साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कलको अक्कल

हामी भने पुरानै नक्कलको विधिमा अड्किएका छौँ । अब नयाँ विधिले सोच्न सकिएन भने हामी बाँदर भन्दा पछाडि पर्छौँ । हामी पछाडि पर्‍यौँ, बाँदर अगाडि गैसक्यो । नक्कलकै अक्कलमा अड्किरहने हो भने आफ्नो असली स्वरुपको विकास कहिले गर्ने होला ?

Nepal Telecom ad

आज म नक्कलको अक्कलमाथि विमर्श गर्दैछु । हुन त हरेक काम सम्पन्न गर्नलाई आधारभूत अक्कल चाहिन्छ नै । अक्कल विना कुनै पनि काम सम्पन्न हुन सक्तैनन् । सक्कली कामको लागि त अक्कल चाहिन्छ चाहिन्छ, नक्कली कामको लागि पनि अक्कल अवस्यै चाहिन्छ । मेरो विचारमा त त्यसको अझ दुईगुना बढी अक्कल आवश्यक पर्दछ । विना अक्कल नक्कल हुनै सक्तैन, यो मेरो दृढ मान्यता हो ।

आज जोसित नक्कलको अक्कल छ, त्यो जीवनको बाटोमा सफल छ । नक्कलको अक्कलले हेर्दाहेर्दै एउटा भुस्कुल दिमागी चेतको केटो कसरी करोडपति भयो ? त्यसको सानो कथा सुनाउँछु; पढाइमा लन्ठूदास थियो लखनराम एैँजेरु । उसलाई साथीहरूले ऐँजरु उपनाम यसकारण भिराइ दिए कि परीक्षाको बेला जान्ने साथीका आङमा ऐँजरु जस्तै टाँसिन आउँथ्यो । लिसिङपिसिङ लिसिङपिसिङ मल्याकमुलुक गर्दागर्दै साथीले लेखेको उत्तरपुस्तिकाको नक्कल हुबहु आफ्नो कापीमा उतारी भ्याउँथ्यो । मात्रा, कमा, तर्कुल,े बर्धने एकरत्ति फरक नपारीकन दायाँ-बायाँ अगाडि-पछाडि बस्ने जो कोही जान्ने साथीको उत्तर सार्न ऊ माहिर थियो । रुखमा टाँसिने ऐँजरुको स्वभावसित मिल्दो गुण देखेर मित्र मण्डलीले सायद उसलाई ऐँजरु टाइटल दिएका होलान् । यसमा उसको कुनै आपत्ति नै थिएन । अस्वीकार पनि थिएन ।

हेर्दाहेर्दै साथीकै सारेर एसएलसी गर्‍यो । क्याम्पसमा पनि हाटहुट नक्कल गरेकै भरमा इन्टर कटायो । तँ चिता म पुर्‍याउँछु भनेझैँ लोकसेवामा पनि दायाँ-बायाँका साथीहरूको नक्कल गरेरै मुखियामा नाम निकाल्न भ्यायो । त्यसपछि त भन्सार विभागको महानिर्देशक फुपाजुको कृपादृष्टि ऊमाथि नपर्ने कुरै भएन । लगातार दश वर्ष भन्सार बसेर संसार कमाउन भ्यायो । नक्कलको अक्कलले मामुली मान्छे लखनराम लखपति होइन, करोडपतिको कदबाट अझ ऊध्र्वतलतिर आरोहण गर्दैछ अरे । उसका मेधावी मस्तिष्कका समकालीनहरू हुलाकको खर्दार र प्राइमरीको मास्टर रुँगेर बसेका छन् भन्ने सुन्छु । साँचो कति हो ? तपाईंहरू पनि विचार गर्नुहोला ।

सक्कल बमोजिमको नक्कल उतार्न सिपालु मानिस, नक्कल बमोजिमको सक्कल उतार्न पनि माहिरै हुन्छ भन्ने मेरो विश्वास छ । किनभने नक्कली नोटलाई दुरुस्त सक्कली बनाउने, नक्कली सर्टिफिकेटलाई परीक्षाबोर्ड या परीक्षा नियन्त्रण कार्यालयले जारी गरे सरहको सक्कली बनाउने, नक्कली नागरिकतालाई जिल्ला प्रशासन कार्यालयले जारी गरेको नागरिकता जस्तै सक्कली बनाउने, नक्कली पासपोर्टलाई राहदानी विभागले जारी गरेको पासपोर्ट जस्तै दुरुस्त बनाउने कलामा काहीँ कतै खोट लाउन नमिल्ने गरी उनीहरूले काम गरेका हुन्छन् । अर्थात् नक्कली चिजलाई पनि सक्कली सरहको छायाँ-छविमा अरुको दिल दिमागभित्र घुसाइदिन उनीहरूले महारथ हासिल गरेका हुन्छन् ।

