साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुर्का कुख्याति यहाँ क्यान खोल्थेँ (२)

खासगरी देशको राजनीतिक व्यवस्था खराब भएपछि परोक्ष लेखन र व्यङ्ग्य आक्रमण बढ्दै जान्छ । सामाजिक संस्कार मकाउँदै गएपछि व्यङ्ग्यले नै त्यसका सडेका पत्र उक्काइदिन्छ । व्यङ्ग्य निरन्तर विकार मस्काउने गरको हो ।

Nepal Telecom ad

डा. गोविन्दराज भट्टराई :

झापाका कोमल पोखरेलको अर्को रचना ‘नेपालप्रति’मा जुन आक्रमण छ, कलैयाका मुकुन्द आचार्यकोमा त्यही भाव छ । राजनीतिक नेतृत्व वर्गप्रति कहिल्यै कसैको पनि सद्भाव रहेन, रहनेछैन । तिनीहरूले नै जनतालाई जोत्छन् र भन्छन् म देशको हली हुँ । एउटा निकृष्ट, धूर्त पनि छिट्टै माथि पुगेर जनताको हुर्मत लिन थाल्छ र देशकै व्यापार गर्छ, घुर्की धम्की, धुत्र्याइँका गहना भिरेर भित्रभित्र छिर्छ र खुसीले त्यहीँ नाच्न थाल्छ । देश लुट्तै चुट्तै हिँड्न सक्नेहरू सर्वत्र छन् । अङ्ग्रेजी साहित्यमा पनि ड्राइडन र पोपजस्ता महारथीले यी धूर्तहरूको महाकाव्य लेखेर सारा कुकर्मको उजागर गरेका छन् । त्यस्तै मुकुन्द आचार्यका यी पङ्क्ति नेपाली नेता (महाकाव्य लेखिन योग्य व्यक्ति) का लक्षण हुन् :
सानैदेखि कपटको क्याप्सुल
गुन्डागर्दीको ग्लुकोज डी
चाकरी र चुक्लीको च्यवनप्रास
बेइमानीको बुस्ट
बेइज्जतीको बर्नभिटा
सिल्लीपनको सिरप
हुल्याइँको हर्लिक्स खाएर
गैंडा वा सुँगुरजस्तो
भएको व्यक्ति नै
भोलि नेता हुन सक्छ ।

यो वितृष्णा, यो निन्दा र यो घृणा, आक्रोश कहिल्यै पनि घटी भएको छैन किनकि जनतालाई सधैं लट्याउने र सिध्याउने नेतृत्ववर्ग र प्रशासन रहेछ । यो एक राष्ट्रिय चरित्र बनेको छ :
चोर फटाहा कुटाहा कुटाहा सबको नेपाल जय नेपाल
घुस्याहा मुस्याहा मुस्याहा नेता थोत्रा नेता जय नेपाल
गलैँचाकाण्ड गाँजाकाण्ड आममाफी जय नेपाल
हुइँया गर्ने, भुँडी भर्ने जम्बू मन्त्री जय नेपाल ।
(रामकुमार पाँडे)

नरेन्द्रराज पौडेल गद्यमा पनि अति राम्रा पेट मिचाउने हास्यव्यङ्ग्य लेखकमा चिनिन्छन् । उनले चित्रण गरेको प्रजातन्त्र बोकेर हामी हिंडिरहेका छौं- माथिकाहरूले जति ढलिमली गर्दै छन् त्यति तलका झन्झन् मर्दै छन् । उनका कवितामा माथिकाहरूको घृणित स्वभाव हास्यभावमा प्रस्तुत छ । नवराज कार्कीको पहिलो कविता तिनैमा लक्षित छ जबकि दोसोले फुको हाँसो उत्पन्न गर्दछ । त्यसैले मानिस हास्य र व्यङ्ग्य जोड्दछन् । यसरी जोड्नु वाञ्छनीय हुन्छ ।

