सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शूरवीरहरूको नरकयात्रा

मोटर के अडिएको मात्र थियो उनी भित्र पसिन् । “छि... यो केको दुर्गन्ध ?” उनले ओढिराखेको खास्टोले नाकमुख छोपिन् अनि ‘पैसाले पैसा तान्छ’ भन्ने उक्ति लागू भएझैँ मोटरको त्यस मैलाले उनको पेटको सम्पूर्ण मैला त्यहीँ खिचिदियो ।

Nepal Telecom ad

केशवराज पिँडाली :

पहिले कहाँ सोचेको थिएँ र मेरो यो यात्रा नरकयात्रामै परिणत हुनेछ । शूरवीर नै शूरवीरहरूले भरिभराउ त्यस बसमा नजाने कुन दशाले मलाई पनि हुलिदिएछ । कुरा के भने म त्यस दिन एउटा बसमा आरूढ भएर त्रिभुवन राजपथको बाटो काठमाडौंको यात्रा गर्दै थिएँ ।

हवाईमार्ग खुलेपछि काठमाडौंको आवतजावत मैले हवाईजहाजबाटै गर्ने गरेको थिएँ । त्यस दिन सोचेँ- जब मोटरको बाटो नै खुलिसकेको छ त अब किन उड्ने गरूँ । भरसक हवाईयात्रा नगर्नु नै बेस । खिटिक्क भयो कि त ‘छैन मायालु’ । घुइँय्य गरेर प्राकृतिक छटा अवलोकन गर्दै जानु कता-कता असल । न कसैको ‘वाक्क’ न कसैको ‘टिर्र’, न त मनमा ज्यान जाने नै धुकधुक । अतः मोटरबाटै जाने निश्चय गरी श्रीमतीलाई एउटा तार पनि दिएँ । अमलेखगन्ज पुगेर एउटा बस समातेँ ।

बस यात्रीहरूले भरिभराउ थियो । मानिसको भ्रातृत्वको भाव यात्रामा निकै उम्लिदो रहेछ । आधै घण्टाको बीचमा त्यहाँ भएका सम्पूर्ण यात्रीहरू आपसमा राम्रैसँग परिचित भए ।

भैँसे पुगी बस अडियो । यस्तैमा बगलबाट बुलन्द आवाज आयो, “दाजुभाइ, दिदीबहिनी हो ।” मैले सम्झेँ सरकार बाहिरको कुनै राजनैतिक पार्टीको आयोजनामा ‘डालडा, गण्डक-योजना, आलु-निकासी वा भन्टा पैठारी’ यस्तै कुनै विषयमा भाषण दिइरहेछ । तर मेरो अन्दाजको विपरीत ऊ भन्न थाल्यो, “जानोस्, जानोस्, स्नान, ध्यान, गान, पान जो गर्ने गर्नोस् । बस यहाँ आधा घण्टा अड्छ ।” मैले यस्सो मन्टो बटारेर हेरेँ । देखेँ- टिनको एउटा थोत्रो ढ्वाङले लैस ऊ यसै बसको ‘क्लिनर’ थियो ।

क्लिनरको सम्भाषण के पूरा भएथ्यो निस्के मानिसहरू भटाभट मोटरबाट बाहिर र थाले अनि पस्न आआफ्नो रुचिअनुसार कोही हलुवाईका पसलतिर, कोही दालभातका होटेलतिर त कोही जाँडका भट्टीतिर । अनि फेरि यथासमय मानिसहरू ढ्याउढघाउ डकार्दै आएर बसे फेरि आआफ्नो ठाउँमा । बसले फेरि भरिभराउ भएर आफ्नो बाटो समात्यो ।

बस अब घुमी-घुमी पहाड चढ्दो थियो । सारा यात्रीहरूका आँखा बाहिरै तन्किएका थिए । पहाडको त्यस मनोहर दृश्यमा नलोभिने बिरलै होलान् । यस्तैमा एक सज्जनले भने, “स्याबास । हिन्दूस्थानले बाटो त बनाएकै हो बहादुरले ।”

उता अर्का सज्जनले जवाफ दिए, “के बनायो ? भुत्रो बनायो ? ह्लासा जाने कुतीको बाटो, जाबो नौ कोसको बाटोलाई घुमाउँदा-घुमाउँदा-घुमाउँदा पचास कोसको बनाइदियो ।”

