नगिता लेप्चा राईमेरा छिमेकी
छर छिमेकका उनलाई मनपरेको कोही हुँदैन । उनको नजरमा सबै खराब, सबै घटिया मात्रै उनी असल । छिमेकका कसैको पनि खोइरो खन्न छोड़ेको छैन । पिँठ्यूपछि कुरा गर्नु माहिर छन् ।

नगिता लेप्चा राई :
म आफूलाई अत्यन्तै भाग्यशाली ठान्छु । कारण मेरा छिमेकीहरू मज्जा मज्जाका छन् । मिलनसार । बिहे बटुल, बर्थ डेतिर हामी ज्यान फ्याँकेर नाचिदिन्छौं । मरौ पराउमा रातभरि मरौ घर नै रुङेर सघाउने गर्छौं । सरस्वती पूजामा उस्तै नाच । बनभोजमा उस्तै इन्जोइमेण्ट । कहिले गाउँका जम्मै हुद्दा बनाई खोला जान्छौं । माछा मारेर त्यहीँ पोलेर चिरिपसित । पल्लो गाउँमा फुटबल म्याच हुँदा हाम्रो गाउँका फुटबलरहरूलाई चेयर्स अप गर्न हुद्दा बाँधी मैदान पुग्छौं ।
मेरा छिमेकमा थरी थरीका छिमेकीहरू छन् । कोही नेता, कोही शिक्षक, कोही पुलिस अफिसर, कोही रिटार्यड आर्मी अफिसर. कोही इञ्जिनियर, कोही वकिल, कोही ड्राइभर । मेरा छिमेकमा फाइँफुट्टी लाउने बेकामेहरूको पनि कमी छैन । मेरा छिमेकीहरूका स्वभाव पनि विचित्र विचित्रका छन् । उदाहरणकै रुपमा भन्नुपर्दा, क्यापटन मामा मलाई सबैभन्दा मनप्ने, रुच्ने छिमेकी हुन् । कसैलाई केही नबिझाउने, अरुको कुरै गर्नु नदिने, अनि आफूलाई पनि अरु कसैले कुरा गरेको मन पराउँदैनन् । क्यापनट मामालाई माइज्यूले छोड़ेर गएकी पनि वर्ष दिन भइसक्यो । उनी दुःखी छन् । तर उनको दुःख कहिल्यै प्रकाश पार्दैनन् । भित्र रोएर पनि बाहिर हाँसिनै रहेका हुन्छन् । सारांशमा भन्नुपर्दा, क्यापटन मामा सेन्स अफ ह्यूमरमा माहिर ।
मेरा अर्का छिमेकीको कुरा यहाँ नगर्नु हो भने मैले खाएकी पच्दैन । गाउँका सबैसित मिल्छन् । कसैसित कुनै दिन झैँ झगड़ा भएको छैन उनको । भनौं, उनले आफ्ना छिमेकीहरूलाई रुझाएका छन् । उनको सबै राम्रै राम्रा बानीमध्ये उनको एउटै बानी चाहिँ मलाई पटक्कै मनपर्दैन । गाउँ छिमेकमा के हुँदैछ, को कोसित सल्कियो, कसको ब्रेक भयो, कसको घरमा लोग्नेस्वास्नी झगड़ा पर्यो, कसकी श्रीमतीको सित राति च्याटमा बिजी हुन्छे ती सबैको खबर उनकैमा हुन्छ ।
अब उनको कुरा गर्दा हजूरलाई उनको नाम हुलिया जान्ने इच्छा भयो होला । हो पनि अर्काको ब्याकबाइटिङ् सुन्न सज्जा आउँछ नि होइन र ? उनको खास नाम भताभुङ्गे बजगाइँ हो । कतिले उनलाई बीबीबी भन्छन् भने कतिले बी क्यूब तथा ट्रिपल बी पनि भन्ने गर्दछन् । उनलाई भताभुङ्गे किन भनिएको हो त्यसको पनि कारण छ । साना छँदा उनकी आमा धारामा पानी लिन जाँदा दस वर्षे छोरोलाई नानी भातमा आगो हाल्दै गर् भनी धारा लागिन् अरे । त्यतिबेला दाउराको चूल्हा थियो । आमा धारा गएपछि छोराको पालो चूल्हाबाट बल्दै गरेको दाउरा निकाली उम्लिरहेको भातमा हालेछ । आमा धाराबाट फर्कि आउँदा भातको भाँड़ामा कोइला मात्रै । आमाले नयाँ चामल पकाइछन् । एक बान चामल उनले भताभुङ्गै पारेपछि उनको नाम भताभुङ्गे राखिएको हो । त्यतिमात्रै होइन सानाक सिनिक पारी आमा धारा जान्थिन् । आमा घर आउँदा घरभित्रका सामानहरू भताभुङ्गै पारिराख्थ्यो । नयाँ खेलौना किनेर ल्याइदियो… एकक्षणमै खेलौना खोलखोल् पारी भताभुङ्गै पारेर पैसा नास पाथ्र्यो ।