पोखराका विश्व शाक्यले पहिलो कवितामा वर्तमान परिवेशमा राजनीतिक आडमा फस्टाएको शैक्षिक भ्रष्टाचारलगायतका विकृतिहरूको भण्डाफोर गरेका छन् भने उनको ‘पोखराको बाटो’ले महानन्द सापकोटाको ‘विराटनगरको बिजुलीबत्ती’ सम्झाउँछ । कवि नवराज कार्कीका हास्यप्रधान व्यङ्ग्य कविताले भ्रष्टाचार लगायत सामाजिक विकृतिमाथि नै प्रहार गरेका छन् । विमल निभाको कवितामा सोझो प्रहार छैन, परोक्ष प्रतीकात्मक शैलीले हिर्काएको छ । उत्तमकृष्ण मजगैंयाको प्रथम कविताले बिस्तारै सामाजिक जीवनमा लुकेको एक मर्म उद्घाटन गर्छ भने दोस्रोमा राजनीतिक मार्ग पक्रिने छट्टुमाथि एक परोक्ष प्रहार छ ।

चट्याङ मास्टर एक प्रशिद्ध व्यङ्ग्यकार हुन् । उनको माग्ने बहुप्रशंसित रचना हो । यसमा देशको (यसका नेतृत्ववर्गको) त्यस्तो चरित्र उद्घाटित छ जसको कारण हामी विश्वप्रसिद्ध बनेका छौं । लज्जा शरम सबै बिर्सेर झन्झन् अरु माग्न तम्सेका छौं यसरी :
जहाँ चर्कन्छ गृहयुद्ध, बन्दुक बोकेर माग्ने
शान्त भेटे कुनै देश, बुद्ध बोकेर माग्ने
भ्याएसम्म नेताले, भन्डा हल्लाई माग्ने
नभ्याए कार्यकर्ताले, एनजिओ खोली माग्ने ।

नेपालको धन हरियो वन काट्ने र रोप्न माग्ने
हुर्काउन माग्ने फेरि जोगाउन पुनः माग्ने
कुनै वन जोगिए बाइचान्स, निकुञ्ज खोल्न माग्ने
मान्छे-बस्ती उठाएर लुइँचे जोगाउन माग्ने ।

देशको नेतृत्व वर्ग अथवा ‘नेता’ कहिने व्यक्तिमाथि यति तीव्र घृणा र आक्रोश कमै साहित्यमा होला । यी प्रत्येकजसो रचना तिनै निर्लज्ज माथि छ जसले जनता भुटिरहन्छन्, तिनैलाई लुटिरहन्छन् । जुनसुकै सरकार तन्त्रहरू आउन् दशकदेखिका ढाँट, ठग, गुन्डा, हत्यारा एकै ठाउँमा देखिन्छन् र राष्ट्र बनाइरहेका हुन्छन् । यो भोग्नु पर्दा यिनीहरूप्रतिको घृणा अझ कम्ती भो जस्तो लाग्छ । एकपल्ट त झोंकमा गाम्नागेलाई कराएँ पनि किन यस्ता मलुवा चिज बोक्यौ ? अझै कडा एकै गोलीमा फत्र्याकफत्र्याक पार्ने र दुईटा हान्दा खुत्रुक्कै पार्ने जम्मा गर्नु पर्दैन ?

उनी भन्छन्, मर्दैन दाजु, यो अजम्बरी चेतना कति हाने पनि मर्दैन । जे जति खपेर भए पनि नसुतेझैं गरी नेताहरूको लक्ष माथि चढ्नु नै रहेछ, त्यसपछि शक्तिमा पुगेपछि स्वार्थ भर्न पाइने रहेछ । नेपालको सत्तामा अझै त्यस्तै छ किनभने यहाँ नित्य तिनै छन् जो दशकौं अघि थिए । सत्ता फेरिएर केही नलाग्दो रहेछ उनै मान्छे केही अनुहार फेरेर आएका हुन्छन् र मानिस झुक्याइरहेका हुन्छन् ।

