साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बेसारे घुर्की’मा अधिकारीकाे फुर्क्याइँ

कतै पत्रात्मक शैली, कतै निजात्मक शैली, कतै संवादात्मक शैलीले उनले बाङ्गे लेखनलाई तीक्ष्ण र धारिलो पारेका छन् । उनले बाङ्गे लेखनबाट समाजका विविध पक्षमाथि बडा जान्ने भएर हान्ने काम पनि गरेका छन् ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

‘बेसारे’ तिनलाई भनिन्छ, जो चिप्ला कुरा गरेर अरूलाई रिझाउन सिपालु हुन्छन् । यो अरूलाई बेसार लगाएर अर्थात् लोलोपोतो राखेर हात लिने प्रक्रिया हो । समाजमा नेता हुँ भन्नेहरू अधिक बेसारे हुन्छन् । यही बेसारे सार नभएको भनेको होइन, बेसार लगाउने वाला भनेको हो । त्यस्तै ‘घुर्की’ भनेको आफूले चाहेजस्तो गराउन खोज्ने, धम्की वा देखाउने प्रवृत्ति हो । यही ‘बेसारे’ विशेषण लगाएर कृतिको नामकरण गरिएको छ – बेसारे घुर्की । यो बेसारे घुर्की (व्यङ्ग्य नियबन्धसङ्ग्रह–२०७९) ठाकुरप्रसाद अधिकारीद्वारा लिखित कृति हो । उनी पहिले गद्यशैलीका कवितातिर लहसिएका थिए, त्यसैको परिणाम स्वरूप रोएको बाटो (कवितासङ्ग्रह–२०७३) निकाले । पछि संस्मरणतिर पनि उनको रुचि जाग्यो । त्यसैको प्रयास स्वरूप समयको आवाज (संस्मरणसङ्ग्रह–२०७६) प्रकाशित गरे । पछिपछि व्यङ्ग्य लेखनतिर प्रीति गाँसेका रहेछन् ।

लोकतन्त्रको पालामा पनि जमाना नै नेताको जालोमा छ । नेताको माकुरे जालमा दुनिया फसेका छन् । नेता भनेकै यताका कुरा उता लाने र उताका कुरा यता ल्याउने फटाहा तालका हुन्छन् । घुर्की र फुर्की लगाउन नेतालाई कसले सक्छ र ! फलानो पद पाए खान्छु नत्र नपाए काँशि जान्छु, फलानो क्षेत्रको टिकट पाए उम्मेदवार उठ्छु नत्र प्रभुकै भजनकीर्तनमा जुट्छु, यति कमिसन पाए काम गर्छु नत्र मरिकाट्टे गर्दिनँ भन्दै । अहो ! कति घुर्की लाउँछन् नेताहरू । पहिले खान्नखान्न भन्दै लोकाचार गर्ने, खाएपछि मानाचार डकार्ने । ‘औंलो दिँदा डुँडलो निल्ने’ उनीहरूको प्रवृत्ति हुन्छ । नेताको वास्तविक चरित्र बुझ्ने त तिनैसँग सम्बन्धित कर्मचारी हुन्छन्, तिनैले नै भ्रष्टाचार र कमिसनको मेलोमेसो सिकाउँछन् । तिनैले विभिन्न निकायबाट फूलमाला झिकाउँछन् र आफिसमैें नेताको जन्मोत्सव पनि मनाउँछन् । समाजमा घुर्कीफुर्कीको भूमिकामा नेताभन्दा अगाडि कोही हुन्नन् । एक व्यङ्ग्य निबन्धको शीर्षक ‘’बेसारे घुर्की’ राखेर निबन्धकारले व्यङ्ग्यकारिताको गुरुत्व र गरिमा बढाएको देखिन्छ ।

यस व्यङ्ग्य निबन्धको ‘बेसारे घुर्की’मा अधिकारी १८ वटा व्यङ्ग्य निबन्ध सङ्गृहीत छन् । पासा खेलमा १८ परेपछि बाजी जितिन्छ । यस कृतिमा पनि अधिकारीले १८ निबन्ध अघि सारेर व्यङ्ग्यको बाजी जितेका छन् । सबै निबन्धसंग्रहको अग्रभाग शीर्षकभन्दा तल कार्टुनिष्टका चित्राकृति प्रस्तुत गरिएको छ । त्यसले व्यङ्ग्यको आकर्षणलाई बल पुर्‍याएको पाइन्छ । पहिलेपहिले कविता र संस्मरणको संरचनात्मक परिवेशमा हुर्किएका उनी व्यङ्ग्य निबन्धतर्फ आएर कति फुर्किएका छन् ? परीक्षणको विषय भएको छ ।

