डिल्लीराज अर्यालबाँदरले गाई दुह्याे
सोच्छु- बाँदरले गाई दुहेको र दही बनाएर खाएको कुरो स्वाभाविक नहोला, तर प्रयोग भयो, गरियो । यस्ता कुराले मान्छेलाई ज्ञान दिन्छन्, खोजका विषय दिन्छन् ।

डिल्लीराज अर्याल :
“जयजगदीश्वर जय अविनाशी
जय जय भगवान् करुणाराशी
शक्ति छ प्रभुको अपरम्पार
घुम्दछ जसमा सब संसार …..।”
“चैतको दिन जोत्दछ खेत गरिब किसान
घुमाई लठ्ठी गोरुमा दिन्छ क्या छिटो कमान । ….।”
“एकादेशमहाँ अचम्म सुनियो बाँदर्ले गाई दुह्यो,
पोख्यो सब् वनमा र अर्कादिनमा दही खोजी खाँदो भयो ।”
माथि दिइएका यी पङ्क्ति मैले सानैछँदा पढेका, सुनेका कविताका पङ्क्ति हुन् । अघिल्ला दुईवटा क्रमशः चार र सात कक्षातिरको पाठ्यपुस्तकमै हो कि ! यो पछिल्लो कविता “एकादेशमहाँ,… खाँदो भयो” भने मैले आफ्नै पाठ्य पुस्तकमा भएर पढेको कविता होइन ।
मलाई अरूले पढेका, सुनाएका वा आफैले पढेका भए पनि यस्ता लयात्मक कविता सानैदेखि रमाइलो मिठो लाग्ने गरेको थियो । त्यति बेला गद्य कविताको प्रचलन थिएन । लयात्मक कविता हुने भएकाले जसले पढे पनि लयमा पढ्ने हुँदा सुन्न एकदमै मजा आउँथ्यो । अझ दुई जना, तीन जना सँगै बसेर उसले उसको, उसले उसको काँधमा हात राखेर अघि पछि हुँदै हल्लिँदै लयात्मक हिसाबले गाउँदा झन् मजा आउँथ्यो । मीठो लाग्थ्यो । त्यसो गरिन्थ्यो पनि । यद्यपि तीमध्ये कतिपय कविता भाषा, व्याकरणका हिसाबले एकदमै कमजोर पनि हुने गर्थे । पाठ्य पुस्तक बाहिरका कविता पनि पढ्न रमाइलै लाग्थ्यो र भेटाए पढिन्थ्यो पनि ।
उदाहरणार्थ त्यस्ता एकाध कविता –
गोहिले पिठ उपर्धरी कसी मार्नलाई जलमा लगेपछि
क्षुद्र गो गम गरेर वानर दुःखमा नघबराई गम गर ।१।
त्यसैले राजाले तिनिकन लगे राज्महलमा
असल् सोभाव जस्तो छइन हित गर्न्या जगतमा ।२।
यस्ता त्रुटिहरू जति भए \पाइए पनि तिनमा पनि कुनै न कुनै जीवनोपयोगी विचार, उपदेश हुन्थे । रोचक विषयहरू हुन्थे । पाठ्य पुस्तकमा आएका त्यस्ता कवितालाई पनि खुब लय मिलाएर चिच्याई चिच्याई पढियो, सुनियो ।
कविता सुन्न र पढ्न थालेदेखि अहिलेसम्म पनि मैले यी र यस्ता कविता पढ्दै आएको छु । अहिले आएर मलाई त के सम्म पनि अनुभव भएको छ भने साँच्चैका राम्रा कविताले मन प्रसन्न बनाउने मात्र होइन मान्छेको रक्तचापलाई स्थिर बनाउन र आयु नै बढाउन मद्दत गर्छन् । अहिलेसम्म त म कविताका रूप हेरेर, लय र छन्द बुझेर, भाव हेरेर केही बुझे पनि, केही नबुझे पनि त्यसको लयात्मकतामा दङ्ग परिरहें र माथि भने झैं मिलेर गाइरहें । आज पनि गाउँदैछु र म कविताबाट अघाएको छैन । पाएसम्म सुन्छु, पढ्छु । अलिअलि रच्छु पनि ।
प्रारम्भिक अवस्थातिर त मलाई त्यस्ता कविताको लयले तान्ने गरेको हो । अलिअलि बुझ्न थालेपछि त्यसको अर्थले, पढ्ने तरिका जानेपछि त्यो तरिकाले र त्यसको विचारले पनि प्रभाव पार्दै गएको हो । लयले पार्ने प्रभाव भने आज पनि उस्तै छ ।
म अलिअलि बुझ्ने भएपछि त कतिपय कविताको अर्थ नबुझे पनि पढ्ने गरें । तिनका लय र केही नयाँ अचम्मका कुरामा रमाइलो मानें, र पढें । कतिपय कविता त आज पनि सम्झनामा छन् । पत्यारै नलाग्ला कुनै बेला मलाई भानुभक्तीय रामायण र तुलसीदासकृत रामचरित मानसका अधिकांश कविता मुखाग्र जस्तै थिए । अनभ्यासले बिर्सिंदै गए पनि कतिपय प्रसङ्गका कविता आज पनि कण्ठस्थ छन् ।
