साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयोग अर्थात् खायोग

‘कुन आयोगको कुरा उक्काइसिएको हजुरले ?’ मैले प्रश्नको मट्याङ्ग्राले खोइरो लागेको तालु ताकें । ‘उही क्या त तोडफोड आगजनी मारमुङ्ग्री, बलात्कार जाँचबुझ आयोग ।’ प्रश्न भुइँमा झर्न नपाउँदै उनले उत्तरको झापट दिए ।

Nepal Telecom ad

हाम्रो देशमा वियोगै वियोग छ, प्रयोग प्रयोग छ । यसकारण, संजोगको उपयोग गर्न पर्खिबसेका छन्, सत्ता र भत्ताका हन्तकाले अलच्छिनीहरू । यस्ताहरूले मुलुकुमा कुनै उपद्रो नमच्चिए धारे हात लाएर आफ्नै पुर्पुरोलाई सराप्छन्- थुइक्क ! अभागी बजिया ! अदालतसदालततिर बिक्ने उमेरले सिलटिम्बुर खाएपछि उमेर फुक्लिएको बूढो मुख पिंढीमा घाम ताप्या ताप्यै छ । यतिका दिन बितिसके झिङे दाउ लाग्नु त मर्नु । बिहान राशिफल हेर्‍यो, पस्पति गयो, दिउसो पिंढीमा घाम ताप्यो बस । होइन, के हेरेर मर्‍याछन् हैं, प्रतिगामीसर्तिगामी बज्जे बजिनीहरू ? बाल्नु नि सडकमा टायर, हान्नु नि ढुङ्गा घरपसलमा । आजसम्म न कुनै कार्यालयमा गतिलोसँग आगो लाग्यो, न निजी घरमा । सौ पचास सरकारी चिल्ला कार र निजी बसहरू नडढीकन के खाएर हुन्थे यी चेत बाबा काँसी ! अहिलेसम्म न भाँचिनु पर्ने जति खुट्टा भाँचिए न फुट्नु पर्ने जति टाउका फुटेर रातो पानी नै तुर्र चुहियो । डाडुमा पानी तताएर मर्नु नि यस्ता तुहेका लाछीहरूले । थुइक्क ! हुतीहाराहरू ! मौकामा नपड्केको बन्दुक त मुर्रा भैंसीको डाले घाँसजस्तो हो । केटाकेटीको गुलेलीजस्तो काँधाँ बोकेर हिडिरहेका छन्, बेसर्मीहरू । फेरि, सिरुपाते खुकुरीको काम खन्यौको घाँस छिमल्नु हो त ?

कसैलाई के धन्दा, घरज्वाइँलाई खानको धन्दा भनेझैँ तोडफोड, विनाश, मृत्यु र आगजनीको सपनामा रमाइरहेका हुन्छन्, मुलुकका दर्जनौ बुद्धिजीवीहरू । उनीहरूको सपना सितिमिति खेर जाँदैन । त्यसकारण, केही दिन अघि फोक्सोभरि टायरको पिरो धुँवा बोकेर एकजना सत्ता र शान्तिका बज्रठिंगे बुद्धिजीवीकहाँ सुटुक्क पुगेँ । यिनको हनुमानगिरी-दादागिरीका मुखेन्ज जुनसुकै माइको लाल आओस्, त्यसको दाल गल्दैनथ्यो । तर दैव लागेपछि कसको के लाग्छ ? विचराको लामो समयदेखि भत्ताको भाते जाँडबाट वियोग भएको थियो ।

यद्यपि, औलामा गन्न सकिने आयोग विशेषज्ञ मध्ये यिनको पनि गनाइ हुन्थ्यो । खास गरी जुनसुकै आयोग बन्नुका पछिल्तिर बनाउनेको भित्री उद्देश्य यिनलाई नै थाहा हुन्थ्यो र त्यही अनुसार गर्नु यिनी आफ्नो कर्तव्य ठान्दथे । त्यस दिन मलाई देख्नासाथ उनको प्वाल परेको टेप खुलिहाल्यो- ‘चाइन्जो कुराले नेपालका बद्धिजीवीहरूसँग एउटा मुख्य कुराको अभाव छ ।’ मैले अचम्म मानेर सोधें- ‘हजुर, त्यो मुख्य कुरा के होला ?’ मेरो प्रश्न भूइँमा झर्न नपाउदै उनले उतर धस्काइहाले ‘चाइन्जो के रे त्यो मुख्य कुरा भनेको सकारात्मक सोच हो ।’ सहमति जनाउँदै मैले तुरुन्त अर्को प्रश्नको गुलेलीले हिर्काएँ- ‘सिर्मान, यो प्रतिवेदनको ढड्डा कार्यान्वयन त होला ?’ उनले- मुसुक्क हाँसेर आफ्ना कुरा रिमिक्स गरेको परम्परावादी रामायण सुनाए । उनको रामायण कम रोचक थिएन ।

