साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रभाव तृतीय पुरुषको

राजनितीमा पनि यसलाई जोड्दा आज देशले गति लिन नसक्नुको कारण नेताहरूमा आएको यही पुरुषको बोल्ने प्रवृत्ति हो । दुईदलको वार्तालाप तेश्रो दलको खोइरो र भाषणमा गालीको ओहिरो ।

Nepal Telecom ad

रमेशप्रसाद पौड्याल :

नाच्न जान्दैन आँगन टेढो भन्ने उखान धेरैलाई कण्ठ होला । यसको सम्झना यतिबेला हुन्छ, जतिबेला गल्ती गर्नेले अरुलाई दोष दिएर आफू चोखिन खोज्दछ । यो चलन हाम्रो समाजमा खुबै सप्रिएको पाइन्छ । यसको बिउ चाहिँ नेपाली ब्याकरणको भण्डारमा भण्डारण गरिएको छ । जसको खेती हामी सबैले मन मष्तिष्कको फराकिलो फाँटमा गरेका छौँ ।

यो चिज खाने पिउने भित्र नपरेपनि यसको तत्व बेचेर मान्छेले आफ्नो भुँडी भर्ने गरेका छन् । जो बोलिने कुरा हो त्यो सुनिने त भइहाल्यो । “तिमी पहिले बोल अनि म तिमीलाई चिन्दछु” यो कसको महानवाणी हो त्यो त मलाई याद भएन तर यो भनाइले भने मनमा खुल्दुली मच्चाइरहन्छ । साँच्चै मान्छे चिन्ने त बोलीले नै हो।काम कार्य सपार्ने बिगार्ने, झगडा पर्ने मिलापत्र गर्ने त्यही हो । हिंसा शान्ति दुःख सुख हाँसो रोदन जिन्दगीका यावत् कुरा बोलीबाटै सिर्जित छन् । र त शब्द ब्रह्म भनेर शब्दको सम्मान गरिन्छ ।

हाम्रासामू कुनै आवाज आउछ, त्यो कुन स्तरको हो, कागले कान लग्यो भन्दैमा काग लगार्ने होइन कान छाम्नु पर्छ भने झैं त्यो आवाजको विचार विश्लेषण गरेर आफ्नो धारणा बनाउने गरिन्छ या गर्नुपर्छ । कुरा भूत, भविष्य, वर्तमान कुन कालको हो । कुरा प्रथम, द्वितीय, तृतीय कुन पुरुषको हो । सकर्म, अकर्म, पर्यायवाची, विपरिताथर्, सरल, मिश्रित क-कस्ता शब्द वाक्य प्रयोग भए सुन्नेले यो ख्याल राख्ने हो भने कुरा बुझ्न र जवाफ दिन सजिलो रमाइलो नै हुन्छ ।

यहाँ चर्चा गर्न चाहेको कुरा चानचुने छैन । “प्रभाव तृतिय पुरुषको” हो । म हामी जो जससँग सरोकार छ, त्यो प्रथम पुरुष । तिमी, तपाईं, आमनेसामने जो छन् सो द्वितीय पुरुष भयो र जो नजिक छैन तर उसको कुरा गरिएको छ त्यो तृतीय पुरुष भयो । हो त्यहि तृतीय पुरुषको कुरा बढी चल्ने हुनाले र त्यसको प्रभावले हाम्रो मानव सभ्यतामा ठुलै हलचल ल्याउने हुनाले यस विषयमा हामी सबै सचेत सजग वा होसियारी हुन यो शीर्षकलाई महत्व दिइयो ।

