साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एफके दाजु

हाम्रा एफ के दाजु तपाईको गाउँ घरतिर पनि चोर स्याल जस्तो पस्लान् । सोझो भद्रा भएर बस्लान् । आफ्नो गाउँ घरमा गरेका करतुत फेरि नदोहोर्‍य़ाउ़लान् । तर लागेको बानी कसले छोड्ने  ??

Nepal Telecom ad

यो संसारमा तरुणी भएर जन्मिनु नै गाह्रो छ । कुनै तरुणी देख्ने साथै बाह्र हात टाढ़ा बसी घुटुक् घुटुक थुक निल्ने एउटा देशान नै चलेको छ हाम्रो गाउँमा । यो देशान अरु गाउँ-घरतिर पनि नचलेको नहोला । लु युवकहरू ता भए भए लठेब्रा धरि पो तरुणीहरू देखे तीन ठुन्का परेर क्यै राख्दैन । अझ उनीहरूसित जिस्किए दिए… बोलिदिए… वाटस्एपको नम्बर माग्नु मात्र होइन फेसबुक छ भनी सोध्न छोड़्दैनन् । त्यो ट्याक-ट्याके फोनमा के को फेसबुक, के को वाटसएप । तपाईको गाउँमा पनि यस्ता लठेब्रे हिरोहरू होलान् ।

हाम्रो गाउँलाई पनि यो देशानले नभेटेको होइन । हाम्रो यो गाउँमा एकजना फुर्के न फुर्के दाजु छन् । हामीले उनलाई झपटबहादुर नाममा बोलाए पनि गाउँमा उनको चुरीफुरी चर्तीकला देखेर सबले उनलाई फ्वाँके नाममै चिन्छन् । तर उनले थाहा पाउँछन् भनेर उनको नाम हामीले एफके (फ्वाँके) भन्ने गर्छौं । बिहे गरेको भए पनि अपरिचित तरुणीहरूलाई अविवाहित नै भन्ने गर्छन् । जससलाई देखे पनि कण्ट्याक्ट नम्बर, वाट्सएप नम्बर र फेसपुकको प्रोफाइल मागेर नपाइञ्जेल पछि छोड़्दैनन् । फ्रेण्ड रिक्वेष्ट पठाउनमा एक नम्बर । बिहे भइसकेको छ… बुड़ी त थपना मात्रैको रुपमा । बुड़ी कति सरल, सोझी छिन् । उनी छक्का पञ्जा केही जान्दिनन् विचारा । पतिभक्ति । तीज व्रत पालन गरेर लोग्नेको दीर्धायुको कामना गर्छिन् भोकै बसी बसी ।

यी एफके दाज्यू भने आफ्नी बुड़ीप्रति एकदमै लोयल छैनन् । कुनै पूजा-पर्व, पुराण, सत्यनारायण पूजा वा बिहे बुटुलमा उनको मार्केट डाउन हुन्छ भनी एफके दाज्यूले उनकी बुड़ीलाई कहिल्यै आफूसँग लाँदैनन्… । एफके दाज्यू मान्छे कतिसम्म चलाक छन् भने उनकी बुड़ीको नाम चरीमाया हो । तर गाउँ-घर वा साथीभाइहरूमाझ आफ्नी बुड़ीको नाम चरीमाया भन्न लाज लागेको उनकी बुड़ीको नाम चञ्चला राखिदिएका छन्… । अहिले एफके दाज्यूकी बुड़ीलाई चञ्चला भाउज्यू भनी सबैले चिन्न थालेका छन् । तरै पनि उनकी बुड़ी आफ्ना बुड़ा जहाँ जहाँ जान्छन् त्यतै त्यतै जान्छन् । एफके दाज्यू बिहे-बुटल, मरौ-परौ, व्रतबन्ध, पूजा कतै छोड़दैनन् … तर त्यहाँ तरुणीहरूको भीड़ हुनैपर्छ । हाम्रा एफके दाज्यूलाई राम्री-राम्री तरुणी बाहेक जे जस्तो भए नि चल्छ । बस तरुणी हुनुपर्‍यो । आलु हेरेर प्याजको दाम तिर्ने भए पनि चल्छ । बाऊ..मलाई त्यै केटी चाहिन्छ भन्ने रक गीत र एफके दाज्यूको कुरा ठ्याक्कै मिल्छ ।

