साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी उस्तै लाग्ने अनुहारहरू !!!

उसका खुट्टामा चप्पल हैन कि एक बित्ता अग्लो कुर्कुच्चा भएको जुत्ता थियो । एउटै प्रहारले म जस्ताको मिति पुग्ने । मैले दश औँला जोडेर “हे” “हे” “हे” “हे” गर्दै भने “मैले त आफ्नी बहिनी भन्ने ठानेको तर धोका हुन गएछ । जानेर गरेको हैन ।”

Nepal Telecom ad

केशवराज पिँडाली :

Keshab Raj Pidali

संसारमा प्राणी मात्रको रचनामा यति विचित्रता छ कि एउटाको अनुहार अर्कोसँग मिल्दैन । यो नियम मानिसमा मात्र लागू नभएर शायद पशुपक्षी र कीरा-फट्याँग्रामा समेत लागू छ । तर पनि केही अनुहारहरू यति उस्तै लाग्ने हुन्छन् कि मानिस बरावर धोका खाने गर्दछ ।

मेरा एकजना मित्रका दुईटी जुम्ल्लाहा बहिनीहरू छन्- गङ्गा र जमूना जन्मेदेखि नै मैले तिनलाई देख्दै आएको छु । अब त ती विवाह गरी वरी घरजम गरेर बस्ने पनि भइसकेका छन् । तर पनि तीमध्ये कुनै पनि एउटीलाई भेट्दा मलाई सोध्नुपर्दछ ‘ए नानी ! तिमी कुन चाहि हैं गङ्गा कि जमुना ?’

विचरीहरू मेरो प्रश्न सुनेर लाजले भुतुक्क हुन्छन् । म दाजु पर्नेले धोका खाँदा तिनलाई त्यति हानी छैन तर तिनका पोइहरूले पनि यसरी धोका खान थाले भने परेन बित्यास !

मेरो कान्छो छोरो र मेरो श्रनुहारमा मैले देख्दा केही पनि साम्य छैन । तर कसै कसैलाई भने हामी बाबु-छोराको अनुहार उस्तै लाग्दो- रहेछ । म धेरै वर्षपछि कलकत्ताबाट काठमाडौं आइरहेको थिएँ । हवाई जहाजको परिचारक मलाई खूब आँखा गाडेर हेर्ने गर्दथ्यो । त्रिभुवन विमान घाटमा हवाईजहाज झोर्लेपछि ऊ दोडेर मलाई लिन आएको मेरो कान्छो छोरामा पुग्यो र मतिर चोर्ने औंलो तिखाउँ भन्न थाल्यो “ए ! हेर् त ऊ त्यो चश्मालाई । क्या मिल्दछ त्यसको र तेरो अनुहार । तै पनि बूढो भएपछि त्यस्तै हुन्छस् ।”

मेरो छोरोले मुसुक्क हाँसेर भन्यो, “मेरो बाबु हुन्, अनि मिल्दैन त मसँग अनुहार !” अरू जे होस् त्यस दिन आएर मलाई विश्वास भयो मेरो स्वास्नी सावित्री नै रहिछ भन्ने कुरो ।

यसरी मेरो छोरोको अनुहार कतिले हेर्दा मसँग मिल्दछ र कतिले हेर्दा उसको आमासँग र उसको माहिलो मामासँग पनि मिल्दछ । मेरा माहिला साला काठमाडौंका नामी अधिवक्ता छन् । कतिनका झगडियाहरू बाटो बाटोमा बरोबर मेरो छोरासँग मुद्धाका विषयमा कुरा गर्न आउँदछन् । छोरो बराबर घर आएर झर्किन्छ “कस्ता गधा मोराहरू म हैन अधिवक्ता भन्दा पनि पत्याउँदैनन् ।”

मैले अह्राएको छु “हा ! त्यसो नभनेस् अबदेखि, कसैले फी दिन ल्यायो भने खल्ती दाखिल गरिहाल्नु । मामाको धनले फुफूको श्राद्ध गर्नेमा कुनै अपराध लाग्दैन ।”

२००८ सालतिरको कुरा हो म कमलपोखरीबाट हात्तीसारतिर गइरहेको थिएँ । एकजना भलाद्मीले हठात आएर मेरो घुँडामा ढोग्यो र भन्यो, “सात सय त अलि धेरै भयो हजुर ! पाँच सय गरिदिबक्स्योत् । बेलुका घरमा हाजिर हुन्छु र अनि मन्त्रालयमा आाउछु ।”

