रमेश समर्थनमुखालेकाे ‘औडाहा डटकम’ खाँटी हास्यव्यङ्ग्यात्मक कृति
सिङ्गडा कविता पनि एकभन्दा एक राम्रा रछन् नि मुखालेका ! गद्यमा त अल्मलिएका मात्र रछन् मुखाले त । पद्यमा त उर्लापात पाे मच्चाउँदा रछन् नि ठाकुरे ! हैन, यतिसाराे छुच्चाे मुखालेचाहिँ अझैसम्म कसैकाे ताराे बनेकाे छैन र भन्या ?

रमेश समर्थन :
हिजाे म्याउँ गरेका मुखाले आज त एक्कासि “ह्वाङ !” गर्दै पाे गर्जिए त ! हुन पनि “मरता क्या नहीं करता ?” भनेझैं जब औडाहाले पेलेर ल्याउँछ र टाउकाे रनननन भएर भाउन्न छुट्लाजस्ताे हुन्छ यसै गरी गर्जिन्छ मान्छे । “अतिशय रगड के जाे काेई, अनल प्रगट चन्दन ते हाेई !” चन्दनकाे गुण शीतलता हाे तर त्यसै चन्दनलाई पानीविना रगड्न थालियाे भने आगाे पनि ओकल्छ र मुखालेले त्यही गरेका छन् ।
“जङ्गबहादुरकाे फ्रेन्ड रिक्वेस्ट” मा मुखालेले बडाे दु:खले मुख फाेर्दै थिए । तर “औडाहा डट कम”मा आइपुग्दा त मुखाले मनसुनकाे खहरेझैं पाे उर्लिएर आए त हाउ ! तर याे खहरे सुक्नु हुँदैन । अझै गड्गडाउनुपर्छ र समाजका बिब्ल्याँटे विसङ्गतिहरूकाे ढिस्काढिस्कीहरूलाई ढुन्मुन्याउँदै बङ्गालकाे खाडीमा लगेर थेचार्नुपर्छ ।
एउटै लेखकका दुईवटा किताब लगालग पढेकाे पहिलाे पटक हाे मैले । नरेन्द्रराजजीले त ताकेता र बाध्यतावश पढ्नुपरेछ तर मलाई भने “जङ्गबहादुरकाे फ्रेन्डरिक्वेस्ट” मा देखिएकाे प्रारम्भिक व्यङ्ग्यचेतले स्वत: अर्काे किताब पनि पढिसिध्याउन घच्याड्याे । मलाई थाहा छैन एउटै साल र महिनामा छापिएका यी दुई किताबमध्ये पहिलाे कुन हाे ? यहाँ दिएकाे हिसाबले त “औडाहा डट कम” नै पहिलाे हाे । यदि हाे भने मैले पनि मुखाले बनेर भन्नैपर्छ, मुखाले पद्यमा जति फुरेका छन् त्यसकाे धेरै कम फुराइ छ गद्यमा । त्याे पनि आख्यान राेजेर पाे हाे कि ? अब निबन्ध पनि पढ्न पाइयाे भने बल्ल मुखालेकाे गैरआख्यानिक गाद्यिक पाइन पनि हेर्न पाइन्थ्याे । पढ्ने क्रममा मेराे प्रिय विधा गजल पहिले र त्यसपछि मुक्तक पढेर बल्ल कवितामा लागेँ । यस्ताे लाग्याे म त सिङ्गडा र फुलाैरा खाँदै गजल र गीत पाे गाउँदै रहेँछु । गजल पढ्दापढ्दै नै “नानीका दाँतै तिखा” भनेझैं भयाे भने फुलाैरा ( मुक्तक) हरूले त मुक्तकण्ठले मुखालेकाे मुखछाडा बानीकाे प्रशंसा पाे गर्ने भएँ । जुँगे काजीकाे फेटा गुथेका दाजु नरनाथ लुइँटेलकाे प्रकाशक्याैली नामकाे भूमिका नपढ्दै मैले एउटा पानाकाे छेउ दाेब्र्याइहालेँ जहाँ छ याे मुक्तक –
हाे, उसले आँखा सन्काउँदा सिंहदरबार चल्छ
हाे, उसले आँखा झिम्क्याउँदा घरबार चल्छ
हुँदाखानेकाे अकाल र अनिकालसम्म पुग्नै पर्दैन
हुनेखानेकाे हाच्छिउँ छापेर पनि अखबार चल्छ ।
धतुरे मिडियालाई याेभन्दा दराे सिप्किनाे त के हाेला र ? गैंडाकै छाला ओढेका भए त पछि काउकुती लाग्ला तर मान्छेकाे छाला भए त यत्तिकैले चाला उठ्नुपर्छ ।
कुरा चिल्ला गर्ने र कामले रामराम भन्नपर्ने अवस्थामा पुर्याउनेलाई झाप्पु दिन एउटा मात्र गीतकाे याे मुखडा नै काफी छ, अन्तराकाे अन्तर्यमा त पस्नै पर्दैन –
