पेशलका स्पेसल ठोक्तक– १८
१. धेरै भए
गुरुभन्दा चेला धेरै भए
काम गर्ने छैनन् गोष्ठी र भेला धेरै भए
नायकको अभाव थियो यहाँ
तर खलनायकहरूको प्रदर्शनबीच
व्यर्थ राजनीतिका खेला धेरै भए ।
२. जागिर
यो नपाइन्जेल अलङ्कार
पाएपछि पुरस्कार
हुनुपर्ने परिष्कार
भइरहेछ –बेकार ।
३. राजनीति
फल पाउनेका लागि
राजनीति एउटा नशा हो,
फल नपाउनेका लागि
मन्साएर नमन्सिने
पन्साएर नपन्सिने
साढेसातको दशा हो ।
४. विवाह
आफू खुसीको दरबन्दी
आफ्नै तोकादेशमा
निःशुल्क दर्ता हुने
एउटा निवेदन ।
मन्थली, रामेछाप