अमर अधिकारीचार खित्का
ओली बिजुली
झिमिक्क गर्दा हावाबाट विद्युत् निकाल्न अरूले सक्दैनन्, प्रधानमन्त्री केपी ओलीले मात्र सक्छन् । हेरिरहनु होला, एक वर्षपछि उनले हावाबाट बिजुली अवश्य निकाल्ने छन् । उनले हावाबाट बिजुली निकाल्ने घोषणा गरेको दुई साता बितिसक्यो, सरकारले तयारी थालेको खोइ ? लालबुझक्कडहरू यसरी नै सोध्दै छन् । तिनले बुझेकै छैनन्, बिजुली निकाल्ने ओली तरिका अर्कै छ ।
एक वर्षपछि हात फैलाएर ओलीले ‘फू मन्तर’ भन्नेछन्, हावाबाट सरर बिजुली निस्कनेछ । फू मन्तरको सट्टा ‘छुमन्तर’ भन्न पनि सक्छन् । फूमन्तरसँगै उनले ट्वाक्क एउटा उखान भन्नेछन् । त्यसपछि बिजुली निस्कनेछ । ओलीको उखानले विद्युत् गतिमा असर गर्न सक्छ भने बिजुली नै निस्कन किन सक्दैन ? अवश्य निस्कन्छ । यही विश्वासले ओलीले ‘हावा बिजुली’को घोषणा गरेका हुन् ।
हावाबाट निकालेको बिजुली चलनचल्तीको तारबाट वितरण गरेर हुन्न, हावाकै तार चाहिन्छ । त्यस्तो तार हावाकै खम्बामा टाँग्नुपर्छ । अनि, हावा विद्युत् उपभोग गर्ने घर पनि हावाकै हुनुपर्छ । हावा विद्युत् उपभोग अरूले गर्न सम्भव हुन्न, ‘हावा मानव’ हुनुपर्छ । यी हावाका चीजहरू ओलीले उखान भनेकै भरमा सिर्जना गर्नेछन् । त्यसपछि जलविद्युत्मा झैँ उखाने विद्युत्मा पनि नेपाल धनी हुनेछ ।
उखानकै भरमा विद्युत् निकाल्न सकिन्छ भने अहिले नै हावा विद्युत् निकाले हुन्न ? धेरैको मनमा यस्तो प्रश्न होला । हावा विद्युत् उत्पादन गर्न हावा उखान खोज्न समय लाग्छ । यही कारण ओलीले एक वर्षको म्याद राखेका हुन् ।
पाँच जिल्लाको रहस्य
उहिले न्याय गोरखामा थियो, अचेल पाँच जिल्लामा छ । पूर्वको झापा, मोरङ, सुनसरी र पश्चिमको कैलाली, कञ्चनपुरले न्याय मात्र होइन, जे पनि दिन सक्छ । ‘अधिकार’ चाहियो कि ‘पहिचान’ ? जेजति संवैधानिक अधिकार हुन्छ, ती सबै यी पाँच जिल्लामा छ । त्यसैले पाँच जिल्ला दिने र नदिने लफडा छ । यी पाँच जिल्ला यताउता पारे सोलुको शेर्पादेखि दाङको थारुसम्मले अधिकार पाउँछन् । ख्याल गरौँ, यी पाँच जिल्ला यताउता नसारे कसैले पनि पहिचान र अधिकार पाउँदैन । विचरा पहिचान र अधिकार ! यी पाँच जिल्लामा बन्धक बनेर बसेको छ । नेपाली जनतालाई जेजति चाहिएको हो, सबै यी पाँच जिल्लामा रहेछ ।
संविधान बनाउन वर्षाैं लफडा र त्यति धेरै रकम खर्च भयो, सबै अधिकार र पहिचान यी पाँच जिल्लामा रै’छ । पाँच जिल्लामा जे छ, संविधानमा छैन, पाँच जिल्लामा के छ भन्ने भारतले नाकाबन्दी लगाएपछि मात्र थाहा पाइयो । कस्तूरीले आफ्नै वीनाको सुगन्ध खोज्न सर्वत्र चहारेझैँ पहिचान र अधिकार खोज्न नेताहरूले विश्व भ्रमण गरे । के गर्दा पहिचान हुन्छ, के गर्दा अधिकार पाइन्छ भन्ने मेलोमेसो मिलाउन नसकेर सात वर्ष बिताए । अन्तिममा थाहा भो, सबै तत्त्व पाँच जिल्लामा रै’छ । अन्त खोजेर समय खेर गयो ।
पहिचान र अधिकार पाँच जिल्लामा लुकेर बसेजसरी सहमतिचाहिँ कुन जिल्लामा लुकेर बसेको होला कुन्नि !
