हेम अधिकारीभुइँमान्छे पुराण
व्यवस्थापन भएका ता कहाँ धुलोको मसलासँग पोलेका मकै खान बानेश्वर चोकतिर आउँछन् त । उनीहरूको हैसियत, इज्जत, मर्यादा पनि चोकमा उभिएर मकै चबाउने खालको हुन्छ र !

हेम अधिकारी :
अचम्म मान्नु हुन्छ होला भुइँमान्छे पनि हुन्छ भनेर । फेरि कहाँबाट आयो यो उन्नाइसौँ पुराण व्यास ऋषिले कहाँ लुकाएछन् त यतिबेर यो भनेर झन् महाअचम्म होला ! व्यासले नलेखेको पुराण म नाथे इलाम आमचोको लुङ्सुङ्दाङको गैरीबारी जेठो भनिने फुच्चेले के आँटेको होला ! अनि मान्छे पनि भुइँमान्छे, रुखमान्छे, अकासमान्छे केके हुन्छ र ? वनमान्छे ता हुन्छ अरे भनेर सुनेकै हुनुपर्छ । डर्बिन महोदयले हाम्रा पुर्खा तिनै वनमान्छे र तिनका सन्तान खसोखास हामीनै हौँ भनेर ठोकिदिए । तहिलेदेखि अहिलेसम्मका सबै मान्छे त्यही आलीमा ताली ठोकेर वाहीवाही गरिरहेछन् । अनि कताबाट आयो त यो भुइँमान्छे ? यो सुने भने ती डार्बिन महोदयले के भन्लान् ? नेपाली डार्बिनहरू त हामीलेनै बनाएका हौँ भनेर तिनले गोताखाएको देखेर भित्रभित्रै रमाउलान् । तर अरुले ता जान्दैनन् ।
म ता आफूलाई चिनेरै होला निकै अघिदेखि भुइँमान्छे हूँ भन्थेँ । अरुले पत्याउन् नपत्याउन् म ता भुइँमान्छनै हूँ क्या म भुइँमान्छे । आफू पत्याइहाल्छु । यसो गमेर ल्याउँदा हाम्रो देश सानै भए पनि यहाँ भुइँमान्छे, मान्छे, ठूलाबडा मान्छे र महामान्छे गरी पाँच खाले मान्छे पो रहेछन् त । भुइँमान्छेनै भए पनि के सुर चलेर हो म एक दिन काठमाडाैं गएँ, स्वाओस् न स्वाओस् । त्यहाँ जस्तातस्ता मान्छे मान्छे नै गनिदैनन् भनेर नसुनेको ता कहाँ होर । केके कुराले छटपटी र केके कुराले हुटहुटी लायो । आसले बास गरेपछि कहिलेकाहिँ नास पनि हुन्छ भन्थे । भए नभएका नुनभुटुन खाने आनासुकी सकेर बुढीले थर्काएको सुन्नलाई हो कि केही केही हुनलाई हो काठमाडौं चैँ हिँडेँ ।
एक दिन हामी तीनजना पुराना साथी काठमाडौंको नयाँबानेश्वर चोकमा पोलेका हरिया मकै खान जाँदा अचानक भेट भयौँ । पहिले पड्दा खुबै मिल्ने साथी थियौँ हामी । पछि गरिखाने मेलोमेसोमा म कतातिर हराएँ, एकजना साथी काठमाडांैतिरै जमे अर्का एकजना अलिक समय धनकुटा बसेर काठमाडौं नै हुइँकिएँ । बेलाबखत पहिले फोनमा कुरा हुन्थ्यो । अचेल फेसबुक मेसेन्जरतिर भेट हुन्थ्यो तर सशरीर भेट नएको ता जुँगै भएको थियो । म पनि काठमाडौं गएको बेला यसो पत्रिका हेर्दै हरिया मकै खाजा खाइहालूँ भनेर बानेश्वर चोक गएँ । उनीहरू पनि कता कताबाट मकै खाने सुरलेनै त्यहीँ पुगेछन् । उनीहरू बीच पनि सल्लाहले होइन रहेछ । जम्काभेटै भएको रहेछ मसँग जस्तै । काठमाडाैँमै भए पनि त्यो मान्छेको घारीमा आ-आफ्ना मेलामा रुमल्लिएका हुनाले उनीहरूको पनि भेट हुँदो रहेनछ । आज बानेश्वर चोकका पोलेका मकैले हामीलाई भेट गरायो । धन्य हरिया मकै ! उहिले हामी पहाडमा पहेँली मकै पोलेर खाँदा कति रमाउथ्यौँ रमाउथ्यौँ । साच्चै भन्दा अहिले पनि हरिया मकै पोलेर खान पाएँ भने कति मिठोलाग्छ लाग्छ, मलाई भातै चाहिँदैन । आज हामी पुराना साथी भेट भयाैँ त्यही मकैले गर्दा । काठमाडौंमा बसेका यति व्यवस्थित मेरा साथी पनि त्यो धुलाम्मे चोकमा पोलेका मकै खान्छन् र भनेर सुरुमा ता बोल्नै सकिनँ । अलिक हिनताबोध पनि भयो ।