आफू एक्लै हुँदा मन फुत्त फुस्किएर अन्त जान्छ । उसले उन्नति प्रगति गर्यो । योग्यता बढायो पैसा कमायो । ज्यान बनायो । ऊ धेरै माथि पुग्यो । ठुल्ठुला पद प्रतिष्ठा प्राप्त गर्‍यो भन्ने तिर हुन्छ कि, अर्कोपक्ष त्यसले केही गरेन, बिग्रियो, खत्तम भयो, उसले जिन्दगीमा दुःख पायो । मेरो त ……। यस्तोखाले सोच विचार प्रायः मानिसमा हुने गरेको पाइन्छ । र त बोलचालबाट यी विचार बाहिर निस्किएका छन् । गफ गर्ने दोश्रो मानिस भेट्दा कुरो त्यस्तै तेश्रो मान्छेको । कुनै कुनैले त भन्छन् कि आफ्नो मानु खाएर अर्काको कुरा नगरौँ । अरुको थाङ्ना तुनेर के फाइदा ? लौ प्रगति नै भएछ भने ऊ सँगको अनुभव सुनौँ र सिक्ने विषय भए सिकौँ । अर्को बिग्रिएको जस्तो लाग्छ भने सपार्न मद्दत गरौँ । सहयोग गरौँ । होइन भने यस्तो गफ गर्नुमा कुनै तुक छैन । यसमा पनि खण्डन मण्डन गरेर भन्ने गरिन्छ, अर्काको कुरा नगरे गफै हुँदैन ।

यस्तो देख्दा सुन्दा सामान्य लाग्ने विषयले तत्काललाई त्यति धेरै असर नगर्ला ठानौँ, यो बानी पर्दै जाँदा र अरु मानिसले गर्दै जाँदा यसले सबै पारिवारिक आर्थिक सामाजिक सांस्कृतिक कुनै विषयलाई छोड्दैन । जस्तो कि आर्थिक कारोबार गर्दा लिने र दिने बीचको वार्ता तृतीय पुरुषमा बोल्दा व्यक्ति व्यक्ति बीचको कारोबारै चौपट भएको घटना धेरै छन् ।

सामाजिक पारिवारिक क्षेत्रमा घरको कुरो बाहिर गर्दा कसको पारिवारिक जीवनमा शान्ति छाएको हुन्छ र…! सासुले बुहारीको कुरा छिमेकमा गर्ने उनीहरूबाट बुहारीमा सर्ने बुहारीले त्यही अनुसारको प्रतिक्रिया दिने यसो हुँदा घर फुटेर टोल बनेका छन् । टोल टोलका कुरा जुधेर समाजमा भाँडभैलो मच्चिएको कारण अरु केही होइन उही प्रभाव तृतीय पुरुषको हो ।

राजनितीमा पनि यसलाई जोड्दा आज देशले गति लिन नसक्नुको कारण नेताहरूमा आएको यही पुरुषको बोल्ने प्रवृत्ति हो । दुईदलको वार्तालाप तेश्रो दलको खोइरो र भाषणमा गालीको ओहिरो । अनि सहमति सहकार्य ढुङ्गो कुटेर पानी निकाल्ने योजना जस्तो भएको छ । अन्तर्राष्ट्रिय सम्बन्धको सन्दर्भमा पनि कुटनीतिज्ञहरू यही सुत्र प्रयोग गरेर सहयोग जुटाउन तल्लीन छन् भने अरु सर्वसाधारणको त के कुरा गर्नु राष्ट्रिय संस्कारै भइहाल्यो ।

जे होस् तृतीय पुरुषको चमत्कार सामान्य भने छैन । यसको प्रयोग रोक्न कसैको तागतले भ्याउँदैन । अरुको त के कुरा यही कुराकै स्रोत खेतीवाल हाम्रा शैक्षिक निकाय झन् यस रोगले सख्त घाइते छन् । यसो परीक्षा र सोध्नु पर्छ किन शिक्षामा गुणस्तर छैन ? यो प्रश्न मै छुट्टाछुट्टै जवाफ आउछ कि विद्यार्थीको उत्तर शिक्षक योग्य छैनन् । शिक्षक भन्छन्, प्रशासन सक्षम छैन । प्रशासन बोल्छ, व्यवस्थापन समिति सक्रिय छैन । समिति भन्छ, अविभावक कुरा बुझ्दैनन् अभिभावकको गुनासो सबै बेठिक छन् । सबै भन्छन् विद्यार्थी नै पढ्दैनन् । सरकारले केही गर्दैन । नीति नै ठिक छैन । यसरी तृतीय पुरुषको चोर औँलाले या यो व्याकरणीय शब्दले आफ्नो घेरोलाई बलियो बनाएको छ । यसलाई तोड्न फोड्न कुन माइकलालले सक्ने ?

