन्छ – यिनले घुँडामाथि आक्रमण गर्दैनन् । यिनको उडाइ क्षमता बढीमा तिन फिट हो । त्यसैले घुँडामुनि जोगाए हुन्छ ।
अब भन्नुस् तपाईंहरू भुइँमा बस्दा कति फिट हुनुहुन्छ ? ओछ्यानमा सुत्दा कति फिट हुनुहुन्छ ? पढाइलेखाइमा घोप्टिँदा कति फिट हुनुहुन्छ ? शौचादिमा बस्दा तपाईंहरूको उँचाई कति हुन्छ ? त्यसैले यस्तो हास्यास्पद कुरा गरेर कहीँ कतै नहिँड्नुस् । ढाडमा टेकेर टाउकामा हान्न सिकाउने वास्तवमा हामी हौँ । त्यसलाई तपाईंहरूले आफ्नो सिद्धान्त र नीति भनेर प्रचार प्रसार गर्नु भो । त्यस नीतिमा हामी अडिग छौँ । ढाडमा टेकेर टाउकोमा हान्ने सिद्धान्त अहिले पनि हामीले छोडेका छैनौँ । बोकेका छौँ । सतर्क हुनुस् – हामी तपाईंहरू जस्तालाई जहाँ पनि आक्रमण गर्न सक्छौँ । च्यापु, ओठ, नाक, कान, घाँटी, आँखा र समग्र टाउकोदेखि पैतालासम्म जहाँ पनि आक्रमण गर्न सक्छौँ । जोगाउन सके जोगाउनुस् । हैन भने बक्न पाएँ भनेर बुझ्दै नबुझी जथाभावी बकेर नहिँड्नुस् । यो तपाईंहरूलाई हाम्रो ठाडो चुनौती हो ।
कथित सृष्टिकर्ता ब्रह्मापुत्र/पुत्रीहरू,
तपाईंहरूलाई हामी यो ठोकुवासाथ भन्छौँ कि हामीमध्येका कसैलाई पनि तपाईंहरूले ठुलाठुला पद देखाएर, उच्चभन्दा उच्च कुर्सी देखाएर, अनेकौँ आकर्षक आर्थिक प्रलोभन वा यस्तै लोभलालचमा पारेर वा डर त्रास देखाएर हामी जस्ता प्रतिबद्ध इमान्दार क्रान्तिकारी पोथीहरूलाई आफ्ना पक्षमा तान्न सक्नुहुन्न । न त हाम्रा भालेहरूले नै त्यसरी लोभिएर जानका लागि हामीलाई आग्रह गर्नेछन् ।
स्वघोषित महान् क्रान्तिकारी कहलाइएका कथित सृष्टिकर्ता ब्रह्मापुत्र/पुत्री तपाईंंहरू हामीले केही वर्षअघिदेखि दुई चार जिल्लामा तपाईंहरू विरुद्धको क्रियाकलाप अघि बढाउँदा एक हिसाबले कानमा तेल हालेर बस्नु भएको थियो । अहिले हामीले तपाईंहरूको राजधानी लगायत करिब सबै जिल्लामा आफ्नो प्रभाव विस्तार गरेपछि बल्ल तपाईंहरूको घैँटोमा घाम लागेको छ । तपाईंहरूलाई चनाखो बनाएको छ । त्यो पनि काममा नभएर वचनमा । यस्तो स्थितिमा तपाईंहरूको अवस्था देख्दा हामीलाई तपाईंहरूप्रति दया लागेको छ । तैपनि हामी तपाईंहरूसँग त्यसै आत्मसमर्पण गर्ने पक्षमा छैनौँ । प्रस्टसँग भन्नुपर्छ कि तपाईंहरू जस्ता निकृष्टसँग सामूहिक एकता गर्ने पक्षमा पनि हामी छैनौँ ।
यतिखेर हामीले चाहने हो भने तपाईंहरू हामीसँग सत्ता साझेदारी पनि गर्न सक्नुहुन्छ । उस्तै परे अनेकौँ शर्तमा पूरै सत्ता हामीलाई सुम्पन पनि सक्नुुहुन्छ । तर, ढुक्क हुनुस् हामी देशको सत्ता प्राप्त गर्नका लागि क्रान्ति गरिरहेका छैनौँ । आतङ्क मच्चाइरहेका छैनौँ । हामी मात्र तपाईंहरूको शक्ति परीक्षणका लागि एकाएक क्रान्तिमा होमिएका हौँ । हामीलाई यतिखेर न विदेशको सहयोग छ, न स्वदेशको । न अरू प्राणीको हामीलाई सहयोग छ, न त तपाईंहरूको टोल, छिमेक र समाजमा तपाईंहरूकै उत्पत्तिकालदेखि तपाईंहरूसँगै नाची खेली आएका हाम्रै जात थर र गोत्रका लामखुट्टे मित्रहरूको नै हामीलाई सहयोग छ । यस अर्थमा प्रत्यक्ष रूपमा सबैसँग एक्लो भएर पनि सबैलाई थर्काउन हामी सक्षम छौँ । आतङ्कित पार्न सक्षम छौँ । खाना खाँदा होस् वा शौचालय जाँदा, उठ्दा होस् वा सुत्दा, खेल्दा होस् वा पढाइलेखाइ गर्दा, चिया पिउँदा होस् वा खाजा खाँदा, गफ गर्दा होस् कि झगडा गर्दा जहाँ जतिखेर पनि तपाईंहरूलाई झुल च्याप्न बाध्य पारेका छौँ । झुल ओढ्न बाध्य पारेका छौँ । यति गर्दा पनि हामीले झुल उद्योगी र व्यापारीसँग एक सुकासम्म पनि कमिसन मागे/खाएका छैनौँ । परपीडक ग्रन्थीका धनी हामीलाई यसमा सन्तोष छ ।