म ता मोफसलमा बस्ने, यसो पढाउने काम गरेर जीविका चलाएको मान्छे । कसले पो चिन्छ र ! त्यसैले आफुलाई भुइँमान्छे भन्ने गर्छु, अरुलाई भन्यो भने ता ढाड खुस्काइहाल्लान् । अरुलाई ठूलाठूला देख्छु । कोही काठमाडौं बस्ने, कोही बाहिरै बसे पनि बडो हाईदुहाई भएका । कोही नेता, कोही ठूलाठूला पद पाएका बाफ रे ! म चैँ साँच्चै भुइँमान्छे भनेर आफुले आफैँलाई दरेर ढुक्क भएको, त्यसैले खाजा पनि होटल रेष्टुरेन्टतिर पसेर केके हो केके मिठोमिठो खान पनि बुता नपुग्ने, साच्चै भन्नु पर्दा पस्न पनि डर लाग्ने । जसले जति विकास गरे पनि आफु ता उही पोलेका मकै बुक्याउनेभन्दा माथि उठ्न नसकेको ।
साथीहरूलाई हेर्दै अलिक अकमकिएँ । उनीहरू काठमाडौं बसेका ठूला पद-प्रतिष्ठा पाएका होलान् अनि गमक्किएका होलान् कसरी पो, कुन कुराबाट पो गफ गर्ने होला बरू उनीहरूनै थालुन् न भनेर बिलखबन्दमा थिएँ । एकजना अलिक छिटो मुख भएकाले मकै चबाउँदै चबाउँदै मुख खोलिहाले । के छ हव साथी ? भनेर पूर्वी लवजमा । मलाई पनि दाउ परिहाल्यो अनि नछोप्ने कुरै आएन । ठिकै छ नि हामी सानु ठाउँमा बस्ने भुइँ मान्छेको के हुनु र । अनि साथीहरूको के छ नि, काठमाडौंमा ता गजबै होला ? एकछिन चुपकाण्ड रामायण सुरु भयो । अनि अर्कोले काठमाडौं खत्तम छ भन्यो । कुरो के खत्तम रहेछ भने उसको व्यवस्थापन हुन्छ भनेर कामसाम छोड्न लाएर ठूलै नेतालाई चुनाउ जिताउन लाएछन् । नभन्दै आफ्नै पार्टी हो लाग्नै पर्ने त्यसै पनि । अब झन् यत्रो जिम्मेवारी आएपछि ता झन् लाग्नै पर्यो भनेर सबै काम छोडेर मजैले लागेछन् । माहोल पनि आएको चुनाव हार्ने कुरै थिएन गज्जपले जितेछन् नेताजीले ।
अब उनको दल र नेताले देशको बागडोरै पाएर मज्जाले हाँके । विचरा उनी सम्झँदा रहेछन् जँगार तरेर लौरो ता नबिर्सेलान् नि भनेर । दिन बिते,महिना बिते, वर्षै पनि बिते अहँ छेकछन्द केही छैन । उनी पनि कहाँ कम हुन् र ? अवसर बिनाको योग्यता बेकार भएको मात्रै पो हो त । यसो मेसो कसो हो भनेर बुझ्न लागेछन् । फलानाको राम्रो व्यवस्थापन भयो किनभने उसले जग्गा बेपार गरेर भक्कु कमाएको थियो । अस्ति चुनाउमा पार्टीलाई मागेजत्ति पैसा डोनेसन गरेको थियो भनेर एकजना भित्रियाबाट थाहा पाएछन् । ए अचम्म नि ! भन्दै अर्कोसँगै काम गरेको साथी हालीमुहाली गर्ने ठाउँमा पुगेको रहेछ । उनीहरू निकै हितैषी सुखदुःखका पनि साथी रहेछन् । उसलाई यसो फोन गरेर भेटौँन भनेका के थिए हुन्छ म गाडी पठाउँछु आउनु न को जवाफ आएछ । नभन्दै एकघण्टा नबित्दै उनका कोठा अगाडी पजेरो पो हर्न बजाउन आइपुगेछ । निकै अचम्म मान्दै उनी चडेछन् । गाडी हुइँकिदै ललितपुरतिर लागेछ ।
