होम सुवेदी‘डाढो’ प्रकाशनको धमाधमको सम्झना
‘डाढो’ को पृष्ठ ३१ मा छापिएको लेख सुशीला रानीबारे जान्न चाहेँ निकै पटक । तर “छे कुनै” भनेर मास्साब चुपै लाग्नु भो । न रामकुमारजीले केही भन्नु भो न दाताराम शर्माजीले ।

होम सुवेदी :
वि.सं. २०३१ पुसको सुरुदेखि नै कौवा प्रकाशनको पन्ध्रौँ पुस्तक ‘डाढो’ छाप्नका लागि धमाधम थियो । माघ १६ भित्रै निकाल्ने ध्यान थियो मास्साहब अर्थात् वासुदेव लुइँटेलको । यसैले अलिक हतार हरातर लेख सङ्कलन गरिँदै थियो । कहिले कसकोमा लेख लिन त कहिले कसकोमा लेख लिन मलाई मास्साहब पठाइरहनु हुन्थ्यो । हो, बस भाडा भने दिनु हुन्थ्यो । मैले बस भाडा हाल्नु परेको थिएन । पुसको बेला । सारै जाडो थियो । यसैले मलाई मास्साहबले एउटा नयाँ सुइटर किनिदिनु भएको थियो । सायद प्रेसका र पुस्तकालयमा अरु कर्मचारीहरुलाई पनि सुइटर दिएको जस्तो लाग्छ । कुन स्रोतबाट दिइयो । खोजीको विषय थिएन । त्यो बेला ‘डाढो’ मा छाप्नका लागि लेख बटुल्न मैले निकैतिर धाइफल तोड्नु परेको थियो । यो असी सालका पुसे जाडोमा त्यही कुरा सम्झिरहेको छु ।
“ए होमनाथ, लु त आज त्याँ तारेकोमा गएर लेख लेऊ । तयार गरिदिएको छ अरे । ढोका टोलमा पनि बलमकोमा निस्कनु है । गोर्खापत्रका तिन विभूतिहरुलाई ता पुछर निमोठिरहनु पर्छ । डेरै तिम्रो त्यहीँ भएपछि, भोलि आउनु भन्दा अघि तिनका पुछर निमोठेर आउनू । आज तारे र बलमकोमा पुगेर आऊ । यहाँ अस्तिको दातारामजीको लेख कम्पोज गर्दै गर्छ गणेशले ।“ 
उहाँ यस्तै केके नाम भन्नु हुन्थ्यो । धेरैका नाम फरक हुन्थे । कसैलाई भुसतिघ्रे, कसैलाई धैमले, कसैलाई स्याइडी, कसैलाई गुर्धुम, कसैलाई घट्ट र कसैलाई के, कसैलाई के । मैले नबुझेर- “सोधेँ तारे भनेको हाम्रोतिर ता गोरु मात्र हुन्छ मास्साब ।“
हाँस्तै भन्नु भो- “हुन ता यो पनि गोरु नै हो नि । गाई भनेपछि यो साँढे पनि ….” यस भन्दा उता के भन्नुभोहोला अनुमान गरे भैहाल्छ । अनि मलाई तारे भनेको को भन्ने कुरा खोल्नु भो र जमलको तत्कालीन त्रिविको परीक्षा भवन भएको पुरानो प्राध्यापक बस्ने कोठामा पठाउनु भो । म पाटन ढोकाको रत्नपार्क जाने बसमा चाराना तिरेर गएँ र जमलमा उहाँको क्वाटर खोजेर मागेर लेख लिएँ र ढोकाटोलतिर गएँ ।
बलमले (बालमुकुन्ददेव पाण्डे) वा घटोत्कच शर्माले पनि ‘रूपरेखा’ पत्रिकाको कार्यालयबाट लेख दिनु भो र म फटाफटी दुई घन्टा जतिमा जगदम्बा प्रेस पुगेँ । उहाँलाई लेख जिम्मा लगाएपछि गणेश कम्पोजिटरलाई दिन अह्राउनु भो । सो अनुसार कम्पोज गर्न दिएँ । गणेशले सोधे- “पेज नबाँधी गर्ने कि कसरी गर्ने ?”
