साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोदीप्रसाद वदेहाम

ऊ अब नेपालमा कलात्मक मूर्तिहरूलाई चोरेर यूरोप, अमेरिकातिर पठाउने काम यहीं बसेर गर्छ, गर्छ । मूर्तिहरूको निकासी गर्ने अर्न्तराष्ट्रिय दलसँग उसको सम्बन्ध स्थापित भइसकेको हुँदा उसलाई काम गर्न गाह्रो पर्ने छैन ।

Nepal Telecom ad

केशवराज पिंडाली :

पुर्ख्यौली देश नेपाल आएर गोदीप्रसादले महिनौसम्म बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाँदा पनि कुनै काम पाउन सकेनन् । गोजीमा पैसा रित्तिएर मुखमा माड नलाग्ने स्थिति आएपछि उनका आन्द्रा छुत्ती खेल्न थाले । मनमा ठूलो लहरी छुट्यो । गोदीप्रसाद त्यस दिन साँझ भङतारिदै पुगे श्लेष्मान्तक वन र एउटा एकान्त ठाउँको रूख मनि गई बसे । उनको मुखबाट अनायास निस्क्यो ‘ओ माइ गड । प्लिज हेल्प मी ।’

आफ्नो हृदय दुःख, ग्लानि र क्षुधाले भरिएर आयो, उनले आफ्नो छातीनिर हावामा ‘क्रस’ चिह्न कोरे र चिम्मल आँखा चिम्ली क्लान्त ढाड रुखको शान्त ढाडमा बिसाए । उनका आँखाबाट बलिन्द्र आँसुका धारा बग्न थाले ।

यस्तैमा उनलाई आफ्नो अगाडि कसैको उपस्थितिको भान भयो । उनले आँखा खोले र पुलुक्क हेरे । देखे उनको अगाडि एउटा तेजस्वी व्यक्ति उभिएको छ र उनैलाई तीखा आँखाले हेरी मुसुमुसु हाँस्दो छ । जटाजूट शिर, गौराङ्ग शरीर, घाँटीमा सर्पको माला र घुँडाघुडाँसम्म मृग छाला । दुरुस्त भारतको लालमाटीमा उडाएर तस्करहरूलाई सुम्पेको महादेवको मूर्ति जस्तो ।

यो देखी आतङ्कित भएर उनका आठअठिङ्गर खुकुला भएर आए । उनी जुरुक्क उठे र चिच्याए ‘जलगर, ओ गड । सेभ माइ लाइफ ।’

यो देखेर ती व्यक्तिले स्नेह सिंचित स्वरमा भने- ‘शान्त बच्चा शान्त, म जगलर इन्द्रजाली केही होइन । म त महादेव हुँ । तैँले पुकारिस् । म उपस्थित भएँ ।’

गोदीप्रसादले चकित हुँदै भने- ‘ए, हिन्दूहरूको गड महादेव तपाईं नै हुनुहुन्छ ?’
‘हो बच्चा म महादेव हूँ। म हिन्दूको मात्र होइन सबैको नै गड हूँ। को होस् तँ ? के दुःख पर्याे तँलाई ?’ महादेवले स्नेह सिंचित स्वरमा सोधे ।

गोदीप्रसाद आश्वस्त भएर विनीत हुँदै भन्न थाले प्रभु । मेरो नाम गोदीप्रसाद हो । म नेपाली मूलको भारतीय नागरिक हूँ। मेरा पूर्खा यस देशबाट कहिले त्यता गए त्यो मलाई थाहा छैन। मेरा बाजेले काम पाउनका लागि हिन्दू धर्म त्यागी क्रिश्चियन धर्म लिए। उनी पानीजहाजको लङ्गुर हाल्ने र झिक्ने काम गर्दथे । तिनैताक मेरा बाबु जन्मे । मेरा बाजेले मेरा बाबुको नाम लङ्गुरप्रसाद राखे । मेरा बाबुले बयस्क भएपछि पानी जहाजको घाट गोदीमा काम पाए । त्यसै समय मेरो जन्म भयो । त्यसैले मेरा बाबुले पनि मेरो नाम गोदीप्रसाद राखे ।’

‘आफ्नो मातृभूमि छोडेर यो पितृभूमि किन आइस् त बच्चा ।’ महादेवले सोधे ।

‘कामको खोजमा महाप्रभु । म जस्ता कति प्रवासी नेपालीले यहाँ ठूल्ठूला पद पाएका छन् ।’ गोदीप्रसादले भने ।

‘तेरो त्यत्रो विशाल मातृभूमिमा काम पाइनस् र ?’ महादेवले सोधे ।

‘पाएको थिएँ प्रभु । राम्रै काम पाएको थिएँ। पैसा कमाउने उदेश्यले एउटा उल्लू काम गरें । भाग्न पन्यो।’ गोदीप्रसादले पश्चातापको स्वरमा भने ।

‘के गरिदिइस् बच्चा तैले ?’ महादेवले सोधे ।

‘प्रभु । तपाईं गड हुनुहुन्छ तपाईंलाई के ढाँट्ने । एक दिन पैसाको प्रलोभनमा आई लालमाटीको अठारौँ शताब्दीतिरको महादेवको एउटा कलात्मक मूर्ति उडाएर तस्करहरूलाई सुम्पे ।’ गोदीप्रसादले भने ।

