![रामकुमार पाँडे रामकुमार पाँडे](https://www.fitkauli.com/wp-content/themes/fitkauli_theme/images/author2.png)
अर्घमाथि केराः पिँडाली पराक्रमको परिपाठ
पिँडालीको लेखाइ हास्यव्यङ्गयमा सरल र तरल छन् भने भैरवकामा जटील र ठोस जुन भोलि सरल बन्न सक्छ विकास क्रममा । लेखाइ घनत्व बढी भैरवमा भए पनि आकर्षणको महत्व पिँडालीमा बढी छ । जेहोस् दुवैका आाफ्नै विशेषता छन् र त्यो खुट्याउने काम मेरो हैन ।
![image image](https://www.fitkauli.com/wp-content/uploads/2024/01/Keshav-raj-pidali4.jpg)
रामकुमार पाँडे :
हास्यव्यङग्यका एउटा थकाली पिँडालीका बारे के भन्ने ? कसरी भन्ने ? किन भन्ने ? मेरो मगजमा यतिखेर घुमिरहेका छन् प्रश्नै प्रश्न ! भैरवको भागवत लगाइसकेको हुनाले पिँडालीको पुराण पनि लगाउने सुर पहिले नै चलेथ्यो तर मौका मिलेन । मरिसकेपछि पिण्ड दिनुभन्दा पहिले पिण्डको मिनी आकारमा लड्डु दिन पाए एकछिन भए पनि मुख मिठ्याउने काम हुन्छ भन्ने कुरामा मेरो विश्वास छ । तर लड्डुको जोर जम्मा गर्न ढिलो भए पनि साडे सातको दशा मन्छने काम हाँस्नेबाट भइसक्यो । अब हास्य व्यङ्ग्यकार अगतिमा पर्दैनन् कि भन्ने विश्वास बढ्न थालेको छ । पिँडालीको प्रशंसा गर्दा कतै राहुले, केरा, अर्थात् केशवराज, पायो बोक्रै समेत खायो भन्ने आक्षेपलाई पटाक्षेप गर्दै म उनको बारेमा धेरै नभनी धेरैले उनका बारेमा भन्ने गरेका कुरा नै कोट्याएर छोट्याएर विश्राम गर्न चाहन्छु । म यहाँ केरा राखेर अर्घ दिनु उत्तम सम्झी जिउँदैमा तर्पण अर्पण गर्दै साहित्यिक सूर्यतिर फर्की नझर्की सुनेका तर नबुझेका कुरोकथा कोट्याउन लागिरहेछु ।
पिँडाली पराक्रमको पुराण लगाउनु पहिल्यै उनीसँगको चिनापर्चीको अर्जी उठाउनु जाति सम्झी सम्झन लागेँ – हास्यव्यङ्ग्य लेख्दा स्कूले केटो भएकाले साहित्यको ‘क’ पुरी क थाहा थिएन । पाठ्यपुस्तक बाहेक साहित्यिक पुस्तक प्रायः पढिएन । तर जब आफ्नो ख्याल ख्याल पढ्नेले केशवराज पिँडालीको ‘खै खै’ पढ भनेपछि धुइँ-धुइँती खोजेर पढेँ । शूरवीरको नरक यात्राले धीत मरुञ्जेल हँसायो । सालिकले झन् दिल नै खोल्यो कला चिन्ने को ले घोच्यो तर खै खै’ आफू चुरोट नतान्ने भएकोले त्यति तान्ने खालको मानिएन । पूरै किताबमा चाहिँ पिँडाली पराक्रम खै खै मा जति देखिन्छ अरूमा झारा तिरे झैँ लाग्छ । अझै साप्ताहिकका नाम समेतका लेखोटले त दारा ङिच्च झैँ लाग्छ । तर यो त आजको कुरा भयो हिजो आज हो कुरा गर्दा आफूले कखरा खानु अघि उनले ठूलो वर्णमाला बुत्त्याइसकेका हुन् । र उनलाई साक्षात्कार गर्ने धुन चढेको हो । उनलाई चिनेको धेरै वर्षपछि उनको चित्र कोरियो ।
