साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म, कान्छोमामा र उखानहरू

"तेरा मामाभन्दा मेरा मामा ठूला बुझिस् ?" भन्ने गरेको सम्झें । अझ "हाम्रो मामाको घर घोडा छ बुझिस् ?" कतिका भैंसी छन् ! कतिका भेडा छन्" भनेर गर्व गर्ने गरेका कुरा सम्झें ।

Nepal Telecom ad

डिल्लीराज अर्याल :

मेरा कान्छा मामा कतिपय पुराना प्रसङ्ग, उखान, कथा कहानी एवं लोकोक्तिहरू सुन्नु, सुनाउनुहुन्थ्यो । कुन्नि के भएर हो किशोरावस्थासम्म पनि म उहाँसँग लजाउँथें र डराउँथें पनि । लाज त मावलीमा सबैजसोसँग लाग्थ्यो तर डर भने सानोमामा र बुबैसँग अलि बढी लाग्थ्यो ।

मावली जान मन पर्ने, रहर लाग्ने, जान पाउँदा एकदमै रमाउने म, त्यहाँ गएर दाइभाइसँग खेल्न डुल्न र गाई बाख्रा चराउन जान खोज्थें जान्थें । अझ काउले गैह्रातिर पानी लिन, नुहाउन र पानी लाउन, कुलो बनाउन पनि जान्थें । प्रायः शिव दाइ (कान्छो मामाका छोरा) ले मलाई बोलाउनुहुन्थ्यो, लैजानुहुन्थ्यो ।

२०३१ वैशाखको महिना थियो । माहिलो बा मधेशबाट घर आउनुभएको थियो । मामाले शिव दाइको बिहेको लागि मसँग कुरा राख्नुभयो । मैले नाताको कारण अलि हुन्न कि भनेर भन्दा पनि उहाँले बुबाहरूसँग सल्लाह गर्न भन्नुभयो । प्रसङ्गवश माइलो बासँग कुरा गरेको त उहाँले विष्णु दाइसँग भनिहाल्नुभयो- ल विष्णु यसो गरौं । प्रस्ताव राख्नु पनि स्वीकृत हुनु पनि सँग सँगै भयो ।

लामो कुरै भएन । मलाई साँझ घरमा बासमेत आएपछि माहिलोबाले नै भन्नुभयो- ‘जा, दाइलाई लिएर आइज । भोलि नै बिहे गरिदिने । म चाँडै मधेश जान पाउँछु ।’

उता बाको मनमा अर्कै कुरो खेलिरहेको रहेछ । मलाई भने मेसै थिएन । बाले भन्नुभयो- यसलाई भोलि मसित जानुपर्नेछ ! तैंले पठाउन लागिस् ।

माहिलोबाले भन्नुभयो- ‘यिनीहरू अहिले जान्छन् । सके राति नै, नसके भोलि बिहानसम्ममा आइहाल्छन् ।’
म भने मैले ल्याएको कुरोले सफलता पाउने भयो भनेर हर्षले प्रफुल्लित थिएँ । मनमा दाइको बिहे गराइदिन सक्ने भएँ भन्ने पनि थियो । बुबैको, मामाको चाहना पनि पूरा हुने कुराले झन् खुशी थिएँ ।

साँझको खाना सदाभन्दा अलि चाँडै खाएर नारायण दाइलाई बोलाएँ । त्यो अँध्यारोमा दुई जना भएर मावलतिर लाग्यौं । घरबाट सोझै अम्ल्याहान, अनि तिनाउ तरेर फाँटैफाँट खिरौली, उराल्डाँडी हुँदै लाग्यौं चित्रेडाँडातिर । हामी मावल पुग्दा रातको १०.३० जति भएको हुँदो हो । गर्मी महिना भएकोले होला, मामाहरू बाहिरै पिँढीमा सुत्नुभएको रहेछ । बोलाउनु पनि परेन कि !

मास्तिरबाट मान्छे झर्दै गरेको थाहा भएको रहेछ । को हो ? के हो ? गर्दा नगर्दै हामी आँगनमा पुगिहाल्यौं । हामीलाई अकस्मात् देख्दा दङ्ग पर्नु स्वाभाविकै थियो । भर्खरका केटा त्यति राति अकस्मात् आइपुगेकाले खुल्दुली भयो । सोधखोज भयो । मैले छोटकरीमा सबै कुरालाई बताएँ र जाऊँ भनेर अनुरोध गरें । मामाले भन्नुभयो – ‘अहिले यहीं सुतौं । भोलि बिहान सबेरै जाउँला । मैले बाले भनेको कुरा बताएँ । त्यसपछि बल्ल मामा उठ्नुभयो । एकछिन फेरि गफगाफ चल्यो । माइजूले पनि केही कुरा सोधखोज गर्नुभयो । मलाई पो धेरै कुरा कहाँ थाहा थियो र ? थाहा भएका कुरा बताएँ ।

