हिरा भट्टसङ्घीयता भूत
तन्द्रा भङ्ग भयो तरङ्गित हुँदा गोदावरी बाबरी काँप्छिन् थर्थर शारदा कलममा नेपाल आँखाभरि जाँचोस् शीघ्र वसन्तमा समयले खाता सबै यामको आयो भूत हिमालका नगरमा सङ्घीयता नामको ।

हिरा भट्ट :
भत्ता दे कर दे भनी घरघरै दाह्रा किटी आउँछ
बोले घोच्दछु जेल कोच्दछु भनी कड्केर तर्साउँछ
जो हो चोर ठुलो उसैसित सधैँ चाबी छ गोदामको
आयो भूत हिमालका नगरमा सङ्घीयता नामको
।१।
जा जा जागिर खा विदेश खिर खा भन्दै लखेट्यो हरि
ल्यायो बाकसमा भरेर कतिका कङ्काल जम्मा गरी
धोका दिन्छ सधैँ मसानघरले संज्ञा लिई धामको
आयो भूत हिमालका नगरमा सङ्घीयता नामको
।२।
अग्ला टावरमा बसी गरिबमा ढुङ्गामुढा हान्दछ
भोका जो जति चढ्दछन् तुइनमा आन्द्रा भुँडी तान्दछ
चिट्ठी च्यात्छ सधैँ हुलाकघरले हेला गरी खामको
आयो भूत हिमालका नगरमा सङ्घीयता नामको
।३।
कर्णालीपर हेलिकप्टर चढी घोच्दा भुँडी बेस्सरी
कैयौँ गर्भवती र गर्भशिशुका छन् लास बाटाभरि
जिब्रो दुस्मनझैँ रहन्छ जहिल्यै पापा चिची मामको
आयो भूत हिमालका नगरमा सङ्घीयता नामको
।४।
तन्द्रा भङ्ग भयो तरङ्गित हुँदा गोदावरी बाबरी
काँप्छिन् थर्थर शारदा कलममा नेपाल आँखाभरि
जाँचोस् शीघ्र वसन्तमा समयले खाता सबै यामको
आयो भूत हिमालका नगरमा सङ्घीयता नामको ।
।५।
०००
कैलाली
Subscribe
Login
0 Comments
Oldest







