डा.बमबहादुरको रचना कुनै रूपक कथाझैँ अन्योक्तिपरक छ । बदी दाहाल भष्मासुरको रचना समकालीन समाज सड़दै गएको प्रमाण हो । यो समाज यति असुरक्षित छः शोषणमा छ, शोषित पछारिएको छ :

ट्यापे-मुन्द्रे, खल-बल नयाँ कुण्डले शुण्ड-मुण्ड
चुल्ठे-सांढे, सडक सदनै, बन्दछन् बक्रतुण्ड ।
मन्त्री-नेता, दलपति सबै गर्दछन् जी-हजुरी,
चुल्ठे बोल्दा, खरबपतिका, सुक्दछन् रुद्रघण्टी ॥

शैलेन्द्र सिंखडा विशेषगरी रङ्गमञ्चीय हास्यव्यङ्ग्य कविता वाचनमा ख्याति बनाएका प्रतिभा हुन् । यहाँ समाविष्ट कविताहरूले मुलुकको राजनीतिक विसंगतिमाथि तीव्र प्रहार गरेका छन् ।

विवश पोखरेलको रचनामा पनि यो देश थाम्नेहरू नै देश भत्काउने छन्, जनता छक्याउनेहरूको जबर्जस्ती लुटपाटको स्वार्थमा तल्लीन छन् :
क्या भाग्यमानी छन् नेपाली जनताहरू
भाषण नै भाषणको गोरु नारेर
विकासको हलो गाउँबाट जोतिँदै छ
चाउरी परेको सहरको कत्ले अनुहारमा
सौन्दर्यको लिपिस्टिक पाउडर पोतिँदै छ
केही छैन जत्ति उफ्रिन्छन् उफ्रिउन् विरोधीहरू
आखिर लडाइँ सत्ताकै त हो
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ
स्वाभिमान बोकेको मुटुमा राष्ट्रियता दुख्दै गर्छ ।

फित्कौलीमार्फत नेपाली हास्यव्यङ्ग्य साहित्यमा महत्त्वपूणर् योगदान गरिरहेका नरनाथ लुइँटेल, पूर्वका कृष्ण सुवेदी ‘निराकार’ सबैको मनमा उही चित्र छ, राष्ट्रिय चरित्र रातोदिन नाङ्गो हुँदै छ । अर्जुन पराजुली एक स्थापित योद्धा हुन् । उनको अस्त्र नै व्यङ्ग्य र हास्यको प्रहार हो । देशमा भरिएका तिनै फोहोर मैला उत्पादकहरूमाथि उनको बलियो आक्रमण छ ।

यसपालिको यो राष्ट्रिय सङ्ग्रहमा नारी स्रष्टाले पनि अलिकति स्थान पाएछन्- सुमी लोहनी, हरिकला उप्रेती र गायत्री परिरोशनी । यो खुसीको कुरा हो । यस क्षेत्रका नारी स्रष्टा शून्य भएको देशमा यसरी यी उदाए यो हर्षको कुरा छ । यस कार्यमा सिस्नुपानी नेपालको महत्त्वपूणर् भूमिका रहेको प्रस्ट छ । तर गायत्री परिरोशनीको एक रचनाले आफ्नै वर्गीय मित्रलाई व्यङ्ग्य हिर्काउँछ, मलाई अप्ठ्यारो लाग्दछ । हरिकलाको कविताले दमनकारी भालेहरूलाई राम्रो बुजो लगाइदिएको छ-
कमजोर छौं सारा नारी बोझै धेर भो हजुर
अधिकार धेरै भयो फिर्ता लिनोस् हजुर ।

मिथिलाञ्चलका धीरेन्द्र प्रेमर्षि लामो योगदान भएका हास्यव्यङ्ग्यकर्मी हुन् । उनले भ्रष्ट राजनीतिले गरेको अतिलाई व्यङ्ग्य मारेका छन् । सिस्नुपानीका एक अथक योद्धा टंक आचार्यले काठमाडौँको दुर्गतिको अति यथार्थ चित्र उतारेका छन् :
पोलेर मान्छे र मकै
एउटै दाउरामा
ढलको पानीमा
छर्केर बोकाको पिसाब
बेचिरहेछ बूढो भैंसी
सेकुवाका पारखीहरूलाई
ऊर्जा मन्त्रालय स्थापना गरेर
बेच्दै छ ब्रान्डेड टर्चलाइट
वाह राजधानी
वाह डम्पिङ साइट ।