हाम्रो गाउँमा धनबहादुर काकाकी छोरी धनसरीको बिहे थियो । धनसरी हाम्री साथी । त्यसले हामीलाई काम सघाउन, निम्तारुहरूलाई याद गर्नु भनी बिहानै बोलाएकी थिई । हामी तान चारजना कथा मिल्ने साथीहरू धनसरीको बिहेमा बिहानै पुगेका थियौँ । त्यहाँ हामी इत्रिँदै, ठट्टा गर्दै आनन्द उपभोग गर्नमै व्यस्त थियौंं । साँझ परेपछि निम्तारुहरू आउन थाले । भाबर गर्मी । तर .यस्तो भाबर गर्मीमा पनि एफके दाज्यू टाई सुटमा बिहे थलोमा आइपुगे । यत्रो विशाल जमघटमा टाई सुट लाउने उनी मात्र थिए । उनको ड्रेसप हेर्दा अरुको तुलनामा उनलाई बाख्राहरूमाझ सुङ्गुरजस्तो देखिएको थियो । आफ्ने सुट आफै हेर्छन् । टाई तानेर मिलाउँछन् । बेहुलासित हात मिलाए… बेहुली धनसरीले नमस्कार गरिन्… तर उनले फुर्के भएर हात मिलाए । धनसरीलाई अपठेरो लागेको हामी बुझ्दैछौं । धनसरीको हात समातेर हल्लाको हल्लाकै छ । भिडियोग्राफरलाई बोलाएर फोटो खिँच्न लाइरहेका छन् । पछि धनसरीको कानमा कुनि के के भने । धनसरीका बुड़ा हाम्रा भेनाज्यू अग्नि शर्मा भइसकेका थिए । उपहार दिन आएका अतिथिहरूको भीड़ भइसक्यो । एफके दाज्यू धनसरीको हात अठ्याउनमै व्यस्त ।

कुन कसो गरेर धनसरीले एफके दाज्यूको हात फ्याँकिदिई । त्यतिबेला पो उनले उनको चम्चेलाई उपहार मागेर धनसरीको हातमा थमाइदिए । खबरकागजमा पोको पारेर उपहार धनसरीलाई हातमा थमाएर उनी खानाको टेबलमा आए । बिहे सकेर राती हामी केटीहरू मिली सबैभन्दा एफके दाज्यूकै उपहार हेर्‍यौं । उपहार गतिलो होला भनेको त उगाल आइसकेको काँसको थाल रहेछ । यो उगाल आइसकेको काँसको थाल देखेर मनमाया अत्तालिई अनि केही नहेरे एकै श्वासमा बोली- अप्पुई.. यो काँसको थाल त हामीले हाम्री बजूको अन्त्येष्टि क्रियामा सतपाल बाजेलाई दान दिएको । यो मोरोले यहाँ पो लिएर आएछ ।

क्यापटन काकाले पनि हेरिरहेका थिए । उनी हाम्रो छेउमा आएर भने- यो एफके यस्तै हो । यसका बाउले बिहेबटुल मरौपरो न्वारानमा पाएका सामानहरू यसरी नै लगेर उपहार दिन्छ । यसले बाउको सिम कार्ड चलाएर गाउँको भयङकर हुन चाहन्छ ।

डोमा अलिक छुच्ची । प्याच्चै भनि हाली- यो एफकेलाई एफके होइन काँसको थाल (के.टी) भन्नुपर्छ । धनसरीको बिहेकै दिनदेखि एफके नाम परिवर्तन भएर काँसको थालमा परिणत भयो । त्यसपछि खाना खाने ठाउँमा पुगे । खाना थाप्नेहरूको लम्बेतान लाइन देखेर हरेश लाग्यो काँसको थाल उर्फ के . टी खाना थाप्ने लाइनबाट निस्केर चारैतिर हेऱे उनले । बाबुको सम्पत्तिले किनेका गाड़ी अलि पर सारे जस्तो गरी बाहिर निस्किँदा जन्ती आएकी एकजना महिलासित परिचय गर्न गए । एफ के दाजु भनूँ वा काँसको थाल दाजु कुनै पनि तरुणीसित परिचय साट्नमा माहिर छ । दाजु मुसुक्क हाँस्दै नमस्कार गर्छन् । ती महिलाले पनि नमस्कार फर्काउँछिन् । परिचय मात्र होइन उनले ती महिलाको नाम, कण्ट्याक्ट नम्बर र वाटसएप नम्बर मागेका देखिरहेछौं हामी ।

