पेशल आचार्यपेशलका स्पेसल ठोक्तक (२२)
एकता
ताप्लेजुङको घाउ दार्चुलालाई दुःख्नुपर्छ
रगतका मुहानहरू अब सबै सुक्नुपर्छ ।
घरझगडामा स्वार्थ र कमिसन मिसाउनेलाई
परिवारका सबै सदस्य मिलेर थुक्नु पर्छ ।
भाग
किसान सक्कली मलको माग गर्छ
व्यापारी नाफैनाफाको मात्र भाग गर्छ ।
सम्पन्नहरू छलेरै पनि काउली हसुर्छन् –
दरिद्रलाई त ओइलाएको साग पो भाग पर्छ ।
कुराको आरोहण
धान काट्ने भन्दा चेक काट्नेको कुरा ठूलो
चेक काट्ने भन्दा कमिसन बाँड्नेको कुरा ठूलो ।
कुरै कुराको आरोहण होडाजीमा–
कुरा काट्नेको हंकीडंकी नै सबैभन्दा ठूलो ।
लघार्नुपर्छ
अब भ्रष्टहरूलाई पो पानी बार्नु पर्छ
चुला–चौका र अन्न दिन छाड्नुपर्छ ।
मौका दिँदा पनि नसप्रिने भएपछि –
डङ्कुटी लगाएर देशबाटै लघार्नुपर्छ ।
ताजा सिद्धान्त
प्रधानमन्त्री पनि एक वर्ष टिक्न छाडे
जसलाई खाँचो छ उनीहरू सिक्न छाडे ।
अन्धानुकरण नै जीवन बाँच्ने शैली भएपछि
राजनीतिको बजारमा ताजा सिद्धान्त बिक्न छाडे ।
मन्थली, रामेछाप
Subscribe
Login
0 Comments
Oldest





