मामाहरू तयार हुँदासम्म हामी त्यहीं बस्यौं । उहाँहरू तयार हुन पनि समय लाग्यो । तयार भइसकेपछि भन्नुभयो- ‘ल जाऊँ त ।’

मामा शिव दाइ, म र नारायण दाइ भएर हिड्यौं । दुई जना रातारातै गएका थियौं । रातारातै चार जना भएर फर्क्यौं । फर्केर घर आइपुग्दा बा-आमा उठिसक्नुभएको थियो । माहिलोबा भने अझ उठिसक्नुभएको थिएन । मामाले बुबा आमासँग कुराकानी गर्न थाल्नुभयो ।

मामासँग कुराकानी गर्दैगर्दा बुबाले मलाई भन्नुभयो –’ कपडा फेरेर आइज । अब हामी पनि जानुपर्छ । ….।’
त्यसदिन अकस्मात् जे जे भयो त्यो मेरो सोचभन्दा एकदम फरक थियो । सोचभन्दा भिन्न घटनाहरू, कामहरू भए । कामकुरोको सङ्केत त मामाले गर्नुभएको थियो, तर म त्यसै त्यसै अल्मलाएको थिएँ ।

हिड्नै लाग्दा मामाले भन्नुभयो- भाञ्जा, यो घडी बाँध्नुस् त । म त्यो बेलाको मामाको भनाइ, अनुहार अहिले पनि सम्झन्छु, तर घडी बाँध्न दिएको कुराको चुरो भने पछि उहाँले भनेपछि बल्ल बुझें ।

उहाँले कुनै लाहुरेले ल्याइदिएको घडी बाँध्नुहुन्थ्यो । गते, वार भएको त्यति बेलाको राम्रो घडी थियो त्यो । मैले मामाको हातबाट घडी लिइनँ, आफैले बाँधिदिनुभयो । घडी बाँधे पनि पहिरन सादै थियो । … …।

हामी प्रभास पुग्यौं । प्रभासबाट खँदाल बुबासँग हिंड्यौं । म कहाँ जाने भन्ने कुराबाट अझ पनि अनभिज्ञ नै थिएँ । बर्तुङ पुगेर देवराज दाइ र म ठाकुरचन्द्रको घरतिर लाग्यौं । त्यहीं बस्यौं, खाना खायौं । बा कता लाग्नुभयो ? मलाई मेसै भएन ।

१२.३० तिर एक्कासि तानसेन जाने कुरा चल्यो । मेरो बिहेको निधो भएछ, टीकाटालो पनि भइसकेछ । “जसको बिहे उसैलाई देख्न नदिए” भने जस्तै भएछ । म त हेरेको हेर्यैा भएँ । मैले थाहै नपाउँदै बिहेको टुङ्गो भइसकेछ । मलाई त साक्षी राख्न मात्र लगिएको रहेछ ।

दिउँसो यताबाट मामा, मसेमी माइलादाइलाई लिएर तानसेन पुग्नुभयो । उताबाट हामी पुग्यौं । दुवै थरले त्यहीं किनमेल गर्यौं । कपडा सिलाउने काम भयो र सँगै बर्तुङसम्म झर्यौं । चौराहाबाट हामी कोक्रुङ्गातिर लाग्यौं । मामाहरू मदनपोखरातिर । पानी पर्न थाल्यो । बिजुली चम्कँदै गयो । हामी बिजुलीको उज्यालोमा पाइला सार्दै सार्दै अघि बढ्यौं ।

जन्तीसहित हामी जम्माजम्मी ७ जना भएछौं । पुरोहित कसरी जुटे ? खानपिन, बस्ने ठाउँको, निम्ताको प्रबन्ध कसरी भयो ? म त आज पनि सम्झेर छक्क पर्छु । दाइको र मेरो विवाह एकैदिन त्यसरी भएको थियो ।

आज त्यो दिन मावली गएको, मामालाई लिएर आएको, तानसेनमा भेट भएको सबै सम्झनामा ताजै छन् । हाम्रो बिहे भएको २६ वैशाख २०८३ का दिन ५२ वर्ष पुग्दैछ । शिवदाइ एक्लो भएको पनि दुई वर्ष जति भइसकेको छ । जीवन पछिल्लो चरणतिर प्रवेश गर्दैछ । त्यति बेला मैले भर्खर प्रमाणपत्र तह उत्तीर्ण गरेको थिएँ ।

आज पनि त्यो दिनको, त्यो घटनाको र कान्छो मामाको सम्झना भइरहेको छ । मामासँग मैले घर व्यवहारका अरू कतिपय कार्य गरेको छु । पछिपछि त डर पनि अलि कम हुँदे गएको थियो । मामा त बित्नुभयो । मामा मात्र होइन, अब त ठूलोमामा, माइजूहरू, पनि हुनुहुन्न, तर सम्झना भने जस्ताको तस्तै छ, हुन्छ । यसपटक पनि पाल्पा जाँदा मामाघर गएको थिएँ ।