कलियुगको १६ रौँ एवं अन्तिम औतारमा शवकै पिजरा डाली नामका बारे टपर्टुय्याँ काठले शव्दचित्र अर्थात् व्यक्तिवृत्त यसरी दिएको छ- दुई दशकभन्दा अघि झ्वाट्ट हेर्दा लाटीको पोइ जस्ता, गजक्क परेका बूढ्यौलीले छोए पनि नथाकेकाे लुसु लुसु हिँड्ने खुसु खुसु कुरा गर्ने फुसुफुसु छोड्ने बेलाबेलामा कौवाले सेतो आँखा पल्टाए झैँ पल्टाउने । ढिलो जिउडाल तर छरितो लेखाई हँसाउन पायो भने… पहिलो पोस्तक ‘खै खै’, दोश्रो पोस्तक ‘फेरि उल्टै मिल्यो’ र तेस्रो ‘व्यङ्ग्यै व्यङ्ग्य’ । पत्र पत्रिकामा छरिएका बटुलेका बाँकी चौथो र पाँचौँ पोस्तक जोरजम्मा (गर्न बाँकी) । यिनी चुरोट खूब खान्छन् । चुरोट छुटाउन बिँडी खाए भएन सूर्ती खाए भएन, तमाखु खाए भएन, आखिर तीनै थोकको बानी बस्यो । राति तम्बाकु तान्छन् बिहान चुरोट खै खै भन्दै खान्छन् दिउँसो साथीभाइ धेरै भेट हुने भएकाले सूर्तीको पेपर बनाएर खान्छन् । यिनलाई बूढ्यौलीले चाउरी पारे पनि छिनछिनमा ऐना हेर्छन् । यिनी कुखुरा कम्पनी प्रा.लि. का भू.पू. मेनेजर हुन् । बिहान कुखुराले कुखुरी काँ भनेर बिउँझाउना साथ खोरमा पस्न र पिँडालुको सेतो शालीग्रामको दर्शन गर्दै दङ्ग पर्थे (भेट्न चाहनुहुन्छ भने नयाँ सडकमा जम्काभेट हुन घुमाउने घरतिर फन्कामारी भेट गर्न जानू)
उनको मोहभंग गर्ने भैरवले काउकुती लगाए । भूतको भिनाजुले उकास्तै लगेपछि वर्तमानको जेठो ज्वाइँ बनेको आफूलाई पनि किताब छाप्ने धुन चड्यो । ख्याल ख्याल गर्दा गर्दै, साँच्चिकै ताल बेताल भएर १०१ हास्यव्यङ्ग्यतिर लागियो । कौवा प्रकाशनका नवग्रहको सङ्गतले फगत हास्यव्यङग्यको भगत बनायो । अल्हारे गाउँले ठिटो जस्तो पिँडालीको खै खै को अनुहार, भैरवको सिरियस मुख मुद्रा देख्दा हास्यव्यङग्य लेख्नेहरू जोकर चाहिँ हुँदा रहेनछन् भने विश्वास पर्दा पर्दै जोकर बनाउने काम चाहिँ हुने विश्वास बढ्यो । त्यतिबेला जति बेला हास्यव्यङ्गग्यले धेरैलाई हँसाए पनि आफू रुन थालियो । मनमनै रोए पनि डाँको छोडेर रोइएन । अनि जोकबाट जोग्राफीतिर कम्मर कसियो प्राध्यापकमा गएर बसियो । भूगोलबाट भात पाक्न थाल्यो । हास्यव्यङ्ग्यबाट भात पकाउन खोज्ने पिँडाली – चिसो दाउरा नबालेर रोएको देख्दै छु । हुन त उनलाई मागेको खण्डमा तातो भात दिने होलान् । कलमको खेतीले खाने नेपाली लेखक नै कहाँ छन् र ?