अब तेस्रा सज्जनले भन्न थाले, “बाटो बिनामतलबले घुमाएको त हैन त । टिस्टुङ, पालुङ र नौबिसे जस्ता कृषिप्रधान ठाउँहरूलाई जोडिदिएको महत्त्व पनि त बुझ्नोस् ।”

“के बुझ्ने महत्त्व ? बहाँ स्विस्ले भनेको थियो रे थानकोटबाट छेडेको सुरुङ भीमफेदी निकालिदिन्छु भनेर । नत्र अहिले सुत्त भीमफेदीबाट पसेको एकछिनमा फुत्त थानकोट निस्किन्थ्यो ।” उता चौथा सज्जन कराए ।

अब पाँचौँ सज्जनले भने, “ओहो । त्यो बाटो पो बेस बाटो हुन्थ्यो त, यस बाटोमामैँ भीरबाट मोटर गन्द्रङगन्द्रङ लडेर मान्छे खुत्रुक्क-खुत्रुक्क पनि त हुँदैनथे ।”

अब छैटौँले केही चर्को स्वरमा भने, “के त्यो चन्दागिरि र गढीका डाँडा फर्सीका वा कुभिन्डाका खोका गाँड हुन् स्विस्ले सहज छेडेर छेडिने ? हाम्रोजस्तो पहाडी मुलुकमा यो भन्दा राम्रो बाटो त बन्नै सक्तैन लौ ।”

उता छेउमा एक मारवाडी सज्जन बडा चाखले यी कुराहरू सुनिरहेका थिए । उनले ती पाँचौँ सज्जनसँग बडो आग्रहपूर्वक सोधे, “हैन साँची । के यस बाटोमा बराबर गाडी भीरबाट खस्ने गर्छ ?”

गाडीमा एक जना अलि ठट्यौला सज्जन पनि रहेछन् । उनले भने, “ए सेठ । आफ्नो व्यापारको हिसाबकिताब भाइछोरालाई राम्रो बुझाएर आएका छौ कि छैनौ ? यो बाटोको त भरोसा छैन है, हेर ।”

मारवाडी सज्जनले यत्ति के सुनेका थिए परे पधारा त्यहीँ सिटमा र गर्न थाले ह्याक्लाकह्याक्लाक । अनि उनको मुखबाट “जय बजरङ्ग बली” को अस्पष्ट ध्वनि पनि बारबार निस्कन थाल्यो । सारा यात्रीहरू किंकर्तव्यविमूढ बनी त्यतै झुम्मिए । धेरै बेरसम्मको यस अवस्थापछि सेठको त्यो विशाल पेटले उधुमसँग अब खलाँती लाउन थाल्यो । मानिसहरू कुनै अशुभ कुराको आशङ्काले त्रस्त भई मुखामुख गर्न थाले । मोटर उकालो चढ्दो थियो । यस्तैमा सेठले एक बिकराल हुङ्कारको साथै फाल्यो वाङ्ग मुख खोलेर पेटको सम्पूर्ण सामग्री बाहिर । बसमा भागदड मच्चियो, ‘छिः छिः छिः’ भन्दै मानिसहरू पर-पर हटे । बसको वातावरणमा तीव्र दुर्गन्ध फैलियो ।

उता ड्राइभर झोक्कियो, “हैन, तपाईंहरूको यो केको मल्लयुद्ध है ? मोटर पल्टिएला, मोटर ।”

अब सारा चुप बने र आफ्ना आफ्ना ठाउँमा बसे । यस्तैमा एक भलादमीले नगिचैको अर्को भलादमीसँग सुस्त भने, “कहीँ हैजा त हैन ?”