खानाको लाइन सामान्य कम्ति भएपछि एफके दाज्यू प्लेट लिएर गई खाना थाप्छन् । दाजु भोकले पागल भएको पनि बुझियो । गाउँमा हुने बिहे बटुलमा गाउँका कसैले पनि घरमा खाना नबनाउने बानी परेको टोलीमा हाम्रा एफ के दाजु पनि पर्छन् । भात थाप्न मात्र के लागेको अघि बाहिर देखेका तरुणीले पो खाना बाँड़्दैरहिछन् । एफ के दाजु ती तरुणीलाई देखी लाजले तीन ठुन्का पर्छन् । लाजले मात्र होइन आफ्नो पर्सनालिटी देखाउने निहुँमा थोरै मात्र भात थापेर भलादमी जस्तो भई खान बस्छन् । लु पऱ्यो फसाद । अब एफ के दाजुले अघाइञ्जेल खानु नपाउने भयो । स्वाङै पारेर दाजुले थोरै मात्र खाना कुर्सीमा बसी खान थाले । एफ के दाजु हँदुवा मान्छे । बिरालोले नाँघ्न नसक्ने भातको राश हुसर्छन् । तर आज पर्‍यो फसाद । तर ती तरुणीको छेउमा थोरै खाएर आफ्नो भद्रता र महान रुप देखाउन त्यति खाना लिनु आँटै गरेनन् ।

उनको आँखा भातको प्लेटमा होइन ती तरुणी दिदीकै तिर छ । कसो कसो गर्दा ती तरुणी दिदीले पनि एफ के दाजुलाई हेर्छिन् । उनको आँखा जुझ्छ । दाजु मक्खै पर्छन् ती तरुणी मेरो मुठीमा आइन् भनेर । एफ के दाज्यूले अब ती तरुणीसित बात मार्ने, बिग टक गर्ने सुर कस्न मात्र के आँटेका थिए… अचानक एकजना वृद्ध महिला एई तँलाई बाबाले बोलाउँदैछन् भनिन् । तरुणीको पहिरन देखेर एफ के दाजु मक्खै परिसकेका थिए । यो उनको ह्याबिट नै हो । तरुणीले लाएकी सन ग्लास देखेर एफ के दाजु भुतुक्कै भइसकेको थिए । वृद्धा पछि पछि तरुणी अघि बढ़्दो कोनि कसो गरेर ती तरुणी दिदीले आँखाबाट सन ग्लास निकाल्छिन् । सर्वनाश… ती तरुणी दिदीले घाम छेक्नलाई होइन तर उनको फुला परेको एउटा आँखा छोप्नलाई पो सन ग्लास लिएकी रहिछन् भन्ने बुझ्न एफ के दाजुलाई कुनै गारो परेन ।

तरुणी दिदीको फुला परेको आँखा देखेर एफ के दाजुको सपना चकनाचूर भयो । विस्वाद मानेर गाड़ी लिएर घरतिर लागे । बेलुकी दुलही अन्भाउने समयमा फेरि अर्कै टाई सुटमा आए बिहा भए ठाउँमा । बल्ल बल्ल पाएका पनि फुला परेको आँखाले उनको इच्छा सर्वनाश पारेपछि अब अर्को शिकारमा उनी फेरि बिहा भए ठाउँमा आएका हुन् भन्ने कुरा सबैले बुझे । बाबुको पैसाको तुजुकले एफ के दाजुलाई गाउँमा सबैले नै मान्थे देखावटी रुपमा भए पनि । धनसरीकी आमा-बाबाले उनलाई आदरसाथ कुर्सीमा बसाए । गजक्क भई बसे उनी । तर उनको मन कहाँ मान्छ र..जहाँ तरुणी हुँदैन त्यहाँ उनी बस्दै बस्दैनन् । उनले उनको गिद्दे नजर चारैतिर डुलाए । बल्ल बल्ल उनको नजर एउटी गतिलो औरत उनको नजरमा पर्‍यो । आफै गएर परिचय साटासाट गर्छन् । दुइवटी नानीका आमा । तर पनि एफ के दाजुलाई केही फरक पर्दैन । उनलाई त जस्तै औरतसित टाइम पास गर्नु पाए भैगयो ।

