साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बैकुण्ठमा बास हुनैपर्छ

आज परेको अविरल बर्साले देशका धेरै 'इ स्थान' जलमग्न बनेका छन् । बाढीको 'इ स्थिति' हेर्न हाम्रा सहयोगी अहिले त्यो 'इ स्थानमा' पुगेका छन् । म ध्यान मग्न भएर उनको त्यो कलात्मक भाषा सुन्छु र हाँस्छु ।

Nepal Telecom ad

डिल्लीराज अर्याल :

हाँस्नु कति हाँस्नु ? हाँस्ने विषय यति धेरै भए कि सबै कुरामा हाँसेर साध्यै नहुने भयो । नहाँस्नु यति धेरै हँसाउने विषय प्रस्तुत गरिन्छन् कि हाँसो रोक्न, नहाँस्न चाहेर पनि सकिन्न । त्यसैले हाँस्न पनि वर्णानुक्रमअनुसार पालो गरेर हाँस्नु पर्ला जस्तो लाग्न थालेको छ । देशमा एकातिर हाँस्ने विषयले व्यापकता पाएको छ, हँसाउने कलाको प्रयोग र विकास हुँदै गएको छ, अर्कातिर मान्छेहरू त्यसलाई स्वाभाविक मानेर ग्रहण गरिरहेछन्, हँसाइरहेछन् र हाँसिरहेछन् । केहीले स्वाभाविक मानेर ग्रहण गरिसकेका कुरामा के हाँस्नु ? किन हाँस्नु ? भन्ने गरे पनि हाँस्ने, हँसाउने क्रम चलिरहेछ ।

म त्यस्ता विषय पाउँदा खुलेर हाँस्छु। एक्लै भए पनि हाँस्ने बानी परेको छ मलाई। अरूलाई हाँसो लाग्दैन भने नहाँसून्, म त हाँसेरै छोड्‌छु। त्यसरी हाँस्दा मेरा साथीहरू मभन्दा अलि पर बसेर मलाई, मेरो हाँसोलाई हेरिरहेको पाउँछु र पनि हाँसिरहन्छु । हाँस्दा ‘हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ’ भन्ने भनाइलाई सम्झन्छु । यो बुझेकाले हँसाउन कसरत गर्छन्, गरिरहेछन् ।

म हाँसो रोक्न सक्दिनँ । हाँसो खटाउन नसक्ने पनि छु क्यार । त्यसो भएकैले होला म अलि बढी नै हाँस्छु। यही हाँसो खटाउन नसक्ने भएका कारण शोकमा मौन धारण गर्न उभिएको बेला हाँसो फुत्केको सम्झन्छु । आमा
बिरामी भएर एकदमै छटपटाएको बेला लामा हल्लिएको ‘हुडुडुडु, छुनुमुनु’ जस्ता आवाजमा दङ परेर हाँस्न लाग्दा गाली, पिटाइ खाने डरले आफैलाई चिमोटेर सँभालिएको सम्झन्छु । बेलाबेलामा के गरिएन हाँसो खटाउन ? अनि के गरिएन हाँस्न र हँसाउन ? हाँस्ने, हँसाउने क्रममा कतिपटक गलत समयमा, गलत विषयमा, गलत ठाउँमा हाँसो खटाउन नसकेर हाँसेको छु । धन्न अहिलेसम्म अरू धेरै कुरा खाए पनि गलत समयमा, ठाउँमा हाँसेबापत गोदाइ खानुपरेको छैन । दन्त्यकथाको लाटोबुङ्गो बन्नुपरेको छैन ।

मेरो एउटा रहर हास्यव्यङ्ग्यकार बन्ने पनि हो, तर जति हाँसे पनि सोचेजस्तो हास्यव्यङ्ग्यकार हुन सकिनँ । ससानो व्यङ्ग्यकारसम्म भए पनि बन्ने कोसिसमा भएकाले प्रायः त्यस्तो विषयको खोजमै हुन्छु । हेर्दा हाँस्ने विषय अलि बढेका देखिन्छन् । सोही अनुरूप हाँसोको प्रचार पनि बढेको छ । यसको प्रचार-प्रसार स्वास्थ्यकर्मीहरू डाक्टर, नर्सले पनि गर्ने गरेको र यसले स्वास्थ्यको अभिन्न अङ्गको रूपमा मान्यता प्राप्त गरेकाले गोदाइ खाने सम्भावना पनि कम भएको हो कि भन्ने भएको छ, तैपनि खतरा अझ राम्ररी टरिसकेको छैन । टर्नेवाला पनि छैन ।