सुनेको छु, एकचोटि कमेडी कलाकार चार्ली च्याप्लिनको नक्कल गर्ने व्यक्तिहरू वीच प्रतियोगिता भयो अरे । प्रतियोगितामा दर्जनौं नक्कली चार्लीहरू सहभागी भए । त्यसै हुलमा खुदै सक्कली चार्ली च्याप्लिनपनि समावेश भएका थिए । भरे चार्लीको हाउभाउ गर्ने नक्कली चार्लीहरू नै प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थानमा आए अरे । साँच्चैका चार्ली भने पाँचौँ स्थानमा उत्तानो टाङ लाउन पुगेछन् । यसबाट सहजै अड्कल काट्न सकिन्छ कि नक्कली चिजको भाउ चढेको बजारमा सक्कली चिजको हबिगत के हुन्छ भन्ने कुरा ।

अर्थशास्त्रमा खोटा सिक्काले असली सिक्कालाई बजारबाटै विस्थापित गरिदिन्छ भन्ने सिद्धान्त कहाँ त्यसै बनेको हो र ? जाहीँताहीँ नक्कली मालले सक्कली माललाई पाखा लाउँदै आएको छ । आज फूलको बजारमा प्रकृतिको गुलाफलाई प्लाष्टिकको गुलाफले लखेटिसकेको छ । नक्कली दुनियाँमा रमेको मनुवाले केवल रङ हेर्दछ, उसलाई सुगन्धको कुनै दरकार छैन । फूलको कोमलता र कमनीयताको कुनै आवश्यकता छैन । त्यसैले त अहिले बुद्धको ठाउँ बकासुरहरूले लिँदैछन् । सत्को स्थानमा असत् वृत्ति मौलाउँदो छ । इमानको ठाउँमा बेइमानीले हालीमुहाली चलाउँदो छ । सदाचारीको ठाउँमा दूराचारी आशिन छ । व्यभिचारी साधुको धुस्सा ओढेर गजधम्म बसेको छ । यसका पछाडि उही नक्कलको अक्कलले काम गरेको छ । जसले नक्कली वेश र भेष धारण गरी मानिसका आँखामा फुलो पार्नसक्यो उही औतारी पुरुष कहलिन सक्छ यहाँ ।

जता हेर्‍यो उतै आज, नक्कलको बजार गर्मागर्मीरुपमा चम्किएको छ । परीक्षा हलमा पस्यो, परीक्षार्थी नक्कलमै लीन छ । नेताको चालढाल हेर्‍यो, ऊ पनि नक्कलमै लवलीन छ । कोही लेनिनको नक्कल गर्ने, कोही लिंकनको नक्कल गर्ने, कोही चर्चिलको नक्कल गर्ने, कोही माओको नक्कल गर्ने, कोही चाओको नक्कल गर्ने, कोही गान्धीको नक्कल गर्ने, कोही गोड्सेको नक्कल गर्ने, कोही मण्डेलाको नक्कल गर्ने, कोही महेन्द्रको नक्कल गर्ने । नक्कलका तरेलीहरू कति हुन् कति । नक्कल गर्नेको आफ्नो मौलिक वाद हुन्न, कुनै सिद्धान्त पनि छैन । अरुकै विचार र वादको पाद सुँघेर देशलाई झन् झन् जर्जर र अधोगामी दिशातर्फ खसाली रहेछन् ।

नक्कलको किस्सा कहँदा नटवरलालको सन्दर्भ याद आउँछ । नाम त उसको मिथिलेस कुमार श्रीवास्तव थियो । हाम्रै छिमेकी देश भारतको विहारमा जन्मेको थियो । अरुको हस्ताक्षर नक्कल गर्न माहिर थियो । अर्काको सही एकचोटि देख्न पायो र उसको हातमा चेकको मुठो पर्‍यो भने बैंक रित्याइदिने नक्कलको सामथ्र्य थियो अरे । भनिन्छ नक्कली कागजात खडा गरेर उसले दिल्लीको लालकिल्ला दुईचोटि बेचिदिएको थियो । आगराको ताजमहल तीनचोटि बेच्न भ्याएको थियो । ऊसित धाराप्रवाह अङ्ग्रेजी बोल्न सक्ने क्षमता थियो, तुरुन्तको तुरुन्त अनेकन् भेष धारण गरी मान्छे झुक्याउन सक्ने कला थियो ।