पुलचोकबाट अलिक घुम्दै केहीबेर गुडेपछि एउटा गज्जवको कम्पाउण्ड लगाएको भवनभित्र लगेर ओरालेर गुरुजीले हजुर पाल्नुस् भन्दै भित्र अर्कै मान्छेलाई जिम्मा लाएछ । उसलाई हाकिम सापको मान्छे पुर्याइदिनु होला, मैले अहिले लिएर आएको भनेपछि उसले पनि सरासर तेस्रोतलामा उकालेछ । यसो हेरेछन् साथीको त सुनौला अक्षरमा लेखिएको ठूलो नामे पाटीमा भित्र लेखिएको रहेछ । भित्र पस्ता ती हाकिम साथीका पि. ए. उनैका सालाका साला महासालाले अझ भित्रको बडेमाको कोठामा छिराएछन् । त्यहाँ साथीको कुर्सी र टेबुल, कोठामा विछ्याइएका कार्पेट हेर्दा ता उनी झन्नै मूर्ति भएछन् । सँगै खाने खेल्ने साथी मायाप्रीति त भैहाल्छ नि । उनले भित्रको उनको विशेष भेटघाट गर्ने कोठामा लगेर गफ गर्न सुरु गरेछन् । साथीलाई ता सपनाको संसार बिपनाको भन्सार जस्तै पो भएको रहेछ ।
साथी त साथी नि एउटा हेर्यो भूःस्वर्गमा अर्को हेर्यो नर्कमा । कुरै कुरामा साथीले गोप्य राख्ने सर्तमा कर्मको ढोका खोलिहालेछ । विश्वास भए निवास पनि दिन सकिन्छ । उनले निजी स्कूल चलाएर प्रसस्त पैसा कमाएको ता साथीलाई थाहा नहुने कुरै भएन । चुनावका बेला नेतालाई चाहिएजत्ति माल दिएका रहेछन् अनि त्यसैको फल रहेछ उनको त्यो बिघ्नको व्यवस्थापन । गफसफ सके । साथीले त्यही गाडीमा डेरासम्म पठाइदिए ।
रातभरि सोचाइले निद्रादेवीलाई टिक्नै दिएनछ । उनीले बल्ल बुझ्न थालेछन् कार्यकर्ता व्यवस्थापन भनेको ता यस्तो पो रहेछ भनेर । मकै चबाउँदै चबाउँदै उनी लगातार मनको बह पोखिरहेका थिए । हैन तिमीहरू काठमाडौंकाको यस्तो हाल छ भने हामी मोफसलेको ता झन् के होला हौ भनेर मैले प्याच्च भनिहालेँ । कुरा सुनन सुन भनेर अझ थप्न पो थाले । उनको मामाको ज्वाइँको भतिजो अलेली पार्टीमा लागेजस्तो गथ्र्यो रे । खै के को हो व्यापार गरेर टन्न कमाएको थियो रे । सुँगुर जति मोटायो उति पिँध साँघुरो भनेझैँ उसलाई पनि पद र प्रतिष्ठाको भोक कहाँ मर्थ्या र ! कुनै जोधाहा नेताकी बुढी उसका गाउँकी रहिछ । ऊ फुपू भन्दो रहेछ । तिनै फुपूका बटाबाट वर्षको कोनि कति पो हो मन्त्रीलाई बुझाउने सर्तमा एउटा निकै मलिलो संथाको हाकिम भएको रहेछ । मकैको घोगो रित्याएर मुख पुछ्तै खै साथी जिन्दगी भर लागियो, व्यवस्थापन हुन्छ भन्थे । अहिले घरको हाल बेहाल छ । व्यवस्थापन त त्यसरी पो हुँदोरहेछ । आफूसँग ता कन्चो दिनसक्ने अवस्था छैन । आफ्नो परिवारका मान्छे पनि सांसद, मन्त्री हुने कुरै भएन आफू त भुइँमान्छे न परियो । भनेर लाइन गएपछिको टि.भि.जस्तै भए मेरा साथी ।