आफूले देखेको हैन सुनेको मात्र हो – पिँडाली आफू बाहेक अरुलाई गन्दैनन् अरे । मैले भेट्दा चाहिँ मलाई मात्र गनेको पाएको छु । उनी श्रीमतीको गथासो मात्र जोड्छन् रे । मैले पढ्दा त्यो प्रतीक मात्र पाएको छु । उनी पद र पैसाको मंगल गाउँछन् रे । मैले पढ्दा उनी आफूभन्दा तुच्छलाई माथि पुर्याउने परम्पराका विद्रोही हुन् । उनी आत्मप्रशंसा गरी आफू ठूलो हुन नसकेको असन्तोष व्यक्त गर्छन् रे । म देख्छु उनी आफैले ठूलो हुने सिर्जनाको बार पक्डेका हुन् । उनी डाढेमा एक नम्बरी हुन् रे । मलाई लाग्छ उनीभन्दा औसरवादीले ठाउँ पाउँदा यसो भएको हो । केही न केहीका मान्छेहरू उठाउने जस् लेमिटेड नेताको परीपाटी भएकैले यस्तो भएको हो । उनी पैसा भनेपछि हत्ते हाल्छन् रे । यो सत्य हो । पैसामा दाँत गाड्न चाहिँ सबै गाड्छन्, कोही लुकेर कोही फुकेर ।
पिँडालीजी व्यक्तित्वका हिसाबले लाल, बुझक्कड र झक्कड चाहिँ पक्कै हुन् । आफैले देखेका थाहा पाएका कुरा, चित्त नबुझेका कुरा यथोचित घोरल्छन् भित्र लुकाउनुभन्दा खोल्नु नै जाति हुन्छ । उनले राम्रो नराम्रो बलियो कमजोर जे लेखे आफ्नै नाममा लेखे । उनको खै खै र अचेलका साप्ताहिकका दरो तुलना गर्दा आकाश पाताल फरक छ र त्यो फरक विशुद्ध साहित्यकार र गन्धा राजनीतिज्ञ बीचको फरक झैँ छ । यसैले उनलाई हेर्दा कोणहरू फरक गर्नु पर्छ । तर मलाई मन पर्ने पिँडाली खै खै का हुन् र व्यक्ति चाहिँ अहिलेका ।
पिँडालीजीसँग कौवा प्रकाशनका कम्पनीमा काम गर्दा नजिकिएको हो । त्यसो त भैरव पनि एक ड्याङका हुन आएका छन् । भैरवले बिग्रँदो व्यवस्थाको वकालत गरे झैँ पिँडालीले गोरखापत्रमा गरे गरेनन् थाहा छैन र आफ्नै पत्रमा आफ्नै गथासो चाहिँ कम्ती गरेनन् । उनले रामको नाम कर्म लिएका छन् । पिँडालीले मेरो दिलमा जति मिठो छाप पारेका छन् उनको हास्यव्यङग्यले, मैले पार्न नसकेरै यसो भएको हुन सक्छ । हुन त अगाडि भन्ने कुरा हैन उनीसँग परिचय भएदेखि नै म भित्री हृदयले उनलाई सम्मान गर्छु ।
उनीसँग कैयन पल्ट साना ठूला यात्रामा सरिक पनि भएको छु र रमाइलो मानेको छु । उनीसँग भेटघाटमा कुराकानी गर्दा पराई जस्तो अनुभव गर्दिनँ । बरू उनका समसामयिक कैयन लेख पराई अनुभव गरेको छु । ‘खै खै’ स्तरका व्यङ्ग्य बिनोद कम पाए पनि भेटे जति पढ्ने गर्छु । कहिलेकाहीँ भित्रदेखि हाँसो निकालेको छु, नाँक चेप्याएको पनि छु । कसैकसैले पिँडाली झरे भन्दा झरेको अनुभव गरेको छु । तर यो उमेरसम्म लेखेको देख्दा उनको दान कम तेजिलो मान्दिनँ । किनकि म चाहिँ पचास नपुग्दै थाक्न थालेको छु ।
एकपल्ट हास्यव्यङ्ग्यको दोहरी चलाउने हिसाबमा उनको साप्ताहिक कार्यालय पुगेँ सामग्रीसाथ तर छापिने बेलामा मैले लगेको कचकचे काका र चकचके भतिजो एकोहोरो मात्र छापियो । नयाँ ढाँचा र ढर्रामा त्यति नआए पनि उनका हास्यव्यङ्ग्य रमाइला छन् । लेखाइ सबै सुन भन्ने पक्षमा म छैन । तर सबैमा केही स्थान छ भन्ने पक्षमा म छु । उनी हास्यव्यङग्यका दृष्टिमा भैरव जस्तै आफ्नै पारामा दरा छन् । उनको सरलताले कैंयन स्थितिमा डिग्री प्राप्त स्रष्टालाई उछिनेका छन् ।
