साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाक्टर लम्बकर्णको क्लिनिक

भोलि-पल्ट' एक बाँस जति घाम चढेपछि पुलुक्क आँखा हेर्छु त सानेकी आमा रोइरहेकी र गाउँले मोराहरू चाहि मलाई टुऱ्याएर लैजान हरियो बाँसको खट पो बान्न लागिरहेको' मधौरुले भन्यो ।

Nepal Telecom ad

केशवराज पिँडाली :

मगरले श्राद्ध गर्याे । मगरनीले सिदा पुर्याई । कहिल्यै श्राद्ध नगरेको भुच्चड मगर, पुरेतले जे जे भने त्यही त्यही भन्न थाल्यो । झोंकी पुरेतले दुई लवडा लगाइदियो। मगरले सम्झ्यो यो पनि श्राद्धविधि नै हो । बेलुकी मगरनी सिदा पुर्याउन गई । रिसले भरिइरहेको पुरेतले सिदासहित मगरनीलाई भन्याङबाट खँगारिदियो। मगरनीले सम्झी यो पनि सिदा पुर्याउने नै एउटा विधि हो। राती अनि मगर र मगरनी आ-आफ्नो घा-चोट सुमसुम्याउँदै विवाद गर्न थाले ‘श्राद्ध गर्न गाहारो कि सिदा पुर्याउन गाहारो ।’ यस्तै अस्ति डाक्टर लम्बकर्णको क्लिनिकमा पुगेर फर्केपछि मेरा मनमा पनि वार वार प्रश्न उठ्न थालेको छ र तिनै मगर र मगरनीहरूजस्ताले भरिभराउ यस देशमा डाक्टर हुन गाहारो कि विरामी हुन गाहारो ?

हम्मेसी डाक्टरकहाँ गइहाल्ने बानी मेरो छैन । दाल-भात मात्र खाँदा पनि बोसो थपिंदो छ, थपिंदो छ। त्यसैले चूपचाप डाइटिङ गर्न थालेको छु। तर यता त्यही मगरनीकी बज्यै होलिन् जस्ती मेरी पत्नीलाई ठूलो चिन्ता भइरहेछ । भन्दछिन् “तपाईंले त खान छोड्‌नुभयो । पुन्टे दमाईको दमाहा जस्तो त्यति राम्रो पेट घटेर गाइनेको सारंगी जरतो भइसक्यो । प्यूठाने मूला जस्ता हात-गोडा पनि सुकेर फापरका डाँठ जस्ता भइ सके। जानोस् न भनेको, एक वाजि डाक्टरकहाँ। कस्तो नीच मारेको !”

कति सुन्नु यो कर कर । अनि त्यसैले लागें म पनि त्यस दिन डाक्टर लम्बकर्णको क्लिनिकतिर । अन्त नगएर डाक्टर लम्बकर्णर्क क्लिनिकमा म किन गएँ त्यो पनि खुलस्त गरिदिइहालु । उनी मेरा सालाको सालाको साला पर्छन् । हाम्रो देशमा अध्यापक, प्राध्यापक, डाक्टर, वकिल आदिसँगको नाता जति टाढाको भए पनि टाढा मानिन्न । त्यसैले म उनलाई आफ्नै साला सम्मान्छु ।

अँ त, त्यस दिन पुगेँ म डाक्टर कम्बकर्णको क्लिनिकमा । उनी भरखर वेलायतबाट के हो कुन्नि पास गरेर आएका थिए । शायद चल्ती बढाउने उद्देश्यबाट फि पनि थोरै नै राखेका थिए क्यारे। त्यसैले उनी मधौरूहरूले घेरिएर बसेका थिए । म पुगें र बडो विनीत भएर दश औंला जोडें र अनि विरामी छु भनी देखाउन अमिलो निचोरेको खोस्टा जस्तो अनुहार लगाई वेंचको एक छेउमा टुसुक्क बसें ।

यस्तैमा डाक्टरले एउटा अधवैंसे मधौरुसँग सोधे, “ल भन्नोस् तपाईलाई के हुन्छ ?”

