साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखालेकाे ‘औडाहा डटकम’ खाँटी हास्यव्यङ्ग्यात्मक कृति

सिङ्गडा कविता पनि एकभन्दा एक राम्रा रछन् नि मुखालेका ! गद्यमा त अल्मलिएका मात्र रछन् मुखाले त । पद्यमा त उर्लापात पाे मच्चाउँदा रछन् नि ठाकुरे ! हैन, यतिसाराे छुच्चाे मुखालेचाहिँ अझैसम्म कसैकाे ताराे बनेकाे छैन र भन्या ?

Nepal Telecom ad

रमेश समर्थन :

हिजाे म्याउँ गरेका मुखाले आज त एक्कासि “ह्वाङ !” गर्दै पाे गर्जिए त ! हुन पनि “मरता क्या नहीं करता ?” भनेझैं जब औडाहाले पेलेर ल्याउँछ र टाउकाे रनननन भएर भाउन्न छुट्लाजस्ताे हुन्छ यसै गरी गर्जिन्छ मान्छे । “अतिशय रगड के जाे काेई, अनल प्रगट चन्दन ते हाेई !” चन्दनकाे गुण शीतलता हाे तर त्यसै चन्दनलाई पानीविना रगड्न थालियाे भने आगाे पनि ओकल्छ र मुखालेले त्यही गरेका छन् ।

“जङ्गबहादुरकाे फ्रेन्ड रिक्वेस्ट” मा मुखालेले बडाे दु:खले मुख फाेर्दै थिए । तर “औडाहा डट कम”मा आइपुग्दा त मुखाले मनसुनकाे खहरेझैं पाे उर्लिएर आए त हाउ ! तर याे खहरे सुक्नु हुँदैन । अझै गड्गडाउनुपर्छ र समाजका बिब्ल्याँटे विसङ्गतिहरूकाे ढिस्काढिस्कीहरूलाई ढुन्मुन्याउँदै बङ्गालकाे खाडीमा लगेर थेचार्नुपर्छ ।

एउटै लेखकका दुईवटा किताब लगालग पढेकाे पहिलाे पटक हाे मैले । नरेन्द्रराजजीले त ताकेता र बाध्यतावश पढ्नुपरेछ तर मलाई भने “जङ्गबहादुरकाे फ्रेन्डरिक्वेस्ट” मा देखिएकाे प्रारम्भिक व्यङ्ग्यचेतले स्वत: अर्काे किताब पनि पढिसिध्याउन घच्याड्याे । मलाई थाहा छैन एउटै साल र महिनामा छापिएका यी दुई किताबमध्ये पहिलाे कुन हाे ? यहाँ दिएकाे हिसाबले त “औडाहा डट कम” नै पहिलाे हाे । यदि हाे भने मैले पनि मुखाले बनेर भन्नैपर्छ, मुखाले पद्यमा जति फुरेका छन् त्यसकाे धेरै कम फुराइ छ गद्यमा । त्याे पनि आख्यान राेजेर पाे हाे कि ? अब निबन्ध पनि पढ्न पाइयाे भने बल्ल मुखालेकाे गैरआख्यानिक गाद्यिक पाइन पनि हेर्न पाइन्थ्याे । पढ्ने क्रममा मेराे प्रिय विधा गजल पहिले र त्यसपछि मुक्तक पढेर बल्ल कवितामा लागेँ । यस्ताे लाग्याे म त सिङ्गडा र फुलाैरा खाँदै गजल र गीत पाे गाउँदै रहेँछु । गजल पढ्दापढ्दै नै “नानीका दाँतै तिखा” भनेझैं भयाे भने फुलाैरा ( मुक्तक) हरूले त मुक्तकण्ठले मुखालेकाे मुखछाडा बानीकाे प्रशंसा पाे गर्ने भएँ । जुँगे काजीकाे फेटा गुथेका दाजु नरनाथ लुइँटेलकाे प्रकाशक्याैली नामकाे भूमिका नपढ्दै मैले एउटा पानाकाे छेउ दाेब्र्याइहालेँ जहाँ छ याे मुक्तक –

हाे, उसले आँखा सन्काउँदा सिंहदरबार चल्छ
हाे, उसले आँखा झिम्क्याउँदा घरबार चल्छ
हुँदाखानेकाे अकाल र अनिकालसम्म पुग्नै पर्दैन
हुनेखानेकाे हाच्छिउँ छापेर पनि अखबार चल्छ ।

धतुरे मिडियालाई याेभन्दा दराे सिप्किनाे त के हाेला र ? गैंडाकै छाला ओढेका भए त पछि काउकुती लाग्ला तर मान्छेकाे छाला भए त यत्तिकैले चाला उठ्नुपर्छ ।

