डिल्लीराज अर्यालनयाँ नेपाल कन्या कपाल !
अरूकै इशारा आयो। उपदेश आयो। आफू आफ्नो भन्ने कुरा सबै लाखापाखा लागे, लाग्दैछन्। अर्काको हलोजुवा बोकेर अर्कैको खेती गर्ने दिन आए।

डिल्लीराज अर्याल :
मैले हिजो गणतन्त्रका गफ हाँक्नेहरू आफै पनि निराश निराश बनेको भेटेँ। सोधेँ- ‘के भयो ? खै उत्साह ? खै क्रान्तिका कुरा ? खै प्रगतिवाद ? खै लोकतन्त्र ? मुखको ऊर्जा कता गयो ?’
उनले दु:ख मानीमानी भने- ‘हाहा गयो, हिही गयो ….भन्थे बुढाहरूले। त्यस्तै भयो। धेरै के भन्नु ? भन्नुपर्ने कुरै केही रहेन।’
उनी मभन्दा डेढ\दुई दशक जतिले कान्छा छन्। मान्छे उत्साही पनि हुन् तर अचेल उनको उत्साह पनि गणतन्त्रले खाएको छ। अब पहिले जस्तै उफ्रन छाडेका छन्। अलि अघिसम्म त उनको उत्साह बयान गर्न लायकै थियो, तर अब त भन्न थालेका छन्- ‘नयाँ नेपाल भने। नयाँ व्यवस्था भने। केके न गर्छौं भने। भन्न के भनेनन् र ? सबैथोक आउने, पाइने आशामा दगुराए हामीलाई, तर आयो के ? पाइयो के ?
’यसो हेर्छु र सोच्छु- ‘खै त के फेरियो? कहाँ के आयो ?’
मैले भनें- ‘विश्वास गयो, इमानदारी गयो,आपसी भाइचारा गयो, आफ्ना संस्कार, संस्कृति गए,जाँदैछन्। मेहेनत गयो, खेतीपाती गयो, आफ्नै खेतबारीका बीउ बिजन गए। आयो त जम्मै अर्कैको राइँदाइँ, खटनपटन। सँगै बेइमानी आयो। कामचोरी आयो। बेसाहा आयो। राम्रो लायो मिठो खायो……। फेसन आयो, टेन्सन आयो। अरूकै इशारा आयो। उपदेश आयो। आफू आफ्नो भन्ने कुरा सबै लाखापाखा लागे, लाग्दैछन्। अर्काको हलोजुवा बोकेर अर्कैको खेती गर्ने दिन आए। आफ्ना बाँझै राखेर रमिता हेर्ने दिन आए।’
म यसो भन्दै अझै केही सोच्दै थिएँ, उनी उठेर हिँडेछन्। यसो हेरेँ। टोपी माथि सारेर कपाल कन्याउँदै थिए। मलाई लाग्यो- ‘नयाँ नेपाल कन्या कपाल ! पो भएछ त !
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest







































