साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारको उड्ने तयारी

Nepal Telecom ad

सरकारले गति लिएन भनेर चिन्ता गर्ने सत्ताधारी पार्टीका समर्थकलाई खुसीको खबर छ । सरकारले गति लिने मात्रै होइन, दौडिने नै तयारी गरिरहेको कुरा मन्त्रीहरूका गतिविधिबाट पत्ता लागेको छ । मन्त्रीहरू तीव्र गतिमा दौड्नुअघि लगाउनुपर्ने भोटो–कट्टुहरू लगाउँदैछन् । ‘वार्मअप’को प्रक्रियामा छन् । दौड्नुअघिको आन्तरिक व्यवस्थापनमा जोडतोडले लागेका छन् । मन्त्रीहरूका ज्यान तातेपछि हेर्नुहोला, सरकार कसरी दगुर्न थाल्नेछ ।

भूमिसुधार तथा व्यवस्थामन्त्रीहरूको आन्तरिक दौड प्रतियोगिताका बारेमा तपाईंले पनि सुन्नुभयो होला । नसुनेको भए सुन्नूस् । त्यहाँ त एउटै मन्त्रालयमा तीन जना मन्त्री छन्– फूलमन्त्री, क्वार्टरमन्त्री, हाफमन्त्री । तीनै जना मन्त्री घम्साघम्सी गर्दै सरकारलाई दौडाउन लागेका छन् । ‘वार्मअप’का क्रममा क्वार्टरमन्त्रीले फूलमन्त्रीको नयाँ कुर्सीसँग आफ्नो पुरानो कुर्सी साटेछन् । हाफमन्त्रीले मौका छोपेर त्यो नयाँ कुर्सी आफ्नोमा लगेर उनको थोत्रो कुर्सी क्वार्टरमन्त्रीकहाँ र्पुयाए । कुर्सी तानातान गर्दा गर्दै एउटा राम्रो गाडी आइपुगेछ मन्त्रालयमा । भूमिसुधारका कार्यहरूलाई स्कोरपियोको गतिमा अगाडि बढाउन तीनै जना मन्त्री तीनतिरबाट नयाँ गाडीलाई नै तान्न थाले । क्वार्टरमन्त्रीले फूलमन्त्रीको ड्राइभरलाई लडाएर साँचो खोसेपछि बल्ल आन्तरिक तयारी पूरा हुन लागेको बुझिएको छ ।

कर्मचारीतन्त्रमा सुधार गर्न पनि तीनै जना मन्त्री कस्सिएर लागेका रहेछन् । ‘मलाईभन्दा त्यो मन्त्रीलाई किन बढी चिया दिइस् ?’ भनेर पियनलाई थर्काएर काममा लगाउँदा रहेछन् फूलमन्त्री । ‘फूलमन्त्रीको भन्दा पहिला मेरो टेबुल पुछ् !’ भनेर त्यही बूढो पियनलाई झपार्दा रहेछन् हाफमन्त्री । ‘स्यालुट गर्दा तिनीहरूलाई भन्दा मलाई ठूलो आवाज निकाल् !’ भनेर सुरक्षा गार्डलाई जमिनै हल्लिने गरी बुट बजार्न लगाउँदा रहेछन् क्वार्टरमन्त्री । कार्यकक्ष कब्जा गर्न क्वार्टरमन्त्रीले एउटा कोठामा ताला लगाएछन्, हाफमन्त्रीले बिहान सबेरै आएर ताला फोरेर कोठामा कब्जा जमाएछन् । यसरी भूमिसुधार मन्त्रीहरू सरकारको गति बढाउन आन्तरिक तयारीमा व्यस्त छन् । सिट्टी बज्नु मात्रै पर्छ, उनीहरू जर्सी खोलेरै दौडिनेछन्, चिन्तै गर्नुपर्दैन ।

तपाईलाई थाहै छ, सरकारलाई बलियो पार्ने र अघि बढाउने कार्यमा गृह मन्त्रालयको कत्रो भूमिका हुन्छ । गृहमन्त्री त्यो भूमिका पूरा गर्न जर्सीको इजार पनि कस्न नभ्याई लागिपरेका छन् । सरकारलाई तीव्र गतिका साथ अगाडि बढाउने पूर्वतयारी स्वरूप उनी आफन्त र नातागोतालाई तह लगाउँदैछन् । दौडिएका बेला तिनीहरूले नअल्झाउन भनेर उनले आफ्ना छोरी, साली, फुपूका भदैनी, पूर्वप्रेमिकाकी उतापट्टिकी छोरी, सानिमाकी भतिजे बुहारी, पार्टी अध्यक्षका नातिनीहरू, पिएकी प्रेमिकालगायत नातागोताका दर्जनौँ केटीलाई भेला पारेर एक–एकवटा भूकम्पपीडित सर्टि्फिकेट घाँटीमा झुन्ड्याइदिएर सरकारी ढुकुटीबाटै खर्चवर्च दिइवरी चाइनातिर अलमलिन पठाएछन् । उनीहरूलाई यसरी अलमल्याएर गृहमन्त्री मन्त्रालयलाई निर्विघ्न अगाडि बढाउन चाहन्छन् ।

मन्त्रीहरू एकपछि अर्को जीउ तताइरहेका छन् । उपप्रधानमन्त्री आफ्नै सरकारलाई मागपत्र पेस गरेर माग पूरा नभए सरकार छाडेर आफ्नै गतिमा अघि बढ्ने तयारीमा छन् । कतिपय मन्त्रीहरू आन्दोलनकारीको नेतृत्व गर्दै आफ्नै सरकारलाई अल्टिमेटम दिएर सरकारको पूर्वाधार बलियो बनाउँदैछन् । त्यस्ता कर्मशील मन्त्रीहरू पालेर बसेका प्रधानमन्त्री पनि सरकारको एक्सिलेटर थिच्नुअघि आफ्नै मन्त्रिपरिषद्का सदस्यहरूबाट प्राप्त ज्ञापनपत्र, ध्यानाकर्षण, धम्की तथा घुर्कीहरूको अध्ययनमा व्यस्त छन् ।

सरकार यस्तो भव्य तयारी गर्दैछ दौडको । लौ, तपाईं नै अनुमान गर्नूस्, यस्तो भव्य तयारी गरेर दौडिन लागेको सरकार दौडिएला मात्रै कि उड्ला नै !

नेपाल, पुस १७, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x