साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशमा नभएको देश

तिनीहरूको देश मात्रै देश कहाँ हो र ? देश त मेरो पनि देश नै हो तर देश भन्दैमा सबै देशको अर्थ एउटै नहुँदोरहेछ तिनीहरूको देश चन्द्रमामा पुग्यो कम्प्युटरले चलाउँछ मेरो देश प्लेटमा पुग्यो चम्चाले चलाउँछ ।

Nepal Telecom ad

देश तिनीहरूसँग पनि छ
देश मसँग पनि छ
तर
देश भन्दैमा
तिनीहरूको ‘देश’ र
मेरो ‘देश’को परिभाषा एउटै नहुँदोरहेछ ।

तिनीहरूको देशमा
कुकुरले पुच्छर हल्लाउँछ
मेरो देशमा
पुच्छरले कुकुर हल्लाउँछ
तिनीहरूको देशमा
मान्छे सवारी साधनमा चढ्छ
मेरो देशमा
सवारीसाधन मान्छेमा चढ्छ
तिनीहरूको देशमा
मान्छेले पैसा कमाउँछ
मेरो देशमा
पैसाले मान्छे कमाउँछ ।

तिनीहरूको देशमा
मान्छेले नोटलाई पट्याएर
आफ्नो खल्तीमा घुसार्छ
मेरो देशमा
नोटले मान्छेलाई पट्याएर
आफ्नो खल्तीमा घुसार्छ

तिनीहरूको वायुसेवा निगमले
प्लेन उडाउँछ
मेरो प्लेनले
वायुसेवा निगम उडाउँछ
तिनीहरूको विद्युत् प्राधिकरणले
बिजुली बाल्छ
मेरो विद्युत् प्राधिकरणले
मैनबत्ती बाल्छ
तिनीहरूको इन्जिनियरले
सडकलाई बनाउँछ
मेरो सडकले
इन्जिनियर बनाउँछ
तिनीहरूको देशमा
पुलिसले चोरलाई समाउँछ
मेरो देशमा
पुलिसलाई चोरले समाउँछ ।

सहर तिनीहरूको देशमा पनि छ
सहर मेरो देशमा पनि छ
तर
सहर भनेर मात्रै नहुँदो रहेछ
तिनीहरूको सहरमा फोहोर हुन्छ
मेरो फोहोरमा सहर हुन्छ
तिनीहरूको सहरले आदेश दिन्छ-
फोहोर हटाउन
मेरो फोहोरले आदेश दिन्छ-
सहर हटाउन

तिनीहरू पनि आफूलाई मान्छे भन्छन्
म पनि आफूलाई मान्छे भन्छु
तर
मान्छे भन्दैमा
सबै देशका मान्छेको अर्थ
एउटै नहुँदोरहेछ
तिनीहरूको देशमा
मान्छेले खानेकुरा खान्छ
मेरो देशमा
खानेकुराले मान्छे खान्छ
तिनीहरू आलु बेचेर मिर्गौला किन्छन्
म मिर्गौला बेचेर आलु किन्छु ।

तिनीहरूको देश मात्रै देश कहाँ हो र ?
देश त मेरो पनि देश नै हो
तर देश भन्दैमा
सबै देशको अर्थ
एउटै नहुँदोरहेछ
तिनीहरूको देश चन्द्रमामा पुग्यो
कम्प्युटरले चलाउँछ
मेरो देश प्लेटमा पुग्यो
चम्चाले चलाउँछ ।

तिनीहरूको देश छ
तिनीहरू तिनीहरूकै देशमा छन्
तिनीहरूको देश पनि तिनीहरूकै देशमा छ
देश मेरो पनि छ
म पनि मेरै देशमा छु
तर मेरो देश मेरो देशमा छैन ।

०००
काठमाडौं
‘नेपाली हास्यव्यङ्ग्य कविता’ (२०७५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x