हामी जोडी साथी उनको पीडा र पीडक पुराण सुनेको सुन्यै भयौँ । यत्तिकैमा अर्को साथीले पानी, चिया खाऊँन बरू भने अनि हामी अलिक माथि कुनातिर मान्छे नभएको चिया पसल हेरेर पस्यौँ र पानीको बोतल र चिया माग्यौँ । ती साथीले फेरि सुरु गरिहाले आफ्नो पुराण । यिनको चैँ पक्कै गज्जप होला भनेर कानेगुजी झिकेर तयार परेँ । उनको पनि कुरा त ठ्याक्कै उस्तै पो गर्छन् बा ! व्यवस्थापन हुन्छ लु मजले काम गरौँ भनेर भएको सानो पेसा व्यवसाय पनि छोडेर लागेछन्, गाउँकै काका पर्ने नेताका पछि । चुनाउ जितेर गएपछि ता आफ्नै साला, साली, ज्वाइँ, छोरी, भतिजो, भतिजी सम्धी, सम्धिनी अनि मावलीपट्टिका, खर्चबर्चवाला कोको रे कोको गरी जम्मा जम्मी दर्जन बडीको व्यवस्थापन गरिसकेछन् । उनलाई चैँ पख पख पख पखमात्रै भन्दा रहेछन् । बिरालाको ख्याल ख्याल मुसाको ज्यान भैसकेछ बिचरा ।
केही दिनमा उनका कुनचैँ हो एउटा भित्रियाले फोन गरेर एउटा होटलमा बोलाएछ र हेर्नुहोस् काम गर्न सजिलो छैन, ककसलाई ककसलाई नमनाई हुँदैन त्यसैले तपाईंको व्यवस्थापन हुन्छ तर यति चैँ यसो गर्नु पर्छ काम पक्का हुन्छ भनेर प्वाक्क भनेछ । अब उनले तीनत्रिलोक चौध भुवन देखेछन् । सपनामा पनि नदेखेको प्रस्ताव । अब बित्याँस परेछ विचरा मेरो साथीलाई नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार, गर्ने के ! हस् फेरि भेट्छु भनेर घरतिर कुलेलम ठोकेछन् । “ए ए यो कुरा अति गोप्य नि तपाईंलाईमात्र अरुलाई ता कहाँ हुन्छ र त्यस्ताले” भनेर खै गरेछ मन्त्रीको भित्रिया महाशयले । घरमा पुगेर उनी त विश्वेश्वर कोइरालाको दोशी चश्मा कथाको पात्रनै भएछन् । उनले खुइऽऽऽऽऽय गर्दै आफ्नो महात्म्य सक्तै के गर्नु साथी आफू ता भुइँमान्छे परेँ धाती गुहारी कोही हुने रहेछ । गर्नसम्म गरे बोल्दा अकाशतिर फर्केर थुकेजस्तो हुन्छ, नबोलौँ यो गति भो भन्दै चिया पसलको बाहिरतिर टोलाए ।
अब म पर्नसम्म आपतमा परेँ । हे फसाद ! साथीहरू दिनैपिच्छे सिंहदरवार पुगेर गफ गर्न सक्ने गज्जपै होला भनेको ता सुन्दै पो सुनचरी लाटिएछ भनेझैँ भएँ म । बल्ल उनीहरूका पीडापुराण सकेर केछ खबर भनेर मतिर जिज्ञासा राखे । अब के भन्नु म । बित्थैमा काठमाडौं आएछु जस्तो लाग्यो । फेरि हामी तीनैजना कसरी पोलेका मकै खान भेला भयौँ भनेर तिनछक्क थिएँ । बल्ल पो कुराको चुरो भेटाएँ । व्यवस्थापन भएका ता कहाँ धुलोको मसलासँग पोलेका मकै खान बानेश्वर चोकतिर आउँछन् त । उनीहरूको हैसियत, इज्जत, मर्यादा पनि चोकमा उभिएर मकै चबाउने खालको हुन्छ र ! आफू भुइँमान्छे किन भएँ भन्थेँ । गाँठी कुरो ता बुझेकै रहेनछु । अनि मेरो पालो कुरो उस्तै उस्तै हो अघि उस्तै उस्तै पोलेका मकै खाएजस्तै भनेर म कुलेश्वरतिर, एकजना साथी त्रिपुरेश्वरतिर र अर्को साथी ज्ञानेश्वरतिर लाग्यौँ ।
इति श्री भुइँमान्छे पुराणे, नेपाल मण्डले, काठमाडौं भूमे, नेता कार्यकर्ता व्यवस्थापन कल्पे, पद पैसा विनिमय खण्डे, आफन्त पूर्ण महात्म्ये प्रथमोध्याय समाम्तम् ।
०००
झापा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