“खाएको पच्दैन हजुर !” विरामीले जवाफ दियो ।

डाक्टरले नाडी छामे, जिभ्रो हेरे, पेट थिचे र अनि सोधे, “के पखाला लाग्छ ?’

“त्यो सब केही छैन । फगत खाएको पच्दैन । खाएको कुरो पाँच सात दिन त भित्र पच्न पर्ने नि । दिनहुँ खातखुत निस्कन्छ । अनि जीउमा के लाग्ने ?”

रोगीको बयानवाट चकित बन्दै मैले डाक्टरको अनुहार हेरें । देखें उनी पनि छक्क परेर विस्फारित नेत्रले त्यस रोगीको अनुहारतिर हेरिरहेछन् । अब मलाई हाँसो उठेर आयो । म त्यहाँ बस्न सकिनँ । पेट मिच्दै बहिर निस्कें । एक छिनपछि अपचवाला मघौरु भुतभुताउँदै बाहिर निस्क्यो, “के आउनु यस कहाँ, यो केही जान्दै जान्दैन ।”

अब म भित्र पसें । एउटा पुड्के पुड्के शरीरमा हाड र छाला मात्र बाँकी रहेको रोगी डाक्टरको वेइंगमेशीनमा उभिरहेको थियो । डाक्टर र कम्पाउण्डर चकित बनेर मुखामुख गरिरहेका थिए । अनि मैले पनि मेशिनको काँटातिर यस्सो हेरें । हाड र छाला मात्रको अन्दाजी ५ फिट जति अग्लो मान्छेको तौल १६० पाउण्ड थियो ।

यस्तैमा डाक्टरले उनको खाँडीको ओड्ने फुत्त ताने । अनि देखियो उसले काखीमा ठूलो एउटा कुम्लो च्यापेको छ ।

अनि डाक्टरले केही क्रुद्ध भएर सोधे, “त्यो के बोकेको नि ?”

“चामल हजूर ! ओषधी खाएर यहाँ नेपालमा बसुन्जेल खान पच्यो नि” बिरामीले सोझो उत्तर दियो ।

अनि डाक्टरले मतिर हेरेर भने “देख्नुभयो ? इट्स भेरि डिफिकल्ट टू डिल विथ दिज सर्ट अफ पिपल्स् ।”

मैले सहमतिमा ङिच्च बत्तिसी देखाइदिएँ । लाग्यो फी तिर्न नपर्ने भयो अब मैले ।

डाक्टरले त्यस मघौंरुसंगको कारोवार सकेपछि अर्को एक जना सिन्को जस्तो विरामीसंग सोधे, “अँ, तपाईं त पहिले पनि आउनुभएको थियो हैन ? खै पर्चा ? झन् पो खस्क्नुभएछ । के भयो ? छोएन औषधीले ?”

रोगीले १७ गाँठो फुकाली झिकेर डाक्टरको हातमा पर्चा थमायो र अनि ठस्ठसी कन्दै भन्न थाल्यो, ‘आएथे. हजूर १५ दिनअगाडि । हजुरले मासु, दूध, कुखुराको फूल र फलफूल खानु भन्नुभएको थियो । त्यो पनि खाएँ । तर खै झन् पो पेट लागेको लाग्यै भयो । भाउन्न हुन्छ, रिंगटा लाग्छ र उभिन पनि गाहारो पर्छ ।’

डाक्टरले मधाैरुको नाडी समाते र महानुभूत्तिको स्वरमा सोधे ल भनोस के के खानुभयो ? अरु के के हुन्छ ? ‘

