तारा पराजुलीघर
आमाले आफैँले टेकेको भुईं देखाउँदै भन्नुभयो : छोरी ! घर भनेको देश हो विचारहरू चर्किएर अलग अलग भए भने घर कमजोर हुन्छ घर बलियो हुन विचारहरू एक हुनुपर्छ मनहरू जोडिनुपर्छ ।
तारा पराजुली :
आमा सधैँ भन्नुहुन्थ्यो
एउटा सुन्दर घर बनाउनु छ ।
हामीले कडा चट्टानहरू फुटाएर
लिस्याइलो माटो मुछेर
अलि पर झरेको सङ्लो मूलको
पानी बोकी
ढुङ्गा र माटो बलियो गरी जोडेर
मन पर्ने घर बनायौँ ।
दिवालहरू लिउन गरेर
झ्यालढोका सिनित्त पुछेर
मन पर्ने रङ पोतेपछि
आकर्षक सज्जाले सजिएकी
कुलीन घरकी आदर्श नवदुलहीझैँ
साँच्चै सुन्दर देखियो सपनाको घर
फेरि पनि आमाले भनिरहनुभयो
एउटा फरक खालको घर बनाउनु छ ।
आँगनको फूलबारीभरि
पुतली र मौरीहरू
हरदम नाचिरहन्थे
चराहरूको सङ्गीत सुनिरहूँ लाग्ने
रहरको बारी
भोलि झुल्ने खेतका गराहरू
घाम छेल्ने मजबुत छानो
झरी तर्कने गतिलो बलेँसी
पँधेरामा बजिरहने दौँतरीहरूको गीत
लय मिलेको कवितांशझैँ
पढूँ पढूँ थियो जिन्दगीको पाठशाला
र आमा पनि भन्नुहुन्थ्यो ।
एउटा सुरक्षित घर बनाउनु छ ।
मैले बलियो छानो, टिकाउ दिवाल
पिलर र निदालहरू देखाएँ
उज्यालो छिर्ने बान्की मिलेका झ्यालहरू
देखाएर
प्रिय सपनाहरू ओहोरदोहोर गर्ने दैलो र
जस्केलो
देखाउँदै भनेँ आमा ! साँच्चै सुन्दर छ हाम्रो घर ।
आमाले दोहोर्याउनुभयो :
छोरी ! घर बलियो हुन जसरी इटाहरू
जोडिन्छन्
जसरी दोभानहरू भेटिएर एउटै खोला
नदी बग्छन्
जसरी साँझ भ्याउँकिरीहरू एउटै धुन
बज्छन्
एउटै अगेनामा कैयौँ दाउराहरू सँगै बलेर
उज्यालो दिन्छन्
जसरी एउटै बोटमा हजारौं फूलहरू
फुल्छन्
आमाले आफैँले टेकेको भुईं देखाउँदै
भन्नुभयो :
छोरी ! घर भनेको देश हो
विचारहरू चर्किएर
अलग अलग भए भने घर कमजोर हुन्छ
घर बलियो हुन
विचारहरू एक हुनुपर्छ
मनहरू जोडिनुपर्छ ।
०००
बेलबारी नगरपालिका ११, मोरङ ।
Subscribe
Login
0 Comments
Oldest







