साराका कान ठाडा-ठाडा भए अनि एकस्वरमा यात्रीहरू कराए, “ए गाडी रोक । सेठलाई छेराउटीले समात्यो ।”

उता रन्क्यो ड्राइभर फेरि, “चुप लाग्नोस् सबै । छेराउटी-सेराउटी केही होइन यो । मोटर लागेको, मोटर ।” ड्राइभरको स्वरमा अनुभवको पुट थियो । “जे होस् बाबा । गाडी त रोकिदेऊ, गन्हाएर यहाँ बस्नु भएन, एक सज्जन फेरि कराए ।

“यस्तो ठाडो बाटोमा रोक्न हुन्न,” ड्राइभरले ठाडो जवाफ दियो र साथै गाडीको गति झन् बढायो ।

यात्रीहरू सबै त्यसै खुम्चिएर बसे । सेठ नगिचै बसेका एक सज्जनलाई खपिसक्नु भएनछ, एक्कासि जुरुक्क उठे र सेठको ऊनी चद्दर थुत्त थुतेर त्यस गन्धपुरीलाई के गाम्ल्याङ्ग ढाकेका थिए थाले निकाल्न अनि मुखबाट ह्वालह्ह्वाल्ती आफैँ । एक अर्का सज्जन (जो सायद उनका मित्र थिए । ले लसक्क लस्केर गई उनको टाउको समाते । उनी के थाकेथे उता यिनले मन्टो बटार्दा-बटार्दै पनि सुख पाएनन् । झिके अनि त खहरेको भेल नै त्यहीँ ।

यता अब क्लिनर पड्कन थाल्यो, “धत्तेरी । कस्ता नामर्द र पानीआन्द्रे परेछन् आजका प्यासेन्जर । कमसेकम आएको बेला झ्यालमा त पुगिदेऊ ।”

मेरो नगिचै एउटी महिला थिइन् । छुतको बिरामीले यिनलाई पनि पक्डेछ । विचरीको जिउ भारी थियो । झ्यालसम्म पुग्ने सायद शक्ति पनि भएन क्यारे । थापिन् आफ्नो धोतीको आँचल र झिकिन् मुखबाट ह्वालह्ह्वाल्ती आँखा चिम्लेर अनि गुटुमुटु पोको पारिन् र बसिन् चुपचापसँग मानूँ कुनै अनुभवी यात्रीले भरे फेरि खानु छ भनेर सोच गरेर राखेझैँ ।

महिला नगिचैका एक अर्का सज्जन स्तम्भित बनी विस्फारित नेत्रले यो सबै हेरिरहेका थिए । हठात् ‘हिक्क’ एक हिक्का लाग्यो । जुरुक्क उठेर झ्यालतिर लम्केका हुन् तर भ्याएनछन् । थुत्त आफ्नो भादगाउँले टोपी झिके र तीनतालिमै भर्ती पारेर बाहिर फ्याँके ।

बसमा वर्ष पचासेकका एक दाढीवाल पण्डित थिए । उनलाई यी सबै काण्डदेखि खपिसक्नु भएनछ, थाले खरजको स्वरमा भन्न, “हैन, आजभोलिका मान्छे किन यी मइनका जस्ता । अलिकति केही भयो कि पग्लनै थाल्ने । सहने शक्ति त रत्तीभर पनि छैन लौ यिनमा । रसियाका कुकुर पनि रकेटमा सानन्द अन्तरिक्ष घुमेर फर्कन्छन् । तर यी हाम्रा हुतीहारा मोटरमा बसेर आठ हजार फिटको एउटा डाँडा चढ्दा सिद्धिएजस्ता हुन्छन् । उनले बडो कठोर तिरस्कारको दृष्टिले चारैतिर हेरे र अनि फेरि भन्न थाले, “यी हामीलाई हेर । किञ्चित् मानेका छैनौ ।”

दाढीवालको यस लान्छनाले बसमा एकदम शान्ति ल्यायो । धेरैबेरसम्म भइसक्दा पनि जब कतैबाट काइँकुई केही शब्द निस्केन, मैले शान्तिको एउटा लामो सार फेरेँ र यसो चारैतिर नजर फेरेँ । सबै यात्रीहरू कपडाले गुम्लुङ्ङ- गुम्लुङ्ङ ढाकिएर हलचल नगरी बसेका थिए, मानूँ सबै नै यस संसारको असारतादेखि पन्छिएका वीतरागी थिए र परमार्थ सुधार्नमा तल्लीन थिए ।