त्रेता युगतिरको घटना अरे ! आङमरि लच्याप्रै दलिएको सेताम्य फूल खरानी फुर्र उडाउँदै जोगीले भन्यो रे ‘महाराज, म योगविद्याद्वारा नानाओलीका चमत्कार देखाउन सक्छु नजर बक्सहोस् ।’ महाराज दशरथबाट स्वीकृतिको संकेतमा टाउको हल्लाइ बक्सियो । त्यसपछि जोगीले अनेखन्नका चमत्कार देखाउन सुरु गरिहाल्यो । उसले टाउको टेक्यो, खुट्टा ठाडा पार्‍यो, पलेंटी कस्यो र योगद्वारा जमिन छोडेर केही माथि उठ्यो । त्यसपछि उसले निकै लामो सास तान्यो र एकछिन निश्चल भयो । अन्तमा, उसले भन्यो- महाराज, योगविद्याको अन्तिम चमत्कार प्रस्तुत गर्न लाग्दैछु । महाराज दशरथबाट रुचिका साथ नजरबक्स भइरहेको थियो । हेर्दा हेर्दै जोगी जडवत् निश्चल भयो, सास फेरेको, हल्लिएको र आँखा झिमिक्क गरेको देखिएन । घन्टौं बित्दा पनि जोगीको हालत चुच्चे ढुड्गो उही टुङ्गो भयो । संजोगले त्यही बेला दरबारभित्र एकाएक सौतेलो राँइदालो मच्चियो । दशरथ प्यारी कैकेयीका कोठातिर हान्निए ।

त्यसपछि रामको वनवास भयो, दशरथ स्वर्गे भए, रामले सुनको मृग मारे, रावणले सीता अपहरण गर्‍यो, जटायु नामको बूढो गिद्धले दुःख सागरबाट मुक्ति पायो, रामले सुग्रीवसँग मितेरी गाँसे, बिनावित्थामा बाली मारियो, बाँदरसेना समुद्र तय, मेघनाथ, कुभकणर्, रावण जस्ता वीरहरू मारिए, विभीषण लंकाका राजा भए, बल्ल राम, अयोध्यातिर फर्के । त्यसपछि पनि कहाँ सोच्ने फुर्सद हुनु र ? धोबीले कुरा काटेकाले सीताको अग्निपरीक्षा भयो, परित्यक्ता सीताले जम्ल्याहा लवकुश पाइन् । अश्वमेध यज्ञ भयो, बाल्मीकिले रामायणको बालकाण्डको रचना सुरसार गरे । तपाईं भन्नुहोला यो जम्माजम्मी दश एघार हजार वर्षको समयमा जडवत् अवस्थामा रहेको जोगीको हालत चाहि के भयो होला ? हाम्रो मुलुकका आयोगका प्रतिवेदनभ दशरथको कवाडी माल राख्ने कोठामा विचरो जोगी थन्किइरह्यो । तर, जोगीको पुर्पुरो दह्रो भएकाले हुनसक्छ, जडवत् जोगीमाथि हनुमानका आँखा पुगे । उनले त्यस धम्मरधुस जोगीलाई ढाडे बिरालाले डुहुरे मुसो तुर्लुङ्ग झुन्ड्याएर हिंडे, बाहिर ल्याए र अशोक वृक्षका सियालमा बसेर दही लालमोहन लफन्ल्याइरहेका पुरुषोत्तम रामको चरणमा पेस गरे । रामको हुकुम तामेली गर्दै गुरु वरिष्ठले योगबलद्वारा जडवत् जोगीको शरीरमा आत्मा पसाई उद्धार गरिदिए जोगी बाक्लो र लामो निन्द्राबाट हाई काढ्दै बिउँझियो ।

