यादव भट्टराईएक मिनेट
निदाउने छन् ओढेर अनिदा रातहरू समृद्धिको यात्रामा भ्रम बोकेर परिवर्तनको फेरि चढ्ने छन् सपनाको धरहरा आउनुहोस् ! यो बस्तीमा हामी एक मिनेट मौनधारण गरौँ !

यादव भट्टराई :
उता
बिक्रीमा राखिने छन् फेरि
सोकेसमा सजाएर
केही पदहरू
लिलामीमा हुने छन्
हुने छ मनलाग्दी मूल्य बढाबढ
सरुवा, बढुवा र नियुक्तिका लागि
लामबद्ध हुने छन् फेरि
नयाँ र केही पुरानै टाउकाहरू
दर्खास्तहरू पर्ने छन् आआफ्ना
देशवासीका नाउँमा –
प्रस्तुत गरिने छन्
आश्वासनका नवीन शैलीहरू
यता
छोडेर आफू जन्मेको आँगन
टाँसेर आँखामा
आमाको वृद्ध अनुहार
लाममा हुने छन् राहदानीहरू
भोक खाएर पेटभरि कोही
निदाउने छन्
ओढेर अनिदा रातहरू
समृद्धिको यात्रामा
भ्रम बोकेर परिवर्तनको
फेरि चढ्ने छन् सपनाको धरहरा
आउनुहोस् !
यो बस्तीमा
हामी
एक मिनेट
मौनधारण गरौँ !
०००
२०८१ श्रावण २, बुधबार
Subscribe
Login
0 Comments
Oldest






































