टिपनटापननक्कली सुशील कोइरालाको हास्ययात्रा
‘तेस्रो हुनेले मलाई भेट्नै सक्दैन, पहिलोलाई मैले भेट्नु थिएन’, विद्यार्थी जीवनमा उनी भन्थे, ‘पहिलोलाई भेटेको दिन उसले आत्महत्या गर्छ ।’ विद्यालयमा न त तेस्रो हुने साथीले उनलाई भेट्न सके । न त उनले पहिलो साथीलाई नै । उनी अधिकांश परीक्षामा दोस्रो भए ।
यसो हुनुको पछाडि एउटा कारण थियो उनी आफ्नो कक्षाको पाठ्यपुस्तक खासै पल्टाउँदैथे । उनको खास रुचि भने अतिरिक्त पुस्तक र क्रियाकलापमा थियो । पाठ्यपुस्तकको खासै अध्ययन नगरे पनि उनी शिक्षकले पढाएको कुरा ध्यानपूर्वक सुनेको भरमै कक्षाका अब्बल विद्यार्थीहरूको सूचीमा सूचीकृत भएका थिए ।
अब्बल अध्ययनकै कारण उनका शिक्षक र घर परिवारका सदस्यहरू उनलाई भविष्यको ‘डाक्टर वा इन्जिनियर’ को रुपमा देख्थे । तर, अरुले सोचेजस्तो कहाँ हुन्थ्यो ? झापा कनकाई नगरपालिकाका राजा राजेन्द्र पोखरेल हास्य कलाकारका रुपमा उदाए । हिजोका अब्बल विद्यार्थी आज अरुलाई पेट मिचीमिची हँसाउने अब्बल हास्य कलाकारको सूचीमा दर्ज भैसकेका छन् ।
साथी–सँगी र घर परिवारले उनलाई कलाकारितामा जालान् भनेर सोचेकै थिएनन् । तर उनी नेपाली हास्य कलाकारिता क्षेत्रमा उदीयमान युवाका रुपमा परिचित छन् । कुनै पनि कुरालाई पृथक ढङ्गले विश्लेषण गर्दै हास्यास्पद शैलीमा प्रस्तुत गर्ने कला भएका उनी नेपालका थोरै व्यस्त कलाकारहरू मध्येका एक मानिन्छन् ।
मिडिया हबको ब्यानरमा नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य कार्यक्रम ‘मेरी बास्सै’ मा प्रधानमन्त्री सुशील कोइरालाको रुपमा प्रस्तुत हुँदै आएका राजा राजेन्द्र ‘फर सी नेटवर्क’ द्वारा उत्पादित हिमालय टेलिभिजनको हास्य कार्यक्रम ‘जोकशास्त्र’ को पनि प्रस्तोता हुन् ।
नेपालकै एक मात्र मनोरञ्जनात्मक रेडियो ‘रेडियो अडियो’ मा पनि राजा राजेन्द्रले हास्य कलासँग सम्बन्धित कार्यक्रम प्रस्तुत गर्दै आएका छन् । पछिल्लो समय रेडियो अडियोमा उनका हास्य कार्यक्रमहरू कमेडी क्लब, सुपर फास्ट, चटपटे गरम र भूकम्प कक्षा प्रसारण भइरहेका छन् । यसका साथै उनी गायन क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनले २ दर्जन बढी गीतमा स्वर दिइसकेका छन् ।
वि.स. २०४३ सालमा पिता डिल्लीराम र माता भद्रमायाको सुपुत्रका रुपमा जन्मिएका उनले भृकुटी उच्च मावि दुर्गापुरबाट प्रवेशिका परीक्षा दिएका हुन् । विद्यार्थी छँदा उनी विद्यालयमा आयोजना हुने प्रत्येक अतिरिक्त क्रियाकलापमा भाग लिन्थे । विशेषतः उनी वक्तृत्वकला प्रतियोगितामा अब्बल थिए । विद्यालयमा उनलाई कसैले पनि वक्तृत्वकलामा जित्न सकेन । वि.सं. २०५८ सालमा भविष्य खोज्दै राजधानी छिरेका उनले काठमाडौंमा पनि स्टेज प्रोग्रामहरू ‘होस्ट’ गरे ।
‘०६३ सालमा चर्चित हास्यव्यङ्ग्यकार मनोज गजुरेलसँग भेट भयो, उहाँ पनि झापाली भएकाले सहयोग गर्ने बचन दिनुभो ।’ राजा राजेन्द्रले भने । अन्ततः उनी गजुरेलसँग मिलेर गाईजात्राको समयमा प्रस्तुति दिन थाले । नेपाल टेलिभिजनबाट प्रसारित टेलिशृङ्खला ‘जय होस’ बाट राजा राजेन्द्रले टेलिसिरियलमा डब्यू गरेका हुन् । बेइमान भनेर चिनिने रवि डङ्गोलले उनलाई टेलिसिरियलमा अवसर दिएका थिए । पछिल्लो समय सार्वजनिक भएका उनका गीतहरू मध्ये ‘चन्द्रमाको झैँ शितल देऊ’ले निक्कै चर्चा पायो । उनी आफ्नो प्रस्तुति दिने क्रममा नेपालका विभिन्न ५७ वटा जिल्ला घुमे भने प्रस्तुतिकै लागि हङकङसम्म पुगे ।
नेपाली कला र मनोरञ्जन क्षेत्रमा थोरैले मात्र राम्रो कमाइ गरिरहेको अवस्थामा उनी आफ्नो कमाइबाट सन्तुष्ट रहेको बताउँछन् । ‘कलाकारहरूको भविष्य उज्यालो छ’ भन्छन् । हाँस्दै उनले भने, ‘तर वर्तमान चाहिँ पूरै अन्धकारमय ।’
पछिल्लो समय नेपालमा आएको विनाशकारी भूकम्पबाट पीडित भएकाहरूको पुनस्र्थापनाका लागि नेपाली कलाकारहरूको तर्फबाट गीत, सङ्गीत र हास्यव्यङ्यका क्षेत्रबाट सिस्नु–पानी नेपालको अग्रसरतामा सहयोग सङ्कलन कार्य गर्ने तयारी भइरहेको उनले जनाएका छन् । ‘इमान्दारिताका साथ कलाकारितामा रुज्न सके सफल भइन्छ ।’, कलाकारिता क्षेत्रमा भविष्य खोज्दै गरेका नयाँ कलाकारहरूलाई सुझाव दिँदै उनले भने, ‘कलाकारितालाई फेसन बनाउनुहुँदैन । फेसन आउँछ जान्छ । तर, कला सधैँ रहिरहन्छ ।’
– प्रस्तुति गौरव पोखरेल
Subscribe
Login
0 Comments
Oldest







































