शेखर ढुङ्गेलभ्रष्टाचारका फाइदै फाइदा !
अंग्रेजी बोल्न र नाङ्गै हिँड्ने स्वतन्त्रताको पाठ सिकाउने छन् । अनि हाम्रो सान मान पनि युरोप अमेरिकाको झैँ हुनेछ । आउनुस् सबै मिली भनौं भ्रष्टाचारीको जय जय जय !!

किन कराउँछन् आज मानिसहरू भ्रष्टाचारको विरुद्धमा ? म छक्क पर्ने गरेको छु बेतुकका कुरा सुनेर । भ्रष्टाचार नगर्ने र नहुने हो भने योशब्दकै उत्पति भएको किन ? भ्रष्टाचार त सम्मान गर्न लायकको कर्म हो । भ्रष्टाचारीलाई छानीछानी पुरस्कृत गर्नु पर्छ, राज्यले यसलाई दायित्वका रुपमा लिनु पर्दछ र लिँदै आएको पनि छ । भ्रष्टाचार एक फाइदा अनेक- केही उदाहरहणीय प्रसङ्ग चर्चा तपसिलमा प्रस्तुत गरिन्छ :-
(एक)- राज्य र प्रशासनिक सेवाको क्षमतामा स्खलन आउने र भ्रष्टाचारीको स्वच्छन्दतामा वृद्धि हुने बैंक, प्रहरी, वकिल, जेल र न्यायाधीशहरूलाई फाइदा (दुई)- न्याय सम्पादनलाई कमजोर पार्ने हुँदा भ्रष्टाचारीहरू र बिचौलियाहरूको सहयात्रामा न्यायाधीशहरूलाई सहभागी हुन् सहज हुने (तीन)- भ्रष्टाचारका कारण बेरोजगारी बढ्ने हुँदा भ्रष्टाचारमा संलग्नलाई बैदेशिक तीर्थ यात्रामा पठाउन सहज हुने देशमा तिर्थयात्री संकलन गर्ने, दल र उनीहरूका कर्मठ सेवकहरूको दानापानीको सहजता हुने (चार)- भ्रष्टाचारको कारण स्वास्थ्य र सुद्धतामा न्यूनीकरण भै अस्पताल डाक्टर नर्सदेखि नक्कली कारोवारीहरूको लागि स्वणर्िम वातावरण निर्माण हुने (पाँच)- प्रदुषण बढ्ने हुँदा अस्पतालदेखि, औषधि व्यापारीदेखि नक्कली डाक्टर र औषधि उत्पादकलाई समेत फाइदा पुग्ने (छ)- भ्रष्टाचारीको कारण सडक दुर्घटनामा वृद्धि भै पीडितको मुल्य बढ्ने, डाक्टर, अस्पताल, सडक विभाग, सहजकर्ताहरूलाई फाइदा नै फाइदा (सात)- भ्रष्टाचारीको महान् सफलता भनेको विकासका विरोधी, अपराध अनुसधानकर्ताहरूलाई असफल र अविश्वसनीय पार्ने हुँदा भ्रष्टाचारी र अपराधी होनाहार सपुतहरूले पुरष्कृत हुने अवसर पाउने । यसरी भ्रष्टाचार र अपराधीले देशलाई अन्तर्राष्ट्रिय ख्याती बढाउने भएकाले जयजयकार गर्नेपर्छ ।
त्यति मात्र कंहाँ हो र एउटा भ्रष्टले ठुलो घर बनाउँछ, हार्डवेयरले कमाउँछ, मजदुरले कमाउँछ, इन्जिनियरले कमाउँछ, फर्निचर व्यापारीले कमाउँछ । प्रत्यक्ष अप्रत्यक्ष एउटा भ्रष्ट र अपराधीले सैयौंलाई काम, नाम र माम दिँदै आएको छ । अनि खराबी के छ ? रेष्टुरा, होटेल, रात्रिक्लबको ब्यापारको स्रोत उनीहरू नै हुन् । भ्रष्टाचारीले नै महँगो गाडी किन्छ, व्यापारी कर्मचारीदेखि निर्माता कम्पनीको समेत भलो हुन्छ, खराबी के छ ? अझै छिमेकमा रक्सी पसल छ भने त उसको जीवन उद्धार नै हुन्छ । त्यसैले भन्छु जय भ्रष्टाचारी, नमन अपराधी । हेर्नुस् त विगतको धनयुद्धको फाइदा बैंकमा थुप्रेका नोटहरू कति सहजै गाउँ गाउँ पुग्यो, कतिले महल ठड्याए, कतिले गाडी किनेर सयर गरे, कतिको हज्जार पर्ने जमिनको भाउ करोडौंको भयो । भ्रष्टाचार, लुट अपराध नगरेको भए यो प्रगति हुन् सम्भब थियो त ? डनसमूह नै संगठित भए र तिनैले लुटे के बिग्रियो ? होटल रात्रिकल्बहरू खुले रोजगारी बढ्यो, नेताको आय स्रोत बढ्यो, प्रहरीको के कुरो वकिल र न्यायाधीशहरूको पनि त आय बढ्यो ।