यस प्रकारले ठूलो हूल बाँधेर नानावली गर्दै कुइरिमण्डलसँग हाँस उठ्तो यात्रा गर्ने यस कर्मका नाइके लक्ष्मण गाम्नागे नजिक पुगेर म टक्कै अडिएँ । यसो हेरेँ उनी पनि दुईटा हतियार जेपमा भिरेरै तयारी गर्दै रहेछन्- मुला कविता र जनताको कविता । दुवै क्षेप्यास्त्र मान्छेलाई ठहरै पार्ने खालका पाइए । पहिलोले सहरमा बसेर कवि साहित्यकार हुन खोज्ने उनीजस्तै डुप्लिकेटहरूको मर्लान्तक गाथा सुनाउँछ भने दोस्रोले जनताको कविता नामक क्षेप्यास्त्रको रचना गरी टाढा अम्रिका बिलायततिरका भित्तासम्म प्वाल पार्ने गरी हिर्काएका छन् । यो अभाव, गरिबी र हजार हन्डरले ठोकेका जनताको अवाजमा उनी बोल्छन् :
आऊ,
संसार भुलेर हामी एकछिन आनन्दमा डुबौँ
तिमी बिर्स अभाव, अनिकाल, महंगी र रोग
छोराछोरी बिर्स किताब, स्कुल, हड्ताल र भोक
म बिर्सन्छु सरकार, सिमाना र देश
हामी बिसौं सबै दुःख, बिर्सनु नै बेस ।
(मुला कविता)

गाम्नागेले दोस्रो रचनामा शक्तिको झोल पिएर मदोन्मत्त भएका महान् राष्ट्रलाई, तिनका राष्ट्रपतिलाई, मानवताको रक्षा गर्न बसेका ठूलाठूला हस्तीहरूलाई पनि ख्यालै नगरी हिर्काएको हुँदा यस्तो कविता यहाँ कोट गर्न खोज्दा मेरो मुटु काम्दछ । हास्य र व्यङ्ग्य दुवै तत्त्व बनाउने जुन कला हो उनमा त्यसले पूणर्ता पाएको छ ।

रमेश खकुरेल, लक्ष्मण नेवटियाजस्ता लामो साधना र त्याग भएका यस विधाका अग्रपङ्क्तिमा मानिसले नाम लिने व्यक्तिहरू पनि गाम्नागे सँगसँगै लाइनमा यहाँ छन् । त्यसैले गर्दा यो कृति एउटा विशेष प्रकृतिको उत्पादन भएको छ ।

यस प्रकारले गाम्नागे भाइले यति कुरा मसमक्ष ल्याएकाले मात्र यति टार्न बसेको हुँ । नत्र यो अत्यन्तै खतरा कर्म हो ।
यसमा पुलिसका बडेबडे सरदार पर्लान्, मिल्टेरीका हाकिम पर्लान्, माथिल्ला कर्मचारी पर्लान्, मालका खर्दार पर्लान्, अझ डरलाग्दो कुरा त मन्त्री, मन्त्राणी, तिनीहरूका साला भिना, कुरो नगरौँ तिनका नातागोता, मीतमामाहरू पर्लान्, छोरा बुहारीहरू नै पर्लान्, खतरा छ, ट्यापे, मुन्द्रे, डनहरू पनि पर्लान् ।