मान्छेहरूले हाँसोको महत्त्व कति र कसरी बुझे ? कति बुझेका छैनन् ? म भन्न सक्दिन तर मैले भने बुझ्दै गएको छु र त्यसबाट फाइदा पनि लिंदै गएको छु। हाँस्न अरू पनि हाँस्छन् । धेरै मान्छे हाँस्छन् । कति बुझेर हाँस्दा हुन्, कति नबुझेरै पनि । केही मान्छे भने बुझेर पनि नहाँस्ने बनेका छन् । सोच्दा हुन् कति हाँस्नु ? किन हाँस्नु ? हाँसेर के हुनु छ र ? हाँसेरै प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, अध्यक्ष, मन्त्री, अख्तियार प्रमुख बनिने, बन्न पाइने होइन। बरु हँसाउन सके त्यस्ता पद पाउने सम्भावना हुन्छ । त्यसैले हँसाउन तम्सिँदा हुन् कि मान्छेहरू ! मैले देख्दा, जान्दा त्यस्ता पदमा पुग्नेहरू प्रायः हँसाउन पोख्त हुने, भेटिने गरेका छन् ।

अचेल हँसाउने प्रतिस्पर्धा चलेको छ । हँसाउने पालो पत्रकारहरूको, लेखकहरूको छ । नेता, कार्यकर्ताहरूको छ । न्यायाधीश, वकिलहरूको छ । शिक्षक-कर्मचारीहरूको छ । सबै हँसाउने लाइनमा बसेका छन् । हँसाउने कलाकार धेरै भएकाले तिनलाई पालो पर्खनुपर्ने भएको छ। चाहिने पनि भयो, तर हाँस्नेहरू थोरै भएकाले अलि अप्ठेरो भने छ । म भने हाँस्ने कुरा धेरै भएर पालोअनुसार हाँस्ने गरेको छु ।

हिजो हँसाउने पालो नेताहरूको थियो। खुब हँसाए तिनले । जति ठूला नेता त्यत्ति राम्रा हास्यकार । हास्यकलाकार । हास्यव्यङ्ग्यकार । तिनका हास्यव्यङ्ग्य त सम्झीसम्झी हाँसो लाग्ने खालका हुन्छन्, छन् । आज मात्र हो र ? वर्षीदेखि हँसाइरहेछन् उनीहरू । पालो थियो हँसाउने । खूब हँसाए । हिजोकाले हँसाए, आजकाले हँसाउँदैछन् । भोलिकाले पनि हँसाउलान् । उनीहरूका पछिपछि बुद्धिजीवीबाट ‘बुद्दी जिबि’ बन्न खोज्ने, बन्नेहरूको लस्कर छ । तिनी पनि हँसाउने कलामा पोख्त छन् । तिनले यी ठूला नेताले भन्दा कम हँसाउन्नन् । त्यसैले जनता पनि यिनलाई चानेचुने कलाकार ठान्दैन । नेताहरू सरहकै मान्छ । कतिपयलाई त अझै बढी पनि मान्छ । बेलाबेलामा सम्मान, अभिनन्दन, पुरस्कृत पनि गर्छ ।

हो त, हामीकहाँ लेखकहरू पनि कम्ता छैनन् । तिनको कला त झन् भनिसाध्ये छ र ? अगाडि हेरेर पछाडि लेख्न सक्छन् । पछाडि हेरेर अगाडि लेख्न सक्छन् । कैयौँ वर्षको योजना बनाएर अरूका देशका गतिविधि हेर्ने र बिगारेर आफूले फाइदा निकाल्ने चलाख योजनाकारहरूलाई पनि चिन्न र भेट्न सक्ने कला छ तिनमा । नत्र कसरी एकातिरबाट अर्कैतिरको मूल्याङ्कनमा पर्न सक्थे ? लाइन एकातिरको छ, लाइन अर्कैतिरबाट आउँछ र फाइदा अर्कैतिरको समाउँछन् । ती सबै कला नभए के हुन् त ? यस्तो कला अचेल धेरै क्षेत्रकामा, धेरैमा छ । हाम्रा कलाकार नेताहरूले विगत केही वर्षमा धेरैलाई कलाकार बनाएछन् । राजनीति सबै नीतिको बाबु हो । त्यसैले राजनीतिले सबै क्षेत्रलाई कला दियो, कलाकारिता दियो । अब त आम कलाकारलाई अरू क्षेत्रका कलाकारले उछिन्ने सम्भावनालाई नकार्न सकिने अवस्था छैन ।