उनको रचना राम्ररी छानेर पाठ्य पुस्तकमा रहने हो भने कम प्रभावकारी हुन्नन् । पिँडालीले बेइमानी चाहिँ एक ठाउँमा गरेका छन् । त्यो के भने त्यत्रो लेखे पनि हास्यव्यङ्ग्य उपन्यास अझसम्म दिएनन् । उनका सबै सिर्जना हास्यव्यङ्ग्यभित्रै पारिदिएको भए क्या मज्जा हुने थियो र हास्य-व्यङ्ग्यका हाकिम भन्नुहुन्थ्यो ।
पिँडाली जी हास्यव्यङ्ग्य लेख्दा राम्राे घुइक्याएँ ठान्नुहुन्छ (?) किनकि उहाँभित्र ज्वालामुखी छ । उहाँ कतिपल्ट मकहाँ पीडा पोख्न मनसम्म आइपुग्नु भएको छ । निश्चय नै उहाँको कामको कदर त्यति भएन । अहिले केही भएर केही गरिए हास्ने पुर्पुरो पुरस्कार, भैरव पुरस्कार र यो पिष्डाङ्क पिँडाली उन्नयनको पूजा मात्रै पर्छ । अरु पनि झर्न बाँकी होलान् । दाँत झरिसकेपछि कसार के काम ? हरियो काँक्रोको पनि समय हुन्छ ।
पिँडाली पूजा जति हुनुपर्थ्याे त्यो चाहिँ भएको छैन । तर यहाँ कसको नै कामको मूल्यांकन गरी के र कत्रो नै पूजा भएको छ र ? व्यक्ति छोडी कृति हेर्ने हो भने गतिलो लेख्नेले तागतिलो टनिक पाएका छैनन् । यस अनुसार उनले जे पायो त्यो नै सुनको स्याउ सम्झनु पर्छ । उनी अझ पूजा सरजाम देख्दा घाँटी तन्काउँदै होलान् । तर म त भन्छु कलम तन्काउँदै जानोस् खुट्टा तन्काउने बेलासम्म सन्तोष कसो तन्काउन नपाइएला । लेखकले पाउने यो देशमा आत्मसन्तुष्टि मात्र हो । भैरवले जिउँदामा त्यति श्रद्धा पाएनन् । मरेपछि चाहिँ ढोलक ठटाइँदैछ । तपाईंको ढोल चाहिँ गोकणर्को भीरको भेलसँग गाँसिएको छैन ।
पिँडालीका कैंयन हास्यव्यङ्गयले मलाई हँसाएको छ । मलाई जुन पायो त्यो लेखले हँसाउन सक्दैन । मेरो मन र मस्तिष्क छुने हास्यव्यङ्गय नेपालीमा कमै रचिएका छन् । धेरैजसो गाउँले ठट्टा प्रकारका र बौद्धिक नाममा असन्तोषको दुर्गन्ध र संस्कृतिको साँगुरो घेरामै घुमेको भेटेको छु । हास्यव्यङ्गय सबैबाट उठेर उच्च निश्छल र निर्मल हुनुपर्छ । म आफै पनि कमजोर छु, पिँडालीको हास्यव्यङ्गय प्रायः भरवकै जस्तो तर अलि खुकुलो एक ढर्रा भएपनि टर्रा छैन । हास्यव्यङ्ग्यका व्याप्ति कम छ । शैली, प्रयोग, विषयवस्तुको व्यापकता र चमत्कार त्यति जम्न नसके पनि सामान्यतः हँसाउँछन् । सामयिक र वैयक्तिक बढी एकातिर जाने अर्कातिर घनत्व कम छ ।
भैरवको पनि बौद्धिक छनक केही पाइन्छ भने पिँडालीमा एकोहोरो सनक भेटिन्छ पछिल्ला सिर्जनामा । पिँडाली कहिलेकाहीँ नक्कल गर्न पछि पर्दैनन् । मलाई पनि आफूले पढेका लेखले प्रभाव पारेका छन् । र मैले नेपालीकरण गर्ने प्रयास गरेको छु । विषयवस्तु कसैको पनि पेवा हुन्न तर बुनोट एवं शैली वैशिष्ट्य हुन सक्छ । भाषान्तरण गर्दा शैलीले संस्कृति फेर्दै छ । घटनामा संस्कृतिको छाप छ भने त्यसको विशेषता रहन्छ । प्रत्येक लेखमा कसै न कसैको छाप पर्छ । त्यो छापको नाप गर्दा नक्कल उत्रिन्छ भने चोरी, संस्कृति अनुवादित हुन्छ भने मौलिक बन्दछ । लेखकले विश्वज्ञान, अध्ययनलाई पचाएर आफ्नो भाषा साहित्य समृद्ध पार्न हरप्रकारको प्रयास गर्नु पर्दछ, तर ठाडो नक्कल हैन । नेपालमा गद्यतर्फ हास्यव्यङ्ग्य कुनै अरू देशमा भन्दा किमार्थ कम्ति स्तरको छैन । तर कालजयी साहित्यिकता पिँडालीमा अत्याधिक देखिँदैन । त्यस्तै स्थानजयी व्यापकता भैरवमा ।
