डिल्लीराज अर्यालफेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि
यसो विचार गर्छु- संसद् छैन भन्न पनि सक्दिनँ, छ भन्न पनि सक्दिनँ । केटाकेटी सफल भए भन्न पनि सक्दिनँ, असफल भए भन्न पनि सक्दिनँ । जनताको दुई तिहाईको बलियो सरकार ढलेको थाहा पनि छैन, त्यो संसद् पनि छैन, सरकार पनि छैन ।

डिल्लीराज अर्याल :
म, नेपाली, हावामा दगुर्ने, उफ्रने, उड्ने शक्ति भएको प्राणी । जताबाट जस्तो हावा आउँछ त्यतै दौड्न, उड्न थाल्छु । दगुर्न, उफ्रन थाल्छु । शायद मेरो कामै दगुर्ने, उफ्रने हो र त म सधै दगुर्छु, उफ्रन्छु, उड्छु । मलाई त्यसो गर्न ठुलो कुरो चाहिन्न, ठूलो आँधी, हुरी चाहिन्न, एउटा सानै निहुँ भए पुग्छ । हावा चल्यो कि दगुर्न, उफ्रन र उड्न थालिहाल्छु । मेरो उफ्राइ यति माथिसम्म पुग्छ कि देख्ने दङ्ग पर्न थाल्छन् । दौडाइ यति बेगले हुन्छ कि मान्छे ओलम्पिकै हो रहेछ कि भन्ने सोचेर हेर्न थाल्छन् । उडानको त झन् कुरै गर्नुपर्दैन ।
हो, म वीर नेपाली, बहादुर नेपाली, हावा चल्यो कि दगुर्न, उफ्रन थाल्छु । हावा कताबाट आयो ? भन्ने सोच्नतिर लाग्दिनँ । चुरो बुझ्ने, सोध्ने खोज्नेतिर लाग्दिनँ । त्यसो गर्ने फुर्सद पनि हुँदैन । हावा चलिरहन्छ र मेरो दौड पनि चलिरहन्छ । दौडसित उफ्राइ पनि चलिरहन्छ । उफ्रन्छु, दगुर्छु र लोट्छु । घाइते पनि हुन्छु । एकपटक होइन, पटक पटक दगुर्छु, उफ्रन्छु अनि लोट्छु । दगुरेको दगुर्यैइ, उफ्रेको उफ्र्यै र लोटेको लोट्यै गर्छु। घाइते भइरहन्छु तर पनि न हावा चल्न छोड्छ, न म दगुर्न, उफ्रन छोड्छु ।
मेरो दौड देख्नेहरू हाँस्छन् । मलाई हेरेर मजा लिन्छन् र हाँस्छन् । तिनको हाँसोसँगै म पनि हाँस्छु किनकि मलाई हाँसो मन पर्छ । तिनको हेराइ मन पर्छ । तिनको हाँसो मन पर्छ । हावा मन पर्छ । आँधी हुरी मन पर्छ । तिनले मलाई दगुर्न शक्ति दिन्छन् । दगुर्न प्रेरणा दिन्छन् र त म दगुर्छु, दगुरिरहन्छु । लोटछु, लोटिरहन्छु । लोटेर घाइते हुन्छु, तर फेरि पनि दगुर्छु, उफ्रन्छु र वेलावेलामा उड्छु । होश नराखेर दगुर्छु । होश नराखेर उफ्रन्छु र लोट्छु । दगुर्छु, उफ्रन्छु । लोट्छु, घाइते हुन्छु र पनि मजा मानेर हाँस्छु, हाँसिरहन्छु ।
हावामा अनेकौ तरङ्ग आउँछन् । म तिनैमा तरङ्गिन्छु, दगुर्छु, लोट्छु, घाइते हुन्छु र फेरि हाँस्छु ।
उत्तर दक्षिणबाट आउने हावा र त्यसका तरङ्गमा दङ्ग पर्दै दगुर्ने, उफ्रने र घाइते हुने म, वीर हुँ, बहादुर पनि छु । त्यसैले त हावामै पनि दगुर्छु, उफ्रन्छु, उड्छु र हावामै पनि हाँस्छु । दगुरिरहन्छु र हाँसिरहन्छु । मलाई सोच्नु छैन, विचार गर्नु छैन । वीरता देखाउनु छ, देखाउँछु । उडनु छ उड्छु, हाँस्नु छ, हाँस्छु ।
