फित्काैली डटकमभानु प्रतिष्ठानकाे विशेष काव्य साँझमा दुई दर्जन कविता प्रस्तुत
भानु प्रतिष्ठानका अध्यक्ष नवराज लम्सालको अध्यक्षता र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दुइ दर्जन कविहरूले समसामयिक कविता वाचन गरेका थिए ।

काठमाडौं, २०८१ असार ३१ । भानु प्रतिष्ठानले हप्ता दिनसम्म विभिन्न कार्यक्रम गरेर भानुभक्त आचार्यलाई सम्झिइरहेको छ । त्यसै सिलसिलामा राजधानीमा विशेष कविगोष्ठीसहित भानुलाई सम्झने कार्य सम्पन्न भयो ।
प्रतिष्ठानको आयोजना र कलङ्कीस्थित एल.आर.आइ. स्कुलको सहआयोजनामा भएको सो काव्य सन्ध्यामा २४ जना नयाँ र पुरानो पुस्ताका कविले कविता वाचन गरेका थिए ।
कविता वाचन गर्ने कविहरूमा डा.अमर गिरी, प्रह्लाद पोखरेल, धीरेन्द्र प्रेमर्षी, मातृका पोखरेल, नरनाथ लुइँटेल, उषा शेरचन, प्रभाती किरण, मोहराज शर्मा, गीता सापकोटा, डा.सीता सुवेदी पन्थी, डा.मधुसूदन लामिछाने, डा. महेश पौडेल, जुनू घिमिरे, पूणर्िमा खरेल, अर्जुनबाबु दहाल, भगवती बस्नेत, निर्जला लम्साल, महेश कार्की क्षितिज, मुकुन्द शर्मा, सुभाषचन्द्र भण्डारी, राजु उभरकोटी, खगेन्द्र दाहाल र तीर्थ जोशी हुनुहुन्थ्यो ।
कविता वाचन गर्ने कविहरूलाई भानुप्रतिष्ठानका तर्फबाट सम्मानपत्र र एल.आर.आइ स्कुलका तर्फबाट उपहार प्रदान गरिएको थियो । कविहरूमा समर्पित सम्मानपत्र भानु प्रतिष्ठानका सचिव पुरु लम्सालले वाचन गर्नुभयो ।
भानु प्रतिष्ठानका अध्यक्ष नवराज लम्सालको अध्यक्षता र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा भट्टराईले सबै कविहरूलाई आधुनिक भानुको संज्ञा दिँदै भानुका नाममा व्यवस्थित सङ्ग्रहालय बन्नु पर्ने र बजेट बन्दा यस्ता प्रतिभाहरूको संरक्षणमा बन्नुपर्ने विचार राख्नुभयो । उहाँले जनयुद्ध कालमा लामा भाषण भन्दा ससाना कविता र गीति अंश अभिप्रेरक सामग्री बनेको स्मरण गर्दै वाचित कवितामाथि टिप्पणी पनि गर्दै कविहरूसँग बिताएको समय सार्थक भएको बताउनुभयो ।
कार्यक्रमलाई स्वागत गर्दै एल.आर.आइ. स्कुलका प्रिन्सिपल डा. देवकान्त जोशीले भानुभक्तको योगदानको सम्मान गर्नुभयो र कार्यक्रम आयोजनाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
भानु प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छुले आफूहरु भानुका नाममा वर्तमान भानुहरूको सम्मान गर्न र भानुभक्तीय साहित्य मात्र नभई नेपाली साहित्यका संबर्द्धनमा लागिरहेको बताउनुभयो । उहाँले काव्य सन्ध्याका रुपमा हुँदै आएको विशेष कविगोष्ठी धेरै वर्ष लिटिल एन्जल्स स्कुलमा भएको र यस वर्ष एल.आर.आइ. स्कुलमा भएको बताउनुभयो । उहाँले एल.आर.आइ. स्कुलका शिवराज पन्तका तत्परता र साथले भानु प्रतिष्ठानले यो भव्य कार्यक्रमको संयोजन गर्न सकेको बताउनुभयो ।
कार्यक्रमका सभापति नवराज लम्सालले भानुभक्तको मूल्याङ्कन उनको रचनाकालका आधारमा गर्नुपर्ने धारणा राख्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमपछि एल.आर.आइ. स्कुलले दिएको शान्त रात्रिभोजमा सरिक भएर कविहरू घर फर्कनुभएको थियो ।
कार्यक्रममा एल आर.आइ.स्कुलका बालबालिकाले स्वागत गीत गाएका थिए भने शिक्षक तीर्थरज जोशीले पनि कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा ज्येष्ठ स्रोताका रुपमा मिठ्ठु आचार्य र सूर्यनाथ लुइटेल सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा संविधान सभाका सांसद् एवम् पूर्वमन्त्री हिसिला यमी, भानु प्रतिष्ठानका निवर्तमान अध्यक्ष व्रतराज आचार्य, भानु प्रतिष्ठानका सल्लाहकार प्रभा भट्टराई, प्राज्ञ हंसावती कुर्मीलगायत विद्यालय परिवार र भानु प्रतिष्ठान परिवारका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
०००
तस्विर : उषा शेरचन
Subscribe
Login
0 Comments
Oldest






































