नगिता लेप्चा राईभतुवा कुकुर एसोसिएसनको भौँ भौँ सभा
खासमा हेर्यौ भने यी मान्छे नामका दुइ खुट्टे प्राणी पो भतुवा हुन् । हामी सोझो जन्तुलाई किन भतुवा भनेर बोलाउँछन् । अब हामी कुकुरजातिलाई भतुवा नभनिदिनुहोला ।

नगिता लेप्चा राई :
भौँ भौँ…. भौँ भौँ.
भौँ…. भौँ भौँ…..
हामी कुकुर हौँ । गाउँ-घरमा हात्ती आउँदा, नचिनेको मान्छे आउँदा सबैभन्दा भौँ भौँ गरी गाउँवासीलाई जगाउने हामी कुकुरहरू हौँ । जूठो भातको आशामा, चुसिसकेको मासुको हड्डीको आशामा दिनरात गाउँ-घरतिर पेट्रोलिङ गर्ने हामी । कतै चेपतिर, कतै दोकानमुनि गुजुल्टिएर सुत्ने हामी नै हौँ । गाउँघरको सुरक्षामा जहिले पनि तैनाथ रहने हामी नै हौँ । तरै पनि हामी कुकुरजातिलाई भतुवा भनेर लाजमर्दो पार्छन् गाउँवासीले । बाँदरले हात्तीले गाउँ घरमा आएर उपद्रो गर्छ उनीहरूलाई बाँदर, हात्ती नै भन्छन् हाम्रा गाउँकाहरू । हात्ती र बाँदर ता गाउँघरको केरा, धान, मकै सुन्तला बारीको मूला, कोपी नष्ट पार्ने विनाशकारी प्राणी हुन् । खै उनीहरूलाई भतुवा, चोर, डाका केही भन्दैनन् । हामीलाई चाहिँ किन भतुवा ?
आइतबारको दिन गाउँ-बस्तीका जम्मै भतुवाक कुकुरहरू शहिद दुर्गामल्ल खेल मैदानमा भेला भएका छन् । गाउँको सबैभन्दा सिनियर तर लुतो लागेर पिल्सिकेको बूढड़ो कुकुरको सभापतित्वमा सम्पन्न भएको भौँ भौँ… भौँ भौँ सभामा महासचिव कालेको आफ्नो वक्तव्यमा भन्यो, दुःखलाग्दो कुरो, अहिले गाउँका सम्पूणर् भतुवा कुकुरहरूको अवस्था पहाडको नेता जस्तै भएको छ । यी दुइ खुट्टे जन्तुले हाम्रा शाखा सन्तानलाई कोप्ता खुवाएर हाम्रो वंश नाश पार्ने जाल रच्दै छन् । मेरो प्रश्न छ, हामी भतुवाहरूले के अपराध गर्यौँ । हामी मर्नु नै पर्यो भने छातीमा गोली थापेर हाँसी हाँसी मर्न तयार छौँ । तर कोप्तामा लोभिएर कुकुर जातिको बदनाम गर्न चाहँदैनौँ ।
भौँ भौँ….भौँ भौँ. भौँ भौँ….भौँ भौँ । (यो थपडी बजेको)
अलिक राउडिज राउडिज जस्तो देखिने टाइगर बोल्यो – ‘हामी बोल्न सक्दैनौँ । हाम्रा नेताहरूको डिमाण्ड जस्तो हाम्रो डिमाण्ड केही छैन । गाउँ-बस्तीको नालीतिर फ्याँकेका चिजहरू खान्छौँ अनि रात परेपछि एकै ठाउँ गुजुल्टिएर जुलेबी जस्तै भएर सुत्छौं । सुत्छौँ पनि के भन्नु -आफ्नो एरियाको सुरक्षा गर्छौँ । पुलिस सभिक भोलियण्टरले गर्ने काम हामी भतुवाहरू गर्छौँ । नून खाएर गुण लाउन हामी जान्दछौँ । अब यो गाउँमा हामी नहुँदो हो भने गाउँका पसलहरू कतिपल्ट फोरिन्थे, गाउँको बाहिर राखेर स्कुटी, बाइकहरू कति उछिट्टिन्थे । हाम्रो एरियामा कुनै नेता आओस् कि राउडिज हामी कसैको वास्ता गर्दैनौँ । तर पनि हामीलाई भतुवा भन्नु मात्र होइन हामीमाथि यस्तो अत्याचार ?
