सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आफ्ना बारेमा आफैँ बक्नुपर्दा

एउटा सिर्जनशील साहित्यकारका लागि अन्धो भएर बाँच्नु कम कष्टकर त अवश्यै पनि हुने हैन । तर रोएर कराएर पनि त आँखाको ज्योति मैले पाउने होइन । व्यर्थै म अहिलेदेखि नै किन कल्पन थालुँ ?

Nepal Telecom ad

केशवराज पिँडाली :

मेरो जन्म १९७१ साल माघ १६ गते यसै काठमाडौंमा भएथ्यो । यसो हिसाब गरेर हेर्दा त यो २०५० साल माघ १६ गते म त पूरै ७९ वर्ष पूरा गरी ८० वर्षमा पो टेक्न पुगिसकेछु । अचम्म लाग्छ, यति धेरै वर्ष कति छिटै मिलिक्क भएर बितेछन् । म बूढो भएँ, अब काम गर्न सक्दिन, जाने बेला भई नै पनि सक्यो भनेर निष्क्रिय भई बस्न मैले कहिल्यै चाहिनँ । मेरो लामो जीवनको मूल कारण शायद मेरो अहिलेसम्मको यही त्रियाशीलता नै हो कि ?

म यो पनि भन्दिनँ म ८० वर्षको भइसक्दा पनि २५ वर्षको युवा सरह नै बलियो र सक्रिय छु । उमेर अनुसारको शैथिल्य व आइनै हाल्दछ । मनमा शैथिल्य नआओस्, बस् यत्ति भए जीवन कष्टकर हुँदैन र सुखको अनुभव भई बाँच्न सजिलो हुन्छ ।

मानिसहरू प्रायः मसँग सोध्ने गर्दछन् के खाएर यति लामो उमेर पाइस् ? उही त हो नि औसत नेपालीले जे खान्छन् त्यही दाल, भात र तरकारी । अनि आय अनुसार दूध, दही, माछा, मासु । म आफूभन्दा माथिल्ला स्तरका सम्पन्न व्यक्तिहरूलाई हेरेर आफ्नो अवस्थालाई लिई कहिल्यै कल्पिन । सधैँ आफू भन्दा तलकालाई हेरेर सन्तोष लिने गरेको छु र आनन्दमा छु । अखबार चलाएको छु । ५/६ घण्टा कार्यालयमा गएर बस्दछु । सकेको काम गर्छु । के खाऊ के लाऊको समस्या छैन । कसैको ढोका धाउने गरेको छैन । बिहान २ घण्टा जति घरमा बसेर साहित्यिक कृतिहरू पनि तैयार पार्दछु । जनता बडा चाखले पढ्दछन् । तिनवाट जुन आदर, सम्मान र प्रशंसा पाउने गरेको छु त्यो नै मेरा लागि बाँच्ने र अरू लेख्न उत्प्रेरित गर्ने सम्वल हुने गरेको छ । म रोई रोई बाँच्न चाहन्न । खुशी खुशी नै बाँचिरहेछु ।

मलाई खास त्यस्तो रोग पनि केही छैन । ‘गाउट’ ले भने बराबर सताउने गरेको छ । डाक्टरहरूको भनाइ छ ‘गाउट’, ‘रिउम्याटिज्म’ सम्पन्न मानिसलाई लाग्ने रोग हो रे । गरिब गुरुबालाई यसले छुँदैन रे । भनाइको अर्थ के हो त भने यो रोग प्रायः गरी धेरै ‘प्रोटिनस’ (पौष्टिक) खाना खाने व्यक्तिलाई हुन्छ । ठीकै छ, गुठिल नभए पनि सम्पन्नताको धाक दिन सकिने रोग एउटा त पाइएछ । २०२६ सालतिरको कुरो हो । म तिनताक कलकत्तामा थिएँ । २०१७ साल पुष १ गतेको राजनैतिक महामारीबाट बच्न टाप कसेर कलकत्ता पुगी लाहुरे बनेको थिएँ । त्यसदिन बिहान उठेर खाटबाट तल ओर्लन खोज्छु त दाहिने खुट्टाको बुढी औँलो त सुन्निएर पाकेको गोलभेँडा जस्तो भई टन्टन् टन्किरहेको । लाग्यो, लो मार्‍यो, पक्डेछ फेरि गाउटले । यो पाजी गाउट भन्ने रोग यति बदमास छ यसले एकबाजी समातेपछि फेरि जीवनभर छोड्दैन । यसले ध्याच्च-ध्याच्च दुःख दिई नै रहन्छ । फेरि यो चलाख यस्तो हुन्छ, यो प्रायः राति निदाएको बेला लुसुक्क आएर शरीरका तल्ला जोर्नीहरूमा चोर पसे झैं खसुक्क पस्ने गर्दछ । अनि त बिहानीपख बिउँझेर हेर्‍यो, कहिले घूँडा, कहिले गोलिगाँठा त कहिले औँला सुन्निएर कर्कर् दुखिरहेको हुने ।

