साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सारमा वेदपुराण र साम्यपुराण

निचोडमा वेद र साम्यपुराणले देखाउने काल्पनिक स्वर्गको हकिकत एउटै हो जुन प्राप्ति हुने सम्भावना ०% हुन्छ , दुवै पुराणका वाचकले श्रोताको पीडालाई आफ्नो बजार बनाउछन् अनि काल्पनिक स्वर्गको लालच बेच्छन् ।

Nepal Telecom ad

शम्भु गजुरेल :

Shambhu Gajurel

पन्ध्र बर्षको पिल्पिले जवानी, दुइचार अक्षर चिनेको मान्छे सायद माध्यमिक विद्यालय पास गरेको थिएँ होला एक दिन एउटा महान् समाजसुधारकको लपेटामा परेँ । मोहनी लागे झैँ तानिएँ म, रातमा सूर्य उदाइदिने आकाशमा बाली झुलाइदिने, अनि पोथीको डिम्ब निकालेर भालेको शुक्रकिटमा मिसाएर भालेलाई गर्भधारण गराउने सम्मको योजना सुनाए ती दार्शनिकले अनि भर्खर जवान बन्न लागेको म मन्त्रमुग्ध भए वाचकसँग । बाम व्यास मार्क्सको कल्पना शक्तिले सिँगारिएको साम्यपुराण र महर्षी व्यासद्वारा कल्पित पुराणको सार वास्तवमा एउटै भए पनि त्यो बेलाको मेरो अबोध मानसपटलमा ती मन्त्रलाइ केलाउने सामर्थ्य थिएन । शिवपुराण, गीता, चण्डी सबैलाइ परित्याग गरेर साम्यपुराण अध्ययन गर्दा लाग्थ्यो अब संसारका गोरुको काँधमा जुवा पर्नेछैन, कुनै पशुको लागि चरनको बारबन्देज हुनेछैन, रोग शोक सबैलाइ बराबर हुनेछ, सबैको साझा चराचर हुनेछ ! कति आनन्दित थियो भविष्यको कल्पना !

कामरेड अर्थात काम, क्रोध र लोभको रौरवमा स्नान गरेर आएको पाखण्डी साम्यपुराण वाचकद्वारा बेला बखत खवर पत्रमा लेख्ने पाप अन्त्य र धर्म स्थापनाको वकालत पढेर गदगद थियो यो मन । बाको खल्ती काटेर लेबि बुझाउने देखि समाजमा विद्रोहको ज्वाला बालेर सर्वमान्य कामशास्त्री कामरेडलाई तातो दिने कार्यमा तल्लीन हुन पुगेँ । साम्यपुराणका सहायक पुराण बाम स्वस्थानी , बाम असन्तोसी भ्राता अनि खाओवादको लामो जात्रा सम्मका ग्रन्थ वाचन र व्रत, अनुष्ठान सपथ सहित नित्य गरेर अनुयायी बढाउन लागियो धेरै भएर । पाप नाश गर्नको लागि थवाङ्गेस्वरमा अर्चना गरेर नरमेध यज्ञ सुरुवात गर्दा मन्त्र र वाचा बन्धनको दायरा र केवल चन्दन र फूल बाट पूजा समापन हुँदै थियो । म लगायतका हामी वानर सेना साम्यवादी रामको गद्दी प्राप्ति युद्धमा संसारमा रामराज्य स्थापनाको निमित्त अन्न, धन, वास, अङ्ग अनि ज्यान समेत दिएर समरमा आहुती दिइरहेका थियौँ ।

हामी वानर भाँती मन्दिर भत्काउने, अन्न लुट्ने, तोषाखाना लुट्ने कममा समर्पित रह्यौँ । हजारौँ ढलाएपछि अरबौँ जलाएपछि सत्ताको नजिक पुगेर हो वा मालिकको आदेशले हो सेनानायकले नरमेधको जात्रा रोके । चर्म र मर्म भरी छर्रा बोकेर मुक्तिको मझेरीमा अर्धचेत ढलेका मुक्ति योद्धाको शरीरमा झिंगाले लात्ती हान्दै गर्दा खैरो सुट र रातो टाइमा ठाट्टिएर देवेन्द्रको राजसभा उक्लेका एक हुल बाम सेनारथिहरू र सेनानायकको मस्तिष्कको मेमोरीकार्डमा भाइरस लागेर होला सायद सामन्तमा ह्वात्तै फेरिए ।

सिद्धान्तको विक्री यात्रामा समाहित योद्धाको विवाह समारोह राँगो र भैँसीको समागम जस्तै सादा बनाएर कुँडो जस्तै आहारमा टार्नुलाइ सर्वहारा विवाह भन्ने सेनानायकले गद्दी प्राप्ति सँगै आफूलाई भगवान नारायणको श्रेणीमा पुर्‍याएर आफ्ना शुक्राणुलाइ सुवर्ण कवच धारण गराएको देखेर समरमा ढलेका वर बधु चिच्याउँदै होलान् । आफ्ना शुक्राणुको उन्नत भविष्यलाइ सुनिश्चित गर्न अनेक प्रान्तीय राजा बनाउने वा आफ्नै मुख्य सामन्त नियुक्त गर्ने कार्यमा रमाउने मात्रै नभएर रैतीमा आफ्नो ठाँट देखाउन पारिवारिक आयोजनालाई सात तारे मदिरालयमा करोडौँको मदिरा बगाएर ता ता थैया गर्नुमा मुक्ति युद्धको उपलब्धि देख्नुले मार्ग, यात्रा र गन्तव्य झल्किन्छ ।

अन्ध भक्तको लर्को मन्द नशामा झुम्दै जयकारामा मग्न छ, प्रश्न उठेमा खुङ्खार आवाजमा ध्वाँसिलो अभिव्यक्तिमा कुर्लिनुले नियत दर्शाउँछ । बेलाबेलामा अँगारमा चुना दलेर भगवानले कालो निखार्नु भयो भनेको पनि सुनिन्छ । तर के एउटा व्यक्ति जसले जीवन भर काम गरेन उसले सिंहासन पुग्ने बित्तिकै करोडौँ सकाएर भोज गर्ने सम्पत्ति कमाउन सक्छ ? वास्तविकताको चकटीमा मृत्यु पर्खेका हजारौँ रण पीडितका आत्मामा त्यो मदिरालयको नृत्यले गहिरो घाउ दिएको नहोला त ? वानर पनि समयसँगै मानव बनेका छन् नि ।

निचोडमा वेद र साम्यपुराणले देखाउने काल्पनिक स्वर्गको हकिकत एउटै हो जुन प्राप्ति हुने सम्भावना ०% हुन्छ , दुवै पुराणका वाचकले श्रोताको पीडालाई आफ्नो बजार बनाउछन् अनि काल्पनिक स्वर्गको लालच बेच्छन् र आफ्ना यज्ञ अलकापुरी दरबारमा गराउँछन् अनि भन्छन् सम्पूर्ण ऐश्वर्य मेरो हो तसर्थ वानर सेना तथा रैती स्वाहा !

याद पुरानोदेखि नयाँसम्म आउँदा दाँत हल्लिएको र आँखा धमिलिएकोले म साम्यवाद र धर्मवादको सार खोज्न मझेरीमा बसेर आँसु बगाउँदै छु र अगेनातर्फ फर्केर भन्दैछु काल्पनिक साम्यवाद स्वाहा ! काल्पनिक स्वर्ग स्वाहा !

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
फोन

फोन

लीलाराज दाहाल
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x