साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय होस् भ्रष्टाचारीहरूको

यो देशको तीब्र विकास र समृद्धिका लागि भ्रष्टाचार अझै मौलाउनु पर्छ, राष्ट्रिय ढुकुटीमा उनीहरूको लामो हात हुनैपर्छ । जय होस् भ्रष्टाचारीको !!

Nepal Telecom ad

आज नेपाली समाजमा सबै प्रकारका अपराध भ्रष्टाचार विकृति विसङ्गति, अनियमितता सर्ब स्वीकार्य र अपरिहार्य आवश्यकताको संस्कृति भएको छ । यस्तो अवस्थामा भ्रष्टाचारी अपराधीहरूलाई गाली गर्ने होइन सम्मान गर्ने हो, नमन भन्ने हो । प्रतिष्पर्धामा सक्दो ठुलो माला पहिर्याइ दिने हो, एकाध मुठा पैसा फ्याँकेर स्तुतिगान लेख्न लगाएर जय जयकार गर्ने गराउने हो ।

एक पटक ठण्डा दिमागले सोचौँ त यिनै भ्रष्ट र अपराधीहरूको कारणले लाखौँ प्रहरीले काम पाएका छन् । नयाँ नयाँ सुरक्षाका प्रविधि किन्न पाएका छन् । त्यसमा पनि हात चाट्न पाएका छन्, भ्रष्टाचारी अपराधीहरू त महान् रोजगारदाता हुन् । उनीहरूलाई सलाम नगरी कसरी बस्न सकिन्छ ? हेर्नुस् त लाखौं वकिलहरूको रोजगारी, हेर्नुस् त अदालतको गठन अनि कर्मचारी, न्यायाधीश, जेल र जेलरहरू ! उनीहरूको शान, मान र सम्वृद्धिको स्रोत नै यिनै भ्रष्टाचारी र अपराधी होइनन् र ?

न्यायाधीशको ठुला ठुला आलिशान महल तलबमा बन्छन् ? वकिलहरूको रवाफ हेर्नुस् । जति ठुलो अपराध त्यति ठुलो रकम झर्छ, उनीहरूलाई थाहै हुन्न खातामा कताबाट, कहिले, कति रकम जम्मा हुन्छ । बिजुलीको मिटर झै खातामा पैसा बढ्या बढ्यै हुन्छ । समाजमा अपराध र भ्रष्टाचार नबढ्ने हो भने कानुनका उच्च बिद्यालयहरूमा ताला लाग्छ, अदालतमा ताला लाग्छ प्रहरीको कार्यालयमा ताला लाग्छ, लाखौँ दलाल बिचौलियाहरूको कन्तबिजोग हुन्छ । उनीहरूमा आश्रित लाखौँ परिवारको मुखमा कसले माड हालिदिन्छ ? त्यसैले भन्छु सलाम भ्रष्टाचारीज्यूहरू, नमन अपराधीज्यूहरू यो राज्य, यो प्रशासन, यहाँहरू बिना अस्तित्व विहिन हुन्छ, देशमा बेरोजगारीको समस्या बढ्छ ।

लाग्दछ सृष्टिकर्ताले भ्रष्ट र अपराधिक मनोवृतिका महामानवहरूले जानी जानी नै जन्म दिएको हुनुपर्छ ता कि आफू असल भनिनेहरूलाई जागिर मिलोस्, देशमा लाखौँ एनजिओज्यू, सैयौ आइएनजीओज्यूहरू छन् । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म उनीहरूलाई रकम झार्ने स्रोत यिनै भ्रष्ट र अपराधिकहरू नै हुन् । देशको विकृति विसंगति नाङ्गो शरीर र गरिबको करङलाई अन्तर्राष्ट्रियकरण नगरे कसरी उनीहरू जस्तो पढे लेखेकाको हातमुख जोर्ने बाटो बन्छ ? त्यसैले भन्छु सलाम भ्रष्टाचारीहरू, नमन अपराधीहरू यहाँहरूको हौसलामा किन्चित निराशा नछाओस् ।