पिँडालीजीको हास्यव्यङ्ग्य र हास्यव्यङ्ग्यकार सम्बन्धी धारणामा एकलौटी सोचाइभन्दा पनि एकलौटी लेखाइ मात्र आएर छरिएको छ । उहाँको समयमा हास्यव्यङ्ग्यकारको सङ्ख्या अत्यल्प थियो । आज यसको फैलावट निकै भएको छ । आज कस्सिएर कस्सिएको लेख्ने भोलि पातलो र सीमित हुन सक्दछ र थोरै कृति मात्र बच्दछ । आजका साँघुरा गफ भोलि पट्ट नबुझिने वा बाँझिने मात्र हैन सांस्कृतिक सामाजिक परिवर्तनले निरर्थक हुन पुग्दछ । अतः मूल्य (प्रवृत्तिमाथिको व्यङ्गय) नै पञ्चतन्त्र झैँ हजारौँ वर्ष टिकाउ हुन सक्छ । यस दृष्टिले पिँडालीले जति सामयिक लेख लेखे त्यो चुलोको दाउरा मात्र हो ।
पिँडालीको लेखाइ हास्यव्यङ्गयमा सरल र तरल छन् भने भैरवकामा जटील र ठोस जुन भोलि सरल बन्न सक्छ विकास क्रममा । लेखाइ घनत्व बढी भैरवमा भए पनि आकर्षणको महत्व पिँडालीमा बढी छ । जेहोस् दुवैका आाफ्नै विशेषता छन् र त्यो खुट्याउने काम मेरो हैन । भविष्यका पिँढीलाई जो स्वजाती, स्वनाता, स्वमित्र आदिभित्र नपुगी स्वच्छ र स्वतन्त्र ढङ्गले अनुसन्धान गर्छ उसले नै गुँड फेला पार्छ । हुन त लेखकको शिक्षा र अध्ययनको पृष्ठभूमिमा हेर्दा भैरव जति माथि हुनुपर्थ्याे त्यति छैनन् र अनुभव स्वाध्यायनका दृष्टिले पिँडालीमा धेरै अनुभव र लामो जीवन भए अनुसार जति हुनुपर्थ्याे त्यो भएन । तर दुवै आफ्नो ठाउँमा चुलिएका छन् । आजको सूचना प्रवाहको दुनियाँमा हास्य व्यङ्ग्यकारको जिम्मेवारी जटील र मार्ग कठिन छ । विश्व बुझेर भाषाको मालिश गरी शैलीको पहलवानीबाट ठूला ठूला शक्तिलाई गाल्न पगाल्न र व्यङ्ग्यवाणले ढाल्न कम परिभ्रष्ट पर्दैन । हास्यव्यङ्ग्यको गहनता बुझ्दै आएपछि यसको लेख्ने आँट हराउँदै जान्छ । यो आँट पिँडालीमा प्रखर छ त्यसैले उनी लेखाइको डिसेन्ट्रीका लागि कहिलेकाहिँ हावभाव निकाल्दछन् । यो अस्वाभाविक हैन । तर हास्यव्यङ्ग्य स्रष्टामा खनिनु हुन्न ।
यो दुनियाँमा हास्यव्यङ्ग्यकार साहित्यको सर्वोच्च शिखर स्रष्टा भए पनि सबैको आँखाको तारो भएर गइरहेछ । किनकि भ्रष्टाचार, अनैतिकता र विकृति बढ्दो छ । समाजमा बेइमानको सङ्ख्या बढ्दो छ जो आफ्नो करतूत उदाङ्गिएको हेर्न सक्दैन । र अचेलका प्रायः लेखकले उग्र संवेगमा साहित्य बोल्दा नारा हुन गएका छन् । यसैले सफल हास्यव्यङ्ग्यकार तिनै हुन् जो आफ्नो टार्गेटलाई हँसाइ हँसाइ ढाल्छ । र उसको खराबीको धतुरो झारेपछि हिँड्ने बाटो देखाउँछ । साप्ताहिक बाध्यताले पिँडालीका पछिल्ला लेखोटमा खोट लगाउने ठाउँ छन् र भुसमा कनिका जस्तै नभएका हैनन् । तर विशुद्ध हास्यव्यङ्ग्यकारका रूपमा उनका कृति थोरै भएपनि विशिष्ट छन् । र कोहीभन्दा कम्ती छैनन् । यसलाई नै मैले पिँडाली पराक्रम मानेको छु ।
०००
‘उन्नयन’ १३, केशवराज पिँडाली विशेषाङ्क (२०५०)
Subscribe
Login
0 Comments
Oldest