लक्ष्मण गाम्नागे एक दिन यस्ता मानिसको लिस्टी बोकेर आएका थिए । बाहिर हेर्दा भने नेपाली हास्यव्यङ्ग्य कविता लेखेको थियो तर भित्र पसेर च्याँख गर्दा थाहा भो यी त्यस्तै जौडेहरूको भनौँ जन्डहरूको नामनिसानी रहेछ । पुलिस पररी अथवा नेता अथवा अख्तियारादीले सुइँको पाएको भए, यसरी हाम्रो तीनपुस्ते सार्वजनिक गर्ने मनुष्य यही हो भनेर गाम्नागेको हुलिया दिएको भए तिदर्ले परान खुस्काउने थिए हुनन् । परन्तु सोध्नेलाई भन्ने गर्छु यो ता पुरानो तमसुकको कागतपत्र मिलाएको मात्र हुँ, कुनै हास्य होइन, कुनै व्यङ्ग्य होइन । अन्त्यमा पनि मन्त्रीका साला हौं भन्ने तिनै दुई चुल्ठेले एक बिहानै मेरा घरको संघारतिर च्याउँदै सोधे- लक्ष्मण गाम्नागे भन्ने एक दोषीको उल्क्याउरीमा लागेर तपाईं पनि बेङ्गे कविता केलाउँदै हुनुहुन्छ अरे, हो भने हो भन्नोस् । यसो हेरेँ, एउटा चुल्ठेका एउटा कानमा हरियो मुन्द्रो थियो, अर्काका दुवै कानमा जोरै राता मुन्द्रा देखें । म किञ्चित डराएको थिएँ तर नडराएझैँ गरी भानुभक्त आचार्यको स्मरण गर्दै यति बोलेँ :
हजुर्माथि दम्भी भई क्यान बोल्थेँ
हजुर्का कुख्याति यहाँ क्यान खोल्थेँ
हजुर्का ति तिघ्रा ती मुड्की र चुल्ठा
म देखेर कामेँ, हुने छैन उल्टा ।

कसैलाई व्यङ्ग्य गरेको कुरामा हास्यभाव त्यहीँ उत्पन्न हुन्छ भने हाँसो उत्पादक तत्त्व व्यङ्ग्य पनि हुन्छ । यी अभेद्यजस्ता छन् । कतिले व्यङ्ग्यलाई एउटा मुलुकको संस्कृति अथवा राज नाप्ने ब्यारोमिटर भनेका छन् । स्रष्टाले आँट गरेर यस्ता कुरा (विकृति) प्रकट गर्दछन् जो अन्य लेखकले आँट गर्दैनन् वा गर्ने सीप पुग्दैन । त्यसैले यसलाई अति कोमल बौद्धिक हतियार पनि भनेका छन् ।

हाम्रोमा यसलाई अलिक हल्का, केही उट्पट्याङ मिश्रित साहित्यभन्दा बाहिरको खेलाजस्तो ठान्दछन् । तर त्यस्तो ठान्नु यस विधाको नै अवमूल्यन गर्नु जस्तो हो । यसमा लाग्ने व्यक्तिलाई ‘अपवाद’ भन्दछन् जसको प्रहारले विकृत सामाजिक संरचनालाई सोझ्याउँदै, संल्याउँदै सही आकार दिन्छ । अत्यन्तै कमले मात्र यो कला आर्जन गरेका हुन्छन् । व्यङ्ग्यले मानिसको मन एकैचोटि उघारिदिन्छ, यस सङ्कलनमा कविताले त्यही काम गरेका छन् । व्यङ्ग्य कविता रच्नु भनेको हिउँदको बेला चिसो पानीको फोहराले मान्छे भिजाउनुजस्तै हो । चिसो पानीसँग सिस्नुको पनि कुरा जोडिन्छ । सिस्नुपानी नेपाल हास्यव्यङ्ग्य विधा स्थापनाका लागि लामो समयदेखि क्रियाशील छ, चर्चित छ र स्थापित छ । यसै संस्थाका अगुवा यी लक्ष्मण गाम्नागे यस विधाको उन्नयनमा कस्सिएर लागेका छन् । यो पोस्तक यसैको एक प्रमाण पनि हो । सिस्नुपानीले चुट्ता पनि मान्छे मर्दैन, नीलडाम देखिँदैन । नीलडाम नउठ्ने गरी शरीरमा सुम्ला नबस्ने गरी मुटुमा हान्ने हतियारको नाम हास्यव्यङ्ग्य हो । अङ्ग्रेजीमा व्यङ्ग्यय-बोधक दुई शब्द छन् सटायर तथा आइरोनी । तर प्रयोगमा केही भिन्नता छ । व्यङ्ग्य (Satire) लाई यस्तो परिभाषा गरिएको छः व्यङ्ग्य यस्तो जुक्ति हो जसमा मानव दुर्गुणलाई समातेर अनि उसका मूर्खतालाई पक्रेर त्यसको उपहास गर्ने अथवा त्यसलाई उडाउने गरिन्छ । (Satire is a literary work holding up human vices and follies to ridicule or scorn.)

