अर्जुन पराजुलीयिनीहरू….
यिनीहरूले नमस्ते गरे भने सम्झनू- एक महिनापछि चुनाव आउँदैछ ! यिनीहरू सुम्सुम्याउन अगाडि सरे भने सम्झनू- आज मेरो शरीरको कुनै अङ्ग हराउँदैछ !!

अर्जुन पराजुली :
यिनीहरू हाँस्दै आए भने
सम्झनू- यिनीहरूले कसैलाई रुवाएर आए !
यिनीहरूले जन्मदिन मनाए भने
सम्झनू- यिनीहरूले कसैको जन्मदिन काटेर खाए !
यिनीहरूले कसैलाई बेइमान भने भने
सम्झनू- त्यो मान्छे इमानदार रहेछ !
यिनीहरूले चोर आयो भने- भने
सम्झनू- आज घरको ढोका नलाई सुते भएछ !
यिनीहरूले रात पर्यो भने- भने
सम्झनू- आँगनमा घामका किरणहरूको भेला भयो !
यिनीहरूले उज्यालो भयो भने- भने
सम्झनू- अब सुत्ने बेला भयो !
यिनीहरूले छाता ओढे भने
सम्झनू – आज पानी परेको छैन !
यिनीहरूले शंख फुके भने
सम्झनू- आज कोही मरेको छैन !
यिनीहरूले नमस्ते गरे भने
सम्झनू- एक महिनापछि चुनाव आउँदैछ !
यिनीहरू सुम्सुम्याउन अगाडि सरे भने
सम्झनू- आज मेरो शरीरको कुनै अङ्ग हराउँदैछ !!
०००
सितलपाखा, कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest








