बस अब सिमभन्ज्याङको नगिचै हुँदै गइरहेको थियो । मेरो ध्यान अब सहयात्रीहरूबाट हटेर बाहिरका दृश्यावलीमा रम्न थाल्यो । चित्त प्रसन्न भएर आयो । तर यो आँधीअगाडिको शान्ति भनेझै पो हुन गयो । एक्कासि पछिल्तिरबाट बुलन्द आवाजमा कोही गर्न थाल्यो ‘हुँक… हुँक ।’ फरक्क फर्केर हेरेँ- तीन-चार जना इन्तु न चिन्तु भइरहेका सज्जनलाई च्याकुलझ्याई पारी उनको टाउको बाहिर पठाउने प्रयासमा र उनी आँखा चिम्लेर एकोहोरो गरिरहेका थिए- ‘हुँक, हुँक, हुँक ।’ तर, यस्तैमा नगिचैको अर्को एक भुस्तिघ्रेले सारालाई जिल्ल्याएर बाजीमाथ गरिदियो । एउटै ‘ह्वायाक्क’ के गरेथ्यो सडक धुने फोहरा छाडेभन्दा पनि चौभागसँग छोडिदियो ।

यता दाढीवाल रन्के, ट्याप्प नाक समाते र भन्न थाले, “बाप रे -बाप । सिलटिमुरेले त जाँडैजाँड पो भरेको रहेछ पेटमा । सकिएन अब बस्न । ए ड्राइभर । रोक् बस, जान्न म अब काठमाडौँ, ओर्लन्छु यहीँ । आक् थू, आक् थु ।” अनि टाउको झ्यालबाट फुत्त बाहिर निकाले । धेरैबेर भइसक्दा पनि उनले टाउको फेरि भित्र ल्याएनन् । तर सबैले देखे- उनको पेट पनि अब उधुमसँग खलाँती लगाउँदो छ ।

एक जना रसिकले सकसक रोक्न सकेन, भन्न थाल्यो, गुरुदेव । ए गुरुदेव । तपाईंलाई त हामीहरूको अनुहारसम्म हेर्न पनि घृणा लाग्यो कि कसो बिन्ती, यता फर्कनोस्न । तपाईंको त्यो सौम्य चेहराको दर्शनले हामीलाई बल प्रदान गर्नेछ ।’

गुरुदेवले फुलेर चेहरा भित्र ल्याए । अनि सबैतिर एकबाजि निरीक्षणको नजर फेरेर मुसुक्क गरे । आँखा राता र रसिला थिए । जतिसुकै साहसी बन्न खोजे पनि आखिर दाढीले भण्डाफोर गरिदिइहाल्यो ।

यता रसिकज्यूले औसरको फाइदा उठाउँदै चोट गरिहाल्यो, “गुरुदेव । दाढी त अपवित्र भएछ नि ? आखिर तपाईंले पनि… ?”

“ज्यू, ज्यू, साथीहरूका सहानुभूतिमा अलिकति निकालि नै दिए ।” दाढी फट्कार्दै तैपनि उनले कुरा माथि नै पारे ।

“बमशङ्कर ।” उता कुनामा बसिराखेको जोगीले जोरसँग चिम्टा बजाएर चित्कार गर्‍यो । गुरुदेव याँ बल्ड्याङ आँखा पल्टाउँदै उता हेरे । अनि बसमा एक जोरको खित्का छुट्यो । खित्काका साथै यता रसिकज्यूलाई लाग्यो एक हिक्का । उनी पेट अँठ्याउँदै झ्यालतिर लम्के । सायद आएनछ क्यारे, दुई कदम पछि हटे । फेरि बढे, फेरि हटे, फेरि बढे । यो क्रम उनको चलिरह्यो, चलि नै रह्यो मानौ कुनै लडाकू थुम्वा ‘हर्र ढ्याक्क’ गर्दो छ, गर्दो छ ।

रसिकज्यूको यो ‘हर्र ढ्याक्क’मा मनको कुकुरले छुट्ने मौका पाएछ । ‘सू-सू-सू’ गर्दै गएर इन्तुनचिन्तु भइराखेको सेठको ओठ, गाला, चिउँडो जताततै पार्न थाल्यो- ल्याप-ल्याप । अर्धमूर्छित सेठले कुकुरको यो चटाइ आफ्नो मरणशय्यामा सेठानीको प्यार सम्झेछ । क्षीण आवाजमा भन्न थाल्यो, “सेठाणी” तूँ कट्ठे इहै । मरसिह्या हूँ ह्याने पानी पिला । चाबी चारो कने ईहै, सँभालके राखियो ।” अनि सेठले सकीनसकी हात बढाएर सायद सेठानीलाई अङ्कमाल गर्न खोज्यो । कुकुर गुर्र गर्दै पर हट्यो ।