म भाषामा पत्रकार, लेखकहरूको कला देखेर हाँस्दो छु । पालोमा हाँस्ने मान्छे म, आज यसकै पालो छ । तिनको सूक्ष्म अध्ययनको, चिन्तनको र प्रकटीकरणको भूरिभूरि प्रशंसा गरेर हाँस्दैछु । यिनमा कस्तो कला हो । कस्तो चिन्तन हो । सरकारका समग्र गतिविधि तिनका नजरमा छन् । व्याकरणका सूत्र तिनका कण्ठमा छन् । कलम जादूकै छ । आज तिनै पत्रकार समवेदना दिने सन्दर्भमा लेख्छन्- ‘मृत आत्माको कामना गर्न चाहन्छु ।’ कमालको लेखाइ ।

यति थोरै शब्दमा यति धेरै कमाल त हाम्रै भाषामा, हाम्रै देशका लेखकमा मात्र हुनसक्छ । आहा ! त्यो मृत आत्मा ! कति महत्त्वपूर्ण छ त्यो आत्मा, जो यतिबेला मृत अवस्थामा छ । कहिल्यै नमर्ने अजर अमर भनिने आत्मालाई पनि मृत बनाइदिने कला । हो लेखक, पत्रकार महोदयहरूको यो कला कति अचम्मको छ भने नमर्नेलाई मर्ने बनाइदिन सक्छन् । बनाइदिन्छन् । अनि त्यही मृत आत्मालाई कामना व्यक्त गर्न खोज्छन । गर्छन । आहा । अझै आहा त त्यो पनि कामना गर्न चाहने मात्र, गरेका, गरिहालेका होइनन् । गर्न चाहन्छन् मात्र । अहिले चाहेका छन्, कुनै दिन गर्ने छन । यो अद्भुत कला धेरै लेखक, पत्रकारहरूमा देख्छ । यो कलामा हाम्रा शिच्छेक, प्रध्यापकहरू पनि कमजोर छैनन् । यी सबै कुरा देखेर, सुनेर, पढेर म आफू कलाहीन भएको महसुस गर्दै अलि वरै बसेर निरीह, निर्लज्ज हाँसो हाँस्छु, हाँस्दैछु ।

अर्का ठूला लेखक आइपुग्छन् । उनी ‘भाषाबित्’ पनि हुन्, विद् त होइनन्। उनी त्यहीं बसेर दनादन लेख्छन्- ‘सोर्गीय आत्माको बैकुन्ठमा बॉस होस् ।’ म अवाक् बनेर त्यो अर्को कलात्मक लेखाइलाई हेरिरहन्छु । त्यसमा अन्तर्निहित कलालाई बुझ्ने कोसिस गर्छु । पटकपटक क्षेत्रीय, राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका ‘वरिस्ट’ लेखकको यो कला । मलाई त कलाको प्रशंसामा पनि हाँस्न मन लाग्छ । यो प्रतिभाको सम्मानमा नाच्न मन लाग्छ । धन्न हाम्रो सरकार, उनको लेखनकलाको महत्त्वलाई बेलैमा बुझ्न सक्यो र पुरस्कृत, सम्मानित पनि गन्यो। मलाई सरकारप्रति, मूल्याङ्कन कर्ताप्रति पनि कृतज्ञता प्रकट गर्न र खुसीमा हाँस्न मन लाग्छ तर हाँसोमा उही गोदाइ सम्झन्छु । समय, स्थानको ख्याल गर्छु र एक्लै मुस्कुराउँछु मात्र ।

सोर्गीय आत्मालाई वैकुन्ठमा बास बनाउन चाहने, बनाइदिने उनको कामना अभूतपूर्व लाग्छ मलाई । सोच्छु शायद उनलाई तामा मन पर्दो हो। त्यसैले त बैकुन्ठमा पनि बॉस होस् भन्छन् । बाँस नभए तामा कसरी ? सोर्गीय आत्माका निम्ति पनि बाँस चाहन्छन् उनी। यहाँ यो मयमा बाँसको, तामाको कमी छैन। त्यहाँ पनि बाँसको पउल भैदियो भने । भविष्यका निम्ति कति राम्रो जोगाड गर्न चाहेका ! कामना त अरूका लागि गरे जस्तो चाहना भने आफ्नै जस्तो । म पनि तामा मन पर्नेमध्येकै भएकाले उनको भावना बुझ्छु र खुसी हुन्छु । यो बैकुण्ठमा समेत बाँस बनाउने कला मलाई झन् मन पर्छ । कला मात्र होइन, चाहना पनि अनुकूल लाग्छ, अनि एकदम खुसीको हाँसो हाँस्छु, हाँसिरहन्छु ।

