साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय पोशाक : गणथैलो ?

पोशाक भन्ने कुरो यस्तो हुनुपर्दछ जुन पहिरिँदा मानिसले कुनै समय पनि असुविधा र अप्ठ्यारोको अनुभव नगरोस् । सूट, प्यान्ट, कोट, ज्याकेट, कमीज, बुशशर्ट आदि विश्वमा लोकप्रिय हुनाको एकमात्र कारण लवाईमा सुविधा हो ।

Nepal Telecom ad

केशवराज पिंडाली :

मेरो ससुरा हेरम्बप्रसाद उपाध्याय वर्तमान नेपाली पहिरन दौरासुरुवाल, कोट, इस्टकोट, टोपी, मोजा, जुत्ता आदिलाई गणथैला भन्ने गर्नुहुन्थ्यो । गणथैलोको अर्थ के हो त्यो मलाई थाहा छैन । शब्दकोशमा पनि मैले यस शब्दलाई भेट्टाउन सकिनँ । तर पनि म यति चाहिँ भन्न सक्दछु उहाँले यो गणथैलो शब्दको प्रयोग नेपाली पोशाकको प्रशंसामा चाहिँ निश्चय गर्नु भएको थिएन ।

उहाँ पेशाले वकिल हुनुहुन्थ्यो । तिनताक वकिलहरूले अदालतहरूमा बहस गर्दा राष्ट्रिय पोशाक दौरासुरुवालमाथि कालो कोट लगाउनु अनिवार्य थियो । गर्मीका याममा अदालतमा बहस गरेर घर आइपुग्नासाथ उहाँ कोट, दौरासुरुवाल, टोपी, मोजा आदि फतफत फुकाल्दै दिक्कको स्वरमा भन्ने गर्नुहुन्थ्यो- “ज्याने लियो बा ! यस गणथैलोले त ।”

राष्ट्रिय पोशाकमा दरिएको वर्तमान नेपाली भेषभूषालाई गणथैलोको हेय नामले पुकार्ने मेरा ससुरा हेरम्बप्रसाद एक राष्ट्रवादी व्यक्ति नै हुनुहुन्थ्यो र राष्ट्रियता पोशाकका बानाहरूमा गएर बसेको हुन्छ भन्ने कुरा उहाँ मान्नु हुन्नथ्यो । उहाँ पश्चात्य भेषभूषाको प्रेमी पनि हुनु हुन्नथ्यो । प्यान्ट उहाँको खुट्टामा आजन्म परेन । कश्मिरबाट लद्दाख जाँदा भने घोडा चढ्न सुविधा हुने हुँदा उहाँले बृचिशसम्म लगाएको चाहि मलाई थाहा छ । उहाँ कमीज सुरुवाल, कुर्ता सुरुवाल, जवाहरकोट, कोट मनपराउनु हुन्थ्यो । यो ऋतु अनुसार ऊनी, सुती हुने गर्दथ्यो ।

राष्ट्रिय पोशाकमा गरिएको वर्तमान हाम्रो पोशाकले गर्मी याममा वास्तवमा नै ज्यान लिन खोज्ने कुरो सबैले नै अनुभव गरेको हुनुपर्दछ । दौरासुरुवालमा टिमटाम भएर सजिनका लागि भित्री लुगाको पनि आवश्यकता पर्दछ । अन्यथा लुगा टम्म नमिल्ने र सुरुवालको बाहुलामाथि सर्ने भएर मान्छे खरिगाँठे देखिने गर्दछ । अब यसमाथि पनि कोट पहिरने पन्यो । पापी मान्छे मरेपछि कुम्भीपाकमा पर्छ पर्दैन त्यो मलाई थाहा छैन । तर गर्मी याममा राष्ट्रिय पोशाकमा सजिसजाउ भएर अड्डा अदालतमा ६ घण्टा र राष्ट्रिय पञ्चायतमा आठ दश घण्टा बस्नु हुने महानुभाव र माननीयहरूले कुम्भीपाकमा परेको अनुभव चाहि अवश्य पनि गर्नु भएको हुनुपर्छ ।

मेरो यस लेखलाई आशा छ, कसैले पनि राष्ट्रिय पोशाकको अनादर गरेको अथवा खिसिट्याउरी गरेको प्रथमा लिने छैन । मैले यहाँ भन्न चाहेको सरल र साधारण कुरो के हो भने वर्तमान हाम्रो राष्ट्रिय पोशाकमा गरिएको भेषभूषा व्यावहारिक छैन । त्यसले परिवर्तन हुनु आवश्यक छ ।