बसमा फेरि अट्टहास छुट्यो । कुनामा शान्त बसेको जोगीले फेरि चीत्कार गर्यो, “बमशङ्कर ।” सायद उसको पेटमा पनि मल्लयुद्ध सुरु हुँदो थियो र ऊ बलप्राप्तिको निम्ति शङ्करसँग पुकारा गर्दो थियो ।

बसले अब सिमभन्ज्याङ नाघिसकेको थियो । बसको वातावरण अब धेरै नै शान्त थियो । यस्तैमा जोगीले ड्राइभरसँग सोध्यो, “बच्चा । तल पालुङमा त मोटर रोक्लाऊ नि ?”

“अहँ, म अब काठमाडौं नपुगी मोटर रोख्न सक्तिनँ बाबा । तुरुन्तै खायो, तुरुन्तै निकाल्यो गरेर मेरो गाडी बढी गन्दा पार्न अब म दिन्नँ ।” ड्राइभरले एकसासमा जवाफ दियो ।

“लौ बच्चा । तेरो कब्जामा छौँ । तेरो मर्जी । तै तै काठमाडौँ नै किन पुर्‍याउँछस्, खसाल्दे भीरबाट गाडी, टन्टै नास्ति ।” जोगीले व्यङ्ग्यले भन्यो र अनि गुम्लुङ्ग राडीले सम्पूर्ण शरीर ढाक्यो । अनि फेरि पाखीवाट फुत्त टाउको मात्र झिकेर भन्यो, “यो त जमपुरीकै जात्रा पो भयो । जमदूत कहीँका ।”

अनि उता सेठले अस्पटायो र फेरि उसले क्षीण आवाजमा भन्यो, “सेठाणी । देख, देख ह्याने लिबाणो खातिर ज्यमदूत आबो है ।”

यता जोगी फेरि रन्क्यो, “चुप् सेठाणीको बच्चा । ड्राइभरको हुकुम छ गाडी रोकिन्न । चल्ती गाडीमा ज्यामदूत त के ज्यामदूतको बाबुले पनि पाइलो हाल्न पाउन्नँ । पूर्वी काठमाडौं पुगेरै मर्लास् ।”

गाडी अब बेगले बढिरहेको थियो । त्यो दुर्गन्ध ‘ऐय्या आमा’, ‘हे राम’का आर्तनादमा लाग्यो- म कुनै चल्ता-फिर्ता नरकमा बसेर यात्रा गरिरहेको छु । म अब झ्यालबाहिर मन्टो निकाली दृश्यावलीमै आफूलाई भुलाइराख्ने कोशिश गर्न थालेँ । धेरैबेरपछि भित्रबाट जोगीले खित्का छाडेर भन्यो, “बच्चा । आखिर बोल्यौ तिमी पनि हैँ ।”

मैले प्रसन्न भई मन्टोभित्र ल्याई भनेँ, “हैन बाबा । म त दृश्य हेर्दो थिएँ ।” अनि बसमा चारैतिर हेरेँ । देखेँ प्रायः सबै यात्रीहरू अब चड्ख बनेर तानतान-तुनतुन गर्दा थिए । सेठजी पनि अब राम्रैसँग बसी विस्फारित नेत्रले हेर्दा थिए ।

बसले अब नौबिसेको उकालो पक्ड्यो, यस्तैमा एउटा लण्ठले औँलो तिख्याउँदै भन्न थाल्यो, “हेरी उः त्यहीँबाट हो विद्यार्थीहरूको मोटर खुर्मुरिएको । ड्राइभरहरू भन्छन्- अझै पनि मोटर त्यहाँ पुग्यो कि कसो कसो, केले-केले तान्नै खोज्छ रे ।”

यता तङ्ग्रिइसकेका सेठले चिम्ले फेरि आँखा । उता ‘बमशङ्कर’ का उद्घोषणका साथै झिक्यो जोगीले पनि आखिर एक जबर्दस्त हिक्का अनि मुख चेप्याउँदै भन्यो, “उँहुँ, भैँसेमा खाएकै थिइनँ, पालुङमा ज्यामदूतले खानै दिएन । पेटमा के छ र के आउने । केवल अमिलो पानी ।”