ती औरतसित मस्त भएर गफिन थाल्छन् हाम्रा गाउँका एफ के दाजु । उनले ती औरतलाई आफू कुनै सरकारी अफिसका अफिसर हुँ भनी हावा पिट्न थाले । हाम्रो गाउँकी अचला दिदीलाई पनि यस्तै कुरा गरेर हावा पिटेका हुन् । एक दिन अचला दिदी उनको अफिस पुग्दा साधारण प्यून रहेको थाहा पाइन् । अचला दिदीलाई देखेर हत्त न पत्त अफिसको खाली टेबलमा बसी के के लेख्न थालेको जस्तो गरी अचला दिदीको आँखा छल्ने प्रयास गरेका कुरा अचला दिदीले अस्ति मात्रै मलाई सुनाएकी । एफ के दाजुजस्ता ढँटुवारेलाई यी सबको कुनै वास्ता छैन ।

ती औरतसित फोन नम्बर वाट्सएप नम्बर मात्रै होइन उनको प्रोफाइल हेरी फ्रेण्ड रिक्वेष्ट पठाइ पनि हाले । निकै लामो गफ चल्यो ती दुइको । बेहुलीलाई ससुराली लाने संमय भयो । रुवाबासी चल्यो । ती औरतले एफ के दाजुलाई विदा मागिन् । दाजुलाई खल्लो लाग्नु स्वाभाविकै हो । दुइ हात जोर्दै म कल गर्छु नि समेत भने । ती औरतले अस्वीकार गरिनन् । औरत अलिक परतिर मात्र के पुगेकी थिइन्… गाउँकै एकजना बहिनीलाई अँगालो हाले । बिहेमा जन्ती आएका सम्पूणर् तरुणीहरू एफ के यो करतुत देखी तीनछक्क परे पनि गाउँकाहरूलाई भने केही जस्तो लागेन । तरुणीहरूप्रतिको यिनको आशक्ति देख्दा देख्दा वा सुन्दा सुन्दा गाउँका सम्पूणर् औरतहरू थेत्तर भइसकेका छन् ।

एफ केको श्रीमती पनि त्यहाँ आइपुगिन् । एफ के दाजु मक्ख परेका अघि गफिएको औरतलाई नमस्ते गर्दै भनिन् , काकी । ती काकी त एफ के दाजुकी श्रीमतीकी काकी पो रहिन्छन् । ती औरत उनको काकीसासु पो रहिछन् । हाम्रा एफ के दाजुलाई केही फरक पर्दैन । के आफन्त के पराया । मलाई त्यै केटी चाहिन्छ भने जस्तो उनलाई केटी भए पुग्छ । काकीसासू परेकीले एफ के दाजुले नचाहँदा नचाहँदै पनि भूइँ सोरेर प्रणाम गर्न वाध्य भए । दाजु यसपाली चाहिँ पक्कै पनि हाँगोबाट खसे झै नै भइसकेका थिए । एफ के दाजुले यस्तो कदम कहिल्यै उठाउँदैनन् भन्ने गाइँगुइँ सुनियो ।

जे होस्. तपाईको समाज, गाउँ-घऱतिर पनि हाम्रा स्त्रीलम्पट एफ के दाजु होलान् । आफ्नो र पराया नचिन्ने एफ के दाजु पनि होलान् । यस्ताहरूसित होसियार बसौं । अब तपाई हाम्रो समाज एफ के दाजुजस्तो आदत भएका व्यक्तिहरूबाट जोगिनुपर्छ । यस्ता व्यक्तिहरूको चङ्गुलमा पर्नु हुँदैन । हाम्रो समाज गाउँघरका तरुणीहरूलाई जागरुक गरौं । सुन्दर समाज बनाऊ । चेलीबेटीलाई सम्मान दिन सकौं । होसियार. सावधान ।

हाम्रा एफ के दाजु तपाईको गाउँ घरतिर पनि चोर स्याल जस्तो पस्लान् । सोझो भद्रा भएर बस्लान् । आफ्नो गाउँ घरमा गरेका करतुत फेरि नदोहोर्‍य़ाउ़लान् । तर लागेको बानी कसले छोड्ने  ??

०००
खोलाचन्द फाप्री, जलपाइगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x