पहिले त म के सोध्न चाहन्छु भने राष्ट्रिय पोशाकमा दरिएको वर्तमान हाम्रो भेषभूषा के वास्तवमा नै हाम्रो आफ्नै राष्ट्रिय हो ? हाम्रा दुई अढाई सय वर्ष मात्र अघिका हाम्रा पुर्खाहरू पृथ्वीनारायण शाहू, भीमसेन थापा, दामोदर पाण्डेहरूलाई चित्रमा के कसैले दौरा- सुरुवाल, कोट, टोपीमा सजिएको देखेको छ ? दुई अढाई सय वर्ष अघिको कुरालाई छोडेर डेढ सय वर्ष अधिको मात्र कुरा गर्ने हो भने पनि दौरासुरुवाल र कोट पहिरेको जङ्गबहादुरको कुनै चित्र मैले देखेको छैन ।

तिनताक सम्भवतः माथिल्ला तहका भाइ भारदारहरुले लगाउने पोशाक सुरुवाल, जामा तथा पगडी थियो र जनसाधारणको पोशाक चाहिँ दौरासुरुवाल, पटुका तथा टोपी थियो । किसान र श्रमिकहरू भोटो वा फन्तु तथा कछाड लाउने गर्दथे । कुमाउ, गढवाल तथा गुजरात, काठियावाइ तिरको पोशाक पनि यस्तै हुने गर्दथे । तर उताका मानिसले चाहिँ यस असजिलो पोशाकलाई त्याग्दै गइरहेका छन् तर हामी भने त्यही दौरासुरालमा केही परिष्करण गरेर त्यसमाथि पश्चात्य कोट उनेर आफू राष्ट्रिय पोशाकमा भएको दावी गर्न थालेका छौँ ।

पोशाक भन्ने कुरो यस्तो हुनुपर्दछ जुन पहिरिँदा मानिसले कुनै समय पनि असुविधा र अप्ठ्यारोको अनुभव नगरोस् । सूट, प्यान्ट, कोट, ज्याकेट, कमीज, बुशशर्ट आदि विश्वमा लोकप्रिय हुनाको एकमात्र कारण लवाईमा सुविधा हो । चीन तथा जापानको आफ्नै परम्परागत पोशाक थिए । तिनले पनि अब आफ्ना ती अफ्ठ्यारा पोशाकहरू त्यागेर सुविधापूर्ण आधुनिक पोशाकहरू लगाउन थालिसकेका छन् । एसिया, युरोप तथा अमेरिकाका अधिकांश देशहरूमा अब अहिले आएर सरकारी तथा गैर सरकारी कार्यालयहरू तथा कारखानाहरूमा काम गर्नेहरूका लागि पोशाक यस्तै हुनुपर्छ भन्ने बाध्यता छैन । सबै आफू खुशी छिटा छरिता पोशाक लगाउन स्वतन्त्र छन् । हामीले पनि छिटो, छरितो र सुविधाको दृष्टिबाट सेना र प्रहरीको राष्ट्रिय पोशाकलाई तिलाञ्जली दिएर आधुनिक पोशाकमा सुसज्जित तुल्याएका होइनौं र ? गर्मी याममा हाम्रा तराईका अड्डा अदालतहरूमा राष्ट्रिय पोशाकमा सज्जित भएर बस्नु सम्भवतः कुम्भीपाकमै पर्नु जस्तो हुन्छ । त्यसैले तराईतिर राष्ट्रिय पोशाक पहिरिने बाध्यता पनि छैन । यस्तै संस्थानका तथा ब्यांकका कर्मचारीहरू पनि बिरलै मात्र राष्ट्रिय पोशाकमा हुन्छन् । दौरासुरुवालमाथि एउटा पश्चात्य कोट भिराएर राष्ट्रियता थाम्ने असुविधापूर्ण महंगो जिम्मेदारी केवल झण्डामुनिका भवनहरूमा बसेर काम गर्ने मुट्टिभर निजामती कर्मचारीहरूको मात्र भएको छ ।

कार्यालयहरूका समयमा बाहेक चिनियाँ टेरिकटनको दौरासुरुवाल, जापानी टेरिउलको बेलायती कोट, बंगलादेशको ढाकामा बुनेको नेपाली ढाका टोपी, अमेरिकी उनी मोजा र ब्यांककमा तैयार जुत्तामा सजिएर नेपाली राष्ट्रियताको संवद्र्धन गर्न तत्पर नेपालीलाई मैले देख्न पाएको छैन । मेरो भनाइको तात्पर्य के हो त भने हाम्रो देशको विविधतापूर्ण  शितोष्ण हावापानीको देशका लागि राष्ट्रिय पोशाकमा निर्धारित हाम्रो वर्तमान पोशाक ठिक छैन । देश, काल तथा जलवायु अनुसार यसमा परिवर्तन हुनु आवश्यक छ ।

०००
व्यङ्यैव्यङ्ग्य (२०४५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x