आयामका दृष्टिले उनका सबै व्यङ्ग्य निबन्ध अपेक्षाकृत मझौला स्वरूपमा छन् । उनले समाजमा प्रचलित प्रवृत्तिलाई नै व्यङ्ग्यको विषय बनाएर घतलाग्ने गरी चित्रण गरेका छन् । आत्मपरक शैलीमा संरचित उनका निबन्धले हाम्रो मनमस्तिष्कलाई तरंगित पार्छन् । उनको यो बाङ्गे लेखन, अडबाङ्गे र थाङ्ने नभएर पाठकको मनमुटु छाम्ने वा तान्ने भएको छ । मनमा आगो लागेको बेला उनी बाङ्गाटिङ्गा कुरा सोचे–खोजेर लेख्दा रहेछन् । मनलाई चङ्गा पार्दा रहेछन् । उनको दृष्टिमा मनको कुरा पनि अचारजस्तो पिरो, कागतीजस्तो अमिलो, हर्रोजस्तो टर्रो स्वाद आइरहने किसिमको हुन्छ । देवकोटाले “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन” भनेका छन् । यसबाट उनको लत्रेको मन पनि उठेको महसुस गरेका छन् ।

अधिकारी गद्यकवि र संस्मरणकार पनि भएकाले त्यसको सीप पनि बाङ्गे लेखनमा घुसेको पाउन सकिन्छ । उनका यी निबन्ध ६–७ महिने अवधिका उपलब्धि हुन् । यति छोटो अवधिमा पनि यति तिख्खर, निख्खर प्रवृत्ति निबन्धमा देखिनु, प्रतिभा र प्रयत्नकै करामत हो भन्ने लाग्छ । व्यङ्ग्यका क्रममा उनले कलमबाज, दलालीबाज, गुटबाज कसैलाई पनि छोडेका छैनन् । समाजका बहुविध विकृतिमाथि उनको कलम चलेको छ । छलछामका प्रवृत्तिलाई प्रयत्नपूर्वक खोतलेको पाइन्छ । प्रकृति र प्रवृत्ति नमिलेका विषयमाथि उनले निकै घच्का पनि हानेका छन् ।

अधिकारी आफैंले महसुस गरेका छन् । बाङ्गे लेखनमा लागेर विकृतिका गलगाँड फोर्न त्यति सजिलो छैन । व्यङ्ग्यमा देवकोटाले फोरेको, भैरव अर्यालले कोरेको, पिँडालीले गिजोलेको र अरूले अचेटेको शब्दजाललाई आफूले पनि ताल मिलाएर फैलाउने जमर्को गरेका छन् । व्यङ्ग्य वा बाङ्गे लेखनको पहिलो प्रयासमै पनि अधिकारीको राम्रो छटा देखिएको छ । उनकै शब्दमा भन्दा बामबाड देखिएको छ । उनका विषय र शीर्षक पनि घतलाग्ने किसिमका छन् । शीर्षक चयन र विषयवस्तु पढ्दै जाँदा बोध हुन्छ । उनी साथीलाई कतै जोड्ने देख्छन्, कतै तोड्ने देख्छन् । उनी कतै विवाहलाई आतङ्क देख्छन् । बाङ्गे लेखनमा उनका दृष्टि पनि बाङ्गाबाङ्गा भएर आएका छन् । कतै पत्रात्मक शैली, कतै निजात्मक शैली, कतै संवादात्मक शैलीले उनले बाङ्गे लेखनलाई तीक्ष्ण र धारिलो पारेका छन् । उनले बाङ्गे लेखनबाट समाजका विविध पक्षमाथि बडा जान्ने भएर हान्ने काम पनि गरेका छन् । यत्तिका बाङ्गे लेखनपछि उनलाई जान्ने लेखनकै रूपमा मान्नुपर्छ भन्ने समीक्षकको पनि धारणा छ ।

बाङ्गे लेखनमा कथन वैचित्र्यको पनि छटा हुनुपर्छ । त्यसले व्यङ्ग्यलाई ओजनदार बनाउँछ । यस कृतिमा अधिकारीले त्यसको राम्रो छनक देखाएको पाइन्छ । उनले कतै नमस्तेका काइदा सिकाएका छन् त कतै आलु व्यापारका फाइदा जताएका छन् । ‘आलु खाएर पेडाको धाक’को पनि चर्चा गरेका छन् । त्यस्तै उनी कतै गुटबलको चर्चा गर्छन् त कतै फुटबलको समीक्षा गर्छन् । झूटको खेती गर्नेले तीर्थव्रत पनि जान नपर्ने, दानधर्म पनि गर्न नपर्नेजस्ता कुराले उनको लेखनीले व्यापक रूपमा विषयविस्तार पाएको देखिन्छ । कलम पुराण लेख्ने उनी अक्षर खेतीको महत्व पनि उत्तिकै देख्छन् । उनी कलमलाई शक्तिशाली औजार बनाउन प्रयत्नशील रहँदै आएका देखिन्छन् ।

०००
कीर्तिपुर–२, कलङ्की, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पुरेत र जजमान

पुरेत र जजमान

प्रा. कपिल अज्ञात
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
नीच प्रवृत्ति चित्रण

नीच प्रवृत्ति चित्रण

प्रा. कपिल अज्ञात
अभेद्य किल्ला

अभेद्य किल्ला

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x