उनको नाम भताभुङ्गै राखिएको ठिकै हो जस्तो लाग्छ । कारण अहिले पनि उनको आदत भताभुङ्गै नै छ । गाउँमा सरस्वती पूजा हुँदैथ्यो… राती बिजुलीको तार चलाइदिएछ… पण्डालमा लोडसेडिङ । यिनको काम नै भताभुङ्गै हुन्छ ।
हिजोआज यी भताभुङ्गे बजगाइँ अर्थात् बीबीबी, बी क्यूब ट्रिपल बी नभनेर यिनलाई बीबीसी, ब्लाष्ट (विदेशको प्रसिद्ध दैनिक पत्रिका द ब्लाष्ट), खबरी नाउँले बोलाउन थालेका छन् । यिनलाई बीबीसी, ब्लाष्ट र खबरी किन भनिएको हो त्यसको ठूलो कारण छ ।
गाउँ-ठाउँमा कहाँ के हुँदैछ, कसको कुरा लगेर कसलाई सुनाउनु, यताको कुरा उता, उताको कुरा यता गर्नमा यी मान्छे माहिर छन् । गाउँकै मान्छेको खोइरो मात्रै होइन आफ्नै सासू-ससुराको खोइरो खनेर आफू भलादमी भइटोपल्छन् । कतै टाढ़ाबाट यिनी आउँदै गरेको देखे, होसियार बीबीसी वा द ब्लाष्ट आयो है भनी सबै होसियार हुन्छन् ।
आफूसित मिल्ने निम्ति ज्यान दिन्छन्… तर कुनै कुरोको चित्त बुझेन भने हिजोसम्म मिल्ने आँतकै साथीको खोइरो खनेर बर्बाद पार्छन् । हुन त यी मान्छे मेरा घनिष्ट छिमेकी हुन् । घरमा लोडसेडिङ हुँदा यिनी नै पहिल्यै आएर बिजुलीको बत्ती बनाइ दिएर घर उज्यालो पार्छन् । बिजुली बत्तीको बील तिरिदिएर, राशिन ल्याइदिएर, कुखुराको खोर बनाइदिएर यिनले मलाई ठूलो गुण लाएका छन् । यिनको यो गुणले गर्दा पनि यिनलाई मेरा अनेकन छिमेकीमध्ये सबैभन्दा धेर रुचाउनु मात्र होइन यिनको काखी पनि च्याप्छु । मेरा अन्य छिमेकीले जहिले पनि मलाई यिनको बारेमा होसियार गरिबस्छन् । यसैले म अलर्ट छु । तरै पनि यिनी आफै गाउँका मान्छेको खोइरो खन्न थाल्छन् । मेरो वासरुमको बाकल उप्केको थियो ।
यिनले दिनभरि लाएर ठोकठाक पारिदिए । माया लाग्यो । लञ्च गरेर जानु भनेँ । मानेनन् । जबरजस्ती गरेँ । बिरालोले पनि नाँघ्न नसक्ने भात, फिस-चिकन हुसुर्नुसम्म हुसुऱे । मलाई सर्काउनुसम्म सर्काए । म पनि फुरुक्कै । मेरै खाटमा मस्त उत्तानो चित् परेर टिभी हेऱे । टिभी हेर्दा हेर्दै भूस । बिग्रेको जेनेटरजस्तो घुर्न थाले । बेलुकी साँझपख उठे । चियासित पुरी आलुदम बनाइदिए । हुर्सुनुसम्म हुसुरे । मनमनै सोँचेँ, यिनले खानुमा ध्यान नदिएका भए यतिञ्जेल संसार जित्ने थियो होला । कति पैसा दिनु नानी भन्दा धेत भाउज्यू…के को पैसा हन ? पैसाको लागि काम गरेको हो र ? अबदेखि मलाई पैसाको कुरा नगर्नुहोला । गर्नुभो भने म यो घरमा खुट्टै टेक्दिनँ नि । साँझपख उनी विदा मागेर लागे । मैले भनेँ, नानी…आउँदै गर्नु है । हवस भनीवरि उनी बाटो लागे ।
एकदिन सिरानघरे गाउँमा काटिएको खसीको मासु लिन गएकी थिएँ । त्यहाँ छविमाया दिदीसित भेट भयो । कुरै कुरामा बीबीसी वा द ब्लाष्टको कुरा निस्कियो । छविमायाले दिदीले मलाई उनीबार दुनियाँभरको कुरा सुनाइन्- ए…झमककी आमा… तिमीले अस्ति हाम्रो गाउँको बीबीसी लण्डनलाई काम लगाएकी थियौ ?