डाक्टर लिन पठाएँ । उनी आए । सोधेँ, “डाक्टर ! गाउट भयो । के औषधि खाने ?”
उनले झौलो यसो हेरे, छामेर औषधि लेखिदिए । अनि सोधेँ पनि “तपाईंका बाबु, बाजेलाई पनि थियो यो रोग ?”
मैले भनेँ “डाक्टर ! के रोग पनि आनुवंशिक हुन्छ ? बाबु, बाजेलाई भएको रोग उत्तराधिकारमा सन्तानले लिनै पर्छ ?”
उनले मुसुक्क हाँसेर भने “सम्पत्ति मात्र लिन्छु रोग चाहिँ लिन्न भन्न पाइन्छ त ?”
मैले फेरि सोधे “उमेर पनि आनुवंशिक हुन्छ त ?”
उनले भने “अधिकांश हुन्छ ।“

यति भनेर डाक्टर हिँडी पनि हाले । अनि यता म सोच्न थाले के त उसो भए मेरो जानेबेला भयो अब ? डाक्टरका अनुसार त भयो, किनभने मेरा बाजे र बाबु दुवै ठीक ५५ वर्षको उमेरमा परमधाम भएथे । म पनि अहिले ५५ को भएँ । तर इलामका ज्योतिषी गजाधरले त मेरो मृत्यु ७४ वर्षको उमेरमा हुन्छ भनी लेखेरै दिएका छन् । तर म भने अझ बढी बाँच्न चाहन्छु । हेरिहालौँ न त ज्योतिषी गजाधर, डाक्टर र ममा कसले जान्दोरहेछ ।

२०१६ सालतिरको कुरो हो । इलामका एकजना ज्योतिषी गजाधर प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकहाँ बराबर आइरहन्थे । उनले मातृकाप्रसाद कोइरालालाई २ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका रहेछन् । त्यो मिलेछ पनि । त्यसैले कोइराला निवासका आइमाईहरूमा उनको ठूलो भाउ थियो । तर बी. पी. लाई भने यस्ता कुरामा कति पनि विश्वास थिएन । गजाधरलाई पनि यो थाहा थियो ।

उनी प्रधानमन्त्री निवास धाउनाको कारण चाहिँ अर्कै थियो । उनी उनका छोरालाई जागीर दिलाउन चाहन्थे । तर उनका छोरालाई जागीर दिन नसकिने त्यस्तै कारण थियो । त्यसैले प्रधानमन्त्रीले पन्छाउनको लागि एक दिन उनलाई भनिदिनुभयो “जागीरको कुरो त मसँग होइन मेरो निजी सचिवसँग यो भन्नुपर्छ त ।” बस अनि के थियो ज्योतिषी त मेरो हिल्ला लागि हाले ।

उनले यो पनि थाहा पाएछन् प्रधानमन्त्री जस्तै प्रधानमन्त्रीको निजी सचिव पिँडाली पनि नास्तिक छ । ज्योतिषविद्या, भूतविद्या, प्रेतविद्या, टुनामोहनी आदिमा विश्वास गर्दैन । अनि सोध्दै खोज्दै पुगेछन् मेरो घर र हात पारेछन् मेरी पत्नी दुवैजनाको चिना । विशद अध्ययनबाट दुवैको जीवनभरको फलाफल लेखेर बुझाई पनि दिएछन् । एकदिन पत्नीले उक्त फलाफल देखाइन् पनि । पढ्छु त मलाई त उनले पलङमा बसेर खाने चमत्कारी भाग्यको मान्छे पो बनाइदिएछन् । अनि आयु कति दिएछन् त भनेर यसो हेर्छु त ७४ वर्ष दिएका रहेछन् र अन्तिम २ वर्ष त मलाई विधुरावस्थामा पो डल्याइदिएछन् । अर्थात् म बहत्तर वर्षको पुग्नासाथ मेरी पत्नी भगवानकी प्यारी हुने भइछन् ।