म त भावावेशमा आएर “भ्रष्टाचारीलाई किरा परोस्” भुलेर पनि भन्दिन । भ्रष्टाचार देशको सम्वृद्धि रोजगारी मात्र ठप्प हुँदैन, आखिर को बाँकी रहन्थ्यो त ? फेरि नेपालमा भगवानले त्यस्तो सेन्टी कुरो सुनी दिनुभएको भए ? उहिले कुन देशका राजाले भगवानसँग मैले जे छुन्छु त्यहि सुन होस् भनेर बरदान मागे जस्तो होइन र यो माग ? धन्न भगवानले सुनी दिनुभएन र नत्र…. सम्पूर्ण नेपालीको अस्तित्व समाप्त हुने खतरा थियो नि ! को छ र चोखो ? आखिर यो सेन्टी माग गर्ने पनि त हज्जारौं नागरिकको चन्दामा रजगज गर्ने मानसिकताका हुन् । उनको पनि त भलो भएको छ । ढिलै भए पनि सुडान महोत्सव मनाएर शीर्ष महोदयहरू सहयोग गरि आफू साँझ बिहान भित्र बाहिर गर्दा स्यालुट खादै जेल जस्तो पबित्र तीर्थमा पुगेर महायज्ञमा समर्पित, इतिहासमा अनुकरणीय हुनुभएका पूर्बप्रमुखको टँुडिखेलमा सालिक राख्ने काममा सरकार पछि नहटोस् । साना प्रहरी र नागरिक चिच्याई चिच्याई माग गरिरहेछन् वहाहरूलाई “महान प्रवल राष्ट्र समुज्जल” पदक बाट विभूषित गरियोस् ।
म त भन्छु यी महान रोजगारदाताहरूको सम्मान गर्न प्रत्येक वर्ष प्रतिष्पर्धा गराउनु पर्छ र एकलाई “वर्षको नायक भ्रष्टाचारी” घोषणा गरौँ । बिस्तारै टोलटोलको चोकचोकमा भ्रष्ट र अपराधीहरूको सालिक राख्ने अभियान चलाउनु पर्छ । भ्रष्टहरूको नाममा मन्दिर, मस्जिद, गिर्जाघर, अनि विद्यालयको नाम राख्नुपर्छ । सडकको नाम पहाडको नाम हिमालको नाम राख्नु पर्छ । ता कि युवापुस्ता र आउने पुस्ता समेत यो महान् कर्ममा समर्पित रहुन् र यो क्रान्तिकारी अग्रगमन महान् कदम निरन्तरित रहोस् । नक्कली प्रमाणपत्र बाहक सेना प्रहरी वकिल इन्जिनियर डाक्टर प्रशासक पाइलटदेखि म्याद गुज्रेको खानेकुरोदेखि औषधि र दुध बेच्नेहरूको लागि विशेष समिति मार्फत छनौट गरि “वर्षको देशको उच्च नागरिक” विभूषणले सम्मान गर्ने नीति निर्माण गरौँ ।
केहि वर्ष अगाडि देशको शान्ति सुरक्षा अपहरण गरेर बेपत्ता पार्ने हज्जारौलाई पलायन हुन प्रेरित गर्ने ‘राष्ट्रिय हिरो’लाई गृह मन्त्रालय र उनका गुरुलाई प्रधानमन्त्री बनाएर सेना र प्रहरीले ड्याम्म ड्याम्म स्यालुट ठोकेर सम्मान दिएको देख्दा यो नाथे लेखकको मन खुसीले गदगद भएको थियो । हो खुसी लागेको छ- निमुखा गरिब निरिह १ सात र ३ सून्य नागरिकका मुक्तिदाताको मुक्ति टावरको निर्माणले कतिलाई फाइदा भयो ? कतिले रोजगारी पाए ? त्यसै ती मुक्तिदाताको अगाडि देशका ठुला ब्यापारी प्रतिष्ठानका मालिकहरू स्वर मिलाएर गाउने, छमछम नाच्ने मादल बजाउने गरेका हुन् र ? सलाम भ्रष्टाचारी नमन अपराधी ! तिमी नै हौ यो देशको विधाता वास्तवमा ४/५ अर्ब तलमाथि गरेकोको नेताको श्रीमतीलाइ सांसद पद दिएर र विमानस्थलको नाम मात्र उनको नाममा राख्ने भनेर अन्याय भएको छ । त्यतिले पुग्दैन । विमानको नाम नै उनको नाममा राख्नुपर्छ अनि पो हाम्रो देशको प्रख्याति विश्वमा चम्किन्थ्यो त ।
आउनुस्, अब तपाइँ हामी कोइ छुटेका छौं भने सबै भ्रष्टाचारी बनौं, अपराधी बनौ, भ्रष्टाचारीको जय भनौं, अपराधीप्रति नमन गरौं राष्ट्रको गौरव बचाउँ विश्वलाई । यदि हामी सबै मिलेर हाम्रो भ्रष्टाचारी अपराधी योग्यताको प्रमाण पुर्याउन सफल भयौं भने हाम्रा महान् परिवर्तनकारी नेताहरूको टाउको दुखाइ पनि कम हुन्थ्यो । किनभने हामी भ्रष्टाचारी प्रमाणित हुने जस्तो महान् कर्ममा सफल भयौं भने यहाँ विदेशीले सहर्ष आफ्नो कदम बढाउने छन् । अनि नेताहरूको लागि सहायक बन्नेछन् । डलर झार्नेछन् । अंग्रेजी बोल्न र नाङ्गै हिँड्ने स्वतन्त्रताको पाठ सिकाउने छन् । अनि हाम्रो सान मान पनि युरोप अमेरिकाको झैँ हुनेछ । आउनुस् सबै मिली भनौं भ्रष्टाचारीको जय जय जय !!
०००
Subscribe
Login
0 Comments
Oldest






