यो के हो ? एक छिन त म जिल्ल परेँ र अनि भने “लौ ली पाँच सय सही, खै झिक्नोस् रूपियाँ । घरमा आउने कष्ट किन गर्नुहुन्छ भरे” अनि हात पनि पसारेँ । मेरो अनुहारले धोका दिए पनि शायद व्यवहारले दिएन क्यारे । ऊ अलि सशंकित भए जस्तो भयो र भन्यो “आ… यो बीच बाटामा कारवार गर्नु उचित हुन्न । म भरे घरैमा आउँछु” अनि ऊ हिँड्यो पनि । हामीहरू दुवैजना देखियुन्जेलसम्म फर्की फर्की हेर्दै अगाडि बढ्यौँ ।

यी थिए साधारण खालका घटनाहरू । अब केही गम्भीर खालका घटनाहरूको पनि चर्चा गरिहालुँ । राजनीतिक कारणबाट देश छोडेर गई म कलकत्ता बसेको धेरै न वर्ष भइसकेको थियो । त्यस दिन साँझ रासविहारी एभेन्युमा टहलिँदो भएँ । यस्तैमा वर्ष पचीसकी एउटी बङ्गाली युवतीले मेरो हात हठात समाती र बङ्गालामा सोधी “कहिले आउनु भयो ? सन्चै छ !”

उसको यस्तो धनिष्टता देखी मलाई लाग्यो शायद कुनै परिचिता नै हो । तर अनुहार जति सम्झँदा पनि परिचित जस्ता लागेन । तर पनि मैले बंगालाम उत्तर दिएँ “म यहीं छु धेरै दिन भयो आएको ।’’

अनि उसले आँखा झिम झिम पार्दै बंगालामा मलाई हलुका धक्का दिई र भनी “जाउ म तिमीसँग बोल्दिन । आएको यतिका दिन भइसक्दा भेट्नसम्म पनि नचाउने । हिँड जाउँ घर । दिदी ममीले हिजै मात्र तिम्रो चर्चा गर्दै हुनुहुन्थ्यो ।” अब ऊ मेरो हात समातेर एक किसिमले घिच्याउन नै थाली ।

अब मलाई निश्चय भयो अनुहारमा धोका मैले हैन, युवतीले खाइरहिछ । अनि मैले हात छुडाउँदै भने “शायद तपाईं भ्रममा हुनुहुन्छ । म बंगाली हैन म त नेपाली हुँ” अब उनले मेरो हात चट्ट छोडी र एक बाजि मलाई शिरदेखि टाउकासम्म हेरी । अब उसलाई म सँग माफी माग्ने होशसम्म पनि आएन । भूत नै देखेर भागे झैं ऊ त्यहाँबाट भागी र भीडमा अलप भई । अनि पो मलाई लाग्यो सँगै गएको भए केही उपलब्ध हुन्थ्यो कि, युवतीको सयमा रोजा थिई ।

झण्डै-झण्डै यस्तै घटना २०२६ सालमा काठमाडौंमा पनि घट्यो । म नो वर्षपछि कलकत्ताबाट काठमाडौँ भर्खरै आइपुगेको थिएँ त्यस दिन रत्नपार्कमा बसको प्रतीक्षामा थिएँ । यस्तैमा एउटी युवतीले आएर ट्याप्प हात समाती र सोधी “कहिले आइपुग्नु भयो ?”

म जिल्ल परेँ । अनि भनेँ पनि “यहाँ को हुनुहुन्छ ? मैले त अलि उम्याउन सकिन नि त !”
“भइगयो चिन्न नखोजे ।” उसले रिसाए जस्तो गरी मतिर ढाड फर्काई ।

परेन फसाद ! अब के भन्ने ! ? लाख सम्झे तर पनि त्यस ठिटीलाई मैले ठम्याउन सकेको हैन । अब फरक्क मतिर फर्केर उसले भनी “म कुन्तल हैन, कस्तो नचिनेको ?”