कुरा चिल्ला गर्ने र कामले रामराम भन्नपर्ने अवस्थामा पुर्‍याउनेलाई झाप्पु दिन एउटा मात्र गीतकाे याे मुखडा नै काफी छ, अन्तराकाे अन्तर्यमा त पस्नै पर्दैन –
तिम्राे लागि म छु भन्थ्याै , देखाउने दाँत रैछ
गैंडाले झैँ चाटीचाटी सिध्याउने बात रैछ ।

हाे, गैंडाले चाटेकाे, ब्वाँसाले कन्याइदिएकाे, बाघले अँगालाे हालेकाे, हाइना हाँसेकाे र गाेहीले आँसु बगाएकाे कुरालाई आफूमाथि माया गरेकाे ठान्नु मूर्खता हाे र हाम्रा तथाकथित ख्वामितहरू त्यही गर्दै छन् । अनि गजलकाे याे शेर के जङ्गली शेरभन्दा कम छ –

बेकारकाे चाकरीले बाेर भएरै हाेला
हनुमानले रावणलाई सघाएकाे देखियाे ।

कति गर्नु क्या चाकडी पनि ? जति चाकडी गरे पनि प्रभुका पाउभन्दा माथि उठ्न पाउने हैन । याे एउटा पक्ष हाे । यसकाे अर्काे पाटाे पनि छ । हाम्रा हनुमानहरू अब आफ्नाे देशकाे सेवा गर्न छाडेर दुस्मनकाे दरबारतिर धाउने गरेका छन् । उतैकाे कलाे खाएर उसैकाे भलाे हुने निर्णयहरू धमाधम गर्दै छन् । याे चड्कनचिउरा त्यस्तैका लागि हाे ।

सिङ्गडा कविता पनि एकभन्दा एक राम्रा रछन् नि मुखालेका ! गद्यमा त अल्मलिएका मात्र रछन् मुखाले त । पद्यमा त उर्लापात पाे मच्चाउँदा रछन् नि ठाकुरे ! हैन, यतिसाराे छुच्चाे मुखालेचाहिँ अझैसम्म कसैकाे ताराे बनेकाे छैन र भन्या ? कसलाई पाे छाेडेका छन् र च्याँट्ठिएका मुखालेले । “न्यायकाे कथा” के पाे हाेला र भनेर पढ्दै जाँदा त मुखाले यसरी पाे पड्के त बा –
भगवान् हरूकाे संयुक्त इजलासबाट
मुद्दाकाे सुनुवाई र फैसला भएछ
वादी नायकहरूले हारेछन्
प्रतिवादी खलनायकहरूले जितेछन्
उता –
अपहरित अप्सराहरू भने
भागेर मर्त्यलाेकमा पुगिवरी
मसाजकेन्द्र चलाइरहेका छन् ।

न्यायक्षेत्रमा देखिएकाे अन्यायी खेलले व्यक्तिकाे कस्ताे हाल बनाउँछ भन्ने ती न्यायमूर्ति भनाउँदा भगवान् हरूलाई के थाहा ? याे कथा हैन, याे हाे औडाहा जगाउने खेल । मान्छे त्यसै त औडाहामा पर्दैन । यस्ता र यीजस्ता थुप्रै बेढङ्गका कथाबेथाहरू छन् हाम्राे समाजमा, राजनीतिमा, व्यवस्थामा, व्यवहारमा र हाम्रा आनीबानीहरूमा र त औडाहा भएर कसैले चाेथाले भन्लान् भन्ने कुराकाे औनेपाैने काैनै लेखाे नराखी कर्लिन्छन् नि मुखालेहरू ।

अब बल्ल पढेँ मैले चचार जनाका कथाकुथुङ्ग्रीहरू । मेराे बानी यस्तै छ । भूमिकाकारकाे प्रभाव ममाथि नपराेस् र म स्वतन्त्र पाठक बन्न पाऊँ भनेर पहिले पढेर निजी धारणा बनाउँछु र भूमिका पढ्छु । कतिपय मान्यताहरू मिल्छन् त केही मिल्दैनन् । नमिले पनि “कन्डैसित्” भनिदिन्छु । तर मुखालेले भने मलाई याे भन्ने माैका पनि दिएनन् र आफलताफल गर्दै दुईवटै किताप छिचाेलेर निचाेरेका कुरा यहाँ थुपुक्क राखिदिएँ ।

अर्काे किताबमा देखिएका छपाइसम्बन्धी उपियाँ पनि यता त्यति भेटिएनन् र याे कृति खाँटी हास्यव्यङ्ग्यात्मक कृति बनेकाे छ र हिँजाेकाे वामन अब गाैरीशङ्करकाे शिखराराेहणतर्फ लम्केकाे छ । हिजाे मुखालेजीलाई शुभकामना दिएकाे थिएँ, आज त बधाई पाे दिन्छु ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x