अहिले मामा यस प्रसङ्गमा सम्झेको छु कि अस्ति स्कूलमा नातिलाई लिन जाँदा बाटामा मामाकै चर्चा गरिरहेका किशोरहरूको रमाइलो वार्ता सुनें । उनीहरू आआफ्ना मामा र मामाघरका गफमा मस्त थिए । भन्दैथिए- ‘बुझिस् मेरो मामा त … ।’ तिनको गफ मलाई पनि रमाइलो लाग्यो । केहीबेर त त्यहीं उभिएरै सुनें । मलाई पनि मामाको, मावलीको सम्झना गरायो, त्यो सम्झना केहीबेर रहिरह्यो ।

“तेरा मामाभन्दा मेरा मामा ठूला बुझिस् ?” भन्ने गरेको सम्झें । अझ “हाम्रो मामाको घर घोडा छ बुझिस् ?” कतिका भैंसी छन् ! कतिका भेडा छन्” भनेर गर्व गर्ने गरेका कुरा सम्झें ।

विचार गरेर हेर्छु । मलाई मामा माइजूको महत्त्वबोध हुन थाल्छ । हाम्रो समाजमा अहिले पनि मामा-माइजू र मावली सबैभन्दा प्रिय विषय बन्ने गरेको सम्झन्छु । नेपाली समाजमा, साहित्यमा, मामासँग जोडिएका उखान, गीतहरू अत्यन्तै चल्तीमा भएको पाउँछु । तिनको महत्त्व, तिनको चलनचल्ती आज पनि छ । नेपालीका चलनचल्तीका मामा जोडिएका केही उखान सम्झन्छु-

“मामाका अगाडि कुलको बखान । मामाको घोडा मेरो हीही । मामाको धन फुपूको श्राद्ध । आमा-मामा । नहुनु मामाभन्दा कानो माम जाती, …, “आदि आदि ।

मामा जोडिएका चलनचल्तीका गीतहरू पनि सम्झन्छु । लय हालेर गुन्गुनाउँछु-

मामा आउँछन् भनेर बार्दलीमा बसेथें
किन आउँथे हाम्रा मामा माइजू छोडेर ?

तीजको खाजा मिठो पोलेका तामाले
नरोऊ भान्जी लिन आउँला भन्थे मामाले ।

मामाको फूलबारी मखमली फुलेको
अभागिनी चेली म त घरै भुलेको ।

तारा बाजी लै लै
मामा आए घोडा
माइजू आइन् डोली
पापा ल्याइन् सोली ।

हाम्रो समाजमा, परम्परामा र व्यवहारमा पनि मामाको साइनो, उपस्थिति र प्रेम जताततै देखिन्छ । व्रतबन्धमा क्षौर मामाबाटै गरिने परम्परा, पढ्न गएका भाञ्जालाई भाग्न नदिएर ल्याउने, गुरुका लागि मागिने भिक्षा सङ्कलन गरिदिने जस्ता कुरा मामाकै जिम्मामा हुन्छन् ।

ससाना देखि अलि ठूला भएका भाञ्जा भाञ्जीलाई तीजमा लिन जाने काम पनि मामाकै हुन्छ । कम्तीमा वर्षमा एकपटक तिहारमा मामाहरू घरमा आउने र तीजमा बोलाउन लिन आउने जिम्मेवारी छँदैछ । यी बाहेक अरू व्यवहारका कुरा पनि छन् । यही भन्ने नभए पनि मामाको धेरै काम हुन्छ, जिम्मेवारी हुन्छ ।

हर सांस्कृतिक धार्मिक र व्यावहारिक गतिविधिमा सम्मिलित हुने, गराइने र गराउने मामाको दिदी भिनाजु, बहिनी जुवाइँ, भाञ्जा भाञ्जीसँगको सम्बन्ध एकदमै अवर्णनीय हुन्छ । यिनै कारण होला मामा माइजू असाध्यै प्रिय हुन्छन् र मावली पनि ।

म हरेक वर्ष श्राद्धमा मामालाई तर्पण दिन्छु । मातामह, प्रमातामह र वृद्धप्रमातामहलाई त पिता, पितामह, प्रपितामहका पङ्क्तिमा राखेर पिण्ड नै दिन्छु । मेरो धर्मले, संस्कृतिले यसै भन्छ, यसै गर्न लगाउँछ । त्यसैले पनि मामा सम्झन्छु । मामा गाउँछु र मामासँगै नेपाली उखानहरू, गीतहरू सम्झन्छु, गाउँछु-

“मामा आउँछन् भनेर बार्दलीमा बसेथें
किन आउँथे हाम्रा मामा माइजू छोडेर ?

तीजको खाजा मिठो पोलेका तामाले
नरोऊ भान्जी लिन आउँला भन्थे मामाले । 

०००
पाल्पा
२०८२ चैत्र ५

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
राय सल्लाह

राय सल्लाह

डिल्लीराज अर्याल
बाँदरले गाई दुह्याे

बाँदरले गाई दुह्याे

डिल्लीराज अर्याल
भानुको सम्झनामा

भानुको सम्झनामा

डिल्लीराज अर्याल
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
जेल

जेल

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x