सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झोला

बाई चान्स, मुखिया झोलादेखि बाहिर निस्किने कोशिश गरे, कुकुरलाई हड्डी सुँघाए जस्तै चियापत्तीको पोको, नौनी घिउको पोको, डल्ले खोरसानी कहिले वा छालासरिकै खसीको मासुको पोको सुँघाएर उनको ब्यागभित्र हालेर चरणस्पर्श गर्नुहोस् ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

काँधमा भिर्ने वा हातले समाउन मिल्ने गरी उझिन्डो लगाइएको कपडा आदिको थैलोलाई झोला भनिन्छ । साग-सब्जी, राशन-पानी हाल्ने काममा झोला प्रयोग गरिन्छ । मैले पनि भर्खरै एउटा झोला तयार पारेकी छु । यसको कुनै आकार छैन, कुनै लमाइ छ नै कुनै चौडाइ नै छ । यो सानो छैन, ठूलो पनि छैन । मैले तयार पारेको यो झोलामा न साग-सब्जी हाल्न सकिन्छ न माछा-मासु वा कुनै पनि कुरो ।

खासै भन्नु हो भने, मैले तयार पारेको यो झोला अदृश्य छ । आकारैबिनाको यो झोला अब प्रत्येकले बोक्ने समय आएको छ । समय आएको छ होइन प्रत्येक आकारबिनाको यो झोला बोक्नैपर्छ । साँच्चै भनेकी, मैले तयार पारेकी यो अदृश्य झोला बोक्नुहोस् तपाईंलाई चाँदी कटाइ भएन भने मलाई भन्नुहोला । तर यो झोला जता पायो त्यतै, जहिले पायो उतिनै बेला बोकेर चाहिँ हिँड्नु हुँदैन है… यति चाहिँ याद गर्नुहोला ।

घरदेखि अफिस अनि अफिसदेखि घरसम्म जाँदा-आउँदा मात्रै यो अदृश्य झोला बोक्नुपर्छ । यी दुइ स्थान बाहेक अन्यत्र बोकेर जानुभयो भने यो झोलाले आफ्नै शक्ति गुमाउँछ । खासमा, अफिसतिर मात्रै यो अदृश्य झोलाले आफ्नो पावर, शक्ति र करामती देखाउन सक्छ । तपाईं अफिस धानुहुन्छ भने तपाईं झोला बोक्नैपर्छ ।

किन ? के को लागि ? यस्तो अदृश्य बोक्नु भनी तपाईंले मलाई प्रश्न गर्नुहुन्छ होला । तपाईंको प्रश्न हण्ड्रेड पर्सेण्ट सत्य छ । तपाईं अफिस समयमा पुग्नुहुन्छ… एक लगनी काम गर्नुहुन्छ । काम प्यारो हुन्छ चाम प्यारो हुँदैन आदर्शमा तपाईं अफिसमा जोतिरहनुहुन्छ कि जोतिरहनुहुन्छ । एकदिन कथङ्कल जामले होस् वा कुनै कारणवश तपाईं अफिसमा ढिलो पुग्नुभयो भने अफिसका मुखियाले तपाईंको सातोपुत्लो खान्छन् । मानौं, तपाईंका अरु स्टाफ ढिलो गरी अबेर पसेजस्तै तपाईं पनि कैयौँ दिनदेखि अफिसमा ढिलो पस्नु हुँदैछ । फेरि एकदिन कुनै विशेष कामको कारणले अफिसबाट छिटो निस्किनुभयो भने सर्वनाश । तर तीस दिनमा पन्ध्रै दिन अफिस ढिलो पस्ने तपाईंका सहकर्मीलाई अफिसका मुखियाले काखी चेपेको दृश्यले तपाईंलाई कस्तो लाग्छ ? सायद यसको सठिक जवाब दिने आँट हिम्मत तपाईंसित छैन । किनभने तपाई हण्ड्रेड पर्सेण्ट सोझो मान्छे ।

आफ्नो कामप्रति वफादार । सादा-सिधा मान्छे तपाईं । सौझो औँलीले घिउ निक्लन्न है ज्यू निक्लन्न । तपाईंका चतुर सहकर्मीले हाकाहाकी काम चोर्दा पनि मुखियाको नजरमा उनी नै थै थै, तपाईं चाहिँ पर-परै, कल्प्रिट । काम चोर । किन ? तपाईंको अफिसका ठगार चण्डाल सहकर्मी हाकिमको नजरमा आँखाको नानी अनि तपाईं जस्ता होनहार, विश्वस्त कर्मी चाहिँ आँखाको तारो ? खास कारण, केही पनि होइन ज्यू केही पनि होइन । यो सबै झोलाकै करामती हो । तपाईंलाई थाहा छ कि छैन को’नि ! तपाईंका सहकर्मीसित गतिलो झोला छ । कस्तो झोला भन्नुहोस् त ! उनीसित अदृश्य झोला छ । त्यही अदृश्य झोलाभित्र अफिसका मुखिया स्वात्तै पसेका छन् । पसेका छन् के भनुँ ? उनले मुखियालाई उनको अदृश्य झोलाभित्र मुखियालाई ख्वाप्पै हालेका छन् । खै यो अदृश्य झोलामा के त्यस्तो शक्ति छ… छ । अचम्भ लाग्छ । एकपल्ट जस्तै गह्रौँ व्यक्तित्व भएका मुखिया साहेब एकपल्ट झोलाभित्र पसेपछि संसारका कुनै पनि कुनाका पनि जस्तै मुखिया पनि झोलादेखि बाहिर फुत्किनु सके त के ! किनभने यो अदृश्य झोलाभित्र पस्न पाए जुन स्वर्गीय आनन्द पाइन्छ त्यो आनन्द रियल स्वर्गमा पनि पाइँदैन ।