“अहिले सादा फर्ममा गर्दै जाने पछि सबै लेख तयार भएपछि पेज बाँधौला है“ भनेर गणेशलाई जिम्मा लगाएर अघिल्लो दिनको श्याम गोतामेको लेख प्रुफ पढ्न थालेँ । लीलाध्वज थापा टुप्लुक्क आइपुगेर मेरै अघि कुर्सीमा बसे । अघिल्लो दिनको लेख पढ्दै थियौँ । हाँसेर फत्रक फत्रक ।
भोलिपल्ट ‘गोरखापत्र’ मा पसेर भैरवलाई कन्याएँ । सिरिपर्साद गोताम अर्थात् श्रीप्रसाद गौतमलाई कन्याएँ अनि पिँडालुलाई कन्याएँ । भानुभक्तको भोलि यथावत् रह्यो । रित्तै गएँ प्रेस । पर्सिपल्ट पनि निस्कनु भन्नु भएको थियो । आफैँ लाज भो र मास्साबलाई भोलि आउनु भनेका छन् भनेर ढाँटेँ । उहाँ अलिकति रिसाउनु भो “कति दुख दिएका र ….. का छोराहरूले ।”
केही दिन कहिले यतातिर ढाँट्तै र कहिले उतातिर ढाँट्तै बल्ल भैरवजीको लेख खेस्रामा तयार भो । त्यो पनि उहाँ भन्ने मैले सार्नु पर्ने सामुमै बसेर । एक दिन दुई घन्टा बसेर डाढोको फियर गरेँ मैले । लिएर गएँ । मास्साब खुसी हुनु भो ।
केही दिनपछि पिँडालु उसिनियो । दिउँसै बोलाए । गोपसंस्थानमा माथिल्लो तलामा घाम तापेर बसेकै बेला भेटेँ र लिएँ । सिरिपर्सादको ‘दिसादर्शन’ चैँ कसर बटुलेँ केही फुम नै छैन ।
श्रीधर खनाल, राजेश्वर, कोइरालाका लेख कसरी आए थाहा भएन । ‘डाढो’ को पृष्ठ ३१ मा छापिएको लेख सुशीला रानीबारे जान्न चाहेँ निकै पटक । तर “छे कुनै” भनेर मास्साब चुपै लाग्नु भो । न रामकुमारजीले केही भन्नु भो न दाताराम शर्माजीले । कसैले पनि सुशीला रानीबारे केही जानकारी दिएनन् । लेखको प्रकृति हेर्दा स्वयं मास्साहबले पो लेखेको हो कि भन्ने लाग्छ । हैन र सुशिला रानी कुनै महिला हुन् भने हास्यव्यङ्ग्यको इतिहासमा उनको स्थान अघिल्लै पङ्क्तिमा आउने देखेको छु ।
यसबाहेक शङ्कर कोइराला ता साझा प्रकाशनमा मेरो सधैँ भेट हुने र रामकुमार पाण्डेज्यू ता सधैँ चिया खाने बेलामा आउनु नै हुन्थ्यो । लेखका लागि समस्या परेन ।
अँ त्यो ‘डाढो’ ३१ सालको शहीद दिवस भन्दा अघि नै निकाल्ने जुन लक्ष्य मास्साहबको थियो त्यो कसै गरी माघ दश गते नै पूरा गरिएको झलझल सम्झना छ धमलाई ।
“वास्तवमा एक कुरा गल्ती भएछ मास्साब” मैले भने किताब निस्केपछि ।
“विषयसूची ता किताबमा दिनै भुलिएछ ।”
“ल्या…” उहाँले खुइलिएको तालु ठटाउनु भो र “होस् छाडिदेऊ” भनेर चित्त बुझाउनु भो ।
अब त्यस पुस्तकमा भएको स्वर्गीय जीवनकुमार शर्माको लेखले ल्याएका हङ्गामाका बारेमा ता नेपाली पूर्णाङ्क दुई सय वा अन्यत्र कतै लेखिएकै छ । नरनाथजीलाई पनि थाहै छ यसबारेमा ता । त्यो लेखका लेखकका बारेमा थाहा नभई परमधाम हुनु होला भनेर मैले नरनाथजीलाई खोली दिनु है मास्साहबलाई भनेको थिएँ । सायद खोल्नु भो होला । अहिले त्यही ‘डाढो’को र मास्साहबको हस्ताक्षर सहितको यो प्रेषण गरौँ है ।
०००
भद्रपुर, झापा ।
Subscribe
Login
0 Comments
Oldest








