म अहिले पनि कतिपय कवितालाई अझ राम्ररी सोच्न र बुझ्न खोज्दैछु । मैले कतिपय कवितामा नयाँ प्रयोग भएको कुरो अहिले बल्ल सोच्न, बुझ्न थालेको छु । मेरो मनमा माथि दिइएको “एकादेशमहाँ … ” कविताको अर्थमा भन्दा त्यसमा भएको प्रयोगको पक्षमा ध्यान जान्छ । त्यसबारे सोच उब्जन्छ । अर्थ नजाने पनि त्यतिबेला लयबद्ध तरिकाले पढियो मात्र । अहिले भने लयसित त्यसको नयाँपनमा पनि ध्यान जान्छ ।
सोच्छु- बाँदरले गाई दुहेको र दही बनाएर खाएको कुरो स्वाभाविक नहोला, तर प्रयोग भयो, गरियो । यस्ता कुराले मान्छेलाई ज्ञान दिन्छन्, खोजका विषय दिन्छन् । कतै मान्छेले यही र यस्तै प्रसङ्गबाट गाई दुहुन र दही बनाउन सिकेको त होइन ? यस्तो नहोला, तर सोच्न भने सकिन्छ । यसरी कवितामा आउने यस्ता कतिपय प्रसङ्गले मान्छेलाई एउटा अवस्थाबाट अर्को अवस्थामा रूपान्तरित हुन सिकाउँछ, सिकाउन सक्छ ।
कवितामा कहिलेकाहीं कतिपय प्रयोग जानेर गरिएको हुन्छ, सोचेर, कल्पना गरेर गरिएको हुन्छ । कतिपय प्रयोग भने स्रष्टाले नसोचेकै, नजानेकै अवस्थामा पनि स्वतः गरिएको पाइन्छ । यस्तो प्रयोग भएको कुरा कहिलेकाहीं रचनाकारले भन्दा पहिले पाठक, समीक्षकले थाहा पाउँछन् । तिनले कुरा उठाउँछन् र बल्ल स्रष्टाले थाहा पाउँछन् । यस्ता प्रयोग फरक फरक खालका हुन्छन् । आफै बन्न सक्ने, बन्ने फरक रूप, फरक लय । आफै विम्बको रूप लिएर आउने फरक रूप । यस्तो रूप पाठक समीक्षकको सोच, ज्ञानबाट पनि प्रकट हुन सक्छ ।
म्यालमा नासपातीको हाँगा जोडेर नयाँ बने जस्तै कविता पनि एक अर्कोसँग जोडिएर नयाँ पनि बन्छन् । बनाउने सामान्य नियम वा विधि छ । एक अर्कासँग मिश्रण भएर बनेका कविता नयाँ हुन् कि पुरानै भन्ने विवाद होला, हुन सक्छ । यो एक प्रकारको नयाँ बनाउने तरिका हो । केही यस्ता पद्धति बाहेक अरू पनि नयाँ बन्ने र बनाइने गरेका उदाहरण देख्न सकिन्छ ।
अनुष्टुप छन्दमा लेखिएका कतिपय कविता यस्ता हुन्छन् जसको बनोटमा जम्मा ३२ अक्षर हुन्छन् । प्रायः पाँचौं छैठौ र सातौं अक्षर हेरिन्छन् । अघिल्लो गण हेर्दा भ र न गण नपार्दा राम्रो मानिन्छ, तर त्यही अनुष्टुप छन्दका कविता बेलाबेलामा सर्जकले थाहा पाएर, नपाइकनै पनि अर्कै छन्द पनि बनेको हुन्छ । यस्तो अरू छन्दका कवितामा पनि हुन्छ ।
जस्तै तलको कविता अनुष्टुप् छन्दमा लेखिएको छ, तर यसले अर्को रूप पनि लिएको छ । त्यसैले यो कविता अनुष्टुप् भए पनि अनुष्टुप् मात्र होइन । यसमा ४\४\४\४ : १६ अक्षर संयोजन भएर बन्ने अर्को लय, छन्द पनि छ ।
आँधी हुरी निराशाका गाउँबस्ती बजारमा
फैलिंदैछ महामारी कोटि लाख हजारमा ।
(मनोहरा स्मारिका पृ.१६, ओम आचार्य)
त्यही अवस्था तलका कवितामा पनि छ । यी दुवै श्लोक अनुष्टुप् छन्दका त हुन् तर अनुष्टुप् मात्र होइनन् । यिनमा पनि ४\४\४\४ : १६ अक्षर संयोजन भएर बन्ने अर्को लय, छन्द पनि छ ।
मिली झिम्रुकमा गर्लङ नाम मेट्न स्वयं गयो !