तपाईंहरूजस्ता सोझो सिधा, आबा न चाबा स्वाभाव भएक समस्त कर्मीहरूकै खातिर मैले तयार पारेकी यो अदृश्य झोला झट्टै लिइहाल्नुहोस् अनि़ तपाईका मुखियालाई किसिम तेल लगाएर उक्त अदृश्य झोलामा हाल्नुहोस् । साँप पनि मर्ने, लट्ठी पनि नभाँचिने । शुरु शुरमा तपाईं जस्ता छलकपटविहीन सद्दे मानिसलाई गाह्रै पर्छ । कुरीकुरी, लाजलाज, अपठेरो अपठेरो लाग्छ । बाहुनले जसरी जसरी स्वाहा गर्छन् तपाईंले पनि उसै उसै स्वाहा गर्नु भएन भने तपाईको कार्यालयमै तपाईंको पावर, धलिमलि हराउँनेछ । जो लड्छ, उही बढ्छ । जस्तो देउता उस्तै पूजा । कुरा अवश्यै बुझ्नुभयो ।

यसैले हजूर ! मैले तयार पारेको यो अदृश्य झोला आजै लिनुहोस् अनि आफ्नो दुनो भन्नुहोस् कि बाह्रै औँली घिउमा भन्नुहोस्.. कार्यालयमा धलिमलि गर्नुहोस् । मैले तयार पारेकी यो अदृश्य झोला यस्तो झोला हो तपाईंले दिनहुँ बोकेर अफिस जानै पर्दैन अनि अदृश्य झोलाभित्र स्वात्तै पसेका मुखियालाई श्रवण कुमारले आफ्ना माता-पिता बोकेजस्तो मुखियालाई तन्तन्ती बोकी हिँड्नु पनि पर्दैन । किनभने यो अदृश्य झोला नबोक्ने पाराले नै मैले तयार गरेकी छु ।

मुखियालाई अदृश्य झोलामा हाल्नुलाई सामान्य एक दुईवटा गोप्य नियम पालन गर्नुपर्छ तपाईंले । त्यो नियम पालन गर्नुहोस् तपाईंसित टाढा-टाढा बसने, तपाईंसित चिँड्ने मुखिया चूपो लागि तपाईंको अदृश्य झोलामा स्वात्तै पस्नेछन् ।

तपाईंले पालन गर्नुपर्ने नियमहरू –
मुखियालाई-
क) राम्रो क्वालिटीको चियापत्तीको पोको दिनुहोस्,
ख) नौनी घिउको पोको दिनुहोस्,
ग) अफिसमा कोही नभएका बेला मुखियाको गुँड (च्याम्ब) भित्र पसी उनको खुट्टा चरणस्पर्श गर्नुहोस्,
घ) मुखिया मार्केटिङ गर्न गएका बेला उनको ब्रिफ केस बोकिदिनुहोस्,
ङ) कार्यालयमा मुखियाको विरोध गर्ने आफ्नै सहकर्मीको भएभरको पोल खोलिदिनुहोस्,
च) मुखियाका छोरा-छोरीलाई स्कूल बससम्म पुर्‍याइदिनुहोस्,
छ) मुखियाकी मुखेनीको बजार गरिदिनुहोस्,
ज) मुखियाको कुकुर डुलाउने, फूलमा पानी हालिदिने काम गर्नुहोस् ।

उपरोक्त नियमहरू ध्यानपूर्वक पालन गर्नुहोस् । मुखिया मात्रै कि मुखेनी पनि तपाईंले बोक्ने गरेको अदृश्य झोलामा स्वात्तै भित्र । चान्समा डान्स गरिहाल्नुपर्छ । तपाईंका मुखिया एकपल्ट तपाईंले बोक्ने गरेको अदृश्य झोलाभित्र स्वात्तै पसेपछि पसेका पसेकै । बाई चान्स, मुखिया झोलादेखि बाहिर निस्किने कोशिश गरे, कुकुरलाई हड्डी सुँघाए जस्तै चियापत्तीको पोको, नौनी घिउको पोको, डल्ले खोरसानी कहिले वा छालासरिकै खसीको मासुको पोको सुँघाएर उनको ब्यागभित्र हालेर चरणस्पर्श गर्नुहोस् । बुहारी झार छुँदो साप्राक-सिप्रिक परे जस्तो भएर मुखिया चल्मलाएछन् भने लु मरिजाउँ ।

यसकारण नयाँ तक्निक तयार पोरेको यो अदृश्य झोला झट्टै मगाउनुहोस् । झोला मगाउने हाम्रो टुङ्गो –
झोला एण्ड कम्पनी प्रा. लि.
अदृश्य ब्रान्ड
चाप्लुसी प्लाजा
बाह्र तला,
पो. लोलोपोतो सिटी
जि. पीपलपाते मल

०००
सिलगढी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लोकार्पण फोबिया

लोकार्पण फोबिया

नगिता लेप्चा राई
तपाईं नभनी मपाई

तपाईं नभनी मपाई

नगिता लेप्चा राई
एक हातले दिएको दुई हातले देखाउनू

एक हातले दिएको दुई...

नगिता लेप्चा राई
माइला दाइको फुर्फुर

माइला दाइको फुर्फुर

नगिता लेप्चा राई
चारो

चारो

नगिता लेप्चा राई
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x