प्रा. कपिल अज्ञात‘हास्यव्यङ्ग्यको चोला’ भलाद्मी भोला
गरीबी र बेरोजगारीले पिल्सिए पनि पीडा पोख्ने माध्यम निबन्धलाई बनाएर कविता र निबन्धमा आफ्नो खुबी दर्शाउँदै गएका भोलाले आफ्नै जीवनसँग जोडिएका र आफ्नै भोगाइसँग अँगालो मारेका अनुभूतिहरूलाई प्रस्तुत गरेका छन् ।

प्रा. कपिल अज्ञात :
हास्यव्यङ्ग्यकै चोला लिएर आएका रहेछन् भलाद्मी भोला, जसले घोप्टेयुग (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, २०८२ रचेर आफ्नो अनुभूतिको खोला बगाएका छन् । भर्खर चार दशक पार गरेका भोलाको जुँगे काजीले प्रदान गरेको झोलामा उनैको कृति पनि पर्न गएको रहेछ । अहिलेको प्रविधि मोबाइल, ल्यापटप आदिले दुनिया घोप्टिनुपरेको स्थिति छ । यो घोप्टिनेको सङ्ख्या दिनानुदिन बढिरहेछ । बच्चादेखि बूढासम्म अहिले घोप्टिएका छन् । बच्चाले यो घोप्टिने यन्त्र पाएन भने भात पनि खाँदैन । हजार जिब्रा भएका शेषनागले बयान गरे पनि यसको बयान सिद्धिदैन । यो घोप्टिने यन्त्रले जमाना हातैमा ल्याएको छ । यसरी घोप्टिनुको महत्व बताउँदै निबन्धकारले सबै घोप्यटाइँ फलदायी हुन सक्दैनन् भन्ने कुरामा पनि सचेत गराएका छन् ।
पहिलो प्रकाशित रचना ‘मुर्दा आयो’ व्यङ्ग्य कविताबाट हास्यव्यङ्ग्य सिर्जनामा प्रवेश गरेका भोलाले हास्यव्यङ्ग्यमै पनि आफ्नो शिष्ट, सभ्य र भोलापन दर्शाएर हास्यव्यङ्ग्यको इतिहासमा आफ्नो नाम दर्ज गरेका छन् ।
हास्यव्यङ्ग्यकार अधिकतर ताली पाउनका निम्ति नेता, निकाय र परिपाटीप्रति गालीका पर्रा छोड्छन् तर भोला बगैँचाको मालीझैँ झारपात गोडेर आफ्ना रचनालाई सुन्दर, सुवासिलो तुल्याउँछन् ।
गरीबी र बेरोजगारीले पिल्सिए पनि पीडा पोख्ने माध्यम निबन्धलाई बनाएर कविता र निबन्धमा आफ्नो खुबी दर्शाउँदै गएका भोलाले आफ्नै जीवनसँग जोडिएका र आफ्नै भोगाइसँग अँगालो मारेका अनुभूतिहरूलाई प्रस्तुत गरेका छन् । यिनका यी अनुभूतिहरू यथार्थ घटनामा आधारित देखिन्छन् ।
भोलाको पूरा नाम भलाद्मी भोला हो । भोलामा पनि भलाद्मी थपिएपछि उनी कुनै लप्पन–छप्पन गर्ने छट्टु व्यक्ति होइनन्, व्यङ्ग्यविनोदमा आफ्नो रुचि भए पनि व्यावहारिक रूपले उनी सात्विक, सदाचारी मनुवा हुन् भन्ने बुझ्न सकिन्छ । हृदयमा गुराँस फुलेको भावना व्यक्त गर्ने भोलाले पहिलो सन्तानको सिर्जनामैं खुसीको उत्सव मनाएका छन् र सन्तान पनि अरूलाई रमाइलो गर्ने प्रवृत्तिको रहेको महसुस गरेका छन् ।
व्यङ्ग्यकार चट्याङ मास्टरले “भोलाका निबन्धहरू शिष्ट, सौम्य र बौद्धिक छन् र विषयलाई समातेर जुन संरचना तयार गरिएको छ व्यङ्ग्यका हल्का चास्नी मिसाएर, जुन अन्तर्घुलन गरिएको छ; यो नै भोलाका अभिव्यक्तिमा पाइने व्यङ्ग्य विशेषता हो भनेका छन् । त्यस्तै समालोचक नरनाथ लुइँटेलले आत्मपरक शैलीमा हामीभित्र रहेका विकृति चिन्तन र प्रवृत्तिलाई मिहिन ढङ्गले खोतलेका छन्” भनेका छन् ।
सबै निबन्धहरू शीर्षककेन्द्री छन् । अन्य कृतिमा जस्तै प्रत्येक विषयको अग्रभागमा विषय–प्रसङ्गअनुसार कार्टूनिष्टका चित्रहरू पनि अङ्कित छन्, तिनले कृतिमा आकर्षण थपेका छन् । सबै निबन्धमा शीर्षकअनुसार तिनका विशेषताको पनि बोध हुन्छ ।
हास्यव्यङ्ग्यात्मक रचनामा के भनिएको छ भन्दा पनि कसरी भनिएको छले अधिक महत्व राख्दछ । यस्ता रचनामा तुक वा अनुप्रास र कथनशैलीको नै विशेष महत्व हुन्छ । तुक मिलाउने अनुप्रासका शब्दहरू खेलाउनमा पनि निबन्धकारले आफ्नो सीप प्रस्तुत गरेका छन् ।
अन्त्यमा,
ए हाम्रा ! भलाद्मी भोला
दुर्जनसँग नजोडिनू होला
साहित्यमा अझै कस्सिएर लागी
सार्थक पार्नुहोस् मनुष्य चोला
सत्पथमा लाग्दा जति कष्ट परे पनि
नबोक्नु होला नेताको झोला
बोलीलाई अझै उराल्दै जानूहोस्
नभए पनि हास्यव्यङ्ग्य बम, बारुद, गोला ।
०००
कीतिपुर–२, मैत्रीनगर
Subscribe
Login
0 Comments
Oldest





































