डिल्लीराज अर्यालभानुको सम्झनामा
रामगीतालाई रामायणकै अंश मान्ने हो भने उनका मुख्य कृति रामायण, वधूशिक्षा र भक्तमाला नै हुन् । अरू केही फूटकर कृति भने पाइन्छन् । ती कविता सामाजिक नैतिक चेतका हिसाबले महत्त्वपूर्ण रहेकाले चर्चायोग्य मानिन्छन्, छन्।

डिल्लीराज अर्याल :
केही केही कुरा केही घटना बडो अनौठो लाग्ने खालका हुन्छ्न् र तिनको चर्चा पनि भइरहने गर्छ । चर्चा सम्बन्धित व्यक्ति वा संस्थाले मात्र होइन अरूले पनि गर्छन् । एकाधपटक होइन पटकपटक गर्छन् । संघ संस्थाको मात्र होइन अरू धेरै कुराको चर्चा यसै गरी यस्तै गरी हुने गरेको पाइन्छ ।
साहित्यमा चर्चाको महत्त्व, अर्थ अलि फरक पनि हुन्छ । त्यहाँ पुस्तक चर्चा, प्रतिभाको चर्चा, रचनाको चर्चा वा विषयगत चर्चा जस्ता कुरा पनि हुन्छन् । म अहिले त्यही कुरा गर्दैछु । मनोहरा साहित्य समाजको यसपटकको कार्यक्रम असारको १४ गते परेको थियो । असार २९ भानु जन्मेको दिन । त्यसैले असार भानुभक्तलाई सम्झने महिना हो । नेपाली साहित्यमा आदिकविको दर्जा प्राप्त भानुको जन्म महिना भएकोले १४ गतेकै दिन भए पनि भानुभक्तको तस्बीरमा माल्यार्पण र उनका बारेमा संक्षिप्त चर्चा गर्ने कार्यक्रम बन्यो ।
यस हुनुको एउटै कारण थियो मनोहराको कार्यक्रम महिनामा एक दिन मात्र हुनु । असार महिनाको कार्यक्रममा भानुभक्तलाई सम्झन त्यही दिन उपयुक्त हुन्थ्यो । त्यो बाहेक अरू दिन त मनोहराले यस्तो कार्यक्रम गर्दैनथ्यो । अघिल्लो दिन पनि ग्लोबल पब्लिक स्कूल (विश्व ज्ञान पाठशाला) मा भानुको सम्झनामा कविता वाचन प्रतियोगिता सम्पन्न हुनुको कारण पनि यही थियो ।
कहिलेकहीं यस्तो परिहाल्छ । यस्तो पर्दा यसरी कुनै दिन पारेर गर्ने र कुनैले जिम्मा लिएर चर्चा गर्ने परम्परै बनेको छ । यस्तो अवस्था आइरहन्छ । म सम्झन्छु-
पाल्पामा २०५२ तिर वाङ्मय प्रज्ञा प्रतिष्ठान नामक संस्थाको स्थापना गरिएको थियो । संयोगले म त्यस संस्थाको संस्थापक मध्येको एक र उपाध्यक्ष पनि थिएँ । कार्तिक महिना थियो । देवकोटाको जन्म महिना । उनको बारेमा चर्चा परिचर्चा हुने नै भयो । प्रतिष्ठानले उनको बारेमा चर्चा गर्ने जिम्मेवारी मलाई दियो । आइलागेको जिम्मेवारी पूरा गर्न मैले उनको विषयमा केही टिपोट गरें । केही पुराना केही नयाँ । पुराना यस अर्थमा कि मैले स्नातकोत्तर गर्दा देवकोटालाई नै रोजेको थिएँ ।
मैले त्यतिबेला त्यहाँ प्रस्तुत गरेको देवकोटाको परिचर्चाले मलाई अत्यन्त उत्साहित बनाएको थियो । त्यो चर्चालाई लिएर मलाई खास घत लागेका दुईवटा कुरा थिए । पहिलो, त्यसलाई नै आधार बनाएर गरेको सुपरिचित लेखक तथा संस्थाका अध्यक्ष जगतबहादुर जोशीको टिप्पणी, दोस्रो उमानाथ आत्रेयजीको देउरालीमा प्रकाशित टिप्पणीपरक लेख ।