व्यङ्ग्य उत्पन्न गर्न विछट्टै तिखो वाक्चातुर्य, व्यङ्ग्योक्ति, उपहास आदिको प्रयोग हुन्छ । त्यसैले विज्ञहरू एक मत छन्, व्यङ्ग्य त्यस्तो कलारूप हो जसमा मानव व्यवहारका अथवा सामाजिक समस्याका बुटितिर औंल्याउने क्षमता हुन्छ । व्यङ्ग्यमा राष्टा आफैसित बोल्छ तर त्यो अरूमा लागू हुन्छ । खासगरी देशको राजनीतिक व्यवस्था खराब भएपछि परोक्ष लेखन र व्यङ्ग्य आक्रमण बढ्दै जान्छ । सामाजिक संस्कार मकाउँदै गएपछि व्यङ्ग्यले नै त्यसका सडेका पत्र उक्काइदिन्छ । व्यङ्ग्य निरन्तर विकार मस्काउने गरको हो ।

विज्ञको मत छ व्यङ्ग्य आवश्यक पर्ने पनि विशेष काल हुन्छ । खासगरी अप्ठ्यारो अथवा राजनीतिक दबाब बढेको समयमा समाजले प्रतिकारको विशेष उपाय खोज्छ; त्यो नै व्यङ्ग्य बन्दछ ।

अन्त्यमा लामो खडेरीपश्चात् आएको यो एक अति स्वच्छ र समकालीन वर्षा हो । यसले हास्यव्यङ्ग्य पठनको तिर्खा अवश्य मेटाउनेछ । यो समयमा एक मानक ग्रन्थको रूपमा यसले सेवा गर्नेछ । यो प्रत्येक स्कुल-कलेजमा पुस्तकालयमा पुगोस् । हास्यव्यङ्ग्य साधकहरूलाई यसले प्रोत्साहित गरोस् र मौका मिल्यो भने यस्तै कृतिले पाठ्यक्रममा समेत उचित स्थान पाउनुपर्ने हो । म अहिले ग्यारेन्टी गर्न त सक्तिन तर विज्ञहरूको चेत नखुलुन्जेल ढुकेर बसिरहन्छु । यस्तो कृति दोहोर्‍याई तेहर्‍याई पढ्ने सुयोग मिल्यो, यसका लागि नायिक बनी हिँडेका लक्ष्मण गाम्नागेलाई अनेक धन्यवाद प्रकट गर्दछु र यो कृतिको जीवनमा सुस्वास्थ्य दीर्घायु एवम् कल्याण कामना गर्दछु । कुनै पोल्टिकल पार्टीले यसको प्राण नखुस्काओस् । यसमाथि कसैका आँखा नपरून्, नलागोस् आज यत्ति कामना गर्दछु । धन्यवाद ।

समाप्त

०००
२०७५ वैशाख १
भैरव पुरस्कार गुठीबाट वि.सं. २०७५ मा प्रकाशित ‘नेपाली हास्यव्यङ्ग्य कविता’ भूमिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गणतन्त्रले दुइटा दिने भो

गणतन्त्रले दुइटा दिने भो

डा. गोविन्दराज भट्टराई
एक टपरी मेरा इच्छाहरू

एक टपरी मेरा इच्छाहरू

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x