रमेशप्रसाद पाैड्यालनाइ ! मलाई भाइ चाहिन्छ
आफ्नो बारीमा गन्धे झार ढकाएर ऊ मरुभूमिमा सुन्तला टिप्छ रे मेरो मन विद्रोही बन्दैछ र भन्दैछ देशमा काम दिन नसक्ने राहदानीमा सही मात्र गर्ने सरकारका किरा परेका हातहरू हामीले यहाँ बसेर भाँच्न सकेनौँ ।

रमेशप्रसाद पौड्याल :
जब जब तिहार 
नजिकिन्छ पात्रोमा
हत्केलाले घाम छेक्दै
आकाशतिर च्यातिन्छन् आँखा ।
दाजुभाइ र दिदी बहिनीरूको
रातोदिनको फरकमा देश फाट्दा
कताकता फूलले घोच्ने गर्छ अचेल ।
यता घरमा
आमा र बा बुढेसकालमा
गुनको ऋण नउठ्दा
घरिघरि तिम्रो
गुहु सोहोरेको हात सुँघ्नु हुन्छ ।
तिम्री बुढी मसँग खुसुक्क भन्छिन
हामी कात्तिकका कुकुर जत्तिपनि
ऊ त्यो परिवा र ढुकुर जत्तिपनि
खुसी छैनौं सुखी छैनौ ।
भाइ !
तिम्रो खाडीको घामले पिल्सिएको
नाङ्गो फोटो देखेपछि
भर्खर
उनको स्विटर बुनिरहेको
हातको कुरुश भुईँमा खसेछ ।
गाउँलेले हाम्रा कुरा काटे बाबू !
आफ्नो बारीमा गन्धे झार ढकाएर
ऊ मरुभूमिमा सुन्तला टिप्छ रे
मेरो मन
विद्रोही बन्दैछ र भन्दैछ
देशमा काम दिन नसक्ने
राहदानीमा सही मात्र गर्ने
सरकारका किरा परेका हातहरू
हामीले यहाँ बसेर भाँच्न सकेनौँ ।
न म सक्छु
सगरमाथा कन्चनजङ्गा माछापुच्छ्रेको
हिमाली सित्तल पठाउन
न म सक्छु
गण्डकी, कोशी, कणार्ली र मेचीको
चिसो पानी पिलाउन
भाइ !
सक्दैनन्, मेरो मन फुल्याउन
यहाँका डाँफे र मयुर नाँचेर
मन्दिरको घण्ट बजेर
अनि सक्दैन भुल्याउन
खातामा थुपारेका कागजी पैसाले
जिउमा बेरेका सुनका लट्ठाले पनि
रङ्गिन कपडा र श्रृङ्गारका बट्टाले पनि
यहाँ म बिना भाइ बुच्चो छ
र
बेस्सरी चिच्याइरहेछु आज
नाईं !! मलाई भाइ चाहिन्छ भाइ चाहिन्छ ।
०००
सिन्धुपाल्चोक
Subscribe
Login
0 Comments
Oldest






