भ्रष्टाचारी अपराधीहरूको क्रान्तिकारी छलाङमा कोही कथित इमान्दार व्यवधान पुर्याउन आउँछ भने डा राजिव गुरुङ, चक्रे मिलन धुकुरे, घ्याम्पे सरहरूको विश्व विद्यालयमा प्रशिक्षित होनाहार युवा लगाएर खुट्टा भाँची दिनुपर्छ वा सेतो खैरो कालो के मिल्छ गोजीमा हाली दिएर प्रहरी बोलाइ वकिल न्यायाधीश अनि जेलको आहारा बनाइ दिनुपर्छ वा ती बुर्जुवा बुद्धि भएकाको धर्नेसो फुस्काई दिनुपर्छ वा देशै छोडेर पलायन हुन बाध्य पारि दिनुपर्छ । अनि कोइ नाक फुलाएर म/हामि भ्रष्टाचार बिरोधी अभियन्ता भन्दै बिरोधमा निस्क्यो भने तिनीहरूको मुख र कानमा डलरको बारुद हालेर भ्रष्टाचार बिरोधी दिमाग र सोचलाई ‘डिफयुज’ पारि दिनुपर्छ ।

भ्रष्टाचार गयौँँ त के भो ? अपराध गयौँ त के भो ? किन गाली गर्नु ? हेर्नुस् भ्रष्ट र अपराधीहरूको पछाडि कति लागेका हुन्छन् ? कतिको रोजगारी छ, ब्यापार छ, अस्तित्व छ, शान छ, अपराधीहरूसँगै पोज दिएर फोटो खिच्ने अधिकारीलाइ सोध्नुस् त नेता, नेताका कार्यकर्ता नाममा बिचौलियाहरूको आर्थिक स्रोत के यिनै होइनन् र ? बास्तबमा हज्जारौं लाखौ प्रहरी शेना वकिल जेलर न्यायाधिशदेखि बिचौलियाहरूलाई जागिर दिलाउने नेतालाइ साँझ पर्ने बित्तिकै हात थाप्न घरमा धाउन लगाउन सक्ने यस्ता महान व्यक्तित्वहरूको सम्मान गर्न हाम्रो राज्यले सिकेको छैन । डा राजिब गुरुङ जस्ता अगाध सम्पतिका मालिक जसलाई आफ्नो सम्पतिको समेत हेक्का छैन यस्ता महान् समाजसेवीलाई ढिलै भए पनि मन्त्री बनाएर राज्यले आफ्नो दायित्व बुद्धिमतापूर्बक निर्वाह गरेकोमा बधाई दिनुपर्छ । नेपाली समाज अलि बुद्धिमान बन्दै गएको प्रमाणको रुपमा लिनुपर्छ, उहाँका अनुयायीहरूबाट जो पीडित छन् उनीहरूको पनि छिटै उचित पदमा नियुक्ति हुनुपर्छ ।

अँ साँच्ची, यस पटक मेलम्चीमा सुरुदेखिनै योजना लम्ब्याउन आफ्नो मानसिक उर्जा र समय लगाउने स्वदेशी विदेशीय व्यक्तित्वहरू तक्माको अवसरबाट छुट्नु भएको त छैन ? छुटेका छन् भने अन्याय भएको छ सरकार, अर्को पटकको सूचीमा राख्नु है ! सडक कमजोर भयो भत्क्यो खाल्डा खुल्डी भयो त के भयो ? गाडी बिग्रन्छ त के भयो, गाडी बनाउने कारखानाले काम पायो । जाम भयो ढिला भयो त के भयो तेलको खपत बढ्यो, आयल निगमको बोनस बढ्यो धूलो र धुवाँले बिमारी बनायो त के भयो ? त्यतिका अस्पताल खुलेका छन् । डा. नर्सहरूले काम पाएका छन् । अस्पतालको आम्दानी बढ्यो । खराबी के छ भन्छु म त ?

त्यसैले भन्छु भ्रष्ट शासक र प्रशासक अनि उनीहरूको आहारा जोहो गरिदिने बिचौलिया दलालहरूलाई सम्मान गरौँ । राष्ट्रिय पदक, पुरस्कार र सम्मान अर्पण गरौँ, जहाँ भेट्छौँ त्यहीँ घोप्टे दण्डवत गरौँ । यो देशको तीब्र विकास र समृद्धिका लागि भ्रष्टाचार अझै मौलाउनु पर्छ, राष्ट्रिय ढुकुटीमा उनीहरूको लामो हात हुनैपर्छ । जय होस् भ्रष्टाचारीको !!
०००

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x