मैले त्यस्तो चर्चा र कुनै कार्यक्रममा सुनाइएका रचनाको टिप्पणी कर पर्दा मात्र गर्थें । आफै अघि सरेर गर्ने त कुरै थिएन । त्यसका पनि दुईवटै कारण थिए । पहिलो, म मञ्चमा उभिएर बोल्न, फुर्कन मन नपराउने, त्यसको अभ्यास नभएको, नगरेको मान्छे । दोस्रो, आफ्नै पनि चाहिनेभन्दा बढी प्रशंसा गरेको मन नपर्ने र आफै पनि अरूको बढी प्रशंसा गर्न नसक्ने, नजान्ने मान्छे । यिनै दुई कारणले गर्दा म भाषण र टिप्पणी गर्नेतिर कहिल्यै पनि लाग्दै लागिनँ । जान्दा पनि जानिनँ । मैले अनुभव गरेको कुरो भाषण, समीक्षा आदिमा पनि धेरेजसोलाई प्रशंसै चाहिन्छ । मान्छे प्रायः प्रशंसै खोज्छन् । म त्यही काम गर्न सक्दिनँ, जान्दिनँ । त्यस्ता कुरामा म एकदम कमजोर छु । त्यसैले म त्यस्ता कामबाट सधै परै बस्न खोज्छु, बस्छु ।
अहिले पनि मेरो त्यस कुरामा परिवर्तन आएको छैन । म अहिले पनि सकेसम्म यस्ता कामको जिम्मा लिन्नँ । हो, लिखित टिप्पणी, समीक्षा भने गर्ने गरें । यसो हुँदाहुँदै पनि संस्थामा बसेपछि कहिलेकहीं परिहाल्दो रहेछ । परिहालेका बेला केही न केही लेख्छु र भन्छु । बोल्नु पर्दा प्रायः लेखेर मात्र बोल्ने प्रयास गर्छु । यो मेरो जीवनमा एउटा कमजोरी नै बनेर रह्यो । यो पक्षमा म एकदम कमजोर रहें ।
यसपटक पनि भानुभक्तको चर्चाको कामको जिम्मेवारी मेरै काँधमा आयो । टार्न मिल्ने अवस्था र समय पनि रहेन । मैले भानुको जन्म, मृत्यु, अध्ययन, चिन्तन र लेखनका बारेमा सामान्य चर्चा गर्ने र उनका विविध छन्दका कविता वाचन गर्ने सोच बनाएँ । यो मेरो जिम्मेवारी नै भयो ।
मैले उनकै रामायणका प्रत्येक काण्डबाट क्रमशः फरकफरक छन्द र प्रसङ्ग देखिने गरी, कतिपय पात्रकातर्फबाट प्रस्तुत भएका समेत एक एक श्लोक टिपें । लामै भइहाल्ला कि भन्ने डर हुँदाहुँदै पनि फूटकर श्लोकहरूबाट एक एक चरण टिपें । बस् ।
यसो गर्दा पनि टिपोट लामै हुनसक्ने देखिएको थियो । हामी मनोहराको कार्यक्रममा सकेसम्म छोटो मिठोको प्रस्ताव गर्छौं । एक जनाले एउटा मात्र रचना र एउटा मात्र भूमिका भन्छौं । हाम्रो भनाइ अनुसार मेरो पनि त्यही र त्यस्तै हुनुपर्यो नि !
तनहुँ रम्घा गाउँको चुँदीमा १८७१ असार २९मा उनको जन्म । १९२६ आश्विन ७ गते निधन भरएका भानुभक्तले प्रारम्भिक शिक्षा घरमै आफ्ना हजुरबुबा श्रीकृष्ण आचार्यबाट प्राप्त गरेका थिए । पछिल्लो चरणको अध्ययन बाग्लुङ मूलपानी ढिकीचौरको गुरुकुलमा भएको थियो ।
माथिको जन्म र मृत्युको हिसाबले उनको जीवनकाल जम्मा ५५ वर्ष ९ महिना ७ दिन रहेको देखिन्छ । पढाइ सकेपछि उनले आफ्ना गुरु…. लाई कास्की खाल्टेबेसीमा रहेको खेत गुरुभेटी दिएको पाइन्छ ।
उनका तीन खालका रचना भेटिन्छन् – आध्यात्मिक, नैतिक र सामाजिक (व्यंग्यात्मकसमेत )। उनका फूटकर र पुस्तकाकार कृतिहरूमा समेत गरी शार्दूलविक्रीडित, शिखरिणी, स्रग्धरा, उपेन्द्रबज्रा, इन्द्रबज्रा, वसन्ततिलका,स्वागता,मालिनी, स्रग्विणी, अनुष्टुप् लगायतका करीब ११\१२ छन्दको प्रयोग भेटिन्छ ।
रामगीतालाई रामायणकै अंश मान्ने हो भने उनका मुख्य कृति रामायण, वधूशिक्षा र भक्तमाला नै हुन् । अरू केही फूटकर कृति भने पाइन्छन् । ती कविता सामाजिक नैतिक चेतका हिसाबले महत्त्वपूर्ण रहेकाले चर्चायोग्य मानिन्छन्, छन्।
उनको रामायण सबैभन्दा महत्त्वपूर्ण मानिएको कृति हो । त्यसैले उनको रामायणको प्रत्येक काण्डबाट पर्ने र सकेसम्म फरक छन्द पर्ने गरी केही उदाहरण निकालें-