नाकाबन्दीको राशिफल
नाकाबन्दी कहिले खुल्छ ? मान्छे मिडियालाई सोध्छन् । मिडियाले नेतालाई सोध्छन् । नेताले चाहिँ कसलाई सोध्छन् ? हाम्रा नेताहरू ज्योतिषीप्रेमी छन् । ज्योतिषीलाई सोधेर नेताहरूले भनिदिए हुन्न ? ज्योतिषीले नेतालाई किन भन्नू ? सीधै जनतालाई भनिदिऊन् ।
मानिसको राशिफल दैनिक राशिफल भनेजस्तै देशको राशिफल भन्ने ज्योतिषी कोही भएनन् । ल ठीक छ, देशको राशिफल हेर्न गाह्रो भए नाकाबन्दीको मात्र राशिफल हेरुन् । आज यति ट्यांकर पेट्रोलियम आउँछ, त्योमध्ये यति ट्यांकर कालोबजारीमा जान्छ, यति ट्यांकर पेट्रोल पम्पबाट वितरण हुन्छ भनिदिए हुन्न ? सरकारले यस्तो कुरा भन्दैन, ज्योतिषीले नै भन्नुर्पयो । यो नाकाबन्दी खुल्छ कहिले ? सारा नेपालीले एकसाथ सोधिरहेको यो प्रश्नमा पनि ज्योतिषीहरूले भविष्यवाणी गरुन् ।
अस्ति नै भूकम्पको दिनहुँ भविष्यवाणी गर्ने ज्योतिषी थिए, क्या हिट भए, केहीले खोरको हावा पनि खाए । नाकाबन्दीको मात्र भविष्यवाणी गर्ने ज्योतिषी खोइ ? एक जनाले ज्योतिषीलाई सोधेछ– ‘नाकाबन्दी कहिले खुल्छ ? तपाईंले भन्नुर्पयो !’ ज्योतिषीले जवाफ दिएछ, ‘हेर्नूस्, यो नाकाबन्दीले सबैभन्दा असर नौ ग्रहलाई गरेको छ । नाकाबन्दीले सबै ग्रह थुनिएका छन् । ग्रह खुलेपछि मात्र भविष्यवाणी गर्न सकिन्छ ।’
कति बाठा कुरा !
जादु र मोहनीजाल
सीमा नाकाबाट सयौँ बुलेट ग्यास नेपाल आउँछ तर रातोदिन लाइन बस्दा पनि सर्वसाधारणले पाउँदैनन् । ग्यास कसरी गायब हुन्छ ? के यो जादु हो ? अहँ, होइन । ग्यास हावामा उड्नु जादु होइन । ग्यासको गुण नै हावामा उड्नु हो ।
हावामा उडेको ग्यास धनीमानी र पहुँचवाल उपभोक्ताको भान्सामा सर्लक्क पुग्छ भनेचाहिँ जादु हो । अचेल नेपालमा यस्तो जादु अचाक्लि भइरहेछ । ग्यास लिने लाइनमा रातदिन बिताउनेहरूले यसको नाम ‘ग्यास जादु’ जुराएका छन् । रुमाल च्यात्दा तरर पानी बग्नु, सलाईको काटी सुन्तलामा परिणत हुनु, इन्द्रजाल जादु हो । रक्सौलमा धर्ना बस्दा चार सय किलोमिटर परको काँकडभिट्टा नाका बन्द हुनु नाकाबन्दीजाल जादु हो ।
कसै कसैले जादु र मोहनीजाल एकै हो भन्छन् तर यो सत्य होइन । इन्द्रजाल या नाकाबन्दीजाल जस्तैजस्तै हुन्छ मोहनीजाल । मोहनीजालमा फसेपछि नाकाबन्दीजाल देख्न सकिन्न, एक चीजलाई अर्कै चीज देखिन्छ । भारतले नाकाबन्दी गरेको नदेखेर दसगजामा दस जनाले यत्रो नेपाल थुनिने गरी नाकाबन्दी लगाएको देखिनु मोहनीजाल हो ।
सित्तैँमा जादु हेर्न पाइन्न । ग्यास जादु, नाकाबन्दीजाल र मोहनीजाल दर्दनाक ढंगले मनोरञ्जक छ तर शुल्क अलि महँगो भयो कि ?
नेपाल, पुस १७, २०७२
Subscribe
Login
0 Comments
Oldest





