‘अनि, अनि के भयो ?’ महादेवले उत्सुक हुँदै सोधे ।

‘त्यसपछि प्रभु । जासूसहरूको शड्डा ममाथि गएछ । ती मेरा पछाडि लागे । तस्करहरूबाट मैले आफ्नो भाग अझै पाएको थिइँन । पक्राउ खाने डरले त्यो समेत माया मारी टाप कसेर म यहाँ आएँ। काम केही पाएको छैन, तीन दिन भयो । निरलाम छु ।’ गोदीप्रसादले लामो सास तानेर फाल्दै भने ।

‘ए, लालमाटीको मेरो त्यो मूर्ति चोर्ने चोर तँ थिइस् उसो भए ।’ महादेवले छक्क पर्दै भने ।
गोदीप्रसादको सातोपुत्लो उड्यो । रुन्चे स्वरमा भने- ‘बिराएँ प्रभु । एक बाजीलाई क्षमा पाऊँ, भविष्यमा यस्तो काम फेरि कहिल्यै गर्ने छैन ।’ उनी आफ्ना दुबै कान समाती उठ बस गर्न थाले ।

‘शान्त बच्चा शान्त, म तँदेखि रिसाएको छैन । बरु प्रशन्न नै छु। थाहा छ ? तैँले चोरेको त्यो मूर्ति हिजोआज पेरिसको कुवेरपति पियरे स्वाँसेको ड्रइङ रूममा छ । म आजभोलि बराबर राती निस्केर पेरिसको ‘नाइट लाइफ’ हेर्न थालेको छु । लुँडोमा गौरांगीहरूको नग्न-नृत्य मलाई असाध्यै मन पर्दछ । मेरा अनुभवहरू सुनेर अन्य धेरै देवी देवताहरू पनि यूरोप अमेरिका जान लालायित छन् ।’ महादेवले उसले अपेक्षा नै नगरेको कुरा भने ।

उसले मनमनै सोच्यो ऊ अब नेपालमा कलात्मक मूर्तिहरूलाई चोरेर यूरोप, अमेरिकातिर पठाउने काम यहीं बसेर गर्छ, गर्छ । मूर्तिहरूको निकासी गर्ने अन्तर्राष्ट्रिय दलसँग उसको सम्बन्ध स्थापित भइसकेको हुँदा उसलाई काम गर्न गाह्रो पर्ने छैन । तर यो काम गरेर पक्डाउमा नपर्न आडका लागि एउटा राम्रो प्रतिष्ठाको जागिर चाहिन्छ, चाहिन्छ ।

‘प्रभु ! दुःख पाएँ जागिर एउटा पाऊँ । उनले दश औंला जोडेर विन्ती गर्दै भने ।

‘कहाँ चाहिन्छ तँलाई जागिर ?’ महादेवले असीम करुणा उकेल्दै सोधे। ‘घिन्ताङमुनि परिष‌दमा पाऊँ ।’ उनले फेरि कर जोड्दै भने ।

महादेवले ‘तथास्तु, अनि बच्चा तैँले प्रतिदिन मेरो नाम महादेवको मन्त्र जप पनि गर्नु तेरो कल्याण हुनेछ ।’

उनका आँखा हर्ष विव्हल भएर स्वतः लोलाए । अनि यसो पुलुक्क हेर्छन् त महादेव अन्तर्ध्यान भइसकेका थिए । उनी प्रसन्न चित्त गरेर डेरा फर्के ।

डेरामा पुगेपछि उनलाई थक्क थक्क लाग्यो धत्तेरी, महादेवसँग ‘साहित्यकार पनि हुन सकूँ भनेर वरदान माग्न पर्थ्यो नि । भुसुक्कै बिर्सिएछु । मूर्ति निकासी कार्यमा यो अर्को एउटा ठूलो आड हुन्थ्यो ।

झट्ट उनले सम्झे रामको नाम उल्टो ‘मरा’ जपेर व्याधा वाल्मिकी महाकवि भएथे । त्यसैले उनी पनि अब महादेवको उल्टो नाम ‘वदेहाम’ जपेर महान् साहित्यकार हुन्छन् ।

भोलिपल्टै उनको नियुक्ति घिन्ताङमुनि परिषद्‌मा भयो । उनी नियमित रूपले ‘वदेहाम’ को मन्त्र जाप गर्ने हुनाले उनी गोदीप्रसाद वदेहामको नामले चिनिदै जान थाले ।

नेपालका देवी-देवतालाई यूरोप, अमेरिका पठाउने पवित्र कार्य गरेबाट तिनका आशीर्वादले उनको यश, कीर्ति, प्रसिद्धि र समृद्धिले आकाश छुन पुग्यो । कालान्तरमा उनी घिन्ताङमुनि परिषद्‌का हाकिम पनि भए । उनको साहित्यिक प्रतिभाको स्फुरण पनि भयो।। उनले लगातार चारओटा उपन्यास र एउटा कथा सङ्ग्रह पनि छपाए। ‘चंखे विराला’, ‘पापा घुईघुई’ र ‘अजम्बरी’ उपन्यास भएका छन् । कथासङ्ग्रह ‘घमण्डी’ विश्वका सर्वोत्कृष्ट कथासँग दाँजिइन्छ ।

०००
व्यंव्यैव्यंग्य (२०४५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
शूरवीरहरूको नरकयात्रा

शूरवीरहरूको नरकयात्रा

केशवराज पिँडाली
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x