मलाई मुद्दा भनेको थाहै छैन, हुन्न तर अधिवक्ता, वरिष्ठ अधिवक्ता बन्छु र मुद्धा हाल्न तयार हुन्छु । शिक्षा, विद्यालय भन्न अलि आउन्न । बिधालयेमा जान्छु र सिछ्या लिन थाल्छु । मलाई राष्ट्रसेवक भन्न आउन्न र त रास्ट्रसेभक बन्छु र मज्जाले सेभा गर्न थाल्छु । सेभाको फल खान थाल्छु । पोषिलो फल खान थाले पछि भुँडी लाग्न थाल्छ । भुँडी लागेको देखेपछि अरूका नजर लाग्न थाल्छ ।
ऐन भन्ने ढङ्ग हुँदै भएन । अरूले पटक पटक बताइदिए तर पनि सुन्न थालिनँ, जानिनँ । जाने पनि नजाने पनि मत दिएर ऐेन, कानून, विधान बनाउन जनताले मैलाई पठाउँछन् । पठाएपछि जानै पर्योे, जान्छु, गएकै छू । गइरहन मन लाग्ने भयो । खाने कुरा दिन आउँछन्, दिएको कुरा खाइदिनै पर्यो, । खाने बानी लागेपछी खाइरहन पर्दोरहछ । पर्ने भएपछि खाइदिन्छु । जनता ऐेन, कानून, विधान बनाउन पठाएको भन्छ । म एन, बिदान बनाइदिन्छु । सम्भिदान हेर्न पनि थाल्दिनँ ।
कहिलेकहीं साथीहरूको नजर लाग्छ । कमजोर बनाउन खोज्छन् । म बहुमतको सरकार बनाउँछु तर झोंक चल्दा आफै ढाल्छु । पठाउनेले त पाँच वर्षलाई चुनेर पठाउँछन्, आफूलाई दुई, अढाई वर्ष पनि बढी जस्तो हुन्छ । जनताकाबीच चाँडै आउन मन लागिहाल्छ । सरकार ढलाइहाल्छु र मत माग्न आउँछु । चाहे यता आएर मत मागूँ, चाहे उता गएर आड, अनुदान वा ऋण मागूँ । काम त उही माग्ने नै हो । कामै माग्ने भएपछि लाज शर्म लाग्न पनि छोड्दोरहेछ, मान्दिनँ, मजाले माग्छु ।
म वीर, बहादुर नेपाली, सधै बहादुर भएरै बस्न, रहन मन लाग्छ । त्यसैले त सरकार पनि प्रायः बलियो दुई तिहाइको बनाएर बस्छु, तर के गर्नु ? बलियाकै सन्तानहरू मिलेर ढलाइदिन्छन् । हुनत केटाकेटी आए गुलेली खेलाए भन्ने उखान सुन्दै आएको हो मैले, तैपनि केटाकेटीले नै ढलाइदेलान् भन्ने विश्वास लागेकै थिएन । आशङ्कै पनि भएन, तर केटा त जबर्जण्ड पो निस्के त । दुई तिहाइको सरकारलाई दुई दिनमै ढलाइदिए ।
ढलाउन त सरकार केटाकेटीले नै ढलाए, तर चलाउन जाने वेलामा भने बुढाबुढी गए । बुढाबुढीको सरकार ढलाएर बुढाबुढीकै सरकार बन्यो । यसो सोचें केटाकेटी आए गुलेली खेलाए त यता पो भयो । फेरि उही, उस्तै बुढाबुढी । जान त गए । चलाउन पनि खोजेकै छन्, तर ताल उस्तै ।
