रमेशप्रसाद पाैड्यालशीतयात्रा
चार होकि पाँचतारे होटलले फालेका वाइनका रित्ता बाक्सा बटुल्छ खलाँसी राष्ट्रिय खबरले भरिएका यत्रतत्र छरिएका साँच्चा झुट्टा पत्रपत्रिका ह्वारह्वार्ती सल्काउँछ ।

रमेशप्रसाद पौड्याल :
हिमालदेखि ओर्लिएका
एक बथान चिसो हावा
तराइबाट दौडिएका
एकहुल शीत लहर
राजधानीका आलिसान भवनको भित्तामा
झ्यालको ऐना र बाक्लो पर्दामा ठोकिएर
अन्ततोगत्वा
छाप्राकै दैलो चिह्याउँछ ।
बाटामा भातढुक्ने कुकुरहरु
नाङ्गै भुकीरहेका छन् ।
त्यसलाई छलेर
भित्र
असरल्ल कोठा
असरल्लै सुतेको नानीहरूको
जडौरी गुन्युभित्र विश्राम लिन्छ ।
फेरि जाडो
बुढो सुतेको खाटमा उक्लन्छ
खापेको पुरानो कम्मल उदिनेर
छातीका सेता रौँभित्र भित्र गुडुल्किन्छ ।
तात्दैनन् उसका हातहरू पुसका रातहरू
मिर्मिरे नहुँदै उठेर
खलाँसीले गाडीमुनि सल्काएको आगोमा
झुम्मिन पुग्छ
अलि पर
चार होकि पाँचतारे होटलले फालेका
वाइनका रित्ता बाक्सा बटुल्छ
खलाँसी
राष्ट्रिय खबरले भरिएका
यत्रतत्र छरिएका
साँच्चा झुट्टा पत्रपत्रिका
ह्वारह्वार्ती सल्काउँछ
वरपरका अरु जाडो कुदेर ताप्न आउँछन्
कठ्याँङ्रिएको हात थाप्न आउँछन् ।
त्यसपछि स्टार भएको मटर चढेर
जाडो
आधाबाटो गुडेर ओर्लन्छ
अनि
पहाडको डाँडैडाँडो
राहतले बनाएका थेप्चे घरहरू चहार्दै
सिरानघरे साईलीले
जिर्मा उसिनेको भुङ्ग्रो तापेर
पित्ले डबकामा तीनपाने
तुरुक् तुरुक् थापेर
सुरुप् सुरुप् पार्ने बाजेको
मैलो गल्फनले सिँगान पुस्छ
र बाँझो वारि वारि
टुसारोमा टेकेर तल्लो गाउँ कुद्छ ।
०००
सिन्धुपाल्चोक, बाह्रबिसे न.पा ९ राम्चे
Subscribe
Login
0 Comments
Oldest








