हाम्रो केही छैन । चिसो भूइँ हाम्रो बेड, आकाश हाम्रो छत । यी दुइ खुट्टे मान्छे नामको जन्तुले जस्तै फुटपाथ दखल गरेका छैनौँ । म्युनिसिपल र पीडब्लू डी जमिनमाथि मकैका दाना जस्ता घर दोकान थापेका छैनौँ । बिजुलीको लाइन हुक गरेका छैनौँ । जङ्गल सखाप पारेर पर्यावरण दूषित पारेका छैनौँ । नेताहरू जस्तो भ्रष्टाचार गरेका छैनौँ । स्पाको नाउँमा पार्लरमा पसी दुनियाँ पुरुषको शरीर मुसारेका छैनौँ । दिउँसो मैला कुचेलामा भएका कुरा खाएर पेट भरेका छौँ, खान नपाउँदा भोकै सुतेका छौँ । हाम्रो मान्छेजस्तो स्वार्थी छैनौँ, मतलबी छैनौँ । नोकरीको लोभ देखाएर सोझो सरल युवतीहरूलाई बेच बिखन गरी मोटो कमिसन लिएका छैनौँ । हामी आफ्नो पाराले बाँच्न र जिउन चाहन्छौँ ।
भौँ भौँ….भौँ भौँ. भौँ भौँ….भौँ भौँ। (यो थपडी बजेको )
संसारलाई थाहा छ कुकुर जाति जस्तो बुद्धिमान जन्तु अरु छैन । हाम्रो भक्ति र विश्वासबारे किन ढोल बजाइरहनु ? यसैले हामी सबै बुझ्छौँ को कतिको पानीभित्र छ । अन्तमा यो भौँ भौँ सभामा एउटै कुरा यहाँ राख्न चाहन्छु, हामी भतुवाहरूलाई हेप्न पाइँदैन । हामीलाई मिटको लोभ छैन सिटको पनि लोभ छैन । भाषण दिने रहर छैन न आसनमा बस्ने लोभ नै । चाहिँदैन मनी न चाहिन्छ तरुणी । न गाडीको तलतल न बोतलको । हामीलाई नेतागिरी देखाउनु छैन । हामी भतुवा हौँ भतुवा कुकुर । कुनै नेता जस्तो डरछेरुवा मरण होइन कुकुर जस्तै मरण चाहन्छौँ । हामीलाई कोप्ता खुवाएर हाम्रो वंश नाश पार्ने मूर्ख प्रयास नगरोस्… दाउ पर्यो भने हामी भतुवाहरू मिली यी दुइ खुट्टे मान्छे नामको प्राणीलाई टोकेर टोकेर शेष पार्न सक्छौँ ।
भौँ भौँ….भौँ भौँ. भौँ भौँ….भौँ भौँ। (यो थपडी बजेको )
यसपछि युवा भतुवा ज्याङ्गो माइक्रोफोन अघि आएर उत्तेजित भाषण दिन थाल्यो- हामी भतुवाहरूलाई कोप्ता खुवाउने कोप्ता खुवाउँछौं नै भने गाउँ-घर, शहर बजारमा गोटी (ड्रग्स) बेचेर युवा युवतीहरूलाई भ्रष्ट पार्नेहरूलाई कोप्ता खुवाऊ । चिरुवा दाउराले, डाडले, बाँसको भाटाले हिर्काऊ । हामीले नेता वा ड्रग्स सप्लायरहरू जस्तो कसैको समाज बिगारेका छैनौँ । खासै समाज बिगार्नेलाई चाहिँ सात खून माफ अनि़ हामी नबोलने भतुवालाई बिना दोषमै यस्तो अत्याचार ? यहाँ मान्छेले मान्छेको हत्या गर्छ तर एउटा भतुवाले अर्को भतुवालाई टोकेर मार्यो भन्नेकहिल्यै सुन्नु भएको छ ? हामी यी कपटी मान्छे भन्दा दस गुणा ज्ञानी, बुद्धिमानी र बुझकी छौँ । र नै हामी भतुवाहरूले यहाँको मान्छेलाई कहिले पनि टोक्दैनौँ । कारण मान्छेलाई टोक्यो भने चौधवटा सुई हामीले लाउनुपर्छ । अन्तमा एउटै कुरा भन्छु, हामी भतुवाहरूजाई लाग्दैनौँ तर आइ लाग्नेलाई हामी छोड्दैनौँ ।
भौँ भौँ….भौँ भौँ. भौँ भौँ….भौँ भौँ। (यो थपडी बजेको )
अन्तमा सभाध्यक्षको भाषण – हाम्रो मातृभूमि यहाँ गाउँ हो । म यस गाउँका भतुवाहरूको भौँ भौँ ग्रुपको प्रेसिडेण्ट हुँ । तर हामी सबै कुकुर जातिका हौँ । कोही मन्त्री स्तरका कुकुर । कोही भीआइपी कुकुर । कोही लम्पट कुकुर । कोही हाम कुकुर, कोही नबोल्ने कुकुर । हामी पक्कै कुकुर नै सही किन मान्छेको नामको कुकुरले कुकरलाई किन कोप्ता खुवाउन तम्सेको ? खासमा हेर्यौ भने यी मान्छे नामका दुइ खुट्टे प्राणी पो भतुवा हुन् । हामी सोझो जन्तुलाई किन भतुवा भनेर बोलाउँछन् । अब हामी कुकुरजातिलाई भतुवा नभनिदिनुहोला ।
खासमा हाम्रा नेताहरू पो भतुवा टाइपका छन् । खै भतुवा नेताहरूलाई कति आदर, कति सम्मान, कति जयजयकार । कुकुर जातिलाई किन भतुवा भनिन्छ यसबारे एउटा कमिशन बनाउनु जरुरी छ । हामीलाई भतुवा भतुवा नभन्नू कुन दिन भतुवाहरूको प्रेसर बढ्यो भने गाउँका मानिसहरू घरदेखि बाहिर निस्किन पाउनेछैनन् । बी केयर फूल ।
भौँ भौँ…. भौँ भौँ. भौँ भौँ…. भौँ भौँ । (यो थपडी बजेको)
भौँ भौँ…. भौँ भौँ. भौँ भौँ…. भौँ भौँ । (यो थपडी बजेको) ।
०००
खोलाचन्द फाप्री (जलपाईगुडी)
Subscribe
Login
0 Comments
Oldest







