मेरो मनमा अर्को एउटा तरङ्ग आउँछ त्यहाँ अर्का एकजना नेता पनि हुन्छन् । ती भनिरहेका हुन्छन्- त्यता बस्न, सर्न अलिकति ‘इ स्थान’ छैन । भए अलिकति पर सरेर बस्नुहुन्छ कि । स्थानको अर्थात् ‘इ स्थानको’ खोजीमा एउटा अलग्गै कला छ । नेताहरूलाई त्यस्तो ‘इ स्थान’ असाध्यै प्रिय लाग्छ । ‘इ स्थान’ नपाउने हो भने तिनका इ स्थिति नै बिग्रन थाल्छन् । शरीर त्यसै गल्न थाल्छ । उनका हातमा मात्र होइन शरीरमै त्यस्तो कला छ र मनमा त्यही इ स्थानको आकाडूषा पनि । जति बेला पनि इ स्थानकै खोजीमा हुन्छन् ।

ती नेताले पनि पत्रकार महोदयका भाषाको अनुशरण गरेका हुन् कि । पत्रकारका भाषामा त यो ‘इ स्थानै’ हो र उनी पनि ‘इ स्थानप्रेमी’ नै हुन् । टेलिभिजनमा जब उनी उफ्रीपाफ्री गर्दै भनेका हुन्छन्- अहिले ११ बजेको समय भएको छ । आज परेको अविरल बर्साले देशका धेरै ‘इ स्थान’ जलमग्न बनेका छन् । बाढीको ‘इ स्थिति’ हेर्न हाम्रा सहयोगी अहिले त्यो ‘इ स्थानमा’ पुगेका छन् । म ध्यान मग्न भएर उनको त्यो कलात्मक भाषा सुन्छु र हाँस्छु । हाँस्न छोड्दिनँ किनकि मलाई पनि कलाकारको इ स्थान पाउनु छ ।

यसरी भाषामा जताततै कलाको, कलाकारिताको चहलपहल चलेको छ । चाहे नेता हुन् चाहे पत्रकार, लेखक हुन्, शिक्षक प्राध्यापक हुन् । भाषामा सबैले कलाको प्रदर्शनमा ठूलो योगदान गरेका छन् । प्राज्ञहरूको त विशेष योगदान छदैछ । सरकार पो के कम ? त्यो योगदानको उचित मूल्याङ्कन गर्दै तिनलाई प्रत्येक वर्ष कुनै न कुनै पुरस्कारबाट पुरस्कृत गर्दैछ र इ स्थान पनि दिँदैछ ।

सांसदमा चर्काचर्की गर्छन् संसदहरू । तिनले एन समसोदन गर्न माग गर्छन् । सवामुख समच्छे समसोदन परस्ताप पनि पेस गर्न पनि खोज्छन् । राष्ट्रिय सवाका अदक्षको पनि ध्यानाकर्षण हुन्छ ।

यसरी हेर्दा लाग्छ, यो देशले, यहाँको भाषाले संसारमै एउटा महत्त्वपूर्ण इ स्थान ओगट्‌ने पक्का छ । यसमा हामी सबैको अज योगधान पुग्नुपर्छ, हुनुपर्छ । त्यसका लागि हामी अज सक्रिय भएर काम गर्न आवश्यकता छ । अवश्य पनि मृत आत्माले चीर शान्ति पाउनेछ, सोर्गीय आत्माको वैकुन्ठमा बास पनि हुनेछ र हामी….।

०००
पाल्पा, हाल- काठमाडौँ ३२ मनोहरबस्ती
१५ साउन २०७७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
राय सल्लाह

राय सल्लाह

डिल्लीराज अर्याल
बाँदरले गाई दुह्याे

बाँदरले गाई दुह्याे

डिल्लीराज अर्याल
भानुको सम्झनामा

भानुको सम्झनामा

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
जेल

जेल

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x