अनि फेरि कहिले यो कुना कहिले ऊ कुना, कहिले यो छेउ त कहिले ऊ छेउ चल्यो लहर फेरि ह्वायाक-ह्वायाकको तर, खूबी यही थियो कि पेट साराको अघि नै रित्तिसकेको थियो र मुखारविन्दबाट केवल पानी मात्र प्लावित भइरहेको थियो । रित्तो भाँडाको बढी टङ्कार भएझैँ ‘वाक-वाक’ को हुङ्कार भने गजबकै थियो । मलाई लाग्यो- मानौँ कुनै एक बृहत् कविसम्मेलनमा रसिक कविको रसिलो गेडामा श्रोताजनहरू ‘वाह-वाह’ गर्दा छन् ।

यस्तैमा उता कुनाबाट एउटा नवजात शिशुको चित्कार आयो, “चिहाँ- चिहाँ ।”

उता जोगी करायो, “बमशङ्कर । लेऊ भाइ । यस भाग्यमान् बच्चोलाई पैदा पनि यसै नरकमा हुनु थियो ।”

क्षीण आवाजमा सेठले सोध्यो, “कठे इहुँ सुरगमे या नरकमे ?” जोगी फेरि रन्क्यो, “पापिष्ठ । जिन्दगीभर कालोबजार गरिस् । अब तँ स्वर्ग जाने ? नर्कमा छस् नर्कमा, रौरव नर्कमा । यस गाडीमा आपत्को जड नै त तैँ पेटूमल होस् ।”

बसमा फेरि हाँसोको एक लहर उठ्यो । मैले बाहिर यसो हेरेँ, बस थानकोटफेदी झर्दो थियो ।

त्रिपुरेश्वर पुगेपछि आखिर जोगीले नै त्यस अस्तव्यस्त मारवाडीलाई संभाल्दै भन्यो, “ए सेठ । उठ्-उठ्, अब उठ् । नर्कयात्रा सकियो, स्वर्गपुरी आइपुग्यो ।”

सहानुभूति आएदेखिको चुप्प बसेका दाढीवाल सज्जन बल्ल फुटे । मलाई सम्बोधन गर्दै भन्न थाले, “यस जमातमा एउटै महारथी तपाईं नै हुनुहुँदो रहेछ ।”

मैले उनीतिर हेरेर मुसुक्क गरेँ । यस्तैमा बस ठाउँमा पुग्यो । देखेँ, मेरो स्वागतमा मेरी पत्नी त्यहाँ छन् । मोटर के अडिएको मात्र थियो उनी भित्र पसिन् । “छि… यो केको दुर्गन्ध ?” उनले ओढिराखेको खास्टोले नाकमुख छोपिन् अनि ‘पैसाले पैसा तान्छ’ भन्ने उक्ति लागू भएझैँ मोटरको त्यस मैलाले उनको पेटको सम्पूर्ण मैला त्यहीँ खिचिदियो ।

यत्तिकैमा ड्राइभर झोक्किँदै आई भन्न थाल्यो, “यात्री त यात्री भए, अब बाटो हिँड्नेले पनि यस कामको निम्ति यही गाडी ताक्ने ? म सहन्नँ अब, सत्ते सहन्नँ ।”

मलाई साह्रै लाज लागेर आयो । ड्राइभरसँग नम्र हुँदै माफी मागेँ र पत्नीलाई डोर्‍याउँदै बाहिर निस्केँ ।

उता जोगीले फेरि चित्कार गर्यो, “बमशङ्कर । तिमीले नबुझे पनि बच्चा ! आखिर तिम्री श्रीमतीले त बुझिन् हाम्रो मर्म ।”

म लाजले त्यसै गड्दै श्रीमतीलाई घिसार्दै घरतिर लागेँ । ती सबै यात्रीहरू को हुन् ? कहाँ छन् ? आज के गर्दा छन् ? यो केही पत्तो छैन । तर शूरवीरहरूको त्यस नरकयात्राको अमिट छाप हृदयमा जो छ छँदैछ ।

०००
रूपरेखा
‘खै खै’ (२०१६)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
म प्रधानमन्त्री भएपछि

म प्रधानमन्त्री भएपछि

केशवराज पिँडाली
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी