विष्णुहरि पाैडेलआफन्तको पहिचान
उस्तै आय, उमेर, शील, रुचिको व्यापार सम्मेलन । बूढा, बाल, युवा समान वयका क्यै मिल्दछन् स्पन्दन । बेग्लै हुन्छ स्वभाव भिन्न मन छन् मोती कुनै पत्थर । जस्को चित्त उदार हुन्छ कमलो, त्यो मित्र हो सुन्दर ।

विष्णुहरि पौडेल :
को आफन्त, पराइ चिन्न सजिलो हेरे बुझे आखर ।
उस्तै धड्कन हुन्छ इष्ट मनमा बैरी हुने दुच्छर ।
साट्छन् हर्ष-विषाद इष्टजनले आपत् विपत्मा भर ।
जन्ती बन्छ, मलाम जान्न सुखको साथी हरो, ओखर ।१।
स्वार्थी गर्छ हतार साखिल हुने चोचो र मोचो बुनी ।
धुत्छन् आँत पटाउँदै मतलबी ओझेल पर्छन् खुनी ।
जो आफन्त छ दिन्छ साथ जहिल्यै खोज्दैन पैंचो गुन ।
छायाँ बन्दछ इष्ट, दुष्ट फिँज हो, चायाँ दिने साबुन ।२।
नाताले गनिँदैन इष्ट उसको, बेहोर चुत्थो भए ।
मामा कंस र कृष्ण भानिज थिए बैरी हमेशा रहे ।
जुध्छन् आपसमा दिदी र बहिनी सौता बने कर्ममा ।
बाँड्छन् गास मिले मिजास बटुवा, छोयो भने मर्ममा ।३।
अर्काको लिन खोज्छ खालि जसको, गिर्दैन थोपो थुक ।
आफ्नै देख्छ अभाव सापट सियो सार्दैन मख्खीचुस ।
जस्को सन्दुस-भित्र टन्न सुनमा लाग्दैछ होला घुन ।
लोभी इष्ट पुकार गर्छ अरुको बेसार सित्रै नुन ।४।
उस्तै आय, उमेर, शील, रुचिको व्यापार सम्मेलन ।
बूढा, बाल, युवा समान वयका क्यै मिल्दछन् स्पन्दन ।
बेग्लै हुन्छ स्वभाव भिन्न मन छन् मोती कुनै पत्थर ।
जस्को चित्त उदार हुन्छ कमलो, त्यो मित्र हो सुन्दर ।५।
ज्यादै धूर्त स्वभाव हुन्छ कतिको छाँट्छन् हितैषीपन ।
आफन्ती र सखेत देखलसितै आफन्त हुन्नन् मन ।
जस्ले हाल्दछ काँध, बस्छ कुरुवा, नारीसँगै गर्धन ।
छुट्टिन्नन् प्रिय मित्र दुःख सुखमा, हुन्छन् सफा कञ्चन ।६।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