अन्तमा, मैले आयोग अध्यक्ष हनुमान गिरीलाई भने- ‘हजुरलाई आयोगको प्रतिवेदन कार्यान्वयन होला नहोला भनेर सोझो प्रश्न मात्र गरेको थिएँ । हजुरले त ‘आदौ राम तपोवनादि गमनम्’ देखि सुरु गरेर सम्पूर्ण रामायण सुनाइबक्सियो । अझ पनि म जान्न चाहन्छु- ‘शरीरबाट निस्किएको आत्मा पुनः शरीरमा पसाउन नसक्ने कनफट्टा जोगी र नेपालका आयोगका प्रतिवेदनमा के तात्विक सम्बन्ध छ ?’ ‘छ, अवश्य छ ।’ हनुमान गिरी भन्दै गए- ‘जसरी शरीरबाट आत्मा बाहिर निकाल्नु र आफूखुशी फेरि शरीरमा पसाउनु योगविद्याका दुई पाटा हुन्छन्, त्यसरी नै आयोगका पनि दुई पाटा हुन्छन् । ती हुन्- छानबिन र कार्यान्वयन पक्ष ।’ हनुमान गिरीले अझ छर्लङ्ग पार्दै भने, ‘सुन्नोस्, म पनि त्यही कवाडी फुस्रे जोगी जस्तो हुँ, अर्थात, रिपोट बुझाउँछु, कार्यान्वयन गर्न सक्दिन । भन्नोस् के लछारपाटो लायो मल्लिक आयोगको प्रतिवेदनले ? कसलाई के लछार्‍यो टोपबहादुर, अरू बहादुर र रायमाझी आयोगको प्रतिवेदनले ? आजसम्म कति आयोग बने ? तिनले के नापे ?’

यसपल्ट पनि सहर र गाउँभरि हत्या, आगजनी र तोडफोडको बिखालु आँधीबेरी के मच्चिन मात्र थालेको थियो, मेरो पालो टोपी झिकेर दौडिइहालें उनै हनुमान गिरीको हवेलीतिर । चरणकमलमा साष्टाङ्ग ढोग टक्रयाएँ र सिर्मती गिरीमार्फत चिन्ता पोखिछाडें- भाउजू, हजुरलाई के थाहा ? बाहिर त सबै धुलिधङ्कट भताभुङ्ग भइसक्यो । घर, पसल कार्यालय, विद्यालय, अस्पताल सबै खरानी !, पचासौं मान्छे मरिसके, थाहा पाउनुभो हजुरले ?’ बुद्धिजीविनी भाउजूले औधि चिन्तित भएर भन्नु भयो- हरे शिव ! बाबु, के हुन लाग्यो नि यस्तो, पस्पतिले रक्खे गरून् बरु चाँडै थामियोस् यो मरुमराई र विनाशको असत्ती भुँवरी !’ आफ्नो हैकम देखाउदै सत्ताका ती बुद्धिजीवी उल्टै भाउजूमाथि जाइलागे ‘चुप लाग छुसी बढ्ता बाठी भएर नबोल । तँलाई के थाहा नेपालको राजनीति ?’ ती बुद्धिजीवीको अनुहारका साठीवटै मुजामा त्यो दिन प्रशन्नता र कान्ति देखिन्थ्यो ।

मैले सोधें ‘हजुरको यतिविदि खुशीको कारण के हो ? यत्रो तोडफोड र विनाश हुँदा हजुरलाई कहिल्यै नदेखिएको खुशी किन ? उनको पालो कुराको पोयो खुस्काउँदै भने-’तिमी जस्तो भावुक लेखकले यथार्थ नबुझ्नु अनौठो होइन । तिमीलाई तत्व ज्ञान बुझ्न समय लाग्छ । बरु तिमी आज ठिक बेलामा आयौ । तिमीले मलाई एउटा सहयोग गर्नु पर्‍यो ।’ मैले भने- ‘के सहयोग टकऱ्याऊँ ?’ ‘उही त क्या गृहमन्त्री पोल्दापोल्दै उम्केको काठो रैछ । त्यसलाई तिमीले मेरो नाउँ सिफारिस गरिदियौ भने पर्धानमन्त्रीको चिन्ता गर्नु पर्दैन, आयोगको अध्यक्ष कतै चिप्लिए पनि सदस्य बन्न सक्ने मेरो चान्स प्रायः पक्कै छ ।’ ‘कुन आयोगको कुरा उक्काइसिएको हजुरले ?’ मैले प्रश्नको मट्याङ्ग्राले खोइरो लागेको तालु ताकें । ‘उही क्या त तोडफोड आगजनी मारमुङ्ग्री, बलात्कार जाँचबुझ आयोग ।’ प्रश्न भुइँमा झर्न नपाउँदै उनले उत्तरको झापट दिए । ‘उसो भए त्यही कारणले आज हजुरको सबभन्दा खुशीको दिन हो, होइन त ?’ मैले उनको विचार फेरि खै गरें । उनले भने ‘एक्ज्याक्टली !’ मेरो पालो हात जोडेर ‘हस् हजुर !’ भन्दै त्यहाँबाट कुलेलम ठोकें ।

०००
‘शब्दको भ्वाङ’- (२०६४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x