
मान्छे फेला परेको सूचना !
बूढो भो रे, अब त खुट्टा लाग्दैनन् रे, आराम गरेर बरु सहरमै बस्छ रे, विजयश्री लिन मात्र गाउँ आएको, भोलिपल्टै टाप कस्छ रे, मेरो यो जुनीको अन्तिम झोली भर्दिनोस् न भन्छ, एक भोट दिएर अब सदाको लागि बिदा गर्दिनोस् न भन्छ ।

चिने चिने जस्तो
उसबेला सँगै हिनेहिने जस्तो
उसको दर्शन महँगो, कुरा सस्तो
स्थाइ ठेगाना यही गाउँ नै बताउने
पूरानै चुनाव चिन्ह देखाएर
फेरि दुनियाँलाई सताउने
पुःन दुस्साहस गरेको छ
एउटा मान्छे गाउँमा फेला परेको छ ।
नियत सफा छैन उसको, मन सफा छैन
तर उसको तन सफा छ, सुद्धीकरण गर्यो सायद धन सफा छ
गाउँमा उसको नाउँमा, मात्र एउटा झारै झारले ढाकेको घर छ
विश्वास गुमाएँ कि भन्ने सायद उसको मनमा डर छ
त्यसैले चुनावको तिथि दुई महिना बाँकी छँदै
सहरबाट गाउँ झरेको छ
एउटा मान्छे गाउँमा फेला परेको छ ।
उसले अधबैंसे उमेर पार गरे जस्तो लाग्छ
बुढेसकालतिर डेरा सरेजस्तो लाग्छ
पहिला पहिला पनि हामी उसैको विजय जुलुसमा झरे जस्तो लाग्छ
अब त गाउँले काँचुली फेर्छ भनेर उसकै भर परे जस्तो लाग्छ
बिर्सिए बिर्सिए जस्तो
माया मरे मरे जस्तो
कस्तो कस्तो
पहिला त मनमा नजिकै बसेथ्यो कि जस्तो
अहिले त मनबाट टाढा सरेको छ
एउटा मान्छे गाउँमा फेला परेको छ ।
परदेश हिँडेको छोरो जस्तो माला, टिका लगाएर बिदा गरेकै हो
विदेशबाट उमङ्ग पठाइदेला भन्ने आशा गरेकै हो
छानो चुहियो, उसले सहानुभूति पठाएन
खेत लग्यो, ऊ आएन
घरै लड्ला लड्ला जस्तो छ उसले थाहै पाएन
गाउँलेका अनगिन्ती गुनासाहरू छन्, उसले कुरै खाएन
तर एक्कासी आज
आफूलाई मान्छेका काँधमा बोकाएर
पाल्कीमा सजाएर
उसले गाउँमा पस्ने हिलाम्मे बाटो र पुल बगाएको खोलो तरेको छ
एउटा मान्छे गाउँमा फेला परेको छ ।
अब त फेरि म बिलौना गाउँदिन भन्छ
एकचोटी अन्तिम भोट दिनोस् न बाआमा, फेरि माग्न आउँदिन भन्छ
बूढो भो रे, अब त खुट्टा लाग्दैनन् रे
आराम गरेर बरु सहरमै बस्छ रे
विजयश्री लिन मात्र गाउँ आएको, भोलिपल्टै टाप कस्छ रे
मेरो यो जुनीको अन्तिम झोली भर्दिनोस् न भन्छ
एक भोट दिएर अब सदाको लागि बिदा गर्दिनोस् न भन्छ
के तपाईंको मनले पनि
जाओस्, मरोस्, अन्तिम एक भोट लगोस् जस्तो गरेको छ ?
एउटा मान्छे गाउँमा फेला परेको छ ।
०००
भक्तपुर