अब लाज मलाई लाग्यो । मेरी साक्खै भान्जीलाई पनि मैले चिन्न नसकिरहेको । घाँघर लाउने सानी बच्ची थिई नवै वर्षमा यति ठूली भइसकिछ ।

यस्तै २ महिना जति अगाडिको कुरो हो म बानेश्वरबाट शहरतिर गइरहेको थिए । धोबीखोलाको पुलमा पुगेपछि एउटा जीपले मलाई उछिनेर अगाडि गयो र पुलको पल्लो छेउमा गएर अडियो । जसै म नगीचै पुगेथे चालकले मुन्टो बाहिर निकालेर मलाई भन्यो “ए गधा ! जाने हैनस् ?”

म छक्क पर्दै टक्क अडिएँ । मेरा लंगोटी नलाउँदैदेखिका साथीहरू पनि मलाई यस्तो सम्बोधनले डाक्दैनन् । यसो नियालेर हेरेँ ऊ एक अफिसर नै थियो । अनि पुष्टिका लागि सोधे पनि ‘मलाई भन्नु भएको !’ अब त ऊ झन् गधाबाट आमाचाकारीमा पो ओल्र्यो र भन्न थाल्यो “….. तेरो हिजोको हाँगोभर अझै सकिएको छैन कि क्या हो ?”

मैले बिनीत भएर भने “मलाई चिन्नु भयो र ?
“तेरो टाउको ! पर्खी तेरो गर्धन नभाँची भएन ।” ऊ त बोल्ने तरखर पो गर्न थाल्यो । भएन के, ‘चिन्नु न जान्नु घचेडी माग्नु ।’ कही सित्तैमा फेला नपरियोस् । मेरो मुखबाट निस्क्यो “ए ! एक थोक बिर्सेछु ।” अनि म फरक्क फर्केर फटाफट बानेश्वरतिर क्विक मार्च गर्न थालेँ । ऊ तैपनि मलाई के के भनिरहेको थियो । तर मैले आजसम्म बुझ्न सकेको छैन यस काण्डमा धोका कसले खाएको थियो त्यसले या मैले । म प्रायः क्रूकड कपाल काट्दछु । त्यस दिन म टेरिकटनको खाकी प्यान्ट, सेतो बुशशर्ट र कटरेजको जुत्तामा थिएँ अब त्यस दिनदेखि यो भेष मैले छोडेको छु ।

अब यो भन्दा पनि चर्को एक घटना बीस दिन जति मात्र अगाडि घटेको छ । मेरी एउटी बहिनी मामाकी छोरी बडो पुक्खली छ । म त्यसलाई भेट्यो कि जिस्क्याउने गर्दछु । त्यस दिन म ठमेलबाट ठँहिटीतिर आइ रहेको थिएँ । देखेँ मभन्दा अन्दाजी पच्चीस कदम अगाडि मेरी त्यही बहिनी ढल्की ढल्की आफ्नो मतापमा हिँडिरहिछ । म छिटोछिटो पाइला चालेर उसको पछाडि पुग्दछु र चूल्ठो झड्कालेर तान्दछु । ऊ “ऐया” भन्दै फरक्क फर्केर हेर्दछे । सर्वनाश ! ऊ मेरी बहिनी थिइन । उसको रातो-पिरो र क्रोधले धपक्क बल्न लागेको अनुहार देखेर मेरो अवस्था त्यहीँ ढल्ने ढल्ने भयो । मेरा आँखा अनायास उसका गोडातिर गए । उसका खुट्टामा चप्पल हैन कि एक बित्ता अग्लो कुर्कुच्चा भएको जुत्ता थियो । एउटै प्रहारले म जस्ताको मिति पुग्ने । मैले दश औँला जोडेर “हे” “हे” “हे” “हे” गर्दै भने “मैले त आफ्नी बहिनी भन्ने ठानेको तर धोका हुन गएछ । जानेर गरेको हैन ।”

बल्ल ऊ केही शान्त जस्ती भई र भनी “भइ गयो जानोस्, तर बीच बाटोमा बहिनीको चुल्ठो लुछ्दै हिंड्ने यो कुन चरन हो तपाईं को ?”

मेरो भद्र अनुहारले मलाई बचाएको जीवनमा पहिलो पटक नै यही हो नत्र जुत्ता नपाउने काम मैले नगरेको हैन ।

०००
‘फेरि उल्टै मिल्यो’ (२०३२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
0
Would love your thoughts, please comment.x
()
x