हिजोका दिनमा शत्रु भएर पनि आजका दिनमा हाम्रा आदिम पुर्खाका लामखुट्टे तपाईंहरूका मित्रु कहलिएका छन् हाम्रा तुलनामा यतिखेर । त्यसमा पनि हामीलाई कुनै गुनासो छैन । हामी अरू कसैको वाद र पथका अनुयायी होइनौँ । हामी, हामी आफैँले प्रतिपादन गरेको आफ्नै डेङ्गुपथमा प्रतिबद्ध छौँ ।
तपाईंहरूलाई ढाल्ने हाम्रो योजना हाम्रो समूहको निर्देशित मार्गदर्शन हो । हाम्रो यस लक्ष्यमा तपाईंहरूले कुनै भाँजो हाल्न सक्नुहुने छैन । तुषारापात गर्न सक्नुहुने छैन । आज नभए भोलि, भोलि नभए पर्सि र पर्सि पनि नभए निकपर्सिका दिनसम्म पनि हामी हाम्रो लक्ष्यमा जसरी पनि पुग्ने छौँ । हामीले तपाईंहरूको औकात जोखिसकेका छौँ । तागत जाँचिसकेका छौँ । हामी अस्तिका दिनका औलो आयातकर्ता लामखुट्टे जस्ता होइनौँ । हामी पूणर्तः पोथी समूहको अगुवाईमा क्रान्ति अघि बढाएका नौला क्रान्तिकारी हौँ ।
हाम्रो क्रान्तिकारिता भूगोलको कुनै सिमानामा पनि बाँधिएको छैन । हामीलाई देश, विदेश र महादेश घुम्न कोही कसैको राहदानी वा कुनै अनुमतिपत्र पनि चाहिन्न । यस अर्थमा पनि हामी स्वतन्त्र छौँ । महान् छौँ । हाम्रो क्रान्तिकारिता नौलो छ । हामीबिच कसैले समावेशिता वा अरू केही कुराका नाममा अलिकति अंशमा पोथीहरूलाई फसाएर बाँकी सबै अंश आफैँ ले झ्वाम पार्ने योजना बुनेका छैनौँ । पितृसत्ताको पुरानो ढर्राबाट हामी नितान्त फरक छौँ । अलग छौँ । यसबाट पनि पुष्टि हुन्छ कि हामी शुद्ध मनका विशुद्ध क्रान्तिकारी हौँ । समाजलाई सचेत बनाउने महान् आतङ्ककारी हौँ । सत्ताको लोभबाट नितान्त टाढा र पृथक् बाटो अँगालेका समूह हौँ । जो भूमिगत छौँ, अदृश्य छौँ । यति हुँदाहुँदै पनि दिनको उज्यालोमा सबैका सामु आफ्नो हर्कत देखाइरहेका छौँ र यस अभियानमा हामी निरन्तर लागिरहने छौँ ।
कथित सृष्टिकर्ता ब्रह्मापुत्र/पुत्रीहरू,
अन्त्यमा, आज यस प्रेस विज्ञप्तिमार्फत् तपाईंहरूलाई हामीले हाम्रा विविध गतिविधि र हाम्रो क्रान्तिकारिताका विषयमा सानै रूपमा भए पनि जे जति जानकारी दिन सक्यौँ यसप्रति हामी गौरवको अनुभूति गर्छौँ र भविष्यमा पनि यसरी नै राज्यको चौथो अङ्गमार्फत् हाम्रा गतिविधि सार्वजनिक गरिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ । भूमिगत रूपमा रहेका हामीलाई हाम्रा विषयका विविध गतिविधि सूचितताका लागि तपाईंहरू सामु यसरी सम्प्रेषित गर्न सहयोग गर्नुहुने सबै पत्रकार मित्रहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । धन्यवाद ।
मिति : संवत्रहितौ, श्रावण-भाद्र मासे, मध्याह्न दिनौ, रविवासरे ।
एडिस एजिप्टाई
पोथी लामखुट्टे
प्रवक्ता एवं सुप्रिम कमान्डर, डेङ्गुपथ
सप्तप्रदेशयुक्ते नेपालखण्डे ।
०००
‘अमरज्योति’ त्रैमासिक २०७७-२०७८, पूर्णाङ्क ५०
Subscribe
Login
0 Comments
Oldest






