तिम्राे लागि म छु भन्थ्याै , देखाउने दाँत रैछ
गैंडाले झैँ चाटीचाटी सिध्याउने बात रैछ ।
हाे, गैंडाले चाटेकाे, ब्वाँसाले कन्याइदिएकाे, बाघले अँगालाे हालेकाे, हाइना हाँसेकाे र गाेहीले आँसु बगाएकाे कुरालाई आफूमाथि माया गरेकाे ठान्नु मूर्खता हाे र हाम्रा तथाकथित ख्वामितहरू त्यही गर्दै छन् । अनि गजलकाे याे शेर के जङ्गली शेरभन्दा कम छ –
बेकारकाे चाकरीले बाेर भएरै हाेला
हनुमानले रावणलाई सघाएकाे देखियाे ।
कति गर्नु क्या चाकडी पनि ? जति चाकडी गरे पनि प्रभुका पाउभन्दा माथि उठ्न पाउने हैन । याे एउटा पक्ष हाे । यसकाे अर्काे पाटाे पनि छ । हाम्रा हनुमानहरू अब आफ्नाे देशकाे सेवा गर्न छाडेर दुस्मनकाे दरबारतिर धाउने गरेका छन् । उतैकाे कलाे खाएर उसैकाे भलाे हुने निर्णयहरू धमाधम गर्दै छन् । याे चड्कनचिउरा त्यस्तैका लागि हाे ।
सिङ्गडा कविता पनि एकभन्दा एक राम्रा रछन् नि मुखालेका ! गद्यमा त अल्मलिएका मात्र रछन् मुखाले त । पद्यमा त उर्लापात पाे मच्चाउँदा रछन् नि ठाकुरे ! हैन, यतिसाराे छुच्चाे मुखालेचाहिँ अझैसम्म कसैकाे ताराे बनेकाे छैन र भन्या ? कसलाई पाे छाेडेका छन् र च्याँट्ठिएका मुखालेले । “न्यायकाे कथा” के पाे हाेला र भनेर पढ्दै जाँदा त मुखाले यसरी पाे पड्के त बा –
भगवान् हरूकाे संयुक्त इजलासबाट
मुद्दाकाे सुनुवाई र फैसला भएछ
वादी नायकहरूले हारेछन्
प्रतिवादी खलनायकहरूले जितेछन्
उता –
अपहरित अप्सराहरू भने
भागेर मर्त्यलाेकमा पुगिवरी
मसाजकेन्द्र चलाइरहेका छन् ।
न्यायक्षेत्रमा देखिएकाे अन्यायी खेलले व्यक्तिकाे कस्ताे हाल बनाउँछ भन्ने ती न्यायमूर्ति भनाउँदा भगवान् हरूलाई के थाहा ? याे कथा हैन, याे हाे औडाहा जगाउने खेल । मान्छे त्यसै त औडाहामा पर्दैन । यस्ता र यीजस्ता थुप्रै बेढङ्गका कथाबेथाहरू छन् हाम्राे समाजमा, राजनीतिमा, व्यवस्थामा, व्यवहारमा र हाम्रा आनीबानीहरूमा र त औडाहा भएर कसैले चाेथाले भन्लान् भन्ने कुराकाे औनेपाैने काैनै लेखाे नराखी कर्लिन्छन् नि मुखालेहरू ।
अब बल्ल पढेँ मैले चचार जनाका कथाकुथुङ्ग्रीहरू । मेराे बानी यस्तै छ । भूमिकाकारकाे प्रभाव ममाथि नपराेस् र म स्वतन्त्र पाठक बन्न पाऊँ भनेर पहिले पढेर निजी धारणा बनाउँछु र भूमिका पढ्छु । कतिपय मान्यताहरू मिल्छन् त केही मिल्दैनन् । नमिले पनि “कन्डैसित्” भनिदिन्छु । तर मुखालेले भने मलाई याे भन्ने माैका पनि दिएनन् र आफलताफल गर्दै दुईवटै किताप छिचाेलेर निचाेरेका कुरा यहाँ थुपुक्क राखिदिएँ ।
अर्काे किताबमा देखिएका छपाइसम्बन्धी उपियाँ पनि यता त्यति भेटिएनन् र याे कृति खाँटी हास्यव्यङ्ग्यात्मक कृति बनेकाे छ र हिँजाेकाे वामन अब गाैरीशङ्करकाे शिखराराेहणतर्फ लम्केकाे छ । हिजाे मुखालेजीलाई शुभकामना दिएकाे थिएँ, आज त बधाई पाे दिन्छु ।
०००
रूपन्देही
Subscribe
Login
0 Comments
Oldest




