बग्दै जाँदा स्वयं माडी राप्ती बन्यो खुसी भयो ।
यता तिनाउले माडी हराभरा गराउँछ
चुहारको कथा जम्मै ढाबको झैं हराउँछ ।
यसरी बनोट, रूप, आकार एउटै भएर पनि लयका हिसाबले यिनमा दुई फरक अवस्था बन्न र देखिन आउँछ । वाचनमा, गायनमा भेद हुन्छ । कतिपय अवस्थामा छन्दकै बारेमा अलमल हुन्छ । यो पनि छन्दको एउटा विशेषता हो । यसरी कविताले छन्दका, लयका हिसाबले मात्र होइन, विम्ब, प्रतीक, अलङ्कारका हिसाबले पनि नयाँ नयाँ सोचमा पुग्न, सोच्न ठाउँ दिन्छन् ।
यसरी एउटै सिर्जनाले लयात्मक हिसाबले अर्को रूप लिन सक्ने शक्ति कवितामै देखिन्छ । कहिलेकाहीं एउटा लयमा, छन्दमा लेखिएको कविता स्रष्टाले थाहा पाएर, जानेर, थाहा नपाएर, नजानेरै पनि अर्को रूपमा लयमा पुगेको हुन्छ । अर्को भाव, अर्थमा पुगेको हुन्छ । जब स्रष्टाले अर्कैले वाचन गरेको सुन्छ, अर्थ गरेको देख्छ ऊ दङ्ग पर्छ र सोच्न थाल्छ – मैले त यसो पो सोचेको थिएँ । यो सोचेर पो सिर्जेको थिएँ । यस्तो हुन सक्छ भन्ने त सोचेकै थिइनँ ।
कविताको लयले जस्तै भावले, अर्थले पनि नयाँ सोचमा पुर्याउन मद्दत गर्छन् । नयाँ सोचमा जान ठाउँ दिन्छन् । स्रष्टाको सोच भन्दा अझ परसम्म पुग्न बाटो दिन्छन् । स्रष्टाले सोच्दै नसोचेको तहसम्म पुर्या्उन सक्छन् ।
कवितामा यस प्रकारको शक्ति भए पनि आजको मान्छेमा त्यसप्रति हिजोको आकर्षण रहेन, छैन । रहेको भए फरक फरक सोच भए पनि कविताप्रतिको अनुराग हराउने वा कम हुने थिएन, तर भएको छ । यसका विविध कारण हुन सक्छन् । तिनको खोजबिन हुनु, तिनका बारेमा बहस हुनु आवश्यक छ ।
गम्भीर भएर सोच्ने, हेर्ने र बुझ्ने हो भने कविताको शक्ति अरू विधाको भन्दा फरक छ । बढी पनि छ भनेर भन्न हिच्किचाउनु पर्दैन । यसो नहुँदो हो त सबैभन्दा बढी लेखिने र पढिने विधा कविता हुने थिएन । सबै भन्दा सुबोध्य र सबैभन्दा दुर्बोध्य पनि कवितै त होइन भन्ने पनि लाग्छ । पौराणिक ग्रन्थहरूको अध्ययन गर्दा तिनका बारेमा गरिएका चर्चा सुन्दा यस्तो सोच्न सकिन्छ, तैपनि कविता कवितै हो । तिनले दिने रस, आनन्द र ज्ञान अद्वितीय नै रहेका छन् ।
यस्तै कुरालाई ध्यानमा राखेर भनिए होलान्-
“चतुर्वर्ग फलप्राप्ति सुखादल्पधियामपि”।
“नरत्वं दुर्लभम् लोके विद्यास्तत्र सुदुर्लभा
कवित्वं दुर्लभम् तत्र शक्तिस्तत्र सुदुर्लभा” आदि आदि ।
फेरि पनि सोच्नैपर्छ, भन्नैपर्छ- “एकादेशमहाँ अचम्म सुनियो बाँदर्ले गाई दुह्यो … खाँदो भयो जस्ता कैयौं कविता सामान्य भएर पनि तिनले मान्छेलाई, मान्छेको जातिलाई नयाँ सोच, नयाँ खोजतिरको उत्सुकता बढायो होला र त्यही उत्सुकताले मान्छेले नयाँ नयाँ प्राप्ति गर्दै गयो होला ।
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest







