मधाैरु फेरि ठस्ठसी कन्दै भन्न थाल्यो, “एक महीनाअगाडि यता-बाट फर्केर गएर घरमा दुइटा कुखुराको भाले काट्न लगाएँ । मासु २ धार्नी त हुँदो हो । अनि त्यसलाई मानेकी आमाले २ माना नाैनीकाे निक्खरा घिउ, एक माना तेल र पाँच मोहरको गरम मसलामा पानी मारेर पकाई । छाकको एक एक चाैटा र लेदो हिजोसम्म त्यो खाँदै थिएँ ।”

मैले देखें, डाक्टरको आँखा फेरि विस्फारित हुँदै गइरहेछ । यता मैले पनि खल्तीबाट रुमाल झिकेर मुख छोपें । उता रोगी भनिरहेको थियो, “हजुरले फुल खानु, दूध खानु र फलफूल पनि खानु भन्नुभएको थियो । दिनको दुईवटाका दरले फुल पनि खाएँ । नेबुवाको गाँड आफ्नै बारीमा छँदै थिए । दिनको एउटाको दरले बाकलै शुद्ध यो पनि खाएँ । फेरि कोइरालाको फूल पनि यस वर्ष खूवै भयो। दिनको दुई दुई मुठी यो पनि खाएँ । तर लागेन हजूर ! जीउमा केही पनि । सधैं पेटै मात्र लाग्न थाल्यो र पछि पछि त बान्ता पनि हुन थाल्यो। यी देखिइ लि-बक्स्यो जीउमा हृत्तोहरन केही छैन ।”

“यी सबै कुरा र एक महीनादेखि कुहिएको मासु खान मैले भनेको थिएँ तपाईंलाई ? अनि औषधी नि औषधी, के गर्नुभयो ?” डाक्टरले अलि च्याँट्टिएर सोधे ।

“खै, हजूरले नभनेको भए मेरा वृद्धिले जानेर यो सब किन खान्थेँ’ ? औषधी पनि बुत्याएँ नि । महीना दिनलाई भनेर दिएको थियो । दश दिन खाँदा पनि छोएन । केको घिडघिडी फाइदै हुने हो भने चाँडै नै होस् भनी अस्ति सवै नै एक तालमा स्वाट्ट पारेँ । तर हजूर, औषधी भने जहडी रहेछ । रातभर दौडाहा भयो र झाडा-वान्ता सबै भयो । ज्वरो पनि आएछ र म त अनि बेहोश पनि भएँछु । भोलि-पल्ट’ एक बाँस जति घाम चढेपछि पुलुक्क आँखा हेर्छु त सानेकी आमा रोइरहेकी र गाउँले मोराहरू चाहि मलाई टुऱ्याएर लैजान हरियो बाँसको खट पो बान्न लागिरहेको’ मधौरुले भन्यो ।

उराको यस वृतान्तबाट डाक्टरले हत्केला लगेर प्याट्ट आफ्नो निधारमा ठोके । म पनि अब बसिरहन सकिनँ । जुरुक्क उठें र बाहिर निस्केँ अनि सनकीले जस्तै एक्लै हाँस्दै घर पुगें । देख्नासाथ पत्नीले सोधिन् “के भन्यो ? के भएको रहेछ ?”

मैले भनें, ‘माछा-मासु, दूध-दही, फलफूल खूब खानु भन्यो।’

फलस्वरूप पेट फेरि सारंगीबाट दमाहा बन्दो छ । यो देवी पत्नी बडो प्रसन्न छिन् । तर मेरो मनमा भने बारम्बार यही प्रश्न उठिरहेछ

“डाक्टर हुन गाहारो, कि बिरामी हन गाहारो ?”

०००
फेरि उल्टै मिल्याे (२०५०)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Wedmani Ghimire
Wedmani Ghimire
1 year ago

अानन्ददायी लेख रहेछ । मजाले पढियाे ।

Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
शूरवीरहरूको नरकयात्रा

शूरवीरहरूको नरकयात्रा

केशवराज पिँडाली
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
1
0
Would love your thoughts, please comment.x
()
x