नक्कली सरकारी अफिसर भएरै, सरकारी छापदानी र कागजात खडा गरेरै लालकिल्ला र ताजमहल बेच्न सक्ने सानो खुवी हो ? मलाई लाग्छ, हाम्रो प्रधानमन्त्री निवास बालुवाटार परिसरको जग्गा- ललिता निवास बेच्ने मनुवाहरू उही नटवरलालका मानसपुत्र हुन् भन्ने कुरामा दुईमत छैन । भारतमा त एउटा नटवरलाल थियो । ऊ एक्लै आफ्नो अक्कल देखाएर राज्यलाई ठग्न भ्याउँथ्यो । एकल बुद्धिको ताछिल्यता देखाएर अम्बानीदेखि टाटा विड्लासम्मलाई झुक्याउन भ्याउँथ्यो । यहाँ त रङरङका, थरिथरिका, परिपरिका अनेकन नटवरलालहरूको हुलले सेटिङमा काम तमाम गरिदिन्छन् । यहाँ त एउटा नटवरलालको खुट्टी तान्दा अनेकन् नटवरलालको पहरो गर्जिन्छ । त्यसैले खुट्टी तान्न त के एउटा भुत्लोसम्म छुन सक्तैनन् ।

उताको नटवरलाललाई त लखनौ जेलमा वीस वर्ष कुहाइएको थियो । यताका नटवरलालहरूमा एउटालाईसम्म जेल पठाउन सकिएको छैन । नेपालको कानुन दैव नजानून भनिन्छ नि; यहाँको न्याय विधान बुझेर बुझी नसक्नुछ । निसाफको आसनमा बसेर पिसाव फेर्न पल्केका न्यायकर्ताहरू नटवरलालहरूकै परम् कृपादृष्टिबाट त्यो ठाउँमा पुगेका हुन् भनी थाहा पाउँदा लाजले शिर निगुरमुन्टी लाउँछ ।

नक्कलको अद्भूत अक्कल लिएर आएका नटवरलालको जीवनको एउटा रमाइलो किस्सा छ- त्यतिखेर उनी लखनौको जेलमा थुनिएका थिए अरे । पत्नीले घरबाट सातआठ ओटा चिठी पठाइन् तर नटवरलालले कुनै जवाफ लेखेनन् । हरेक चिठीमा पत्नीको एउटै गुनासो हुन्थ्यो- “खेतीपाती लाउन सकिन । खेतीको काम थाम्न सारै मुस्किल भएको छ आदि आदि ।” पुलिसहरू दिक्क मानेर केही त जवाफ लेख, कति निर्दयी भएको ? भनी सम्झाए ।

उसले चिठी लेख्यो । चिठीको मजबून यस्तो थियो अरे- खेत खन्नु त्यहाँ सम्पत्ति गाडेको छु । यो चिठी पुगेपछि उसकी पत्नीले खेत खन्नै परेन । सारा खेत पुलिसले खने । बालीनाली लाउन सजिलो भयो । तर, सम्पत्तिको नाममा कौडी केही भेटिएन । अब जेलमा उसलाई पुलिसहरूले सोधे- “यस्तो नक्कली झुटो कुरा के गरेको तिमीले ?” उसले सहज उत्तर दियो अरे- “जेलमा रहँदा यो भन्दा बढी के गर्न सक्छु र ?” उसको बारेमा मानिसले किस्सा कथे कि यथार्थ नै हो, त्यो त पूराका पूरा थाहा छैन । तर, नक्कलको अक्कल उतार्न नटवरलाल माहिरै थियो भन्ने कुरामा कुनै दुई मत छैन ।

नक्कलको अक्कल देखाउन माहिर प्राणीमा थोरबहुत बाँदरको नाम पनि आउँछ । बाँदर र सुगाले मान्छेको हाउभाउ र बोलीको नक्कल गर्ने अक्कल राख्ने हुँदा अझसम्म यिनले दुःख पाइरहेका छन् । बोलीको नक्कल गर्ने सीपले सुगामैना जस्ता स्वतन्त्र उडान भर्ने पन्छी फलामे पिँजडामा कैदी बन्नुपरेको छ । हाउभाउ र अभिनयको नक्कल देखाउने हुँदा बाँदरलाई मदारीले गलामा साङ्लोले बाँधेर चाकमा सिर्कनाका डाम बसाउँदै रामकली र श्यामकलीको अभिनयमा बस्ती बस्तीमा घिसारिरहेछन् ।