जस्तै चुम्बकका नजिक् परिगया नाच्छन् ई लोहा पनि
तस्तै जस्कन पाइ नाच्तछ जगत् नाना प्रकार् को बनी
यस्तो तत्त्व नजानि मानिस सरी राम्लाइ जो मान्दछन्
संसार्का इ अनन्त ताप्हरू तिनैलाई सदा पर्दछन् । (बालकाण्ड, शार्दूलविक्रीडित)
-न ता फर्की जान्या न त मकन लान्या वन पनि
भन्या मर्छू ख्वामित् अब अरु कुरा केहि नभनी।
भनी आसन् बाँधी जब मरणमा निश्चय गर्यार
खुसी भै श्रीराम्ले पनि अति दयालु मन गर्याह । (अयोध्या काण्ड, शिखरिणी)
-कस्ले गर्यो् र उपदेश तिमि आज आई
सीता म हर्छु मृग हो तँ भन्यौ मलाई
त्यै शत्रु हो तिमि तसैकन मार त्याहाँ
कूलै समेत् क्षय गराउन खोज्छ याहाँ । (अरण्यकाण्ड, वसन्ततिलका)
सुग्रीवसीत विरोध् नराख तिमिले जाऊ र ल्याऊ यहाँ
यो राज् सुग्रिवलाइ देउ अब ता जित् छैन तिम्रो तहाँ
श्री राम्का दुइ पाउमा पर तिमी गर्नन् प्रभूले दया
साँचा हुन् इ कुरा बुझी लिनुहवस् भोग् गर्न इच्छा भया । (किष्किन्धाकाण्ड, शार्दूलविक्रीडित)
यति सुनि अघिदेखी केश पाश्मा धर्याोको
मणि झिकि दिइ हालिन् राममा मन् पर्या्को
मणि दिइ फिरि भन्छिन् चित्रकूट्मा भयाको
शरण परि नजर् दी काग बाँची गयाको । (सुन्दरकाण्ड, मालिनी)
राग् द्वेष्का भेल चल्छन् भँवरसरि इ युग् घुम्दछन् बीचमाहाँ
पुत्रादी मत्स्य झैं छन् रिस पनि बडवानल् सरीको छ ताहाँ
कामैको जाल् छ ठूलो छ त पनि चलियो तेहि जाल्लाइ फारी
संसार् सागर् सहज्मा तरिकन हरि थ्यैं बस्न जान्या छु पारि । (युद्धकाण्ड, श्रग्धरा)
यै रीतले राम चरित्र गाई
सम्पूर्णको मन् पनि खुस् गराई
वाल्मीकिकै आश्रममा रहन्थ्या
गर्थ्या त्यही वाल्मिकी जो त भन्थ्या (उत्तरकाण्ड, इन्द्रबज्रा)
उनका फूटकर कविताहरूमध्येका केही एक एक पाउमा-
ज्यूँदै मर्याको भनि नाम कस्को
उद्यम विना बित्त छ काल जस्को ….।
-बिन्ती डिठ्ठा विचारीसित कति म गरूँ बस्तछन् क्यै नबोली
-चपला अबलाहरू एक् सुरमा गुन केशरिको फुल ली शिरमा
-यति दिनपछि मैले आज बालाजु देख्याँ ।
-जागिर छैन धनी म हैन घरको केवल कुदालो खनी ।
-गजाधर् सोतीकी घर बुढी अलच्छिन् कि रहिछन् ।
-विद्वज्जन्ले लोहलाई बेच्नु छैन । आदि आदि ।
अन्त्यमा बिट मार्नु अघि म कविताकाबारेमा यत्तिमात्र भन्दछु-
कविता सिर्जनात्मक हिसाबमा सबैभन्दा पहिलो विधा हो । संसारमा सबै भन्दा बढी लेखिने विधा हो । हाम्रा सबै वेद, पुराणहरू कवितात्मक नै छन् । कविता अरू विधाभन्दा बढी कण्ठाग्र रहन सक्छ । यसको लयात्मकतामा जादू हुन्छ । जसको प्रभाव मनमा मात्र होइन तनमा समेत पर्छ । यसको एउटै पाउमा पनि धेरै कुरा अटाउन सक्छ । एउटै कवितालाई फरक फरक ढङ्गबाट हेर्न र बुझ्न सकिन्छ । वाचनमा ढिलो हुँदा पनि राम्रै हुन्छ ।
यो कोणबाट हेर्दा पनि नेपाली आदिकविले नेपाली कविताको प्रारम्भ कविताबाटै गरे । उनका रचनामा विविध छन्दको प्रयोग देखियो । ती मध्ये कतिपय आज पनि धेरै नेपाली भाषीले मुखाग्र सुनाउन सक्छन् । एक एक पाउ मात्र पनि त्यस्तै महत्त्वका देखिन्छन्, आदि आदि।
०००
२०८२ आषाढ १४ गते ।
पाल्पा, हाल : काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