तर मेरा सम्बन्धमा उनले भविष्यवाणी गरेको कुनै कुरा पनि त मिलेन । ७४ वर्षको उमेरमा मर्छस् भनेर लेखेका थिए । त्यो सीमापार गरेर अगाडि बढेको पनि आज पाँच वर्ष बढी भइसक्यो । मेरी पत्नीलाई उनले आज भन्दा सात वर्ष अघि नै जानुपर्ने तुल्याएका थिए । तर उनी त झन् “श्रीमान् ! पहिले तिमी, अनि मात्र म” भने झैँ गरी झन् झन् बलियी पो हुँदैछन् । यसैगरी उनले मसाई बुढेसकालमा पलङमा बसीबसी खाने अपाङ्ग जस्तो बनाइदिएका थिए । त्यसको विपरीत म त झन उल्टै दिनको ५।६ घण्टा कुर्सीमा बसी काम गरेर खाने सक्रिय मान्छे पो भएँ ।

भनाइको तात्पर्य के त भने अति महत्वाकांक्षी बनेर सदा असन्तोषी भई बाँच्न मैले चाहिनँ । मेहनत गर्न छोडिन । परिश्रमबाट जो प्राप्त भयो त्यसैमा रमाएँ । “यत्ने कृते यदि न सिध्यति कोऽत्र दोष” मेरो मूल सिद्धान्त नै यही रहेर आएको छ ।

स्कूली शिक्षा त पूरा गरेँ तर कलेजको दैलोसम्म पनि पुग्न चाहिँ पाइन । जागीरमा लागे । त्यसै समय साहित्यमा पनि लागे । मेरो सबभन्दा ठूलो शोख पुस्तकहरू किन्नु र पढ्नु रहेर आएको छ । म आफ्नो कमाइको झन् तीन भागको एक भाग यसैमा खर्च गर्दछु । पढ्नु, लेख्नु, बस मेरो फुर्सदको अधिकांश समय यसैमा खर्च हुन्छ । यसो सम्झन्छु म साहित्यमा लागेको पनि पूरै ५६ वर्ष भएछ । अझै थाकेको छैन । शरीरमा केही शैथिल्य आएता पनि दिमाग र कलममा अझै शैथिल्य आएको छैन । साहित्य लेखनबाट जीवन वृत्ति चल्ने भइदिएको भए म अझै कति लेख्ने हुँदो हूँ ।

यस धरातलमा म अलि चाँडै नै आएछु कि क्या ? देश समृद्ध भइसकेपछि र जनताको साक्षरता शत प्रतिशत पुगिसकेपछि आएको भए अनि पो म पनि विश्वका समृद्ध देशका साहित्यकारहरू साहित्यको साधनबाट सम्पन्न भए झैँ सम्पन्न हुने थिए । मैले यसो भनेर आफ्नो वर्तमान जीवनप्रति असन्तोष गरेको होइन । म आपतो जीवनप्रति पूर्ण सन्तुष्ट छु । देशका औसत नागरिकलेभन्दा बढी सुविधा मैले भोगेको छु । आफ्नै अध्यवशायबाट अंग्रेजी, हिन्दी, बङ्गाली, उडिया र नेवारीको मलाई राम्रो ज्ञान छ । भारतका विभिन्न माग, श्रीलङ्का, रसिया, फ्रान्स, संयुक्त राज्य अमेरिका, क्यानडा र डेनमार्क आदि देशहरूको निकै पटक भ्रमण पनि गरिसकेको छु । यसरी ७६ वर्षको जीवनमा यसो फर्केर हेर्दा असन्तोष लिनु पर्ने ठाउँ कहीँ पनि त म भेट्टाउन्न । शायद मैले सुख बोध गर्नुको कारण पनि सन्तोवम् परम् सुखम’ यही नै हुनु पर्दछ ।

हो यता आएर भने एउटा कुरोले मन अलि बिथोलिन थालेको छ । अन्धो हुने पीडा-बोधले, यता केही विचलित तुल्याउन थालेको छ । ‘म्याग्निफाइड ग्लास बिना पढ्न त नसक्ने नै भइसकेको छु । दिल्लीका तीन तीन आँखाका डाक्टरहरूले मेरो आँखाको उपचार भारतमा हुन नसक्ने ठोकुवा गरिसकेका छन् । एउटा सिर्जनशील साहित्यकारका लागि अन्धो भएर बाँच्नु कम कष्टकर त अवश्यै पनि हुने हैन । तर रोएर कराएर पनि त आँखाको ज्योति मैले पाउने होइन । व्यर्थै म अहिलेदेखि नै किन कल्पन थालुँ ? युरोप, अमेरिकातिर पुग्न सके केही हुँदो पनि हो । तर यही पनि त मेरा लागि आकाशको फल हो ।

०००
‘उन्नयन’ १३, केशवराज पिँडाली विशेषाङ्क (२०५०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
शूरवीरहरूको नरकयात्रा

शूरवीरहरूको नरकयात्रा

केशवराज पिँडाली
म प्रधानमन्त्री भएपछि

म प्रधानमन्त्री भएपछि

केशवराज पिँडाली
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’