मैले सिधै भनेँ, हो… कान्छीमाया दिदी ? बिचारा नानी आएर मेरो भत्किसकेको वासरुम दिनभरि लाएर बनाइदियो नि । अन्त नुहाउने कस्तो अपठेरो हुने । विचारा नानीले वासरुम रिपेर गरेर कत्रो गुण लाए नि ।
छविमाया दिदीको कुरा सुनेर मलाई कस्तो कस्तो लाग्यो । सोधेँ- किन दिदी ? छविमाया दिदीले भनिन्- अन्त तिमीले उसले काम गरेको केही दिएनौ ?
मैले भनेँ- पैसा दिउँ भनेको मान्दै मानेनन् । उल्टा रिसाए पो । भरपेट खाना बनाएर खुवाइ दिए । दिदीलाई सोधेँ, किन दिदी ? केई भने नानीले ? कान्छीमाया दिदीले कुरा टार्ने कोशिष गरिन् । तर मैले दिदीलाई केर्नुसम्म केरेँ ।
दिदी बोलिन्- होइन… अस्ति तिम्रो घरको वासरुम दिनभरि लाएर बनाएको कुरा गर्दै एक पैसा निदईकन पठाइन् भनेर मलाई सुनाउँदै थियो त्यो बीबीसी लण्डनले । छक्क परेँ म । दिदीले मलाई वार्निङ दिइन्- यस्तो मान्छेलाई कामै नलाउनु । दिदीको कुरा स्वीकार गरेँ… त्यहीँ दिनदेखि मैले एउटै काम लाएकी छैन । आकल-झुकल आएर मलाई लेप्सो लाइ टोपल्छ तर म ध्यानै दिदिनँ ।
छर छिमेकका उनलाई मनपरेको कोही हुँदैन । उनको नजरमा सबै खराब, सबै घटिया मात्रै उनी असल । छिमेकका कसैको पनि खोइरो खन्न छोड़ेको छैन । पिँठ्यूपछि कुरा गर्नु माहिर छन् । उनलाई जुन छिमेक मनपर्दैन वा ती छिमेकले उनलाई खुसी पार्न सकेन भने घर-घरमा गई उनको खोइरो खनेर ती छिमेक प्रति नेगेटिभ दृष्टि पार्छन् । तर उनले खोइरो खनेका उनी छिमेकी उनको सामु आए चाटुँला जस्तो गरी तेल घस्न पनि यी बीबीसी लण्डन वा द ब्लाष्टलाई नारदले पनि भेट्न सक्दैनन् ।
अरुबाट कुरा दुहुनु, कुरा लिनुमा उनलाई इन्द्रेको बाबु चन्द्रेले पनि भेटन सक्दैनन् । तपाईबाट कसैको विरुद्ध कुरा लिन्छन् लिन्छन् अनि तिनैलाई तपाईको कुरा गरेर तपाईप्रति शत्रुता त होइन… शीतयुद्ध सृष्टि गरिदिन्छन् ।
तपाईंको छर-छिमेकतिर पनि हाम्रा छिमेकी बीबीसी लण्डन वा ब्लाष्ट जस्तै प्रवृत्तिका छिमेकी होलान्… जोगिनुहोस् । नत्र छर-छिमेकमा तपाईं पनि छिमेककै नेगेटिभ दृष्टिमा पर्नुहुनेछ ।
०००
सिलिगुड़ी, भारत
Subscribe
Login
0 Comments
Oldest







