कुरो यहाँसम्म आइपुग्दा लाग्न सक्छ अब के अरुको कुरै नगरौँ ? यो पदावली निरर्थक नकरातमक मात्र हो त ? होइन, यसका अरु थप रहस्य छन् । ठिक ठाउँमा यो प्रयोग भएको खण्डमा यसले राम्रो तहल्का मच्चाउन सक्छ । तृतीय पुरुषको प्रयोग गरेर कल्पनाको सागरमा विचरण गरी साहित्यकारहरूले उत्कृष्ट ग्रन्थ तयार गरेका छन् । यसको उपयोग गर्दै असल एवं असाधारण क्षमताको मान्छेलाई देवताको पदवी दिएका छन् । दृष्टान्तै खोज्दा राम, कृष्ण, बुद्ध, नानक, ओशो, यशुदेखि संसारमा आज चर्चित नेता तथा महापुरुषहरू यही तृतीय पुरुषलाई उपयोग गर्दै बनाइएको हो ।

पिठ्याँ पछाडि अरुको राम्रो कुरा गरिँदिदा त्यो व्यक्ति प्रेरित हुन्छ । प्रेरणाबाटै मान्छे राम्रो काम गर्न उत्प्रेरित बन्दछ । बेला बखतमा बोलेको बोलीले भोलिको गतिविधि बन्दछ । जसरी हातमा पानी अडिन्न त्यसरी मान्छेको मनमा कुरो अडिन्न । मान्छेको मन महर्षि नारद झैं छ । कुन मान्छेसँग सम्बन्धित विषय हो कुरामा कुरा चल्दा उसको कानमा पर्दछ र त्यसको प्रभावबाट एउटा परिणाम निस्किरहेको हुन्छ । अरुको लहैलहैमा सामुन्नेमा नभएको मान्छेको उछितो काड्ने, अपमान गर्ने, नकारात्मक टिप्पणी गर्ने नगरौँ । बरू सम्मानित शब्दले प्रशंसा गर्दा त्यो शब्द वाक्य उसको कानसम्म पुग्दा आलोचित व्यक्तिको विचारमा सकरात्मक परिवर्तन आउँछ । मान्छेको मरेको मन बौरन्छ । यहाँ मानवीय सभ्यताको विकास अहिले यसै कारण अड्किएको छ । र यो तृतिय पुरुषको सदुपयोग बारे समस्या खड्किएको छ ।

शान्ति प्रक्रियाको सुरुआत यतिखेर भएको हुनेछ जतिखेर हामीले अरुको बारेमा असल गुणको चर्चा गर्न थाल्नेछौँ । योगदानको कदर शब्द उच्चारण गर्नेछौँ । के यसको अभ्यास गर्न असम्भव छ ? हरघडी यसबारेमा विचार गर्दा हाम्रा अनेकन लक्ष पूरा गर्न या सफलता पाउन अवश्य सक्ने छौँ ।

०००
बाह्रबिसे नगरपालिका ९, सिन्धुपाल्चोक ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रमेशप्रसाद पाैड्याल
शीतयात्रा

शीतयात्रा

रमेशप्रसाद पाैड्याल
नाइ ! मलाई भाइ चाहिन्छ

नाइ ! मलाई भाइ...

रमेशप्रसाद पाैड्याल
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x