एउटा टोपी व्यापारीको पुरानो कथा सुनेको छु, टोपी व्यापारीको बाउले पनि टोपी व्यापार गथ्र्यो, बाजेले पनि टोपी व्यपारै गर्‍यो, नातिले पनि बाउबाजेकै पेसा अँगालेको थियो । अर्थात् उनीहरू पुस्तैनी टोपी व्यापार गर्दै आएका थिए । जहाँजहाँ हाट लाग्थ्यो । त्यहाँत्यहाँ घुमन्ते टोपी व्यपारीको रुपमा टोपी बेच्थे । टोपी बेचेर घर फर्किदा बाटोमा जंगल पथ्र्यो । त्यहाँ एकठाउँ बरपिपलको छाहारी थियो । छाहारीमुनि, केहीवेर विश्राम गर्थे । थकाइ मार्थे ।

नातिी पुस्ताको टोपी व्यापारी बजारबाट थाकेर आएको थियो । बरपिपलको सियाँलमा थकाइ मार्न यस्सो ढल्कियो । केहीवेरमै ऊ भुसुक्क निदायो । ऊ निदाएपछि रुखका बाँदरहरू ओर्लेर टोपीको झोलाबाट एकएकओटा टोपी निकालेर सबै बाँदरहरूले आ-आफ्नो शिरमा ढल्काएर रुखरुखमा चढे । केही समयपछि ऊ ब्युँझ्यो ।

छेउमा राखेको झोला हेर्छ, रित्तै छ । उसको सातो उड्यो खोई टोपी ? रुखतिर हेर्‍यो । टोपी त हरेक बाँदरका टाउका टाउकामा लट्किएका छन् । उसलाई मर्ने बेलामा बाउले सिकाएको थियो; टोपी व्यापारको सिलासिलामा के के संकटहरू आउँछन् ? र त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा । जंगलमा बाँदरले टोपी चोर्न सक्छन् । त्यो बेला आफ्नै शिरको टोपी फुकालेर भुइँमा पछार्नुपर्छ । सबै बाँदरले शिरको टोपी फुकालेर भुइँमा पछारिदिन्छन् । त्यसपछि खुरुखुरु आफ्नो टोपी टिपेर झोलामा राख्नुपर्छ ।

यो समस्या उसको बाजेको पालाको समस्या थियो । उसको बाजेले यही तरिकाबाट बाँदरका हातमा गएका टोपी फिर्ता लिएको थियो । बाजेले यही सूत्र बाउलाई दिएको थियो । बाउले पनि यही विधिबाट टोपी हात पारेको थियो । नातिको पालामा आउँदा परिणाम उल्टो भयो । बाँदरलाई देखाएर उसले टोपी भुइँमा पछार्‍यो । तर, बाँदरहरूले शिरको टोपी भुइँमा फालेनन् । उल्टै एउटा मुडुलो टाउके बाँदर भुइँमा झरेर उसले फालेको टोपी टिपेर हत्त न पत्त रुख चढ्यो र शिरमा सो टोपी ढल्कायो ।

अब ऊ छाँगाबाट खसेतुल्य भयो । उसले निष्कर्ष निकाल्यो- अब हिजो बाउबाजेको जमानाको समय रहेन । समय फेरिएछ । हामी मान्छेले जे गर्छौ, बाँदरले सोही नक्कल गर्छ भन्ने भ्रम अब नराख्ता भयो । हामी नरभन्दा वानर चेतनामा अगाडि बढी सक्यो । हामी मान्छे नक्कलको युगमा छौं, तर बानर एक स्टेप माथि गैसक्यो । हिजो ऊ मान्छेले टोपी फालेको देख्ता आफ्नो शिरको टोपी फ्याँक्थ्यो । तर, आज ऊ मान्छेले फालेको टोपी टिपेर शिरमा हाल्ने भैसक्यो । हामी भने पुरानै नक्कलको विधिमा अड्किएका छौँ । अब नयाँ विधिले सोच्न सकिएन भने हामी बाँदर भन्दा पछाडि पर्छौँ । हामी पछाडि पर्‍यौँ, बाँदर अगाडि गैसक्यो ।

नक्कलकै अक्कलमा अड्किरहने हो भने आफ्नो असली स्वरुपको विकास कहिले गर्ने होला ? आफ्नो मौलिक बुद्धिको चमत्कार कहिले फिँजाउने होला ? हो कतिपय मामिलामा नक्कलको अक्कलले काम गर्ला । केही सुखदै परिणाम पनि हातलागि होला । तर, अन्ततः यो चीरस्थायी भने हुँदैन । यो कुराको चेतना हाम्रो अक्कलमा जागेदेखि अति वेश हुने थियो होला । अहिलेलाई अस्तु ।

०००
२०७९/१०/१७
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x