गाेपेन्द्रप्रसाद रिजाललाशको आश
तिमीलाई त के छ र सरकार लाशले पनि भोट दिएकै छ त्यही लालमोहोरमा तिम्रो कुर्सी धेरै वर्ष घुमेकै छ ।

गोपेन्द्रप्रसाद रिजाल :

गरिबीको बाजले झम्टिएपछि
अभावको चिलले ठुँगेपछी
दलिनको चामलको भुड्को खाली छ
आमा, बाबु र स्वास्नीको पेट
पनि त खाली छ ।
स्वास्नीको खाली पेटले
लाम्टा नभरिएपछि
बच्चालाइ झञ्झटिलो
खाली फाँचा चुसाउँदै
नाँके स्वरमा उनले
लोरी गाउँदै उँघेपछि
खाडी त ताक्नै पर्ने रहेछ
तातो तालु टन्टनाएर
पाक्नै पर्ने रहेछ
पाके पछि सेलाउनै पर्ने रहेछ
छ महिना हिँउमा लुकेर
कक्रकिएको लाश भै
बाकसमा फिर्नै पर्ने रहेछ ।
त्यसैले सरकार
उद्योग धन्दा बेचेरै भए पनि
बाटोहरू फराकिलो बनाऊ
घाटहरू थप्दै जाऊ
हवाइमैदान थप्दै जाऊ
कम्तिमा लाशले
क्यावात् सरकार भन्ने छ ।
गन्द्र्राङ गुन्द्रुङमा
लावालस्करको झुण्डमा
डुल्दा तिमीलाइ पनि त
दुःख हुन्छ सरकार
कात्तिकमा कुकुरको झुण्डलाई पनि त
दुःख हुन्छ
त्यो बाटो
त्यो एयरपोर्ट
तिमी
कुकुर र
लाशलाई
पनि त काम लाग्छ ।
पातिहरू रोप्न लाऊ
ऐँसेलुहरूको जङ्गल बढाऊ
सरकार
तिमीलाई विदेशी डलर आउँछ
उता लाशलाई पनि
कम्ती काम लाग्छ र !
मलामी चोख्याउन
पातिको धुप बाल्नै पर्छ
ऐँसेलु काँडा टेक्नै पर्छ ।
अनि सरकार तिमी
दशहजारको एउटा थाली समाऊ या
सुनको फाली समाऊ
बालै फरर
तर लाशको सुध्याइँमा
अलिनु मानु चामलले
कतै आमाको दूध पग्रिन्छ कि ?
बाबुको एकजोर लुगाले
गोडा तिनेक वर्ष त धान्छ कि ?
तिमीलाई त के छ र सरकार
लाशले पनि भोट दिएकै छ
त्यही लालमोहोरमा
तिम्रो कुर्सी धेरै वर्ष घुमेकै छ ।
बरू सरकार,
फ्रि भिसा
फ्रि टिकट
हामीलाई उतै पठाऊ
साससँगै आए
एउटा नोकिया खोस्न
मान्छे खटाऊ
लाश भै आउँदा त तिमीलाई
फाइदै फाइदा छ नि सरकार
तिम्रो लागि लाश त
सुनको अण्डा हो
अपुतालीमा पाएको बण्डा हो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