सरकार बनेको महिना दिन हुन पाएको छैन । केटाकेटी जाग्न थालिहाले । बुढाबुढीको सरकार ढलाएर बुढाबुढीलाई नै पठाउने, अनि निहुँ खोज्ने ? भनेर हाँस्न मन लाग्यो । चलाउन नसक्नेले चलाउन हुन्थ्यो त ? अरिङ्गालको गोलो देखे भोगेका भए पो थाहा हुन्थ्यो र ! अनुभव भनेको अनुभवै हो । पाको भनेका पाकै हुन् भन्दै हाँस्न थालेको छु । हाँस्नु कति हाँस्नु ? नहाँस्नु स्वास्थ्य बिग्रला भन्ने डर ! स्वास्थ्यको ख्याल गरेर पनि हाँस्छु । मज्जाले हाँस्छु ।
सरकार बन्यो । यसो हेर्छु । प्रधानमन्त्री त संसद् बाहिरबाट पो बनाएछन् त । अनि मनमा कुरा खेल्न थाल्यो । सम्विधान पढें । त्यसले प्रधानमन्त्री हुन संसद् सदस्य हुनु जरुरी भन्छ तर यहाँ जरुरी भएन, देखिएन । उता फेरि संसद् बाहिरको प्रधानमन्त्रीले सम्विधान भित्रै टेकेर काम गर्न थालेको देख्छु ।
भन्छन्- ‘सम्विधान जिउँदै छ । सम्विधानमै टेकेर काम भएको छ ।’ यता संसद् बाहिरबाट प्रधानमन्त्री पनि बनाइएकै छ । केटाकेटीको आन्दोलन पनि सफल भएको छ । संसद् भङ्ग पनि भएको छ । संसदीय व्यवस्था जिउँदै छ, संसद् छैन । मलाई त बुझ्नै मुश्किल भएको छ ।
जता हेर्छु, जे हेर्छु, बुझ्नै नसकिने अवस्था छ । सरकार पनि छ, सम्विधान पनि छ । संसदीय व्यवस्था पनि छ, तर संसद् छैन । जनता सार्वभौम पनि छ । उसले थाहै नपाई के के हुन्छ के के? सार्वभौम भनेका जनतालाई थाहै नदिई राज्य सञ्चालन हुने, काम हुने गणतन्त्र । जनताले संसद्मा, सरकारमा पठाएकै छैन । सरकारबारे जनतालाई थाहै छैन । घरै बसेर सार्वभौम भएको जनता ।
यसो विचार गर्छु- संसद् छैन भन्न पनि सक्दिनँ, छ भन्न पनि सक्दिनँ । केटाकेटी सफल भए भन्न पनि सक्दिनँ, असफल भए भन्न पनि सक्दिनँ । जनताको दुई तिहाईको बलियो सरकार ढलेको थाहा पनि छैन, त्यो संसद् पनि छैन, सरकार पनि छैन । सार्वभौम जनताले ट्वाँ परेर हेरेका छन् । म ड्वाँ गरेर बस्नुपर्ने भएको छु । जता हेर्यो पुरानै देख्छु । नयाँले आन्दोलन गर्छ, पुरानो सरकारमा जान्छ । आखिर पुरानैलाई बलियो देख्छु । एकपटक पुराना गुरुले पढाएको सम्झन्छु- ‘ज्ञानम् ज्ञाने ज्ञानानि’ मलाई पनि उस्तै हुन्छ । फेरि पनि उस्तै जस्ताको त्यस्तै -ज्ञानम् ज्ञाने ज्ञानानि । फेरि पनि उस्तै जस्ताको त्यस्तै ज्ञानम् ज्ञाने ज्ञानानि भन्ने सम्झँदै हाँस्न थाल्छु र हाँसिरहन्छु ।
त्यसै हाँसेको हो र ? फेरि पनि उस्तै जस्ताको त्यस्तै ज्ञानम् ज्ञाने ज्ञानानि भन्ने सम्झन पुगेर पो हाँसेको हुँ त । वीर नेपालीलाई त्यसै हाँसो उठ्छ र ?
०००
पाल्पा, हाल काठमाण्डौं
Subscribe
Login
0 Comments
Oldest







































